काठमाडौं – गाउँमा रहँदासम्म उनलाई दैनिक ३–४ सय रुपैयाँ कमाउन खासै समस्या थिएन। धेरै किराना पसल नभएकाले अधिकांश गाउँलेको किनमेल गर्ने थलो उनकै पसल थियो। आफ्नै घरमा पसल राखेकाले काममा धेरै सास्ती पनि थिएन। नौ वर्षीया छोरी र घरमा अन्य सदस्यसँगै बसेकाले जेठला–८ दोलखाकी लक्ष्मी तामाङको दिनचर्या सामान्य नेपालीको भन्दा कुनै पनि हिसाबले कम थिएन।
तर, लक्ष्मीले यत्तिमै चित्त बुझाइनन्। गाउँको आम्दानीप्रति सन्तुष्टि हुन नसकेकी २९ वर्षीया लक्ष्मी पसल बेचेर विदेश जान खोज्दा सडकमा पुगेकी छन्। अहिले उनलाई साँझबिहानको जोहो कसरी गर्ने भन्ने समस्या आइलागेको छ। अर्कोतर्फ मेनपावरले लिएको रकम असुल्ने दौडधुप पनि उत्तिकै।
साथीको लहलहैमा लागेर युरोप जान खोज्दा न उनी विदेश पुगिन् न दैनिक गुजारा चलाउने माध्यम बनेको पसल नै बाँकी रह्यो। पाँच लाख रुपैयाँमा पसल बेचेर टर्की गएकी लक्ष्मीलाई ४१ दिनमै फर्किनु परेपछि कहाँ जाउँ, के गरौं भइरहेको छ। काठमाडौंको डिभाइन इनसाइट ओभरसिजलाई पाँच लाख रुपैयाँ तिरेर टर्की पुगेकी लक्ष्मी मेनपावरले भने अनुसारको काम नपाएपछि ४१ दिनमै घर फर्केकी हुन्।
‘मेनपावरले दैनिक आठ घन्टाभन्दा बढी काम गर्नु नपर्ने भनेको थियो’ हाउसमेड भिसामा टर्की गएकी लक्ष्मीले त्यहाँको पीडा सुनाउँदै भनिन्, ‘त्यहाँ त दैनिक १६ घन्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि हप्कीदप्की र कुटपीट गर्ने प्रयास हुन थालेपछि फर्किएँ।’ वैदेशिक रोजगारीमा जानुअघि मेनपावरले एक परिवारको घरमा काम गर्ने भने पनि टर्कीको अंकारास्थित अपार्टमेन्टमा बस्ने ५र६ परिवारको काम गर्नुपर्दा बिरामी परेको तर उपचार नपाएको उनले गुनासो गरिन्। ‘कुनैकुनै दिन राति नचिनेका केटाहरू कोठामा छिरेर दुर्व्यवहार गर्न खोज्थे’ लक्ष्मीले भनिन्, ‘पाँच लाख रुपैयाँ तिरेको सम्झँदा जस्तो पीडा पनि सहेर पनि बस्छु लागेको थियो। तर, उनीहरूको व्यवहारका अगाडि डेढ महिनाभन्दा बढी टिक्न सकिएन।’
साउदीमा रहेका आफन्तसँग पैसा मागेर स्वदेश फर्केकी उनी मेनपावरले झुक्याएको भन्दै तिरेको रकम फिर्ता लिन वैदेशिक रोजगार विभाग धाइरहेकी छन्। गएको कात्तिक ५ गते स्वेदश फर्केपछि मेनपावर कार्यालयमा पुगेर तिरेको रकम माग्दा मेनपावर सञ्चालकले जे मन लाग्छ गर्नू पैसा दिन्न भनेपछि विभाग गुहारेको लक्ष्मीको भनाइ छ। उनले पाँच लाख रुपैयाँ तिरेको बताए पनि डिभाइनले ८५ हजार रुपैयाँको नगदी रसिद दिएको छ।
घर फर्कने रकम नभएपछि मलेसियामा काम गर्ने नेपाली र अन्य प्रवासीले दिएको चन्दाबाट रौतहट, सखुवाका पीर मोहम्मद मन्सुरी स्वेदश फर्के। चार वर्षअघि मलेसिया पुगेका मन्सुरी विदेशी भूमिमा बिरामी भएपछि जाने बेला लिएको ऋणसमेत चुक्ता गर्न असमर्थ भए। ऋण तिर्न नसकेपछि जमिन बेचेको बताउने ३९ वर्षीय मन्सुरी यतिखेर मेनपावरले लिएको रकम फिर्ता पाउनुपर्ने माग गर्दै विभाग धाइरहेका छन्।
न्यु गोर्खाज मेनपावरलाई एक लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया उडेका मन्सुरीले त्यहाँ सम्झौताभन्दा फरक काम र न्यून ज्याला पाएको गुनासो गरे। ‘इँट्टा कम्पनीमा काम गर्ने सम्झौता थियो’ उनले भने, ‘तर, मलेसियामा सिमेन्ट ओसार्ने काममा लगाइयो। जसले गर्दा बिरामी भएँ।’ मलेसिया पुगेको तीन महिनामै बिरामी भएपछि मन्सुरीले त्यहाँस्थित राजदुताबास र वैदेशिक रोजगार विभागका पटकपटक उद्धारका लागि आग्रह गरे पनि कुनै सहयोग नपाएको गुनासो गरे।
‘पहुँच नभएकाले होला मलाई सरकारी निकायले उद्धार गर्न चासो देखाएनन्’ उनले गुनासो गरे, ‘अन्तिममा कुनै उपाय नलागेपछि प्रवासीले उठाएको चन्दाको रकमले घर फर्कें।’ मलेसियामा बिरामी हुँदा उपचार गर्न नपाएपछि यतिखेर उनका दुवै हात राम्रोसँग चल्दैनन्। विदेश मोहले सडकमा पुगेको गुनासो गर्ने मन्सुरीले मेनपावरको बदमासीले झनै पीडा दिएको बताए। ‘वैदेशिक रोजगारीका कारण भएको सम्पत्ति सकियो, आफैं बिरामी परें’ उनले भने, ‘रकम अभावले उपचार गर्न नसक्दा घरमा छोरीको समेत मृत्यु भयो।’ अधिवक्ता राजेश भण्डारी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्ति काम गर्दागर्दै बिरामी हुन्छ भने त्यस्तो अवस्था सरकार र मेनपावरले पीडितलाई सहयोग गर्नुपर्ने धारणा राख्छन्। ‘मन्सुरीको केसमा त झन् सरकार बढी संवेदनशील हुनुपर्ने देखिन्छ’ भण्डारीले भने, ‘वैदेशिक रोजगारीका कारण सम्पत्तिदेखि सन्तानसम्म गुमाएका र आफैं बिरामी भएकाले मन्सुरीलाई सरकारी सहयोग आवश्यक छ।’
वैदेशिक रोजगारीमा गएर कमाउने र सुखद भविष्यको योजना बनाएका युवायुवती सडकमा झरेका यी दुई घटना उदाहरण मात्र हुन्। पछिल्लो समयमा जसरी वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढिरहेको छ। त्योसँगै वैदेशिक रोजगारीको लोभले कैयौं युवायुवती सडकमा पुगेका घटना निरन्तर बढिरहेका छन्। वैदेशिक रोजगारीमा जाँदा दलाल वा मेनपावरलाई घर, खेत बेचेर तथा ऋण लिएर रकम बुझाउने तर विदेशमा सोचे अनुसार काम नपाउँदा अलपत्र पर्दा कैयौं परिवार निरासा र पीडापूर्ण जीवन बिताउन बाध्य छन्।
स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिएका युवायुवतीले कमाइ गर्नु त कता हो कता उल्टै पुर्ख्योली सम्पत्ति बेच्नु परेपछि वैदेशिक रोजगारीले अब खुशी होइन पीडा दिने क्रम बढ्दै छ भन्ने पुष्टि हुँदै गएको पीडित बताउँछन्। स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेशिएका युवायुवती विदेशमा मात्र नभई स्वदेशमै मेनपावर र दलालबाट ठगिने क्रमको समेत अन्त्य हुन सकेको छैन। वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै दिनप्रतिदिन सरकारी निकायमा उजुरी गर्ने क्रम बढेपनि डुबेको धन, सम्पत्ति फिर्ता पाउने पीडितको संख्या भने निकै कम छ।
वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै बर्सेनि उजुरी पर्ने क्रम बढिरहेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७०र७१ मा २५ सय ५१े उजुरी परेकोमा आर्थिक वर्ष ०७१र७२ मा २६ सय ७९ उजुरी परे। चालु आर्थिक वर्षको पाँच महिना ९साउन–मंसिर० सम्म विभागमा वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै सात सय २९ उजुरी परेका छन्। उजुरी जति परे पनि क्षतिपूर्ति पाउनेको संख्या भने निकै कम छ। विभागमा पर्ने उजुरीमध्ये १८ प्रतिशत भन्दा बढीले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्। २०६५ सालयता मेनपावर र दलालले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको तथा रोजगारदाता मुलुकले सम्झौता अनुसार काम र पारिश्रमिक नदिएको भन्दै परेका उजुरीको संख्या सात हजार पाँच सय पुगेको विभागका महानिर्देशक केदार बोगटीले बताए।
नागरिकबाट