हरिकृष्ण न्यौपाने, सिन्धुपाल्चोक । हाल कुवेत
देशमा तत्कालिन नेकपामाओवादी नेतृत्वमा सशस्त्रविद्रोह चर्किरहेको थियो । नेपालमा रोजगारीको अवशर साह्रै थोरै थिए । त्यसैले स्वदेशमै राम्रो कामपाउने अवस्थाथिएन । त्यसैले खाडीको देशमाभएपनि रोजगारीकालागिजाने मनस्थितिबनाएको थिएँ । २०६१ बैशाख १४, १५ तिरको कुरा हो । कान्तिपुर पत्रिकामा छापिएको एउटा विज्ञापनमा आँखापुग्यो ।
‘कुवेतमा रोजगार,फ्रि(भिसा अनि इन्टर्भियूमा सेलेक्ट भए १५ दिनमा फ्लाईटू’ यो विज्ञापनमा दिइएको ठेगाना पछ्याउँदै दाना ओभर्सिज कुपण्डोलमा पुगें । त्यहाँ धेरै युवाको भिड लागेको थियो । हेर्दा जात्रानै त होइन भनेजस्तै थियो । सवै निक्कै उत्सुकतापूर्वक पालो पर्खिरहेकाथिए । राम्रो अवशर भएकोले होला कोहि आफ्नो ब्यापार छोडेर, कोहि पढाईलाई बिचमै पूर्णबिराम दिएर त कोहि सरकारि जागिर छोडेर समेतलाइन लागेका थिए।
यसै भिडमा म पनि नेपालको याक एण्ड यति होटलको अस्थाई जागिर छोडेर गएँ, अन्तर्वार्ताको लाइनमा फाईल च्यापेर । सेतो सर्टमा बट टाई अनि कालो पाइन्ट र कालै जुत्ता, धेरैको पोशाक यस्तै थियो । अनि मेरो पालो आयो । म पसे भित्र, गुड मर्निङबाट सुरु गरे र आफुले भ्याएसम्म राम्रोसँग बोलेँ । ऊ सायद खुसी भएछकिरु मसंग हातमिलाउदै कन्ट्याक्ट पेपरमा सहि गरायो । अनि म बाहिरिए । भोलि पल्ट थाहा भयोकि म तीनसय आवेदकमध्ये चौथो नम्वरमा परेंछु । म पास भएँ । अनि मेनपावरको मान्छेले मेडिकल गरायो अनि अब सात दिन भित्र फ्लाईट हुने शुभ-समाचार दियो ।
तब होटलबाट पाउने सबै तलब लिएर सबै चिनजानका साथिहरूसँग बिदा भएर लागे जन्मघर सिन्धुपाल्चोक तिर । बुबा, आमा, श्रीमति अनि छोराहरू, भाई, बहिनी, दिदिहरू अनि सबै गाउँले साथिभाई र आफन्तहरूसँग बिदा भए । ‘मुटुमाथि ढुँगा राखि हास्नु पर्याछ’ भनेजस्तो डाँडाँको गणेशलाई अनि गाउँको देबिलाई मन-मनै प्रार्थना गर्दै राम्रो काम गर्ने अनि परिवारमा सबैलाई सुख दिने चाहनालाई पालेर लागे चेहेरे तिर। अरनिको राजमार्गबाट जेठ ३ गते लागे काठमाडौं, बाहिर जाने सुनौलो सपना सहित । अनि केहि प्राबिधिक कुराहरू मिलाउदै मसँगै ४ जना केटी र ३१ जना केटा साथिहरू २०६१ जेष्ठ ५ गते कतार एयरवेज मार्फत बेलुकी नेपाली समय अनुसार ५ बजे कतारलाई ट्रान्जिट बनाउदै उड्यौं । पहिलो अनुभबमा बिदेश त्यसमा पनि खाडि मुलुक, कहाँ, कस्तो अनि कसरि सबै साथिहरू सोच मग्न थिए।
कतारको समय बेलुकीको ८ बजे हामी दोहा एयरपोर्टमा पुग्यौं । अनि १८ घन्टाको ट्रान्जिट भएकोले हामी सबैलाइ होटल होराइजन दोहामा लगियो । पहिलो पटक एयरपोर्टबाट होटलको बसमा चढ्दा यस्तो तातो हावाको झोक्काले हान्यो अनि मैले तत्कालै सम्झिए दाईले केहि बर्ष अगाडि कतारबाट पठाउनुभएको पत्रमा कतारको तातो हावाले शरिर फुलेको कुरा लेख्नुभएको । साच्चैं सारो तेजिलो हावा अनि सारो तातो मैले मन भित्रै प्रतिप्रश्न गरे कस्तो गार्हो होला है कतारमा काम गर्न ? तर के गर्ने यो त सबै नेपालीको बध्यता र विवशता !
कतारको दोहामा रहेको नेपालीहरूको जमघटस्थल नेपाली चोक अनि केहि स्थानहरू कतारमै रहेको साथिहरू मार्फत घुमेर हामी फेरी कुवेतको फ्लाइटको लागि दोहा एयरपोर्ट आयौ । कतारबाट बेलुकी ५ बजे हामी कुवेत आईपुग्यौं र केहीबेरको पर्खाईबाट अफिसको मान्छेले हामीलाई कम्पनिको हाउजिङमा लग्यो ।
हाम्रो समुहमा चारजना महिला र ३१ जना पुरुष थियौं । सायद धेरै साथीहरू भएर होला त्यती गार्हो भएन, तर पनि सारो तातो जता गयो तातो अनी त्यही तातोले खायो सातो । हामी सबैलाई एउटै फ्ल्याटमा राखियो । खाना चाही आँफैले बनाउनु पर्ने रहेछ। त्यसैले धेरै साथीहरूलाई गार्होनै भयो किनकी कहिले पनिखाना नबनाउने साथीहरू पनि थिए । तर बिदेश आईसके पछी के गर्ने आँफैले समय अनी परिस्थितीसँग सम्झौता गर्नै पर्छ त्यसैले सबैले कामको साथमा साथीहरूसँग नै आत्मियता बाड्नु पर्ने हुन्छ सबैले त्यसै गर्यौ ।
काम पनि शुरू भयो रमाइलो नै हुँदै थियो। करिब दुई महिना भित्रमा मेडिकल सकियो । कम्पनिको सबै तालिमा तथा काममा पनि राम्रै दखल हुँदै थियो। यत्तिकैमा हामीसँग भएको भिजिट भिसा सकिएको तीनदिन भएको थियो। अनी कम्पनिले ईमेल पठाएछ हामीले काम गर्ने रेष्टुरेण्टमा । मसँगै एउटै रूममा बस्ने अनी सँगै डिउटी गर्ने साथी काठमाण्डौको रविन ठकुरी र म जुलाई १६ को दिन बिहान ११ बजे हाम्रो हेड आफिसमा सिभिल आईडी (कुवेत भित्र स्थाई वा अस्थाई बसोबास गर्ने सबैले बोक्नु पर्ने आइडी) लिनको लागि कुवेतमा रूटमा चल्ने बसबाट हाम्रो हेड आफिस तिर लाग्यौँ । तर हामी चडेको बसलाई कुवेतको प्रहरिबाट बाटोमानै रोकेर चेकिङ भयो । कुवेतको नियम अनुसार जोसँग सिभिल आइडी छैन उसँग कि त पासपोर्ट वा कि समय अबधी भएको पेपर भिसा चाहिने रहेछ । तर हामी दुई जना लगाएत अरू सात जनाको भिसा सकिएको पेपर भएकोले प्रहरीकै मोटरमा हामी नौ जनालाई कैफ्यान भने ठाउको जेलमा लगियो। अरबिक पनि त्यती नआउने अनी भर्खरै मात्र कुवेतमा आएकोले यहाँको नियम हामीलाई के थाहारु तर पनि यहाँको नियम कानुनलाई मान्नै पर्दोरहेछ।
हामीलाई त्यहाको प्रहरी प्रमुखले एउटा कोठामा लगेर नौं जनालाइ नै लाइनमा राख्यो अनि त्यसपछि सबैलाई पालै पालो कम्पनि र नाम अनि धर्म सोध्यो, हामिले सबै बतायौ । त्यसपछि हामीले कम्पनिमा फोन गरेर खबर गर्यौं।तर हाम्रो मेनेजरले हाम्रो सिभिल आइडि लिएर आउन ढिला गरेकोले हामीलाई २४ घण्टाको मुद्दा दर्ता गराएर एउटा कोठामा लग्यो । मसँग भएको मोबाइल पनि लग्यो । म, रबिन जि अनि अरू दुईजना बंगलादेशी गरेर चार जनालाई एउटामा राख्यो ।
जुलाईको मध्य गर्मि त्यसमा पनि पहिलो अनुभबमा खाडि र एसी बिनाको अध्यारो कोठा । अनि केहि ओच्छ्याउने नभएको खाली भुई र घुँडासम्म भरिएको खुल्ला टवाइलेट अनि त्यस्को गन्धले सारो पिरोलेको कुरालाई यहा शब्दमा ब्यक्त गर्न सकिरहेको छैन । पहिला त भित्र छिर्नै गार्हो लाग्यो तर केहि क्षणमा खालि भुईमै बस्यौं । अनि केहि बेरमै हाम्रो मेनेजर आयो र केहि चिन्ता नलिनु अब भोलि हामि लिन आउछौ भन्दै उ पनि बाहिरियो ।तब अब त साच्चै बन्दि भएको जस्तो लाग्यो । केहि क्षणमा त्यस जेलमा कार्यरत एकजना बंगालीले हामीलाई पानी ल्याइदियो । अनि फलामको बारबाट भित्र रहेको कसैले पहिले नै प्रयोग गरिसकेको पुरानो बोतलमा बाहिरबाट पानी हालिदियो । चिडिया घरमा जनावरलाई दर्शकले खानेकुरा फालिदिए जस्तो ! अनि आफैले आफैलाइ धिकार्दै पानी लियौ तर हामीले २४ घन्टा पानी नपिएरै बितायौं । एकै छिन पछि फेरि त्यहि बङगाली जेल स्टाफले हामीलाइ खाना लिएर आयो । प्याक गरिएको सानो प्याक उहि फलामको बारबाट चार प्याक छिराईदियो । हामिले खोलेर हेर्दा बिफ पुलाउ रहेछ अनि हामिले त्यो पनि खाएनौं । तब एक मिनेटलाई एक घन्टा जस्तो लाग्ने घडिको सुई हेर्दै बस्यौं।
सायद बेलुकिको सात बजे फेरि हामी चार जनालाई बेलुकिको खाना स्वरुप खबुस (सुख्खा रोटि) र एक-एक ओटा सुन्तला अनि एक कप अरेन्ज जुस दिईयो । अनि सारो पानी प्यास र खरोपन पनि भएकोले सुन्तला र जुस चाहि खायौं । अघि बस्न पनि घिन लागेको भुईलाई बिस्तारा बनाउदै र आफ्नो हातलाई सिरानि बनाउदै अनि आफुले लगाएको सर्ट पाइन्टलाईनै सिरक र डस्ना बनाउदै खाली भुईमा पल्टियौं । तर किन निन्द्रा लाग्थ्यो र ?कडा र खालि भुई भएकोले बस्दा – बस्दा जिउनै दुखेको अनि मनमा सारो चिन्ताले सताएकोले २४ घण्टाको बसाई २४ महिनाजस्तो अनुभब गर्दै रातभर जगराम बस्यौं । हरेक घण्टा-घण्टामा डिउटिमा रहेका कुवेती प्रहरी जेलको कोठाको ढोकामा रहेको बारलाई आफ्नो लठ्ठिले बजाउदै र जुत्ता बजाउदै आउने-जाने गरेको र केहि मानिसलाइ पिटेको अनि रोएको स्वर प्रष्ट सुनिन्थ्यो।
जब बिहान छ बज्यो अनि केहि उज्यालोको छायाँ देखियो अनि केहि बेरमै त्यहि बङगालि स्टाफ्ले बिहानको नास्ता स्वरुप खबुस (सुख्खा रोटि) र जुस लिएर आयो । खबुस त खाएनौ तर जुस चाहि सिलप्याक भएकाले खायौं । अनि फेरि घडि हेर्दै कति बेला एघार बज्ला र अफिसबाट मान्छे आएर लिएर जाने हो भन्दै बस्यौं । यस्तो बेलामा त समय पनि लामो लाग्ने अनि कुरा गर्न पनि मन् नलाग्ने र घरको सम्झनाले सताउदो रहेछ ।
जब दश बज्यो तब हाम्रो मेनेजर हाम्रो सिभिल आइडि र हाम्रो कन्टयाक पेपर लिएर आयो । एक प्रहरी आएर म र रबिनलाई हातको इसाराले ढोका खोलेर बोलायो । अनि हामी चुपचाप उसको पछि लाग्दै काउन्टरमा गयौं ।हिजो हामीबाट लिएको मोबाइल लगायतका सामान फिर्ता दिएर एउटा कागजमा सहि गरायो अनि मासलाम (अरबिकमा गुडबाई) भन्दै मेनेजरको जिम्मा लगाई दियो । अनि हामी पनि त्यहि मेनेजरको कारमै हेड अफिस गयौं।
उसले बाटोमा अंग्रजीमासम्झायो कुवेतको नियम कानुन के कस्तोछ र पालना नगरेमा हुने करबाहि को बारेमा र हामीलाइ समयमै निकाल्न नसकेकोमा क्षमा पनि माग्यो । हामी पनि जेजस्तो भयो यसलाई ठुलो बनाएर काम छैन भन्दै हेड अफिसमा कफि र नास्ता गरेर कम्पनिको मोटर बाटै कोठामा गयौं। तब सबै साथिहरू हाम्रै बाटो हेरेर बसेका रहेछन र हाम्रो ईजिप्सियन रेष्टुरेन्ट मेनेजर पनि हामीलाई कुरेर बसेको रहेछ । तब सबै जनासँग केहि गफगाफ गरि नुवाइयो अनि सुतियो । दुईदिन रेस्ट लिनु भन्यो मेनेजरले पनि अनि दुईदिन नै सुतेर बितायौं । यसरि नेपालबाट कुवेत आएको चालिस दिन जतिमा भोग्नु परेको कुवेतको २४ घण्टाको जेल बसाई सार्हैनै नरमाइलो लाग्यो अनि डोल्मा शेर्पा लगाएत सम्पुर्ण खाडिमुलुकमा जेल सजाय पाएका नेपालीहरूको के स्थिति होला तर ?
कुवेती प्रहरीहरूमा खासै मैले त्यति मानवता र अनुशासन चाहि देखिन । किनकि कार्यालय समय भित्र कार्यालयमै चुरोट खाने, सोधपुछको काम गर्नेले पनि सबैको सामुन्ने पक्रेको मान्छेलाई पिट्ने अनि अरबिकमा धेरै नराम्रा गालि दिने । छोटो समयका लागि जेल परेकाहरुले त नेपालको जेलमा भन्दा गएगुज्रेको अवस्था भोग्नुपर्ने । यसले कुवेत जस्तो बिश्वको सबै भन्दा ठुलो पैसाको मुल्य भएको र तेलको खानि अनि अमेरिकाले धेरै बिकास गरिदिए पनि सामाजिक स्तर भनें निकृष्ठ । अहिले पनि कुवेत सिटि जाँदा-आउदा कैफान भन्ने त्यो बस स्टेशनमा आएपछि त्यहि कुराको याद आउछ । मैले सुनेको उखान अनुसार खाडिमा त शत्रु पनि नआउन भन्ने थियो तर अहिले म भन्छु जो खाडिमा आईपुग्छ उसले त्यहाको नियमलाई सय प्रतिशत नै पालना गर्नु पर्छ । मैले जस्तो कुनै पनि नेपालीले कुनै पनि बिदेशी मुलुकमा छोटो वा लामो कुनै पनि जेल सजाय भोग्नु नपरोस ।
(आफ्नो परदेश यात्राका यस्तै संस्मरण हामीलाई पठाउनु हुन हामी हाम्रा प्रिय पाठकलाई आग्रह गर्दछौं । आफ्नो अनुभव पठाउँदा एकप्रति आफ्नो तस्वीर पनि पठाउनुहोला । तपाईको सामग्री हामीलाई dparadesh@gmail.com मा ईमेल गर्नुहुन अनुरोध छ । सं )