समस्या समाधानको उपाय नपहिल्याईकन खाडीमा घरेलु कामदार किन पठाउने ?

 

मेघराज सापकोटा, युएई- अरब खाडीमा महिला नोकर पठाउने कि नपठाउने भनेर बहस गर्नुले हाम्रो औकात आफै देखिएको छ । घरेलु कामदार भनेर सभ्य भाषा प्रयोग गरे पनि हामी हाम्रा दिदी बहिनीहरुलाई संस्थागत रुपमा नै अरबीको घरमा नोकर बस्न कसरी पठाउने होला भनेर बहस छेड्दैछौ।

नेपाल सरकारले आजसम्म दक्ष जनशक्तिको उत्पादन र निर्यातमा ध्यान दिएको छैन । अदक्ष जनशक्तिमा बिशेष गरी सबैभन्दा बढी समस्या भएको काम भनेको घरेलु कामदारको नै हो ।  

अरब खाडी र हाम्रो मुलुकको हर बिशेषताहरु फरक फरक छन । धर्म, संस्कृति, लवाईखुवाइ, बसाइ हिडाइ र गराइमा आकाश पातालको फरकपना छ । अझ भनौ हामी र हाम्रा महिला दिदीबहिनीहरु खाडीका महिला भन्दा धार्मिक र साँस्कृतिक रुपले अली बढी स्वतन्त्र छन । खाडीमा धार्मिक रुपले अली बढी कट्टरपना छ । बिशेष गरी साउदी अरबमा त हवाइजहाजबाट उत्रने बित्तिकै महिलाले अनिबार्य टाउको छोप्ने परम्परा र बुर्का लगाउनु पर्ने परम्परा देखी नै स्वतन्त्रतामा रमेका हाम्रा चेलीबेटीहरुलाई उकुस मुकुस सुरु भएको हुनु पर्दछ ।

केही दिन पहिले अन्तराष्ट्रिय कलाकार संघ (इनास) युएईका राम तामाङले सामाजिक सन्जाल मार्फत सिरियाको दमास्कसमा बन्धक जस्तै बनेकी सजिना टिटुङको उद्दारको लागि सहयोगको आबहान गरेका थिए । तामाङका अनुसार सजिनालाई दलालले दुबई भनेर झुक्याएर सिरिया पुर्याएका थिए । उनी घर फर्कन चाहन्छिन तर उनका मालिकले जबरजस्ती काम लगाइरहेका छन । तामाङले सिरियाकै केही ब्यक्ती मार्फत उनलाई उद्दार गर्ने प्रयास गरिरहेका छन । आफ्नो देश फर्कन यती गार्हो किन भएको होला ?

युएईको दुताबासमा अझै पनि १५ २० जना महिला दिदीबहिनीहरु सेल्टर लिएर घर फिर्तीको दिन गन्तीमा बसेका छन । अनिश्चिताको बादलमा घर फर्कने दिनगन्ती गर्दै महिनौ बस्ने दिदीबहिनीहरु पनि दुताबासमा रहेका छन । उनीहरुलाई घर फर्कने टिकट पनि नेपाल सरकारले उपलब्ध गराउन नसकेर एनआरएनए र नेपालीका अन्य संघ संस्थालाई गुहार्नु पर्ने स्थिती छ । अझै कुबेतमा रहेको दुताबासको सेल्टरको अझ कुरै नगरौ । उनीहरु मानसिक रुपमा कती बिछ्छिप्त बनेका होलान भनेर कसैले सोधीखोजी गरेको पाइन्न ।

यौन हिंसाको चपेटामा परेको खबर बेला बेला सञ्चारमाध्यममा छाउने गरे पनि त्यस्को जरासम्म पुगेर उनीहरुलाई मल्हमपट्टी लगाउने ध्यान कसैको पुगेको छैन । उनीहरु किन दुताबासको सेल्टरमा पुगे र आफ्नो देश फर्कन किन यस्तो गार्हो भएको होला भन्ने लेखाजोखा अहिलेसम्म कसैले चासो देखाएको पाइन्न ।

यस्तै खाडीका अन्य मुलुकका सेल्टरमा कती होलान ? हिंसा र पिडालाई थेग्न नसकेर आबेगमा आएर अपराधजन्य कार्य गरी खाडीका जेलमा परेका कति महिला होलान ? नेपाल सरकार र बैदेशिक रोजगारीका ठेक्का लिएका मेनपावर कम्पनीहरुले आफ्नो सामाजिक दायित्व र बोध कहिल्यै गरेनन् ।

अहिले खाडी मुलुकमा घरेलु कामदार पठाउन बन्देज छ । तै पनि आउन रोकिएको भने छैन । नेपाल सरकारकी कर्मचारी नेपाली दुताबास युएईकी श्रम सहचारी हिरा यादवले समेत नामै तोकेर प्रेम पाण्डे भन्ने एजेन्टले ५० ६० जना एसएलसी पास पनि नगरेका नेपालीहरुलाई युएई भिजिट भिसामा ल्याएको बताएकी छिन । नेपाल सरकार स्वयम यस् बारे जानकार छ । यस्तै सेटिङमा दिनहु कयौ महिला खाडी तिर उड्ने गरेको कसैसँग छिपेको छैन । कर्मचारीतन्त्रमा चलेको लुटतन्त्र र भ्रष्टचारतन्त्रको मारमा हाम्रै दिदीबहिनीहरु परेका छन । यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न किन सक्दैन नेपाल सरकार ? कानुनी राजको उपहास गर्दै मानव बेचबिखनमा संलग्न दलाल र एयरपोर्टमा सेटिङ मिलाउने कर्मचारीलाई पाता कस्न किन सक्दैन नेपाल सरकार ?

युएईकै केही राज्यहरुमा खोलिएका कामदार सप्लाई गर्ने एजेन्सीहरुले नेपाली दिदीबहिनीहरुको दोकान खोलेर बसेका छन । ती एजेन्सीहरुले घरमा कामदार दिए बापतको शुल्क लिने गरेका छन । सिधै भनौ प्रत्येक दिदिबहिनीहरुको मुल्य तोकिएको छ । हामीले गाईबस्तु किने जस्तो मालिक आएर उनिहरुलाई छानेर किन्ने गरेको अवस्थाको जानकारी कसलाई छैन ?

यो जानकारी युएईको नेपाली दुताबासलाई छ । युएईका बिभिन्न नेपाली संघसंस्थालाई छ । नेपाली दिदिबहिनीहरु कसरी आइपुग्छन ती दोकानहरुमा ? अबैध रुपमा पुगेका नेपाली महिलाहरुको यस्ता किनबेचलाई कसरी रोक्ने भनेर बहस किन हुन्न २१ औ शताब्दीमा मानब बेचबिखनको यो जस्तो घृणित खेलमा हाम्रा दिदीबहिनीहरु समेत रहनुले हामी आँफैलाई कति सभ्य छौ भनेर भन्ने

यस्तो अवस्थामा अब फेरी पनि अहिलेको स्थितीमा खाडीमा घरेलु कामदार पठाउनु कत्तिको जायज छ भनेर बहस र छलफल गरिनुको कुनै अर्थ छ र ? यत्रा विधि समस्यै समस्या छन घरेलु कामदारमा, ती समस्याहरुको समाधानको उपाय नपहिल्याईकन फेरी पनि खाडीमा घरेलु कामदार पठाउने कि नपठाउने भनेर बहस किन गर्ने ? त्यसको सट्टामा बरु यसलाई कसरी ब्यवस्थित गर्न सकिन्छ, सम्बन्धित मुलुकसँग कस्ता कस्ता कुराहरुमा छलफल र सम्झौता गरी उनीहरुको सुरक्षा र अधिकारको प्रत्याभुती गर्ने भन्ने बारे किन छलफल र बहस नगर्ने ?

घरेलु कामदार भन्ने वित्तिकै महिलाको मात्र कुरा होइन । पुरुष पनि घरेलु काममा आउन सक्छन् । तर श्रम कानूनले नसमेट्ने घरेलु काममा नेपालीलाई आउन प्रोत्साहित गर्नुहुन्न । यसमा अधिकारवादीहरु पनि सचेत हुन जरुरी छ । बलियो व्यवस्था अहिले नै नगर्ने हो भनें भोली समस्यामा परिसकेपछि उद्धारको हार गुहार गर्न सुहाउन्न । 

तसर्थ खाडीमा घरेलु कामदार पठाउनु जायज कि नाजायज भनेर बहस गर्नुको सट्टामा अहिले खाडीमा भएका घरेलु कामदारलाई कसरी ब्यवस्थित गर्न सकिन्छ, उनीहरु कुन कुन मुलुकमा कस्तो कस्तो अवस्थामा छन भनेर खोजी होस् । हाम्रो देशले खाडीका सबै देशसँग यस सम्बन्धी अलग्गै कानुनी ब्यवस्थाको माग गरोस । आहिले खाडीमा भएकाहरुको सुरक्षाको प्रत्याभुती खोजोस । अहिलेको स्थितीमा खाडीमा घरेलु कामदार पठाउनु बिलकुल जायज छैन ।

(देशपरदेशका स्तम्भकार सापकोटा युएईमा बसेर पत्रकारितामा संलग्न छन् ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय