लाज लागोस् !

चर्चित –‘लाज’ भन्नाले शरम भन्ने अर्थ लाग्छ । शरमलाई शर्म पनि भन्ने गरिन्छ । मान्छेले धर्म छोड्दा अधर्मी भए जस्तै लाज पचाउँदा लज्जित हुन्छ । भनिन्छ इज्जत हुनेकै बेइज्यत हुन्छ । प्रतियोगितामा भाग नै नलिंदा प्रथम हुने सम्भावना नभए जस्तै इज्जत नै नहुनेको बेइज्यत हुँदैन । लाजसँग मान्छेको संस्कार, आचरण र नैतिकता जोडिएर आउँछ । लाज नलाग्ने मान्छे उदण्डी हुन्छ, पाखण्डी हुन्छ र घमण्डी हुन्छ । महिलाहरुका लागि त झन् लाजलाई तिनको गहना भन्ने गरिन्छ । मान्छेलाई लाज लाग्न छोडेपछि मान्छे मान्छे नभएर अर्थोकै हुन्छ । 

दोहामा धेरै नेपालीहरुलाई लाज लाग्न छोडेको छ । लाज नलाग्ने ब्यक्तिहरु विभिन्न पेशा/व्यवसाय, संघसंस्थामा आवद्ध छन् । यसरी हेर्दा समाजका स्वनामधन्यहरुलाई नै लाज लाग्न छोडेपछि तिनका पदचिन्ह पछ्याउनेहरुलाई लाज नलाग्नु कुन ठूलो कुरो भयो ? बाबुआमाकै मुखमा ‘हरी’ छैन भने छोराछोरीका मुखमा हरी खोज्नु उँधो बगाएर उँभो खोज्नु जस्तै हो । ‘कस्ताकस्ता ब्यक्तिहरुलाई लाज लाग्न छोडेको छ त ?’ भन्नु होला । पढ्नुहोस् म भन्दैछु । 

दोहाको नेपाली समुदायलाई सवैभन्दा धेरै राजनीतिक माहोलले प्रभावित पारेको छ । आतंकित पारेको छ । अरु बार त तिनले पनि काम गर्नु पर्दो हो । तर विहिबार बेलुका र शुक्रबार दिनभरि दोहाको कुनै पार्कमा कुनै एक पार्टीका ठुटे नेताले दुईचार केटा भेला पारेर भाषण दिइरहेका हुन्छन् । भाषण दिनुसँग मेरो कुनै आपत्ति छैन र विमती पनि हैन । तर तिनका राजनीतिक विचार गैर राजनीतिक ब्यक्तिका जीवनमा केही बर्षअघि नेपालमा नागरिकका टाउकामा संकटकाल लादेजस्तो जवर्जस्ती लाद्नु घोर आपत्ति हो । घोर विमती हो । दोहामा भएका साहित्यिक संस्था, साङ्गितिक संस्था, नाट्य संस्था र यस्तै अन्य संस्थामा आफ्ना मान्छे हाल्न र संस्थालाई पार्टीको झण्डामुनी ढाल्न अनेक यत्न गर्ने राजनीतिकर्मीहरुले धर्म छोडेका छन् । त्यही भएर तिनलाई लाज लाग्न छोडेको हो । त्यति मात्र हैन दोहामा हुने अधिकांश कार्यक्रममा कार्यक्रमको ढाँचा/प्रकृति र विषयबस्तुलाई पाखा लाएर तिनका राजनीतिक भाषणले किनेको समय खर्लप्प खाइदिँदा पनि तिनलाई लाज लाग्दैन । माइकको फुँदो पाउने बित्तिक्कै हुँदो नहुँदो भट्याउने र मुख्य विषयलाई लत्याउने अ/नेताहरुलाई लाज नलागेको देखेर मलाई लाज लागेको छ । तिनलाई लाज नलागेको देखेर तपाईँलाई पनि तिनका तर्फबाट आफैँ लजाइदिउँकी झैं लागेको हुँदो हो । नेपालमा दातृ राष्ट्रको आर्थिक सहयोगको खिल्ली उडाउनेगरीको प्रयोग भएजस्तै दोहामा विभिन्न पार्टीका भातृ/भगेनी राजनीतिक संस्थामा आवद्धहरुले अन्य कार्यक्रमको खिल्ली उडाएर आफ्नै छवी धमिल्याएका छन् । त्यसैले तिनिहरुलाई लाज लाग्न छोडेको छ । तिनलाई मेरो आग्रह छ– ‘लाज लाग्ने वातावरण बनाउनुहोस् ।’

दोहामा हुने विभिन्न कार्यक्रमका उद्घोषकलाई लाज लाग्न छोडेको छ । उद्घोषक भनेको कार्यक्रमको मेरुदण्ड हो । मेरुदण्ड नै भाँचिएपछि वा लुलो भएपछि कार्यक्रम नै कमजोर बन्छ । कुनै पनि कार्यक्रमलाई रोचक बनाउने कि पत्रु बनाउने उद्घोषककै हातमा हुन्छ । ढंग पु¥याउन नसक्नेले चलाएको कार्यक्रम छेउ न पुच्छरको हुन्छ । ल्याकत छैन भने तागत नदेखाए पनि हुने हो । एक्कैछिन अघि प्रमुख अतिथि भनिएको ब्यक्तिलाई एक्कैछिनपछि बिशिष्टमा उध्मुण्ट्याईन्छ ।  विभिन्न संघसंस्थाका पदाधिकारी बोलाएर संस्थाको नाम र पदाधिकारीको नाम भन्ने तर तिनको पद भन्न नसकेर ठस्ठस कन्दा पनि तिनलाई लाज लाग्दैन । आधी अंग्रेजी र आधी नेपाली भाषामा बोल्दा तिनलाई पटक्कै लाज लाग्दैन । सम्बोधन पनि सही रुपमा गर्न नसक्दा तिनले लाजले मुण्टो निहुराउँदैनन् । तिनका वोलीले नेपाली भाषालाई कुरुप बनाएको छ । यसो हुँदा पनि तिनलाई लाज लाग्दैन । सम्बन्धित ब्यक्तिलाई नै लाज लाग्न छोडेपछि कसको के लाग्छ ?

दोहामा हुने मनोरञ्जनात्मक कार्यक्रमका आयोजक र तिनका कार्यक्रममा नेपालबाट आउने र यहाँकै स्थानिय कलाकारहरुलाई पनि लाज लाग्छ छोडेको छ । भन्न चाँही नेपाली मौलिक कार्यक्रम भन्ने अनि गर्न चाँही मौलिकतालाई खल्लीबल्ली गर्ने ? नामै नसुनिएको कलाकारको नाम अघि ‘चर्चित गायक, चर्चित नृत्यङ्गना, चर्चित नायक’ आदि विशेषण राख्नेहरुलाई कुनै लाज लाग्दैन । यि आयोजकले गर्दा ति कलाकार पनि जीवनभरी चर्चित मात्रै रहने भए, लोकप्रिय कहिलै नहुने भए । चौबन्दी चोलीमुनी टाइट जिन्स पाइन्ट लाइदिनाले मौलिकता झकिल्ने भए हाम्रा आमा/भाउजुले फरिया/साडी लाउनु पर्ने नै थिएन । ‘कथाले मागे जस्तो’ भने झैँ मिनिस्कर्ट लाएर नेपाली कलाकार हुँ भन्दै नाक फुलाउने अ/कलाकार र तिनलाई यहाँ ल्याएर मौलिकता ल्याएको ठान्ने यस्ता कार्यक्रमका आयोजकलाई लाज लागोस् ।  

 एउटै ब्यक्ति आधा दर्जन संघसंस्थामा आवद्ध हुनेहरुलाई लाज लाग्न छोडेको छ । नाम र पदको पछि भाग्नेहरुले चाँहिदो समय कुनै संस्थालाई दिन नसक्ने वास्तविकता थाहा हुँदाहुँदै पनि यती धेरै संस्थामा आवद्ध हुने र परेका बेलामा समय माग्दा रुनेहरुलाई लाज लाग्न छोडेको हो । कुनै कार्यक्रममा गएपछि कार्यक्रम प्रारम्भ हुनासाथ भाषण ठोक्ने र बाटो लाग्नेहरुले अतिथिको कुर्सी नै खाली पारेर भाग्ने गरेका छन् । भाषण ठोक्यो, खायो, पियो आफ्नो बाटो लियो । यस्तो गरेपछि पछिल्ला वक्ताहरु र सभापतिको सभा विसर्जनपूर्वका कुरा चाँही कसले सुनिदिन्छ ? 

दोहामा पुस्तक प्रकाशन गर्ने र अन्य श्रष्टाका पुस्तक वितरण गर्ने श्रष्टाहरुलाई लाज लाग्न छोडेको छ । विधाको ज्ञान नभएका र कलात्मकतामा ध्यान नदिनेहरुले निकालेका पुस्तक पढ्न त के संग्रह गर्न पनि लायक छैनन् । पाँच रियल पनि नपर्ने पुस्तकलाई पाँच डलरमा बेच्नेहरुलाई लाज लाग्न छोडेको छ । कविताको किताव निकाल्ने तर कवितामा बिम्ब÷प्रतिक विनाका नारा जस्ता, लिखित भाषण जस्ता शब्द र वाक्यहरु राख्ने श्रष्टाहरुलाई लाज लाग्न छोडेको छ । विषयबस्तुको गहिरो अध्ययन नगर्ने र ओछ्यान परेर कनेर लेख्नेहरुलाई पनि लाज लाग्न छोडेको हो ।

एनआरएनए भन्ने शब्द सुन्दा खसोखास मज्जा त लाग्छ तर यो संस्था कतारमा यति निचो भयो कि भनिसाध्य छैन । एउटा सामान्य भातृ संगठनको ‘वान म्यान आर्मी’ले त्यसलाई यस्तरी जेलेको छ कि जसरी जेल्छ माकुराले जालो । एउटा पार्टीका खुंखार कार्यकर्ताले कतारको सिंगो एनआरएनएलाई मदारीले बा“दर नचाएसरी नचाएका छन् । तिनले जे सोच्यो त्यही हुन्छ । तिनले जे बोल्यो त्यही हुन्छ । तिनले जे ग¥यो त्यही हुन्छ । मानौ“ उनी लगाम समाएका जर्साव हुन् र दोहाको एनआरएनए चै“ बग्गी तान्ने घोडा हो । तनुवाले जता इशारा गर्छ उतै लाग्नु बग्गी तान्ने घोडाको कर्म हो । फुलेबुढा उपनामले कहलिएका ति अ÷राजनीतिक अस्थित्व रहुन्जेल दोहामा एनआरएनए फगत मूर्ति रहिरहन्छ । यसले एनआरएनका बाँकी सदस्यलाई कुनैै लाज लाग्दैन ? यसमा लाज लागोस्  । 

यति धेरै लाज नमान्नेहरुकको बीचमा बस्दा बस्दा अरु धेरैलाई लाज कुन चराको नाम हो भनेजस्तै भइसकेको हुन सक्छ । भनिन्छ सवै लुगा नलगाएकाहरु मत्र बसेका ठाउँमा बस्दा लुगा किन चाहिन्छ कसैले ठम्याउन नसक्ला । कतारमा  त्यसरी नै लुगा नलगाई बसेका थुप्रै छन् । तिनलाई कुरी कुरी भनिदिने कसले ? तपाईले भन्नुहुन्छ की ? लौ न कसैले त कुरी कुरी भनौं । ताकी तिनलाई लाज लागोस् । 

[email protected]

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय