मुलुकलाई आपत पर्दा कहाँ लुके एनआरएन ? 

सुनिल न्यौपाने, काठमाडौं कात्तिक २० 

देशमा यतिबेला सहजता छैन । असहजता यति छ की बयान गरि साध्य छैन । त्यो कष्ट काठमाडौंले मात्र होइन तराईका जिल्लामा बस्ने सर्वसाधारणहरुले पनि कम भोगिरहेका छैनन् । अर्थात समग्रमा नेपालीले असहजता भोगिरहेका छन् । र, दुःखको कुरा त्यो असहजता कहिले टुँगिने हो यकिन छैन । 

रुपमा मधेस केन्द्रीत केहि दलहरु र उनीहरुको आव्हानमा आम मधेसी आन्दोलनमा छन् । तर सारमा ति मधेसवादी नेताहरुको पिठ्यूँमा धाप मार्नेहरु अर्कै छन् जसको आकारप्रकार प्रष्ट छ । आम मधेसी नागरिक मधेसमा ठूलो स्वरले कराउनेहरुले भनेको कुरा नै सत्य ठानिरहेछन् र उनीहरुलाई पछ्याइरहेछन् । यथार्थमा नयाँ संविधानमा के लेखिएको छ त्यो उनीहरुले पढेका पनि छैनन् । कागले कान लग्यो भन्दै दौडिरहेको अवस्था छ । 

तर यति हुँदा हुँदै पनि समस्या देखिएको छ जसलाई नेपालीले नै सुल्झाउनु पर्छ । त्यसका लागि अहिलेको जस्तो बोलचाल बन्द गरेर बसेर हुन्न । दुवै पक्ष यसरी बस्न मिल्दैन । तर अहिले मुलुकमा जे भइरहेको छ र जे गर्न खोजिएको छ, त्यसका बारेमा भनें आम नेपाली जो नेपाललाई माया गर्छन् र यसलाई आफ्नो देश ठान्छन् सचेत हुनु जरुरी छ । 

मुलुकका धेरै ठाउँमा पेट्रोल र डिजेल पाइन्न । धेरैले मोटरसाइकल वा गाडी थन्क्याएर पैदल हिंडिरहेका छन् वा कष्ट सहेर सार्वजनिक गाडीको यात्रा गर्दैछन् । ग्यास सकिएकाहरु दाउरा बाल्छन् । ग्यास सकिंनै लागेकाहरु आत्तिरहेका छन् अव बालबच्चा र बाबुआमालाई कसरी खुवाउने भनेर । नाकावन्दीको आडमा कालोवजारी यति अचाक्ली मौलाएको छ की हिजोसम्म प्रतिलिटर १ सय २० रुपैंयामा बेचिंदै आएको खानेतेल अहिले २ सय ५० पुगेको छ । दाल लगायत अन्य खाद्यान्नको हालत उस्तै छ । समग्रमा नेपाली अति संकटमा छन् । 

केहि महिना अगाडी काठमाडौंमा एनआरएनको भेला थियो । जसलाई कतिपयले आलोचना गर्दै रंगिविरंगी वा फिरंगी भेला समेत भन्ने गर्छन् । होटल सोल्टीको त्यो भेलामा विभिन्न देशमा बस्दै आएका गैर आवासीय नेपालीको गतिलै चहलपहल थियो । मातृभूमिलाई अप्ठ्यारो पर्दा काँध हाल्ने भावनात्मक भाषण पनि एकाधले गरे र तालि खाए । 

भेला सकियो । जितेकाहरुले गतिलैसँग दशैं माने । हारेकाहरुले पनि आफन्तसँग बसेर खाईपिई गरेर दशैं मान्दै पीडा भुले । र आफ्नो बाटो लागे । तर दुःखको कुरा बाटो यसरी लागे की अहिले उनीहरु कुन दुलोमा छन् खोज्नु पर्ने अवस्था छ ।   

भारतीय नाकावन्दी जारी छ । तराईबाट काठमाडौं आउजाउ गर्ने सार्वजनिक गाडीका शिशाहरुको ठाउँ प्लाष्टिकले लिएका छन् । चालकहरुले ज्यान हत्केलामा राखेर गाडी चलाइरहेका छन् । र चिन्ताको विषय पेट्रोल, डिजेल मात्र होइन अस्पतालहरुमा औषधी सकिन थालेका छन् । कुनै व्यक्ति औषधी नपाएर मर्ने अवस्था सिर्जना हुँदैछ । सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्याका थुप्रै ब्राण्डका औषधी पाइन छोडेको महिना नाघिसक्यो ।  

यो अवस्थामा एनआरएनए नामको संस्था कुन दुलोमा पसेर बसेको छ ? यसका अध्यक्ष शेष घले र उनी नेतृत्वको टोली कहाँ छ ? के मातृभूमिलाई अप्ठ्यारो परेको समयमा आफूहरु कार्यरत वा बसोवास भएको देशमा कुटनीतिक नियोगहरु मार्फत यसले अन्तराष्ट्रिय दवाव सिर्जना गर्न सक्दैन ? विभिन्न देशका दुतावासहरु अगाडी उभिएर हाम्रा मान्छे मर्ने भए, सहयोग गर भन्न सक्दैन ? यदि सक्दैन भनें यो फिरंगीहरुको मात्र संस्था हो जसले मातृभूमि प्रति आफ्नो दायित्व संझिदैन भनेर बुझ्दा हुन्छ । यो केवल राजनीतिको लत लागेका नेपालीहरुको राजनीति गर्ने र ओठे गफ गर्ने थलो हो भन्दा हुन्छ । यति हुँदा पनि चुप लागेर बस्ने हो भनें कहिले बोल्छ त एनआरएनए ? यति सदस्य र यति देशमा संगठन छ भनेर फूर्ति लाइरहनुको के अर्थ ?     

[email protected]

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय