‘सपनाको अवसान’ नलेखेको भए हुन्थ्यो !

चर्चित

सन् २०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाईले ‘विश्व खुल्ला अडियो कविता प्रतियोगिता’ आयोजना गरेको थियो । विश्वका २७ देश र नेपालका १९ जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए । कतारबाट मसहित ११ जना कविहरुले सहभागिता जनाएका थियौँ । संयोगले मेरो कविता प्रथम भयो । विश्वकै नेपालीभाषी साहित्यप्रेमीहरुले मेरो कविता मन पराए । म लगायत हाम्रो संस्था नवोदित साहित्यिक मोवाइल पुस्तकालयलाई कविताले केही हदसम्म चिनायो । त्यो वेला म संस्थाको सचिव थिएँ । संस्थाका साथीहरु, बिभिन्न साहित्यिक संस्था, जिल्लाका संस्था, समाजका अगुवा र त्यो वेलाका राजदुतलगायतले बधाइ पनि दिए । मान्छे अरुले सम्मान दिनलायक केही उपलब्धी गरेपछि फुरुङ्ग हुनेरहेछ । म पनि भएँ । जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ । मलाई ‘यो मान्छे कवि हो’ भनेर चिनाउने कविता ‘सपनाको अवसान’ यतिखेर आएर ‘मैले नलेखेको भए हुन्थ्यो’ भन्ने लागेर आएको छ ।

जीवनको कुनै कालखण्डमा मान्छेले राखेको धारणा वा बिचार समयको अर्को कालखण्डमा परिवर्तन हुने रहेछ । आफैँले लेखेको कुनै सदाबहार गीत समयको अर्को कुनै कालखण्डमा ‘यस्तो लेखेको भए हुने’ वा ‘नलेखेको भए हुने’ भन्ने बिचार आउने रहेछ । हो, मलाई अहिले ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागेर आएको छ । मैले अरु कुनै कविता नलेखेकोमा मलाई यस्तो लागेको होइन । हुन त साथीहरुले ‘चर्चित दुर्घटनामा परेर प्रथम भयो’ भन्छन् । शिव अधिकारी एउटै गीत ‘सपना भुलाइ सारा आँशु पिएर जाउ, मन्दिरमा छ तिम्रै तश्विर लिएर जाउ’ बाट अजम्बरी गीतकार कहलिए भने मैले एउटै कविताबाट कवि नहुने के आधार छ र ? लेख्नलाई त त्यसपछि पनि मैले कविता लेखेको हुँ तर ‘एउटै बाउका सन्तान एकै स्तरका हुँदैनन्’ भनेजस्तो मेरा अन्य कविता ‘सपनाको अवसान’ जत्तिका भएनन् । मैले यसलाई स्वीकार गरेको छु । 

सन् २०१२ सेप्टेम्बर ४ तारिकको एउटा घटनाले गर्दा मलाई ‘सपनाको अवसान’ नलेखेको भए हुन्थ्यो भन्ने लागेको हो । कवितामा ‘एउटा गाउँले ठिटो शिक्षा लिन शहर पस्छ । शहरमा उच्चशिक्षाको प्रमाणपत्र नबिकेपछि र ठूलो मान्छे हुने सपना नटिकेपछि हरियो बाँसजस्तो पासपोर्ट बोकेर खाडी आउँछ । खाडीको कमाइले ऋणपान तिरेर घरमा राडी नहाल्दै उसको सुतेकै अवस्थामा प्राणपखेरु उड्छ । उसँगै उसको परिवारले देखेको सपना टुट्छ ।’ ठ्याक्कै त्यस्तै भवितब्य जानेरै लेखे झैँ मैले भोग्नु परेको छ । सन् २००६ डिसेम्बर १५ तारिकमा मेरा ससुराबा कतार आउनु भएको हो । यताको एउटा जोड्नी कम्पनिमा ‘अलराउण्डर हेल्पर’को काम गर्ने उहाँले मेरा कान्छा सालालाई सन् २००९ अगष्टमा र मलाई सन् २०१० फेब्रुवरी ४ तारिकमा आफु कार्यरत कम्पनिमा क्रमशः ड्राइभर र डिजाइनरमा तान्नु भएको थियो । जेठो सालो यताको एउटा कम्पनिमा चित्त नबुझेर भागेका रहेछन् । उनी भर्खर जेल बसेर गएकाले दुई बर्ष आउन नपाउने भए । त्यसैले तिनलाई साउदी पठाउन सफल भएका ससुराबाको योगदान अमूल्य छ । 

दुई छोरा र ज्वाईँलाई खुट्टो टेकाएपछि घरैमा बसेर केही गर्ने उहाँको चाहना थियो । अवको चोटी जाँदा फिनिष्ट जाने उहाँको बिचार थियो तर त्यो अधुरै रहेर उहाँ त यो संसारबाटै पो फिनिष्ट जानु भयो । कन्टेनरको पेन्टिङ्गका लागि दिनहुँ उहाँलगायत अरु केही साथीहरु रास्लाफान जानुहुन्थ्यो । एकदिन काम सकेर गाडी चढ्ने बेलामा ‘पेट दुख्यो’ भन्नु भएछ । नेपाली ड्राइभर भाइले हमद हस्पिटल ल्याउँदै गर्दा गरफामा ‘उल्टी गर्छु’ भनेर भन्नु भएछ । ति भाइले गाडी रोकिदिएपछि उत्रिएर बाटाको किनारमा जानु भएछ । उल्टी गर्नु भएछ र फेरि गाडीमा फर्किनु भएछ । गाडी चढेको केही मिनेटमै सिटैमा गल्र्याम्म ढल्नु भएछ । अरु साथीहरुले उठाउँदा चेत हराइ सकेको रहेछ । भाइले हतार हतार हमदतिर गाडी दगुराएछन् । गराफाबाट हमद आउन १५ देखि २० मिनेट लागेछ । हस्पिटल आउँदासम्म होस आएनछ । हस्पिटलमा एडमिट गरेपछि ति भाइले मलाई फोन गरे । म र मेरो कान्छो सालो सँगै गयौँ हेर्न । सुरुमै डाक्टरले भनिहाल्यो ‘उल्टी गरेकाले खानाको टुक्रो श्वास नलिमा छिरेकाले अक्सिजन नपाएर अचेत’ हुनु भएको कुरो । ति डाक्टरका अनुसार ‘एउटा स्वस्थ मान्छेले नौ मिनेटसम्म अक्सिजन पाएन भने उसको दिमाग मर्छ’ रे । डाक्टरले अनेक प्रयास गरेपछि मुटु चल्ने भयो तर अर्थोक केही नचल्ने । मुटु चल्न थालेपछि मैले डाक्टरलाई सोध्दा उनले भने, ‘यस्तो प्रकृतिले अचेत भएका बिरामीको फर्किने सम्भावना १० प्रतिशत हुन्छ, फर्किहाले पनि मानसिक सन्तुलन ठिक हुँदैन । कोमामा जाने सम्भावना ९५ प्रतिशत हुन्छ ।’ 

अठार दिनको ‘विश्वस्तरिय उपचार’ गराउँदा पनि उहाँको स्थितिमा सुधार भएन । बरु दिनदिनै खराव हुँदै गयो । दिमाग फर्किएन । किड्नीले पिसाव बनाउन छोड्यो । हेर्दाहेर्दै शरिरले औषधी लिन नसक्ने भयो । यसैबीच सेप्टेम्बर ४ तारिक हस्पिटलबाट फोन आयो र हामी हेर्न गयौँ । भारतिय एक डाक्टरले ‘अव अन्तिम अवस्था’ भएको बताए । मुटु चल्न बन्द हुँदै गएको बताए । हामीले देख्दा देख्दै एकपटक मुटु चल्न छोड्यो र केही डाक्टर भेला भएर छाती थिचथाच पारेर फेरि चल्ने बनाए । त्यसको दस मिनेटमा मैले मेरै आँखाले देखेँ, उहाँले अन्तिम श्वास लिनु भयो र छोड्नु भयो । यत्ति भएपछि उहाँको छाती हल्लिन छोड्यो । मैले यति नजिकबाट कसैले अन्तिम श्वास छोडेको भोगेकै थिइँन । भोगेँ । अलिपर बसेर चिन्तित साला भाइलाई ‘बुवा रहनु भएन’ भनेर सुनाइ दिएँ । साउदीमा हुने जेठा साला भाइलाई पनि सुनाइ दिएँ । रास्लाफानमा कार्यरत मेरा दाजुलाई पनि सुनाएँ । तर ससुरालीघरमा सुनाउने हिम्मत भएन । दाजुलाई बुवालाई ‘के गरुँ ?’ भनेर सोध्न लाएँ । बुवाले ‘सत्य कुरा भन्दा केही हुँदैन, सुनाइदिनु । केही समय रुन्छन, कराउँछन् र शव ल्याउञ्जेलमा थाक्छन’ भन्नु भएछ । कुरो ठिकै लाग्यो र ससुरालीका बन्धु र छिमेकीलाई सुनाइदिएँ । धन्न मेरा साला भाइहरुको मुटु दह्रो रहेछ, होस हराएनन् । बरु संयमता अपनाएर सत्यलाई स्वीकार गरे । 

मान्छे भएर होला ज्यान गए पनि आश त हुन्छ नै । कहीँकतै इन्सुरेन्स पाइन्छ कि भनेर कम्पनिको मालिकलाई सोधेँ । जवाफमा उसले सन् २००९ देखि कम्पनिमा कार्यरत कुनै पनि कामदारको विमा नगरेको बतायो । विमा गरेकै भए पनि हस्पिटलमा बितेकाले र मृत्युको कारण हृदयघात भएकाले विमा रकम नपाइने प्रावधान रहेको बतायो । मलाई चित्त नबुझेर कागजपत्र बनाउन दुतावास जाँदा द्धितिय सचिव जयबहादुर राईलाई सोधीहेरेँ । उहाँले पनि ‘जोर नगर्नु, केही नपाइने भएकाले कोर्टकचहरी नधाउनु । ड्युटी सकिएर फर्केपछि अफ ड्युटी हुने भएकाले विमाको नियमले नै नपाउने छ । तपाईँको क्लेम गर्दा पैसा मात्रै खर्च हुन्छ तर पाउने केही होइन’ भन्नु भयो । हामीले पनि आश मारिदियौँ । 

चार दिन कागजपत्र बनाउन दौडधुप गरेपछि हामी शव लान सफल भयौँ । शवलाई लगेज सँगसँगै उता हुने आफन्तले बाहिर निकाले । झापाबाट तीन बर्षअघि ससुराली नगरकोट सरेकाले होला सवै आफन्त दाहसंस्कारमा सहभागी हुन आर्यघाट आएका थिए । सासुआमा र मेरी श्रीमतिको दोहोरो रुवाइसँगै मैले पनि आँशु थाम्न सकिन, लुकेरै रोएँ । बिछोडको बादलले मनको भित्तो हानेपछि आँखाको डिलमा बलेँसी झर्ने रहेछ । झरिरह्यो । यो घडी मलाई एउटा कुरो साह्रै सम्झनामा आएको छ । दुई छोरालाई ससुराबाले ‘ऋण तिरेर मेरा लागि दुई लाख जम्मा गरिदियौ भने जान्छु’ भन्नु भएको थियो । करिव तीन लाख ऋण तिरेर दुई भाइले दुई लाख जम्मा गरिदिएर ‘अव जानु’ भन्दा उहाँले अर्को अड्को थापेर थप दुई लाख राखिदिन भन्नु भयो । तर केटाहरुले त्यो सपना साकार पारिदिन नपाउँदै बुवाले धर्ती छोड्नु भयो ।

रेगिस्तानमा आएर मैले लेखेको कविता उहाँमा लागु भएकोमा मलाई ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागिरहेको छ । कता कता म आफुलाई दोषी ठानिरहेको छु । ससुराबाकै जस्तो बार्षिक सयौँ नेपालीले यहाँ जीवन गुमाइरहेका छन् । ति र तिनका परिवार अल्पकालिन विमाका कारण सित्तैमा ज्यान गुमाए जस्ता भएका छन् । चाँडै दिर्घकालिन विमाका लागि नेपाली नियोगले कदम चालोस् । ताकी अर्को कुनै कविले फेरि ‘सपनाको अवसान’ नलेखोस् र लेखे पनि त्यो कसैको जीवनमा मेल नखाओस् । कतै न कतै मेरै कविताको भाव जस्तो भएर ‘जीवनकै अवसान’ भोग्ने ति सवै मृतात्माप्रति मेरो हार्दिक श्रद्धाञ्जलि !

 

सपनाको अवसान

चर्चित

जसरी गोधुलीको पूर्व सन्ध्यामा

झुल्किन्छन् एक हूल ताराहरु

ठिक त्यसै गरि

मान्छे नजन्मिदै जन्मिन्छ सपना

बाबुआमाका रहर र चाहनासँगै

बर्षहरु खाएपछि हुर्किन्छ सपना

क्रमशः बालक किशोर र जवान भएर

तन्नेरीसँगै कलेज जान्छ सपना

कुनै सपना अधुरै हुन्छ र रहन्छ

दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो ।

 

कुनै उच्चतहको प्रमाणपत्र बोकेर

लाग्छ जुत्ता खियाउँदै शहरतिर सपना

शहरमा सपनाले हाल्छ हांगा र पात ।

 

शहरमा प्रमाणपत्र नबिकेपछि

शहरमा सपना नटिकेपछि

अन्तिम बिकल्प रहन्छ सपनासँग

र लाग्छ हरियो बाँस जस्तै

हरियो पासपोर्ट बोकेर

ल्याकत अनुसारको देश

अमेरिका बेलायत अष्ट्रेलिया

जापान सिंगापुर मलेशिया

वा म जस्तै रेगिस्तानतिर

आफ्नै पैसाले बेचिएर

आफ्नै मलामी बन्न ।

 

रेगिस्तानमा आएको सपना

बर्षै पिच्छे सपनामै सिमित हुन्छ

दशैँ, तिहार, तीजमा,

ल्योछार, फगुवा, इदमा,

साकेला, उँभौली र उँधौलीमा

डाको छोडेर रुन्छ सपना

मुलुक सम्झेर रुन्छ सपना ।

 

कति सपना सवारीमा किचिएर मर्छन्

कति सपना टोपी खस्ने टावरबाट खसेर मर्छन्

कति सपना मर्छन् समुन्द्रमा डुबेर

तातो घाममा रन्थनिएर मर्छन् कति सपना

मर्छन् कति सपना विजुली लागेर

तर पनि किन देख्न छोड्दैन मान्छेले सपना ?

 

दिनहरु महिनामा फेरिन्छन्

सपना सपना नै रहन्छ

महिनाहरु बर्षमा बद्लिन्छन्

सपना फेरि सपना नै रहन्छ

बर्षहरु दसक दसकहरु रतज

र रजतहरु शताब्दीमा फेरिन्छन्

तर पनि सपना सपनामै सिमित रहन्छ

 

कसले देखायो यस्तो सपना

जो भत्किन्छ खोलाका किनार जस्तै भएर

र एकदिन मर्छ सपना विपना नभइ

सुतेको सुत्यै भएर ।

 

(प्रस्तुत कविता विश्व नेपाली खुल्ला अडियो कविता २०११ मा प्रथम भएको थियो (सम्पादक)

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय