किन सम्मानको हकदार छन् बैदेशिक रोजगारमा गएकाहरु ? 

सुनिल न्यौपाने, काठमाडौं 

अन्तराष्ट्रिय आप्रवासी दिवस २०१५ मनाइरहँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आशाको सपना बोकेर झोला झुण्ड्याउँदै ठूला जहाज चढ्न तत्पर थुप्रै युवाको अनुहार झल्झली सम्झना भइरहेछ । विमानस्थलमा गमनपत्र भर्न समेत नजान्ने अवस्थामा युवा श्रम निर्यात गरेर उनीहरुले नै पसिना बगाएर पठाएको रकमले दिवस मनाइरहँदा त्यो रगत, पसिना मिसिएको रियाल, रिंगिट वा दिरहम र दिनार प्रति हामी अपेक्षाकृत संवेदनशिल छौं त ? एकपटक मनन गरिनु जरुरी छ । 

हरेक बर्ष उकालो लागिरहेको बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या र उनीहरुले पठाउने रेमिट्यान्सको भ¥याङको तथ्याँक केलाउनेहरुले खाडी र मलेसियामा गएर घरको चुल्हो बाल्नेहरुको योगदान गतिलोसँग खुट्याउन सक्छन् । यदि ति कामदार हुन्नथे भनें, सपनाको पोको बोकेर त्यसलाई विसाउन उनीहरु खाडी र मलेसिया पुग्दैनथे भनें, अहिले कतिपयले कल्पना गरेको जस्तै डरलाग्दो अवस्था देशमा हुन्थ्यो । तर जतिसुकै दुःख खेपेर भएपनि उनीहरु मलेसिया र खाडीमा जोतिएका छन्, घोटिएका छन् र घरको चुल्हो मात्र होइन देशको दियो पनि उनीहरुले नै बालिरहेछन् । त्यसैले आप्रवासी दिवसको सन्दर्भमा उनीहरुले देशलाई लगाइरहेको गुनको चर्चा जति गरेपनि कम हुन्छ । 

यति हुँदा हुँदै पनि किन खाडी र मलेसियामा काम गर्ने लाखौं नेपालीहरु केवल तथ्याँकमा मात्र सिमित छन् ? किन उनीहरुलाई देशको नायकका रुपमा हेरिन्न ? उदेक लाग्दो विषय हो । बैदेशिक रोजगारीबाट राम्रो आम्दानी गर्ने अन्य कतिपय देशहरुले त्यसरी विदेशमा गएर श्रम गरेर देश धान्नेहरुलाई राष्ट्रिय नायकका रुपमा सम्मान दिन्छ । तर नेपाल किन उनीहरुको योगदानलाई किन मुक्त कण्ठले प्रशंसा गर्दैन ? सोचनिय विषय छ । 

बैदेशिक रोजगारीका लागि मलेसियाको विमानस्थलमा उत्रने वित्तिकै त्यहाँको प्रहरीले गर्ने व्यवहारको त हामी आलोचना गर्छौं तर के नेपालको विमानस्थलमा चाहिं उनीहरुलाई सम्मान गरिन्छ त ? अहँ पटक्कै गरिन्न । विदेश उड्दै गर्दा रानो हराएको मौरी झैं विमानस्थलमा अलमल्ल गरिरहेका अनुहारहरु देखिन्छन् भनें फर्केर आउँदा ल्याएको सामान जोगाएर बाहिरिनु कम कष्टसाध्य हुन्न । त्यसैले बैदेशिक रोजगारीले राज्यको प्राण धान्न जुनस्तरको योगदान गरेको छ, त्यसलाई राज्यका निकायहरुले अपेक्षित महत्व दिएका छैनन् । 

आप्रवासी कामदारको सन्दर्भमा कुरा गर्दा बैदेशिक रोजगारीमा जाने महिलाको अवस्था अझ अप्ठ्यारो छ । बैदेशिक रोजगारीका क्रममा खाडीका मुलुकमा जाने महिलालार्ई हेर्ने दृृष्टिकोण हाम्रो समाजमा अझ पनि राम्रो छैन । अझ घरेलु काममा जाने महिलालाई शरिर बेचेर पैसा कमाएर फर्किनेहरुको आँखाबाट हेर्न समेत पछि परिन्न । अर्थात जसरी दलितले बनाएको मुर्तिको पूजा त गरिन्छ तर स्वयं दलितलाई मन्दिर पस्न बन्देज लगाइन्छ, उसैगरी महिलाले विदेशबाट कमाएर पठाउने रकमको भरपुर उपभोग त गरिएको छ तर उनीहरुको  योगदानको गणना नगरिएको अवस्था छ । यो चस्मालाई फेर्न अव ढिला गरिनुहुन्न । बैदेशिक रोजगारीमा जाने महिलाको योगदानको गणना गर्न र उनीहरु प्रतिको हेराईलाई फेर्न जरुरी छ । 

बैदेशिक रोजगार विभागको तथ्याँक अनुसार हालसम्म श्रम स्वीकृति लिएर झण्डैै ४१ लख नेपालीहरु बैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये कति फर्किए त्यसको त यकिन तथ्याँक छैन तर पनि झण्डै ३० लाखको हाराहारीमा नेपालीहरु विदेशमा श्रमरत रहेको विश्वास गरिन्छ । ति मध्ये अधिकाँश खाडीका देश र मलेसियामा छन् जहाँको काम तुलनात्मक रुपमा कठिन र आम्दानी समेत न्यून छ । हुन त बैदेशिक रोजगारी दिगो विकल्प होइन । तर यसो भन्दैमा नेपालीको बैदेशिक रोजगारको यात्रा चटक्कै रोकिने अवस्था पनि छैन । त्यसैले यसलाई सुरक्षित, मर्यादित, व्यवस्थीत र हालको भन्दा बढी उपलव्धीपूर्ण बनाउनु अहिलेको आवश्कयता हो । त्यसका लागि बैदेशिक रोजगारीमा जानेहरुलाई सीपयुक्त बनाउनु आवश्यक छ । साथै बैदेशिक रोजगारका नाममा भइरहेको मानव तस्करीलाई नियन्त्रण गर्नु र बैदेशिक रोजगारमा गएकाहरु प्रति सम्मानपूर्ण व्यवहार गरिनुपर्छ । त्यसो भएमा मात्र आप्रवासी दिवस मनाउनुको पनि सार्थकता रहन्छ ।     

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय