किसन गौतम, दक्षिण कोरिया
मानव एउटा चेतनशील प्राणी हो । चेतना भएसँगै विभिन्न क्रियाकलाप देखाउनु स्वाभाविक पनि हो । एउटा सचेत नागरिक भईकन देशको राजनीतिक गतिविधिमा चासो राख्नुलार्इ खासै अस्वाभाविक पनि नमानिएला । तर कुनै पनि कुराको सीमा हुन्छ भने झैँ राजनीतिक गतिविधि गर्ने पनि निश्चित ठाउँ र समय पक्कै हुन्छ होला । यदि त्यो ठाउं, समय र सीमाको ख्याल नगरी कहिँ कसैको निहित स्वार्थ पूर्तिको लागि राजनीतिक गतिबिधि गर्न थालियो भने पक्कै पनि त्यसले गम्भीर परिणाम ननिम्त्याउला भन्न सकिदैन ।
प्रसङ्ग केहि हप्ता पहिला कोरियामा राजनीतिक गतिबिधि गरेको आरोपमा यहाँको अध्यागमन विभागले पक्राउगरि नेपाल फर्काइएका एनेकपा माओबादीको बर्गीय संगठन नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सागरराज न्यौपानेको ।
यदि न्यौपानेको भनाइमा सत्यता छ र उनलाई अन्य कारणले नभई कोरिया बसी राजनीतिक गतिबिधि गरेको आरोपमै नेपाल फर्काइएको हो भने अब कोरियामा रहेका राजनीतिक लगाएतका अन्य संघसंस्थाले पनि सोच्नु पर्ने बेला अबश्य आएकै हो भन्ने कुरामा दुइमत पक्कै पनि छैन । बुढी मरी भन्दा पनि काल पल्कियो भने जस्तै कोरियाली कानुनमा गैह्र कानुनी मानिएका दर्जनौ नेपाली संघसंस्थाहरुलार्इ पनि भबिष्यमा यस्तो संकट आइ नपर्ला भन्न नसकिएला ।
हुन त कोरियामा रहेका सबै नेपाली संघसंस्थाहरु राजनीति संस्था भने पक्कै पनि होइनन । तर परोपकारको नामबाट खुलेका संस्थाले राजनीति गर्न थाले भने यस्तो गम्भीर संकट पक्कै पनि आउछ भन्ने कुराको यो एउटा उदहारण हो कि सगर न्यौपाने काण्ड ।
हुन त कोरियाको नजरमा सबै संघसंस्था राजनीतिक संस्था होइन भन्ने मान्यता रहेछ भन्ने ज्वलन्त उदहारण हो जुनु गुरुङ । उनलाई हालै नेपाली संस्था वमन फर वमन मार्फत नेपाली चेलीहरुलाई सहयोगको लागि ठुलो योगदान पुर्याएको भन्दै एउटा सम्मान स्वरूप मानार्थ नागरिकता प्रदान गरेको छ ।
हुन त सागरको भनाइमा उनलाई आफ्नै पार्टी भित्रका केहि गुट उपगुटहरुले लगाएको चुक्लीको कारणले नै पक्राउ गरिएको थियो तर गम्भीर कुरा के छ भने उनको पार्टीमा कोहि बिदेशी त पक्कैपनि थिएन होला । त्यो चुक्ली बाजी गर्ने भनिएको व्यक्ति पक्कै पनि नेपाली नै थियो होला । आखिर एक नेपालीले अर्को नेपालीलार्इ किन यसरि फसायो त ? निहित स्वार्थपूर्तिको लागि गरिएको सांगठानिक कार्य भनेको यही हो ? पद र प्रतिष्ठा भन्दा ठुलो केहि नसोच्ने हामी नेपालीको बानी नै हो कि ? के हामी नेपालीलार्इ चाहिएको पद नै हो त ? पद र प्रतिष्ठा पाउनको लागि हामी संघसंस्था तिर आकर्षिक भएकै हो त ? यदि त्यस्तो हो भने हामी आफ्नै देशमा गएर आफ्नै पहिचानको पद र प्रतिष्ठा किन नखोज्ने त ?
कुरा आउछ कोरिया आउन लाइनमा बसी आफ्नो पालोको पर्खाईमा बसेका हजारौ नेपाली दाजुभाई दिदीबहिनीहरुको, हामी कोरियावासी नेपालीहरुले कोरिया सरकार समक्ष बिश्वासको वातावरण बनाउन सकेनौ अथवा यस्ता घटना फेरी पनि दोहोरिदै जाने हो भने अबश्य पनि आफ्नो पालो कुरेर बसेका हजारौ नेपालीहरुको कोरिया आउने सपना सदाको लागि सपना मात्रै नहोला भन्न नसकिएला ।
हुन त कुनै संगठन खोल्नु र सांगठानिक रुपमा काम गर्नु नराम्रो कुरा होइन तर बिदेशी भूमिमा रहेर पनि निहित स्वार्थको लागि एकले अर्कोको खुट्टा तान्ने प्रवृति आखिर कहिले सम्म त ?
यो कुरा पनि नभुलौ कि हामी कोरिया किन आएको र हामीलाई कोरिया सरकारले कस्तो सम्झौतामा प्रवेश गराएको थियो त ? कतै हाम्रो सम्झौतामा निषेधित गरिएका गतिबिधि तर्फ अग्रसर भएका त छैनौ नि हामी ? कोरियावासी नेपाली हरु जसले इपीएस कोरिया शाखाको कार्यालय ग्वार्को ललितपुरबाट मजदुर सम्झौता पत्रमा हस्ताक्षर गरि घाँटीमा मजदुरको बिल्ला झुण्ड्याएर कोरिया प्रवेश गरेको थियो उसैले सोहि भूमिमा बसेर के को राजनीति गर्नु ? र कसको स्वार्थको लागि राजनीति गर्नु ?
हुन त हामी प्रजान्त्रिक मुलुकबाट आएका मान्छे हामीलाई राजनीतिक गतिबिधि गर्ने पूर्ण अधिकार छ । त्यसैले सचेत भएर सांगठनिक गतिबिधि गर्ने हो कि ? ता कि हामी नेपालीकै कारणले भोलि हजारौ नेपाली दाजुभाई दिदिबहिनीहरुको लागि कोरिया प्रवेश गर्ने ढोकामा सदाको लागि ताल्चा नलागोस । सबैलाई चेतना भया ।