फेरी भोका, अप्ठ्यारोमा परेका नेपालीको जाने, बस्ने ठाउँ हरायो

कतारमा राजदुत भएर म चार बर्ष रहें । म विश्वविद्यालय(त्रिबि) बाट छुट्टी लिएर गएँको थिएँ । रिडर भएर पढाउन थालेपछि हरेक बर्ष अनुभवको चार अंक आउँछ । तर छ्ट्टी लिएका कारण मेरो अंक थपिएन । त्यसैले म नेपाल फर्केपछि दुईबर्ष ढिलो प्राध्यापक भएँ । तर यसमा मलाई कुनै गुनासो छैन । एउटा मेरो आत्मसन्तोषको कारण तलव बृद्धि हो । म गएपछि नेपाली कामदारको न्यूनतम तलव बृद्धिका लागि जुन काम गर्न सकियो यसले हरेक नेपालीको घरमा प्रतिमहिना ८ हजार बढी आउनु भनेको मेरोलागि सन्तोष गर्ने पर्याप्त कारण हो । किनकी न्यूनतम तलवलाई हामीले चारसयबाट बढाएर ८ सय बनाउन सफल भएका थियौं । अर्को कुरा विमानस्थलमा कम्पनीको प्रतिनिधि लिन नआएर अप्ठ्यारोमा परेकाहरु हुन् वा कम्पनीले लेवर क्याम्पबाट निकालिदिएर अलपत्र भएकाहरु हुन् उनीहरु भोकभोकै बस्नु परेन । यो पनि मेरोलागि सन्तोष मान्नु पर्ने कारण हो । Surya nath Mishra recentघर फिर्ति केन्द्रमा रहेका नेपालीको संख्या ११ सयबाट घटेर ९० मा आइपुगेको थियो, यो पनि सन्तोष गर्नुपर्ने आँकडा हो । एकजना नेपाली(चन्द्रशेखर यादव)लाई फाँसीको सजाय तोकिएको थियो । हुन त उनी तीनबर्ष अघिदेखि जेलमा थिए । तर म गएको तीन महिनापछि उनलाई फाँसीको सजाय तोकियो । ठूलो प्रयत्नपछि उनलाई बचाउन सकियो । यो पनि एउटा नेपाली हुनुको नाताले खुसीको कुरा हो । अर्को कुरा नेपाली कामदारलाई तलव नियमित गराउन पनि मैले राजदुत भएर बस्दा निक्कै प्रयत्न गरें । त्यसमा धेरै सुधार ल्याउन सकिएको थियो जस्तो लाग्छ । अनी घर फिर्ने बेलामा पाउने सुविधा पनि सम्झन लायक कुरा छ । म कतारको राजदुत भएर जानुअघि नेपाली कामदारलाई घर फिर्ने बेलामा कम्पनीहरुले कुनै सुविधा दिन्नथे केवल एउटा टिकट मात्र दिन्थे । जवकी कतारको श्रम कानून अनुसार नै कामदार घर फर्किने समयमा प्रतिवर्ष जम्मा ४२ दिन बरावरको तलव सुविधा पाउनु पर्छ । त्यसका बारेमा पनि हामीले ध्यानाकर्षण गरायौं । यसमा सञ्चारकर्मीहरुले पनि सहयोग गरे । त्यो थाहा पाएपछि कामदारले सो अनुरुप माग्न थाले । यसैगरी मैले कतारको राजदुत भएर बस्दा श्रम सम्झौता गराउन सफल भएँ । अन्य केहि महत्वपूर्ण सम्झौताहरु भए । यसकारण पनि मलाई विश्वविद्यालयमा पदोन्नतीका लागि अंक काटिएको र दुईबर्ष ढिलो प्राध्यापक भएकोमा दुःखमनाउ गर्नुपर्ने कुनै कारण छैन । मैले राजदुत भएर बस्दा गर्नुपर्छ भनेर प्रयास गरेका केहि काम अधुरा नै रहे । हामीले हरेक दुई बर्षमा न्यूनतम तलव पुनरावलोकन हुनुपर्छ भनेका थियौं । कामदारको बसाईका लागि लाग्ने लागत खर्चका आधारमा त्यसमा पुनरावलोकन हुनुपर्ने हामीले ठानेका थियौं । कमसे कम दुई दुई बर्षमा तलव पुनरावलोकन हुनुपर्छ भनेका थियौं । अर्को कुरा बैदेशिक रोजगारलाई सुरक्षित बनाउनु पर्छ भनेर हामी लागेका थियौ । समस्या कतारमा सुरु हुने होइन, समस्या त हाम्रो घरबाट, हाम्रै गाउँबाट सुरु हुन्छ । किनकी ठगिको पहिलो जरो त्यहिं छ । गाउँ हुँदै, काठमाडौंको मेनपावरसम्म आइपुग्दा बैदेशिक रोजगारमा जाने मान्छे धेरै ठगिइसक्छ । त्यसैले बैदेशिक रोजगार विभाग, अध्यागमन कार्यालय र विदेशस्थीत दुतावास यी तीनवटा निकाय मिलेर मात्र नेपालीको बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सकिन्छ । यो तीनवटै निकायमा समन्वयका लागि हामीले निक्कै प्रयास गर्यौ । यसमा हामी केहि हदसम्म सफल पनि भएका थियौं । नेपाल सरकारले विदेशस्थीत दुतावासबाट मागपत्र प्रमाणिकरण भएर आएपछि मात्र श्रम स्वीकृतिको स्टीकर टाँस्नुपर्छ भन्ने व्यवस्था गराएको थियो । तर म फर्केर आएपछि त्यो रोकियो । सेफ हाउस पनि बन्द भयो । फेरी भोका, अप्ठ्यारोमा परेका नेपालीको जाने, बस्ने ठाउँ हरायो । चार बर्ष त एउटा व्यवस्था गरियो तर त्यो पुरै रोकियो । यसले मलाई साह्रै दुःखी बनाएको छ । बैदेशिक रोजगार विभाग र अध्यागमनसँग मिलेर नेपालीको बैदेशिक रोजगारलाई नै सुरक्षित बनाउने जुन उद्धेश्य मैले हाम्रो दुतावासको तर्फबाट राखेको थिएँ त्यो पुरा हुन सकेन । हामी अशिक्षित र अदक्ष कामदार पठाइरहेका छौं । थोरै मात्र अर्धदक्ष कामदार पठाउँछौं । दक्ष र उच्चदक्षको संख्या त साह्रै थोरै छ । १८ बर्षको उमेर पुगेपछि मात्र बैदेशिक रोजगारीमा जान सकिन्छ । त्यसैले बैदेशिक रोजगारीमा जानेहरुले कम्तीमा १० कक्षा पढेको हुनुपर्ने र त्यो सवै निःशुल्क हुनुपर्ने व्यवस्था सरकारले गर्नुपर्दछ । अहिले अन्तरष्ट्रिय बजारमा स्नातक गरेका वा स्नातकोत्तर गरेका व्यक्तिको माग छैन । त्यहाँ दक्ष कामदारको माग छ । त्यसैले व्यवसायीक तालिम दिनुपर्यो । कम्तीमा १० कक्षासम्म पढाएर तथा दुईबर्षको तालिम दिएर नेपालीलाई बैदेशिक रोजगारीमा पठायौं भनें अहिले आइरहेको भन्दा कयौं गुणा बढी रेमिट्यान्स नेपाल आउँछ । अहिले संसारमै सवैभन्दा कम प्रतिव्यक्ति रेमिट्यान्स भित्रियाउने मुलुकमा नेपाल पर्दछ । जतिबेला नेपालीको मासिक न्यूनतम आम्दानी चारसय रियाल थियो त्यतिबेला फिलिपिनोको १४ सय थियो । त्यसैले एउटा नेपालीले नेपाल पठाउने रकम भन्दा एउटा फिलिपिनोले आफ्नो देशमा पठाउने रकम कयौं गुणा बढी थियो । त्यसैले यो कुरालाई बुझ्नु जरुरी छ । जवसम्म हामी अदक्ष कामदार र अशिक्षित व्यक्ति बैदेशिक रोजगारमा पठाइरहन्छौं त्यतिबेलासम्म हाम्रो कमार्ई धेरै हुनेछैन । त्यसैले शिक्षा र तालिम पछि मात्र नेपालीलाई बैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्नुपर्छ । – डा. सूर्यनाथ मिश्र, काठमाडौं, असार १३  ( देशपरदेशका लागि सम्पादक सुनिल न्यौपानेसँग मिश्रले गरेको कुराकानीमा आधारित । मिश्रले कतारमा नेपाली राजदुत भएर सन् २००८ देखि सन् २०१२ सम्म काम गरेका हुन् । उनले कतारमा राजदुत भएर बस्दा नेपाली श्रमिकका पक्षमा धेरै सुधारात्मक काम गरे । त्यसैले उनी नेपाली श्रमिक र श्रमिकको पक्षमा काम गर्नेहरु बीच हाल पनि निक्कै लोकप्रिय छन् । मिश्रको कतार बसाई अनुभव हामीले ५ वटा आइतवार प्रकाशित गर्यौं । अवका केहि आइतवार मिश्र कतारमा राजदुत भएर बस्दाका अनुभव केहि व्यक्तिले लेख्नेछन् ।))  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय