
मेघराज सापकोटा, युएई
विश्वबिख्यात संगीतकार एल्बिस प्रिसले जोसँग नाम, दाम र जवानी सबै थिए तर उनकै श्रीमतीले सम्बन्ध बिच्छेद गरिन उनीसित र उनकै घरमा काम गर्ने कामदारसित पोईला गईन् । अदालतमा लोग्नेले कारण जान्न चाहे र सोधेः म सँग के चाहीं कमी थियो र सम्बन्ध बिच्छेद गर्न चाहेकी ? श्रीमतीले गम्भिर हुँदै जवाफ दिईन्ः तिमीसित सबथोक भएर पनि मलाई दिने समय छैन । म जो सँग बिहे गर्दैछु उसँग केही नभए पनि मेरो लागि दिने प्रशस्त समय छ ।
प्रसंग बिदेसिएर श्रीमतीसँगको बिछोड हुने डोरीलाहुरेहरुको मात्रै हैन श्रीमती सँगै हुने तर अधिकांश समय बिभिन्न बहानामा घर बाहिर समय बिताउने तोरिलाहुरेहरुको लागि पनि उत्तिकै सान्दर्भिक छ । केही दिन पहिले नाकाबन्दीले गर्दा ग्याँस नपाएर उत्तिकै दुःख पाइरहेको श्रीमान त्यागेर ग्याँस ल्याइदिटोपल्ने ट्याक्सी ड्राइभरसँग सुईंकुच्चा ठोक्ने श्रीमतीको कथा पढेका डोरीलाहुरे र तोरीलाहुरे दुबैको मन चसक्क भएकै छ । कुरा सामान्य तर गहिरो छ । यस्तै कुराहरुलाई ध्यानमा राख्दै अनियमित बनेको रेगिस्तान एक्स्प्रेस अब भने केही दिनको बिश्राम पश्चात जोशले दौडने प्रतिबद्दता यो लेखक गर्दछ ।
केही दिन यता युएईको नेपाली समाजमा धेरै थोक भईसकेको छ । यी सबै थोक गतिबिधीहरु उल्लेख गर्न नसके पनि सर्बत्र चासोको बिषय भने रेगिस्तान एक्स्प्रेस मार्फत बिसाउदैछु ।
दसैं आयो गयो । तिहार आयो गयो । छठ पर्ब पनि आयो र गयो । सधैं झै सबैले सबैलाई केही न केही शुभकामना दिए र लिए । तर पनि रेगिस्तानका कलेटी ओठहरु रसाउन पाएनन । जन्मभुमीमा रहेका शाखासन्तानका कलेंटी ओठहरु मोदीको नाकाबन्दीले रसाउन दिएन । आफ्ना वृद्द बा-आमालाई भेट्न, श्रीमतीलाई देख्न र बालबच्चालाई चुम्न जानेहरु झन मोदीलाई सराप्दै फर्के । ‘खाडीबाट कोही आउने भए १ लिटर भए नि पेट्रोल लिएर आउनु हैू’ फेसबूक तिर यस्तै ब्यङ्य देखिन्थे । खाडीबाट श्रीमानले पठाएको पैसाले पनि नेपालमा श्रीमतीले मिठो पकाउन सकिनन । बालबच्चाले राम्रो लगाउन पाएनन । वृद्द वृद्दाले छोरो भेट्न पाएनन । हिजोसम्म ‘मोदी’ ‘मोदी’ भनेर संबिधानसभामा ताली पिट्ने सुशील, केपी र प्रचण्डहरुका अनुहार देखेर खाडीका डोरीलाहुरेहरु मुर्मुरिन मात्र सके । ‘२०४५ सालमा भारतले नाकाबन्दी लगाउदा प्रजातन्त्रको लागि भनेर ताली पिट्नेहरुले यसपाली भने गणत्रन्त्रको लागि भनुन्’ रिसले पारो तताउँदै आक्रोस पोख्छन काठमाडौ थानकोटका राम तामाङ ।
केही बुज्रुकहरुले बिहारको चुनाव भनेर आशा देखाए रे । बिहारमा मोदी बढारिए पनि नेपालमा नाकाबन्दी बढारिएन । बरु झन मडारिइरहयो । नाकाबन्दीले १०० दिनको हनिमुन मनाउनै लाग्दा मधेसमा ५० जना भन्दा बढीले ज्यान गुमाईसके तर संसदमा नेमकिपाका २ जना सांसद बाहेक अन्यले भारतलाई सिधा नजरले हेर्ने हिम्मत गरेको देखिएन ।
नोभम्बरको दोस्रो हप्ता तिर युएई आएका नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुले खेल सकेर फर्कदा इन्डेक्सन चुल्हो बोकेर गए । टिभीका स्क्रीनहरुमा उनीहरुले ट्रलीमा इन्डेक्सन चुल्हो राखेर नेपालको एयरपोर्टबाट बाहिरिदै गरेको देख्दा डोरीलाहुरेहरु अरु मुर्मुरिए । मनमनै सोचे ‘धोनीको घरमा नेपालको बिजुली काटिदिने दिन कहिले आउला र ?’ खाडीका डोरीलाहुरेहरुले पठाएको रेमिटेन्स खाएर ढ्याउ गर्ने राजनेताहरुलाई गाली गर्दै मोदीलाई सराप्दै बसे यी रेगिस्तानीहरु ।
भारतीय बिदेश मन्त्री सुश्मा स्वराजले अप्रिलदेखि अगस्टसम्म नेपालका कति नेता भारत आए गन्दै गर्दा मेरो नि शीर निहुरिएको थियो
मेरो तामिलियन हाकिमले एक दिन उनको अफिसमा भेट्न निमन्त्रणा गरे । नेपाल भुकम्पमा पिल्सिएको बेला उनले मनै देखि सहयोग गरेका थिए । एउटै अफिस भए पनि नेपालका नेता दिल्ली गए जस्तो उनको अफिसमा खुसु खुसु जान्न म । बोलाएर कसैको बारेमा सोधे भने पनि कसैको बारेमा कुरा पनि लाउदिन । केही कागजपत्रमा हस्ताक्षर चाहियो भने अनलाइन नै पठाउछु, उनले अनलाइन नै तोक लगाइदिन्छन । हुँदै नभए उनको स्वकिय सचिब छिन । उनैले सबथोक गर्छिन । मेरो मतलब काम सिस्टममा चल्छ कसैलाई ‘हाजी’ ‘हाजी’ गर्नु पर्दैन । बिशेष काम नपरी बोलाउने कुरा नै आउँदैन । आज भने बोलाए धेरै दिन पछी ।
म ती हाकिमको च्याम्बरमा पुगे । उनले सोधेः नेपाल किन चाईना तिर मोडियो ? चाईना त कम्युनिस्ट मुलुक हो । मैले भनेः नेपाल आफै मोडिएको हैन, मोदीले मोडिदिदै छन । उनी मोदीका भक्त हुन । धार्मिक भएकोले पनि मोदीलाई अली बढी रुचाउछन । उनले फेरी भनेः तिमीलाई थाहा छ भुकम्पको बेलामा मोदीले यती बिलियन दिए । मैले भनेः हो ब्याजमा दिएको हो सित्तैमा हैन । जापानले पनि भारतलाई धेरै कम रेटमा ऋण दिएको छ ।
उनी भन्दै गएः हामीले यतीका बर्ष पेट्रोलियम पदार्थ दियौ । आपत बिपतमा धेरै सहयोग गर्यौ । मैले भनेः किनेर लगेको हो सित्तैमा मागेर लगेको छैन । अहिले तिमीहरुले हामीलाई तेल बेचेनौ अनी हामीले चाईना सित किन्न आँटेको मात्रै हो, किनिहालेको छैन । उनले फेरी थपेः भारत तिमीहरुको असल छिमेकी हो र हुन चाहन्छ । मैले भनेः हामी पनि चाहन्छौ तर श्रीलंका, पाकिस्तान, बाङ्लादेश, बर्मा र भुटानसँग भारतको सम्बन्धलाई हामीले राम्ररी नियालेका छौ ।
उनी थप्दै गए म उत्तर दिदै गएँ । उनीसँग नेपालले भारतबाट आयत गर्ने सामानको लिस्ट नै पो रहेछ । सियो धरीको नाम पढेर सुनाए । बिदेश मन्त्री सुश्मा स्वाराज जसलाई धेरै नेपालीहरुले सराप्छन, उनले भारतीय बिधान सभामा भनेको कुरा सुनाए । हवाईजहाजबाट औषधी पठाउने छिमेकी भारत मात्र रहेको दाबी गरे । र घुमाउरो पाराले मधेसीहरुको मागलाई सम्बोधन गर्न सुझाए । मानौ म पनि केही हुँ ।
मैले भनेः तिमी र मोदीको लुवाई खुवाई, भाषा, संस्कार केही पनि मिल्दैन । मोदी गुजराती हुन तिमी तामिल । उनी हिन्दी बोल्छन तिमी तामिल भाषा । अर्कै देश बनाउ किन भारतीय हुन्छौ, आफ्नो भाषा, संस्कार, रितिरिवाजको जगेर्ना गर्नु पर्दैन ?
हिंड्ने खेर मैले भनेः २७ नाका मध्ये २५ नाका खोलिदेउ, बाँकी २ वटामा मात्रै छ गतिरोध । तिम्रो काश्मिरको सुरक्षा गर्ने ५० हजार गोर्खाली सिपाहीहरुका परिवार औषधी नपाएर मरे भने पाकिस्तानसँग लड्ने ती बन्दुकहरु तिमीतिरै सोझिन सक्ने कुरालाई त्यती हलुका नलेउ । उनी चुप रहे ।
अन्त्यमा उनले भनेः तिमी नेपालीहरु देशभक्त छौ । उनका यी अन्तिम शब्दहरु सुनिरहदा मैले भने हाम्रा ३ पुस्ताले नपाउने गरी १९९ बर्षसम्म बेचिएका गण्डक, कोशी र महाकाली सम्झें । महाकाली बेचेर आउने भनिएको वार्षिक १२० खर्ब सम्झें । यी बेच्ने नेताहरुको अनुहार झलझली आईरहयो ।
तिनै हाकिमको राज्यमा केही दिन पहिले बाढी आयो । सयौले बाढीको चपेटामा परेर ज्यान गुमाए । कयौ हराइरहेका छन । बिजुली बन्द भएर अस्पतालको आसीयुमा रहेका १४ जना बिरामीहरुको मृत्यु भयो ।
मृतकको सँख्या दिन प्रतिदिन बढ्दो छ । टुलुटुलु कसरी हेरौ ? नेपाल भुकम्पको अत्यासमा रहेको बेला उनले आफैं अघी सरेर जसरी सहयोग गरे त्यो गुण म कहाँ भुल्न सक्छु र ? मैले नि गच्छे अनुसारको दान गरेँ ।