
चर्चित- तपाईंको ‘आलु–चना’ चपाउने क्षमता जति छ त्यति नै आलोचना पचाउने क्षमता छ कि छैन ? प्रशस्त लालपूर्जा भए पनि शरिरका पार्टपूर्जाले कर्म गर्न छोडेपछि मान्छेले पानी पनि पचाउन सक्दैन । पानी समेत पचाउन नसक्नेलाई डा. भगवान कोइरालाले पनि बचाउन सक्दैन । कवि मनोज बोगटीले भनेका छन्, ‘आलोचना पनि आफ्नै सन्तान हो, जसलाई कसैले स्वीकार गर्दैन ।’ भोग्नसम्म भोगेर भागेर हिंडेको मान्छेले आफ्नै सन्तानलाई अपनाउन आनाकानी गर्छ । कुनै यौनकर्मी महिलाको कोखबाट जन्मिएको सन्तानले बाउको नाम नपाएजस्तै मान्छेले आफैले जन्माएको आलोचनारुपी सन्तानलाई अस्वीकार गर्छ । कस्तो ममताहिन र घिनैघिनको दलदलमा फसेको छ आजको मान्छे । मानौं उसको अभिष्ट नै प्रशंसा सुन्नु हो । आलोचना सहन नसक्नेले सार्वजनिक पदमा रहन पनि नसक्नु पर्ने हो तर पद र प्रतिष्ठाका लागि बिष्टमा पनि जिब्रो चोप्ने धृष्टतामा लम्बेतान हिंडिरहेछ आजको मान्छे । एउटा पुरानो नेपाली उखान भन्छ, ‘आफ्ना आङको भैंसी नदेख्ने, अरुका आङको जुम्रो’ । यो उखानको अर्थ खोज्न रास्लाफान, मिसाइद वा दुखान गइरहनु पर्दैन, न त समाल, अलखोर या सनैया नै पुग्नुपर्छ । तपाईंलाई थाहा छ यसको अर्थ र भाव, तपाईंभित्रै छ यसको अर्थ । मैले अथ्र्याइरहनु हो भने ‘इन्द्रका अघि स्वर्गको बयान’ गरेजस्तै हुन्छ । तरै पनि मैले कनीकुथी अथ्र्याउनुपर्दा भन्नैपर्छ कि ‘आफ्नो कुरुप बिचारको ‘ब्ल्याक होल’ जत्रो टाटो नदेख्नेले अरुको सद्बिचारको कोठीलाई सिङ्गो आकास जत्रो देखिदिनु’ नै माथिको उखानको स्लील अर्थ हो । यसैलाई मैले अत्तरआधुनिक अर्थले हेरेको छु र भनेको हुँ, ‘अरुलाई लागे ‘खुच्चिङ्ग’, आफुलाई लागे ‘बक्सिङ्ग’ ।’ कतारी नेपाली श्रमिक डायस्फोरामा खुच्चिङ्ग ख्वाउने र बक्सिङ्ग देखाउनेहरुको कुनै कमी छैन । यि अ/गुणहरुको विकास पनि यिनै खुच्चिङ्गे र बक्सिङ्गेहरुले गरेका हुन् । पदको भारी बोकेर हिंडेको मान्छेले आलोचनाको तोक्मा भिर्न सक्नुपर्छ । खुकुरी बोक्नेले दाप र सपेराले साप नबोके के बोक्छ त ? माइबाप भनेर वा जर्साप भनेर पाउ मोल्ने जमाना रहेन अहिलेको । गणतन्त्रको माटोमा प्रजातन्त्रको बाटो बनाएर हिंडेको मान्छेले पञ्चायतको नियत राख्नु प्रशंसापूर्ण कदम होइन, आलोचनायुक्त क्षण हो । आलोचना पचाउन हाँसको जस्तो किड्नी हुनु पर्दैन, पर्छ त केवल शान्तसँग सोच्न सक्ने धैर्यता । खुट्टा तान्नु र छिर्की हान्नु नेपालीहरुको पुरानो तर वंशाणुगत संस्कार हो । अरुको प्रगतिमा जल्नु र अरुको दुर्गतीमा थपडी मार्नु पनि पुरानै संस्कार हो । अरुको खोइरो खन्नु र मुखमा आएजति भन्नु पनि पुरानै मौविक शैली हो । तिललाई पहाड र पहाडलाई तिल बनाउनु, आसेपासे लेपासेलाई काखी च्याप्नु, राम्रोलाई होइन हाम्रोलाई बोक्नु, खोक्न पाएँ भन्दैमा बाह्रैमासे दमको रोगीले जस्तो नन्स्टप खोक्नु पनि नेपालीहरुको परम्परा, रितीरिवाज र चालचलन हो । तपाईं सामाजिक सञ्जालको जञ्जालमा कत्तिको विचरण गर्नुहुन्छ ? गर्नुहुन्छ र कतारी नेपाली श्रमिक डायस्पोरामा बसेर कसैको आलोचना गर्नुहुन्छ भने सावधान । सिस्नुपानी नेपालले देउसी खेल्दा ‘तपाईंका घरमा बन्दुक पस्ला’ भनेजस्तै तपाईंको क्यापमै आएर मुखमा बुजो लाएर जालान् । झन् कसैलाई हिरो र कसैलाई जिरो भनेर भन्नुभयो भने त तपाईंको हुर्मत लिन तपाईंकै कम्पनिमा आइपुग्लान् । अव फेसबुकको वालमा ओहोदाका मान्छेलाई चित्त दुखाउने कुरो गर्नुभयो भने तपाईंको पित्त फुट्ने दिन आए । प्रशंसा कमाउने काम गर्न छोडेर आलोचित हुने काम गर्ने तर कसैले छिरिक्क त्यो बारे बिचार राख्दा उसलाई अचार बनाउन हुल बाँधेर आउने यहाँको चलनलाई कमसेकम तपाईंले बुझ्नुपर्छ । बुझिसकेपछि तपाईंले वालमा यस्तो लेख्न पाउनुहुनेछ, ‘महाशय, तपाईंले नेपाली दुःखीदरिद्रहरुलाई सप्लाइमा बेचेर कमाउनु भएकोमा धन्यवाद । घरघरै गएर वालमा लेखेको आलोचना सहन नसकेर थर्काउन सफल हुनु भएकोमा बधाई । मिठामिठा भाषण र स्वादिला स्वादिला रासनका गफ दिएर सोझासाधु गरिवगुरुवाहरुको सातोपुत्लो लिनु भएकोमा तपाईंलाई मुरीमुरी पुष्पगुच्छा अर्पण । बहुसंख्यक श्रमिकको प्रतिनिधि भएर तिनै श्रमिकको हकहितमा भन्दा ठालुहरुका जाँडपार्टीमा बसेर आलुका गफ गर्ने र म्यारिज खेलेर मेहफिल जमाउने अनि आलोचना कमाउने तर कसैले छिरिक्क बोल्यो वा लेख्यो भने त्यसको घाँटी समाउने लिडरलाई निडर भन्नु कि लिंडे भन्नु ? डाको न बोलायो, लिंडे पुच्छर डोलायो । यो पनि पढ्नुहोस् कतारमा नेपाली ठग्नेलाई नेपाल फिर्ता