चिया मजदुर आन्दोलित  

काठमाडौं, भदौ १५ – झापाका चिया मजदुर आन्दोलित भएका छन् । ज्याला बृद्धि, स्थायी गरिनुपर्ने, कट्टी गरिएको सामाजिक सुरक्षा कर सरकारी कार्यालयमा जम्मा गरिनु पर्ने लगायतमा माग मजदुरले राखेका छन् । 

जिल्ला प्रशासन कार्यालय, झापामा ज्ञापन पत्र बुझाउँदै नेपाल चिया वगान श्रमिक संघ, नेपाल कृषि तथा वगानक्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघ संयुक्त रुपमा आन्दोलनमा उत्रेका हुन् । गत जेठ ५ गते श्रम ऐन २०४८ बमोजिम ५ सुत्रिय मागपत्र पेश गर्दा त्यसको कुनै सुनुवाई नभएको भन्दै उनीहरुले आन्दोलनमा सुरु गरेका हुन् । 

आन्दोलनमा उत्रेका चिया मजदुरले हाल आफूहरुले पाउँदै आएको ज्यालाले एउटा परिवारको जिविकोपार्जन गर्न सक्ने अवस्था नरहेको भन्दै हाल खाइपाई आएको ज्याला र कारखानामा दिईंदै आएको अतिरिक्त भत्तामा शतप्रतिशत बृद्धि गर्र्न माग गरेका छन् । साथै चौकिदार, नाइके सरदारहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि माग गरिएको छ । 

पत्ति डबलीमा लामो समय देखी बृद्धि नभएको हुँदा प्रतिकिलो डबली रु. पाँच कायम गर्न पनि माग गरिएको छ । यसैगरी चियाबगानमा धेरै बर्ष काम गरेका कामदारहरु स्थायी नगरिएको भन्दै क्षेत्रफलको आधारमा प्रति एक एकड बराबर एकजना कामदारलाई अनिवार्य रुपमा स्थायी गर्न माग गरिएको छ । श्रम ऐन २०४८ अनुसार एक वर्ष अविच्छिन्न सेवा पुरा गरेपछि स्वतः स्थायी हुने व्यवस्था छ । 

श्रमिकको पारिश्रमिकबाट कट्टा गरिएको सामाजिक सुरक्षा कर चियाबगानहरुले स्थानीय कर कार्यालयमा जम्मा नगरिदिंदा मजदुरहरु सामाजिक सुरक्षाबाट बञ्चित हुनु परेको मजदुरहरुको गुनासो रहेको छ । सो रकम कर कार्यालयमा दाखिला गरि व्यक्तिगत परिचय पत्रको व्यवस्था गर्न र कर कट्टी नभएका प्रतिष्ठानहरुमा कार्यान्वयनको व्यवस्था मिलाउन मजदुरले माग गरेका छन् । 

कामदारहरुको पारिश्रमिकबाट कट्टा गरिएको सञ्चयकोष वापतको रकम सञ्चयकोष कार्यालयमा जम्मा गरी कामदारहरुलाई पासबुक दिने व्यवस्था गर्न पनि मजदुरले माग गरेका छन् । साथै उपदानकोष स्थापना गरी कामदार तथा कर्मचारीहरुको उपदानको रकम जम्मा गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रममा नेपाल चिया वगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ, नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राई तथा अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष भुपाल सापकोटाले हस्ताक्षर गरेका छन् । 

नेपालमा वि.सं. १९२० मा तत्कालिन ईलाम जिल्लाका वडा हाकिम गजराज थापाले ईलाम चिया कमानबाट चियाखेति सुरु गरेका हुन् । विक्रम संवत २०१६ साल देखी झापाबाट व्यवसायिक रुपमा विस्तार भएको चिया खेती हाल आएर १८ हजार १ सय ४९ हेक्टर क्षेत्रफलमा फैलिएको छ भनें हरियो पत्ति प्रशोधन गर्ने ६५ वटा कारखाना रहेका छन् । हाल ति चिया वगानमा ४५ हजार मजदुर कार्यरत छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय