आमा रोइरहेछिन् गाउँमा, छोरो मलेसियामा बेपत्ता (भिडियो सहित)

सुनिल न्यौपाने/सागरविक्रम बस्नेत 

रामेछापको सदरमुकाम मन्थलीबाट झण्डै २५ किलोमिटर अप्ठ्यारो पहाडी बाटो छिचोल्दै पूर्व दक्षिण तर्र्फको यात्रापछि पुगिन्छ रामपुरको ज्यामिरबोट गाउँ । मुलबाटोे छोडेर ठाडो भिरालो उत्रेपछि झुरुप्प केहि घरहरु देखिए । कुकुरहरुले भुक्दै हामीलाई गाउँमा स्वागत गरे ।

माघ महिनाको विहानी । पारिलो घामले गाउँ उज्यालो छ । तर त्यहि गाउँको एउटा घरमा बस्नेहरुलाई भने त्यो उज्यालोले छोएको छैन । २०६२ साल पुष १० गते रोजगारीका लागि मलेसिया उडेर केहि बर्षयता बेखवर भएका मिनबहादुर मगरको घरमा हामी पुग्दा उनका बाबुआमा र दुई छोरी खाना खाँदै थिए ।

पहिले बस्दै आएको घर गत बैशाखको भूकम्पले बस्नै नमिल्ने गरेर भत्काइदियो । त्यसैले मिनबहादुरका जेठा दाजु मोतिबहादुरले सानो बास बनाएका छन् । त्यहि घरको पिंढिमा बसेर मिनबहादुरका बाबु आईमानले माइलो छोरो मलेसियामा बेखवर भएपछि आफूहरुलाई आइपरेको आपतको बेलिविस्तार लाउँदै गए ।

छोरो मलेसिया उड्दा उनले उताबाट कमाएर पठाउने पैसाले जीवन अलिक सुविस्ताको हुने सपना देखेका थिए रे । तर त्यसो भएन । जाँदा लिएको ९० हजार ऋणसम्म त तिरे मिनबहादुरले तर त्यसभन्दा बढी पैसा पठाएनन् । पैसा नआएको त चिन्ता थिएन बरु मगर परिवारलाई, मिनबहादुर नै मलेसियामा अलप भएपछि भनें आपत आइलागेको छ ।

बुढ्यौलीले छुँदै गरेका आईमान चुरोटको एक लामो सर्को तानेर केहि बेर गमखाएर बसे । केहिबेरको सोचाई पछि उनले भने “एकमनले त अव हामी बुबामुमा अनी छोरीहरुलाई पनि मायादया गर्न छोड्यो आउँदैन जस्तो लाग्छ । फेरी अर्को मनले भन्छ, बुढो भएपछि भएपनि आउँछ की ।”

मिनबहादुर मलेसिया उड्दा दुईबर्षकी काखे छोरी थिइन् घरमा । कान्छि छोरी त गर्भमै थिइन् जो अहिले १० बर्षकी भइसकिन् । तर ति दुई बालिकाले अहिलेसम्म बाबुको मुख देख्नसम्म पाएका छैनन् । उनीहरुले न आफ्ना बाबु कस्ता थिए भनेर देख्नै पाए न त उनको बोलिनै सुन्न पाएका छन् ।

भनिन्छ नी मानमाथि भुक्तमान । मगर परिवारलाई त्यहि आपत आइपरेको छ । मिनबहादुरलाई १० बर्षसम्म पर्खेर बसेकी उनकी श्रीमतिले पनि हालसालै अर्को घरजम गरिन् । त्यसैले १३ र १० बर्षका ति दुई बालिका अहिले ७० बर्ष पुगेका हजुरवुवा, हजुरआमाको जिम्मा लागेका छन् । कक्षा ८ र ५ मा पढिरहेका उनीहरुलाई ठूलोबुबाले जसोतसो पढाउँदै छन् ।

आईमानलाई बुहारी भन्दा धेरै आफ्नै छोरो मिनबहादुरसँग गुनासो छ । “अर्काकी छोेरी १० बर्षसम्म पर्खेर बसी, छोराले नै वास्तै नगरेपछि अव हामी पनि के भन्नुु र ?” उनी आफ्नै मन बुझाउँदै थिए । अव छोराले पैसा लिएर आउला, सुख साथ बसौंला भन्ने चाहना छैन बाबुआमासँग । “आफू मर्नु अघि यी दुई नातिनिहरु छोराको जिम्मा लाउन पाए हुन्थ्यो” आईमान भन्छन् ।

भातभान्सा पछि जुठा भाँडा माझ्दै गरेकी मिनबहादुरकी आमा आँखामा छचल्किंदै गरेको आँशु भित्रै दवाउने हरसम्भव प्रयास गर्दै थिइन् । हुन त दुई छोरा साथै छन् । कान्छो छोरो काठमाडौंमा गाडी चलाउँछन् । जेठो पनि गाडी चालक नै हुन् । तर आमाको मन न हो, मलेसिया गएर बेखवर भएको उहि माइलो छोरो मिनबहादुरलाई सम्झेर धेरै रातहरु कट्छन् । बृद्ध पत्नि भित्तातिर फर्केर सुँक्क सुँक्क गरेको आईमान सुन्न त सुन्छन् तर उनीसँग पनि सम्झाउने धेरै शव्द हुन्नन् ।

हामीसँगको कुराकानीका क्रममा मिनबहादुरकी आमा मुख छोपेर अनी डाको छोडेर निक्कै बेर रोइरहिन् । त्यहि रोदनका बीच दुख्खले हुर्काएको छोेरोलाई आफूले सधैं सम्झिरहे पनि छोराले चटक्कै माया मारेर मलेसियामा बसेको उनले गुनासो गरिन् । तर अझै पनि उनको मनले हरेश भनें खाएको छैन । छोरो फर्केर टुप्लुक्क आउला की भन्ने आशा उनको बाँकी नै छ ।

गाउँका अरु थुप्रै युवा पनि मलेसियामा नै काम गर्छन् । कोहि तीन तीन बर्षमा घर आउजाउ गरिरहन्छन्, कोहि भर्खरै मलेसिया गएका छन् । त्यसैले अरुका छोराहरु ठूलो सुटकेश लिएर आएको देख्दा आफ्नो छोरो पनि एक न एक दिन त घर फर्केला भन्ने आशा बृद्ध बाबुआमालाई छँदैछ ।

मलेसिया गएको केहि बर्षसम्म यदाकदा मिनबहादुर श्रीमतिलाई फोन गरिरहन्थे । त्यहिबीचमा उनीहरुबीच एकपटक ठाकठुक परेको बुहारीले ससुरालाई सुनाएकी थिइन् । त्यसपछि न मिनबहादुरले दोहो¥याएर फोन गरे न त घर नै फर्के ।

गाउँमा चलेको हल्ला न हो । कतिपयले भन्छन् मलेसियामा थुप्रै नेपाली अरु नै देशका महिलासँग विहे गरेर बस्छन् । त्यसैले मिनबहादुरले पनि त्यसरी नै विहे गरेर बसेका छन् भन्ने लख काट्छन् गाउँका कतिपय । कतै त्यसै गरेर पो बसेका छन् की भन्ने मगर परिवारको पनि आशंका छ । त्यसो गरेको भएपनि एकपटक फोन गरे हुन्थ्यो भन्ने आग्रह छ उनीहरुको ।

मिनबहादुर बेखवर भएपछि उनलार्ई खोज्न मद्धत गरिदिन भन्दै मगर परिवारले रामेछापको सदरमुकाम मन्थलीमा सामी हेल्भेटासको सहयोगमा सञ्चालित सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । सुचना केन्द्रले पनि प्रवासी नेपाली समन्वय समिति मार्फत उनको खोजिका लागि प्रयास गरिरहेको संयोजक जीवन श्रेष्ठ बताउँछन् ।

मिनबहादुरलाई पर्खेर उनका बृद्ध बाबुआमा तथा उनका दुई छोरीहरु बसिरहेका छन् । एकपटक फोन गरेर आफू सञ्चसुविस्ता भएको खवरसम्म पाएपनि मन शान्त हुन्थ्यो भन्ने उनीहरुको अपेक्षा छ ।

मलेसियामा तपाईले कहिंकतै यो तस्वीरमा देखिएका मिनबहादुरलाई देख्नुभएको छ भनें खवर गरिदिन परिवारले आग्रह गरेका छन् । यसैगरी तपाईले यो खवर रामेछापको मन्थलीमा रहेको सुचना केन्दमा पनि दिन सक्नुहुन्छ ।

परिवारसँगको सम्पर्कमा नरहेका परदेशी खोज्ने हाम्रो यो अभियानमा तपाईको सहयोगको ठूलो खाँचो छ । तपाई वा तपाईका साथिभाइ वा आफन्त मलेसियामा हुनुहुन्छ भनें यी तस्वीरमा देखिएका व्यक्तिका बारेमा प्रचारप्रसार गरी उनको खोजि गरौं । यसले बर्षौंदेखि छोरो पर्खेर बसेका यी बाबुआमा र आफ्नो बाबु पर्खेर बसेका छोरीहरुको आँशु पुछ्न सकिन्छ । 

भिडियो हेर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय