मेघराज सापकोटा, युएई- यो महिना ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमादान महिना हो । ईस्लामिक (हिजरी) क्यालेन्डर अनुसार नवौ महिनामा यो पर्व पर्दछ । साधारणतय ३० दिनसम्म मनाइने रमादान पर्व चन्द्रमा उदाउने पहिलो दिन देखि सुरु भएर ३० दिन पुरा भई अर्को महिनाको चन्द्रमा उदाउने दिनसम्म मनाइन्छ । अरब देशहरुमा साउदी अरबमा रहेको चन्द्रोदय हेर्ने कमिटीले निर्णय गरेपछी यो पर्व सुरु हुन्छ । यो महिनामा मुस्लिम धर्मावलम्बीहरु पानी पनि नपिई दिनभर ब्रत बस्ने गर्दछन । बिशेष गरी बिहान सुर्योदय हुनु भन्दा अगाडि नै प्रार्थना गरेर भोजन गरेपछी उनीहरु दिनभर केही पनि सेवन नगरि एकै चोटि बेलुकी सुर्यास्त भएपछी फेरी प्रार्थना गरेर खाना खाने गर्दछन । रमादान महिनालाई प्रार्थनाको महिना पनि भनिन्छ । एक महिनासम्म रहने यो पर्वमा अन्य समय भन्दा धेरै प्रर्थना गरेर आफुले गरेको खराब कार्यहरुको शुद्धिकरण गर्ने बिशेष महिनाको रुपमा यो महिनालाई लिईन्छ । रमादान महिनामा ब्रत बस्नुले पनि आफ्नै अर्थ बोकेको हुन्छ । उनीहरु यो महिना भर दिनमा पानी र खाना मात्र नखाने हैनन अन्य कुनै पनि कुराको सेवन गर्दैनन । चुरोट, मादक पदार्थ लगायतका अन्य कुनै पनि खानेकुरा बिहान सुर्योदय देखी बेलुकी सुर्यास्तसम्म पनि खान मनाही छ । यो समयमा गरिने ब्रतको अर्थ शारिरीक रुपले भोकै बस्नु मात्रै नभएर मनमा आउने खराब भावना, खराब कार्य र शब्दहरुको पनि ब्रत हो । तसर्थ वास्तवमै रामादान महिना मुस्लिम धर्मावलम्बीहरुको लागि आफैंमा शुद्दीकरण गर्ने धार्मिक अवसर पनि हो। तथापी बिरामी तथा बालबालिका, दुध पिलाउने आमा तथा गर्भवती महिलाहरुले भने ब्रतमा छुट छ । दिनभर बिना पानी र बिना खाना बिताउनु पर्दा वास्तवमै अभाव कस्तो हुन्छ भन्ने महसुस गर्ने मौका मिलेको बताउँछन पाकिस्तानबाट युएई आएका अली बहादुर हैदर । उनका अनुसार यो पर्बमा आफु नखाएर अरुलाई दान गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने गरेको छ । त्यसैले प्रायःजसोले यो महिनामा अरुलाई खाना खुवाउने (इफ्तार दान) गरेको पाईन्छ । हिन्दू, बौद्द, किरात तथा अन्य धर्मावलम्बीहरुको संख्या धेरै भएको नेपालमा ५ प्रतिशतको हाराहारीमा मुस्लिम धर्मावलम्बीहरु रहेको पछील्ला जनगणनाले देखाएको छ । तराईका केही जिल्लाहरु रौतहट, कपिलबस्तु, बाँके लगायतका जिल्लाहरुमा केही बाक्लो उपस्थिती रहे पनि पहाडी र हिमाली जिल्लाहरुमा उपस्थिती नगन्य छ । बैदेशिक रोजगारको धेरै ठुलो हिस्सा मध्यपुर्बका अरब देशहरु र मलेसियामा रहेको हुनाले प्रायःजसो नेपालीहरु हरेक बर्ष मनाइने यो पर्ब प्रति जानकार छन । ४० लाखको संख्यामा नेपालीहरु बिदेशमा रहेको अनुमान गरिएकोमा झन्डै ३० लाखको हाराहरीमा यिनै मुस्लीम धर्म अंगालेका मुलुकमा नेपालीहरु रोजगारी गर्ने गर्दछन । धार्मिक सहीष्णुताको अभ्यासमा पोख्त नेपालीहरु जहाँ गए पनि त्यही देशको धर्म, रिती रिवाज, मूल्य र मान्यतालाई सम्मान गर्दै आफुलाई असल देशको असल नागरिक भनेर चिनाउन सफल भएका छन । यो हाम्रो देशको गौरब पनि हो । मध्यपुर्बको एउटा सानो ईस्लामिक देश युएई, जहाँ ३ लाख भन्दा बढी नेपालीहरु रहेको अनुमान छ । यो मुलुक पनि अहिले रमादान पर्बमा झुमेको छ । यहाँ रहेका ईस्लाम धर्मावलम्बीहरु पनि सूर्योदय भन्दा अघि नै बिहानीको ४ बजे तिर खाना खाईसक्छन भने बेलुकी ७ बजेपछी सूर्यास्त भएपछी मात्रा खाना खाने गर्छन । नमाज पढिसके पछी बिहान गरिने भोजनलाई सुहुर भन्छन भने बेलुकाको खानालाई इफ्तार भनिन्छ । युएईमा अहिलेसम्म ईस्लाम धर्म मान्ने कति नेपाली होलान भनेर यकिन जानकारी छैन । नगन्य रुपमा भएकोले उनीहरुको गतिबिधी पनि खासै छैन । राजनीतिक दलका भातृ संगठन र एक दुई संस्था बाहेक अन्य सामाजिक संघसंस्थाहरुमा उनीहरुको उपस्थिती झन्डै झन्डै शुन्य नै रहेको छ । यसैबीच युएईमा रहेको सबैभन्दा पुरानो सामाजिक संस्था नेपाली समाजले रामादान पर्वको अवसरमा यहाँ रहेका नेपाली सामाजिक संघसंस्था, राजनीतिक दलका भातृ संगठन, मुस्लिम समुदाय, बुद्दीजिबी तथा पत्रकारहरु सहित झन्डै २५० जनाको उपस्थितीमा इफ्तार पार्टी गर्ने भएको छ । त्यसैगरी भर्खरै सम्पन्न नेपाली समाजको अधिवेशनबाट बाहिरिएर अर्को नेपाली कम्युनिटी खोल्न पुगेका बिदुर राउतले युएई सरकारले भुकम्प पीडितलाई गरेको गुण फर्काउने मौका भन्दै एक दर्जन स्वयमसेवकहरु परिचालन गरेर १९,००० भन्दा बढीको खाना (इफ्तार) प्याकिङमा सहयोग गरेको जनाएका छन । उनी सहित केही नेपाली हरेक दिन जस्तो नेपाली कम्युनिटी लेखेको जर्सीमा स्वयमसेवकको रुपमा उपस्थिती हुन्छन । यसलाई नेपाली समाजमा आपसी भाइचारा बिकास गर्ने एउटा राम्रो कामको प्रशंसनीय थालनी मान्न सकिन्छ । यहाँ रहने मुस्लिम समुदायले अन्य धर्मावलम्बीहरुबाट ब्रत रहने कुराको अपेक्षा गरेको हुँदैनन । तथापी उनीहरु दिनभर भोकै रहने हुनाले सार्वजनिक स्थानहरु जस्तै अस्पताल, पार्क, बाटो, अफिस, यातायतका साधनहरुमा खुला रुपले पिउन र खाना खान भने पाइन्न । अन्य धर्मावलम्बीहरुले यसो गर्नु हुनीहरुको धर्म प्रतिको सम्मान पनि हो । के के गर्न हुँदैन त रमादान महिनामा ? -सार्वजनिक स्थानहरुमा तोकिएको समयमा कुनै पनि किसिमका पेय पदार्थ पिउन र खाना खान हुँदैन । चुइङगम समेत चपाउन पाईन्न । -सार्वजनिक स्थानहरुमा एक आपसमा आङगालो मारेर बस्न, हिंड्न पाइन्न । चुम्मन लिन हुँदैन । -ब्रतको समयमा शरीरिक सम्बन्ध राख्नुलाई राम्रो मानिन्न । -चिच्याउन तथा धेरै रिसाहा ब्यवहार प्रदर्शन गर्न हुँदैन । -बाहिर आवाज आउने गरी गीत संगीत सुन्न हुँदैन तर हेडफोन लगाएर सुन्न भने पाईन्छ । -छोटो पहिरन लगाउन बन्देज गरिएको छ । केटाहरुले सकेसम्म हाप पाइन्ट र जीउ देखिने गरिको भेस्ट नलगाउनु राम्रो हुन्छ भने केटीहरुले घुँडा छोपिने पहिरन र माथि पुरै शरिर ढाक्ने गरी कपडा लगाउनु पर्दछ । -कसैलाई गाली तथा होच्याएर कुरा गर्न पाइने छैन । -कसैले दिएको उपहार अस्विकार गर्न पाइन्न । कसैले इफ्तारमा निम्त्याएको भए सकेसम्म उपस्थिती जनाउनु राम्रो मानिने छ । -रामादान महिना भर प्रायःजसो मदिरा बिक्री बितरणमा रोक लगाइन्छ । कसैले पनि बिना अनुमती बिक्री बितरण गरे सजाय हुन्छ । -साधारणतय अफिस समय ८ घण्टा बाट २ घण्टा छोट्याएर ६ घण्टा बनाइन्छ । सो भन्दा बढी काम गर्नु परे ओभरटाइमको ब्यवस्था हुन्छ । माथिका नियमहरु पालना नगरेको खण्डमा गल्ती अनुसार अलग अलग सजाय हुन सक्ने छ । रमादान महिना भर दिउँसोको समयमा प्रायः रेस्टुरेन्ट बन्द हुन्छन् । तथापी केही केहीले घरघरमा डेलिभरीको ब्यवस्था गरेका हुन्छन । आफुले आफ्नो घरमा खाना खानालाई भने बन्देज छैन । यो समयमा ग्रोसरी पसल, सार्वजनिक ट्याक्सी, होटल र ठुला मलहरु भने खुल्ला रहनेछन । दुबईमा बेलुकीको समयमा केही बारहरु खुल्ला हुन्छन् । यस्ता केही नियमहरु हामीले जानी राख्यौ भने अन्जानमा आउन सक्ने समस्याबाट बच्नेछौ । कर्मभुमीमा बसेर यहाँको रितीतिथीको सम्मान गर्नु हाम्रो पनि त कर्तब्य हो नि, हैन र ? यो पनि पढ्नुहोस् पुच्छरले कुकुर नहल्लाओस् तपाईले किताव निकालेको छ ?
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1