कतारमा नेपाली ठग्नेलाई नेपाल फिर्ता

कतारको राजदुतका लागि मेरो नियुक्ति चार बर्षका लागि भएको थियो । तर मैले म पढाउने विश्वविद्यालयबाट विदा स्वीकृति गराएँ फर्केर नआउञ्जेलसम्मका लागि भनेर । मलाई नेपालमा नै हुँदा भनिएको थियो की कतारमा ठग दलालको निक्कै ठूलो बोलबाला छ र त्यसमा नेपालीहरुको संलग्नता छ । नेपालीकै माध्यमबाट नेपाली माथि ठगि र शोषण भइरहेको छ भन्ने बारेमा म अवगत थिएँ । त्यसैले कतार पुग्ने वित्तिकै आयोजित एउटा सार्वजनिक कार्यक्रममा मैले भनें ‘म बसेको एक डेढ महिनाको अध्ययनका आधारमा यहाँ ९९ प्रतिशत नेपालीहरु काम गरेर खाने छन् भन्ने पाएँ । र, एक प्रतिशत नेपाली ठगि खाने रहेको पनि भेटें । त्यसैले गरिखाने नेपालीको हकहित संरक्षणका लागि हाम्रो नियोग प्रतिवद्ध छ । जो ठगि खानेहरु छन्, उनीहरुले आफ्नो बाटो परिवर्तन गर्नुपर्छ ।’ Surya nath Mishra recentजति पनि विदेशी कम्पनीहरु त्यहाँ थिए तिनिहरुले नेपालीकै माध्यमबाट नेपालीलाई ठग्ने, शोषण गर्ने काम गरिरहेका थिए । तिनिहरुको संख्या सानो भएपनि पैसावाल भएका कारण तिनिहरुको पहुँच ठूलाबडासँग धेरै थियो । यो कुरा मैले राम्रोसँग बुझिसकेको थिएँ । त्यसैले मैले त्यहि कार्यक्रममा भनें ‘सके म ६ महिना भित्र यो अवस्थामा सुधार ल्याउँछु, नसके म नेपाल फिर्ता जान्छु किनकी मैले चार बर्षका लागि विदा स्वीकृत गराएर आएको छैन । जसले नेपालीलाई ठग्दै हुनुहुन्छ र अझै पनि त्यहि काम गरिरहनुहुन्छ उहाँहरु विरुद्ध दुतावासले जस्तोसुकै कडा कारवाही गर्नेछ ।’ कतिपयले मेरो यो चेतावनीलाई सुनेको नसुन्यै गरे र नेपाली ठग्ने काममा लागिरहे । उनीहरुलाई नेपाल फिर्ता पठाउने काम भयो । मेरो कार्यकालमा हाम्रो दुतावासले कतार सरकारलाई चिठ्ठी लेखेर त्यस्ता चार पाँचजनालाई नेपाल फिर्ता पनि पठाइयो । यसले नेपाली ठग्नेहरु तर्सिए जसका कारण नेपालीको अवस्थामा केहि सुधार आयो । एउटा दुःखको कुरा नेपाली सामाजिक संघसंस्थाको आडमा तिनकै खोल ओढेर समेत ठगि गर्ने गरिन्छ । तिनै संघसंस्था मार्फत केहि सहयोग गरेर नाम कमाउने र त्यहि आडमा मान्छे ठग्नेहरु थिए र अहिले पनि होलान् । त्यसमा सतर्क हुनु जरुरी छ । मलाई नेपाल फिर्ता गराइनुपर्छ भनेर धेरैपटक त्यस्ता ठगहरुले नेपालका परराष्ट्रमन्त्रीलाई भने । त्यसका बारेमा म अवगत थिएँ । तर मलाई कुनै चिन्ता थिएन । किनकी नेपालबाट राजदुत भएर जाँदा नै म पूरा कार्यकाल काम नगरी फर्किन सक्छु भनेर मानसिक रुपमै तयार भएर गएको थिएँ । २४ बर्ष अध्यापन गरेको मान्छे म सरकारले दिएको जिम्मेवारी पुरा गर्न नसक्ने भएँ भनें तलव भत्ता मात्र खान बस्दिन भन्ने अठोट नै गरेर गएको थिएँ । अर्कातर्फ मलाई सञ्चारमाध्यम र त्यहाँका अधिकाँश नेपालीको सहयोग र समर्थन प्राप्त थियो । यसले पनि मलाई आफूले ठिक ठानेको बाटोमा हिंड्न कुनै रोकतोक भएन । एउटा हाँसोउठ्दो कुरा सम्झनामा छ । एकपटक त्यस्तै मान्छेहरु आए समाजसेवीको मुखुण्डो लगाएका ठग, दलालहरु । उनीहरुले भनेः तपाई केवल एक वा दुईजना पीडितलाई नेपाल फर्काउन सक्नुहुन्छ । तर हामी त एकैपटक ५०/५० जनालाई टिकट दिएर नेपाल फर्काउन सक्छौं । हामी यसमा तपाईलाई मद्धत गर्न सक्छौं यदि दुतावासले हामीलाई पनि मद्धत गर्छ भनें । मैले भनें तपाईहरु टिकट दिनुहोला । त्यसलाई हामी सह्राना नै गर्छौं । सञ्चारमाध्यमले पनि तपाईहरुको प्रशंसा नै गर्नेछन् । तर त्यो ५० वटा टिकट दिएर ५ हजार नेपाली ठग्ने कुरा गर्न आउनु भएको भए तपाईको शर्त हामीलाई मान्य छैन । त्यसपछि उनीहरु बेपत्ता भागे । फर्केर आएनन् । अर्को कुरा जव म राजदुत भएर कतार पुगें त्यहाँ पहिले देखि नै दुतावासलाई आवश्यक राहत, उद्धारको काममा स्थानीय नेपालीले नै सहयोग गर्दै आएको थाहा पाएँ । तर जव मैले ठग, दलाल विरुद्धको अभियान चलाएँ सहयोग सवै बन्द भयो । रकमको अभाव नै थियो । यो कुरा श्रमिक नेपालीले थाहा पाउँदै गए । यसको पनि उपाय निकाले स्वयं श्रमिकले ।Suryanath Mishra एउटै कम्पनीमा चारपाँच हजार नेपाली काम गर्थे । उनीहरु तलव पाएको दिन एक एक रियाल जम्मा गर्थे र दुतावासमा खवर गर्थे हामीसँग यति रकम जम्मा भएको छ, कोहि पीडित छ र टिकट काट्नु छ भनें हामी काट्छौं ठग, दलालको अगाडी हात नथाप्नु होला भनेर । यसले मलाई गर्व अनुभव हुन्थ्यो । काम गरेर दुईचार पैसा घर पठाउन भनेर आएका नेपालीको मन कति ठूलो छ भनेर । जहिले पनि मेरो डायरीमा ५/७ जनाको नाम र नम्वर हुन्थ्यो हामीसँग टिकट काट्ने पैसा छ भनेर खवर गर्नेहरुको । त्यसैले हामीले कतिपय पीडितलाई श्रमिकले उठाएको रकमको टिकटबाट नेपाल फर्काएका छौं । चारबर्षसम्म बस्दा न मलाई पीडितलाई दुई छाक खुवाउन समस्या भयो न त नेपाल फर्काउन टिकट काट्नैै खर्चको अभाव भयो । कतारमा राजदुत भएर बस्दाको एउटा ठूलो सन्तोषको अनुभव मलाई यसमा पनि छ । व्यवसाय गर्ने थुप्रै नेपालीको कतारमा पनि कुनै न कुनै एजेन्सीमा साझेदारी हुन्छ । केहिले भनें कमिसनका आधारमा काम गर्दछन् । कतारमा कम्पनी दर्ता गर्न साह्रै सजिलो थियो । त्यतिबेला म राजदुत भएको समयमा १० हजार रियाल धरौटी राखेर कम्पनी खोल्न सकिन्थ्यो । त्यसैले कतारका एक व्यक्तिको नाममा ६, ७ वटा कम्पनी दर्ता गरिएका हुन्थे । ति कम्पनीले कतार सरकारबाट नेपाली कामदार ल्याउने अनुमति लिन्थे । त्यस्ता कम्पनीको कुनै कार्यालय पनि हुँदैनथ्यो । ति केवल कानूनी रुपमा दर्ता मात्र गरिएका हुन्थे । ति कम्पनीले त्यसरी लिएको अनुमति नेपालीले सञ्चालन गरेका कुनै कम्पनीलाई दिन्थे । कतिपय कम्पनीले नियमित रुपमा त्यस्ता कम्पनीको सहयोगी भएर काम गर्दथे भनें कतिपयले कमिसनका आधारमा । त्यस्ता कम्पनीले कामदार लगेपछि चार छ महिनाका लागि कुनै कम्पनीले बेच्थे र त्यसवापत कमाउँथे । त्यसरी गएका कामदारको न कुनै निश्चित कम्पनी हुन्छ न कुनै क्याम्प हुन्छ । तर त्यसरी बेचिएका मान्छेको प्रतिमहिना कम्तीमा ३ हजार रियाल उठाउँथे त्यस्ता बिचौलिया कम्पनीहरुले । कामदारलाई चारपाँच सय रियाल तलव दिन पनि गाह्रो मान्थे । एक डेढ बर्षसम्म त्यस्ता कामदारको रेजिडेण्ट पर्मिट पनि नलगाउने । किनकी रेजिडेण्ट पर्मिटका लागि प्रति कामदार प्रतिबर्ष १२ सय रियाल तिर्नुपर्छ कतार सरकारलाई । त्यसैले त्यो रकम समेत बचाउने ध्याउन्नमा कामदारलाई अवैधानिक बनाएर काममा लगाउँथे त्यस्ता कम्पनीहरु । तीन महिना पश्चात कामदार अवैधानिक भइहाल्छ । त्यसैले न उ श्रम अदालतमा जान सक्छ । नभागोस् भनेर ५/७ महिना देखि तलव समेत नदिएर राख्ने समस्या थियो । कसैलाई प्रहरीले बाटोमा नै समातेर घर फिर्ति केन्द्रमा पुर्याएपछि न त्यो व्यक्तिलाई नेपाल फर्किने टिकट दिनुपर्यो न उसको बाँकी तलव नै । मैले कतारमा नेपाली भलाद्मी भनेर कहलाएका केहि व्यक्तिलाई यस्तै केसमा समातेको छु । एउटा मान्छेलाई नेपालबाट कतार पुर्याइसकेपछि धेरै चरणमा ठगेर उसलाई रेटिरेटि चुसेको मैले प्रत्यक्ष देखेको छु । यसले पनि मलाई त्यस्ता भलाद्मीप्रति चर्को घृणा जागेर आउँथ्यो । त्यस्ता पीडित नेपालीलाई न्याय दिलाउन खोज्दा उल्टै त्यस्ता भलाद्मीहरु ठूला कुरा गर्न आउँथे । अवैधानिक व्यक्तिका बारेमा दुतावासजस्तो कुटनीतिक नियोगले बोल्न मिल्छ भन्दै प्रश्न गर्थे । मैले ‘तपाईले आफैंले एउटा नेपालीलाई अवैधानिक कामदार बनाउन मिल्छ, उनीहरुलाई न्याय दिलाउन दुतावासले मिल्दैन ?’ भनेर सोध्थें जसको जवाफ उनीहरुसँग हुँदैनथ्यो । कतिपयलाई चाहिं धेरै निहुँ खोज्न थालेमा तेरो कर्तुतका बारेमा कतार सरकारलाई दुतावासका तर्फबाट लेखेर पठाइदिउँ भनेपछि बल्ल उनीहरु नाजवाफ हुन्थे । यसरी बाहिर नदेखिने गरी हरेक पाइलामा ठग, दलाल नेपालीसँग समेत एउटा राजदुतले जुधिरहनु पर्दथ्यो । – डा. सूर्यनाथ मिश्र, काठमाडौं, असार १३  (देशपरदेशका लागि सम्पादक सुनिल न्यौपानेसँग मिश्रले गरेको कुराकानीमा आधारित । मिश्रले कतारमा नेपाली राजदुत भएर सन् २००८ देखि सन् २०१२ सम्म काम गरेका हुन् । उनले कतारमा राजदुत भएर बस्दा नेपाली श्रमिकका पक्षमा धेरै सुधारात्मक काम गरे । त्यसैले उनी नेपाली श्रमिक र श्रमिकको पक्षमा काम गर्नेहरु बीच हाल पनि निक्कै लोकप्रिय छन् । मिश्रको कतार बसाई अनुभव हरेक आइतवार देशपरदेशमा प्रकाशित भइरहेको छ ।) यो पनि पढ्नुहोस् राजदुत भएपछिको पहिलो कामः नेपालीको तलव बृद्धि नेपाली कामदारलाई बचाउने हो भनें   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय