फर्किएन मलेसिया गएको छोरो (भिडियो)

सुनिल न्यौपाने/सागर विक्रम बस्नेत 

हिंड्ने बेलामा छोराले भनेको कुरा अझै झल्झली सम्झना छँदैछ आमा जानुकालाई । कमाउन भनेर हिंडेका उनले आमालाई भनेका थिएः दुःख नगर्नु, म उताबाट कमाएर पठाउँछु । तर आमालाई सम्झाएर हिंडेका गोपाल बस्नेत १० बर्षयता आफैं बेखवर छन् । मलेसिया पसेको छोरो घर नफर्किंदा उनलाई पर्खेर बसिरहेका बाबुआमाको मनमा अनेक आशंका उठ्दैछ ।

२०६१ को माघ १ गते । गणेश र जानुकाका २२ बर्षे जेठो छोरा गोपाल कमाउन हिंडेका थिए मलेसिया । हुन त बस्नेत परिवारलार्ई घरमा खान लाउनको दुःख थिएन । तर पनि कमाउन जान्छु भनेपछि हाँसिखुशी विदा गर्नै पर्यो गालाका छाला मुजा पर्दै गएका बाबु गणेश उतिबेलाको कुरा सम्झिंदै थिए ।

उनी गएको एक बर्षसम्म परिवारको सम्पर्कमा थिए पनि । बेलाबेलामा फोन गरिरहन्थे । नेपाली नै सुपरभाइजर भएको, काम गर्न सजिलो छ भन्दा आमाबाबुको मन पनि हलुँगो भएको थियो ।

गोपाल मलेसिया गएको ठ्याक्कै एक बर्ष पुगेको थियो । ०६२ माघ १७ गते उनले फोन गरे मलेसियाबाट । माइली बहिनीसँग सञ्चो विसञ्चोको कुराकानी गरेपछि उनले बाबुसँग कुरा गर्न खोजेका थिए रे । तर हजुरआमा वितेर बाबु कोरामा बसेको बहिनीले बताएपछि फोनमै केहि बेर रोएका थिए गोपाल । रुँदारुँदै फोन काटेका गोपालको त्यहि नै अन्तिम फोन सम्पर्कै थियो परिवारसँग । त्यसयता उनले एकपटक पनि घरमा फोन गरेनन् ।

रामेछाप नगरपालिका वडा नम्वर ८ हिलेपानीका गोपाल लरक्क परेका थिए । पहेंलो छाला, घुम्रिएको कैलो कपाल, हेर्दा ठ्याक्कै अम्रिकाने जस्तो देखिन्थ्यो आमा जानुका उनका बारेमा बताउँदै थिएन् । जुठेल्नामा विहानको खाना खाएका भाँडा माझ्दै गरेकी ति बृद्धाले छोेरो बेखर्ची भएर घर आउन नसक्ने भएको भए आफूहरुले खर्च पठाउने भन्दै छोराको केहि पत्तो लगाइदिनेलाई ठूलो आशिश दिने बताइरहँदा आँखा रसाई सकेका थिए ।

हामीसँग गला अवरुद्ध पारेर कुराकानी गर्न थालेकी ति बृद्धाको कुराकानी गरुञ्जेल नै आँखामा आँशु छचल्किरह्यो । ‘राती धेरैबेर निद्रा लाग्दैन, मनमा कुरा खेलिरहन्छन्’ उनी भन्दै थिइन् ‘मेरो छोरो यति निष्ठूरी थिएन, कि त त्यो जेल पर्यो कि त कसैले मारे भन्ने लाग्छ’ उनी सुँकसुँकाई रहिन् । घरी सारीको सप्कोले अनी घरी हत्केलाले आँशु पुछ्दै उनले कहिं कतै छोरो घर फर्किहाल्छ की भन्ने आशा भनें नमरेको दोहोर्याउँदै थिइन् ।

अहिले हिसाव गर्दा छोरोको उमेर ३३ बर्र्ष भएछ । अफगानिस्तान गएको कान्छो छोरो त्यहाँबाट फर्केर अमेरिका पुगिसकेका छन् । साथमा भएकी कान्छी छोरी पढ्न काठमाडौं बसेकी छिन् । बस्नेत परिवारलाई असन्तोष मान्नु पर्ने कुरा अरु केहि छैनन् । रातदिनको पीर छ त केवल उनै मलेसियामा बेखवर भएका जेठो छोरा गोपालको । मनमा त्यहि खिल गाढिएको छ ।

उनी मलेसियामा कुन ठाउँमा अनी कुन कम्पनीमा काम गर्थे भन्ने पनि जानकारी छैन बस्नेत परिवारलाई । आफूले काम गर्ने पाइप फ्याक्ट्री भएकोे बताएका थिए गोपालले । अहिले गोपालका चिनो भनेका उनका स्कुले उमेरका दुईवटा तस्वीरहरु र नागरिकता मात्र हो । उनको पासपोर्ट नम्वर ११२९०३६ हो ।

गाउँका अरु युवा पनि त्यहि मलेसिया गएका छन् । उनीहरु दुईतीन बर्षमा आउजाउ गरिहन्छन् । रामेछाप बजारबाट हिलेपानी तिर आएको हरेक परदेशी देख्दा बाटो छेउकै बस्नेत परिवारमा कतै आफ्नै छोरो पो आइपुग्यो की भन्ने लाग्छ ।

भन्नेहरु त भन्छन् तिम्रो छोरो विहे गरेर बसेको होला त्यसैले नेपाल फर्किदैन । आमा जानुका भन्छिन्ः छोरो बाँचेको होस्, एकचोटी फोन गरेर म बाँचेकै छु आमा भन्दियोस्, मलाई त्यत्ति भए पुग्छ ।’

उनका बारेमा तपार्ईले कुनै जानकारी पाउनु भएको छ भनें बुवा गणेश बस्नेतको मोवाइल नम्वर ९८४३५९६२९४ मा जानकारी दिनसक्नुहुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय