मलेसियाबाट नेपाली चेलीको अनुरोधः अस्मिता जोगाउन सिक

मेरो नाम निमा ओजीन लामा हो । मेरो जन्म बि.सं.२०४६ असोज २४ गते दोलखाको काटकुटि गाविस वार्ड नम्बर २ मा भएको हो । हाल मेरो परिवारमा ३ दिदिबहिनी र ३ दाजुभाइ अनि बुबा आमा गरि आठ जना हुनुहुन्छ । म परिवारको दोस्रो सन्तान हुँ । स साना भाइबहिनीको लालनपालन साथै घर व्यवहार धान्न मुस्किल थियो । जसले गर्दा घर परिवार र बुबाको मर्कामा केहि मलम लगाइदिन सकियोस् भन्ने उद्धेश्यले मैले परदेशिने सोच बनाएँ । कक्षा १२ सम्मको अध्ययन पश्चात रोजगारको सिलसिलामा मलेसिया पस्ने चाँजो पाँजो मिलाउन थालें । सन् २००९ जुलाई ७ मा घर छोडेर गाउँकैे दलाल हँुदै काठमाडौंको एक मेनपावर कम्पनीबाट मलेसिया आउने कुरा भयो । नेपालमा भएकै बेला अधिकाँश नेपाली महिला कामदार सोनी कम्पनीमा काम गर्न जाने रहर गर्ने भएकोले आफुले पनि सोनी कम्पनीको कामकै लागि भनेर पासपोर्ट दिएँ । कम्पनीको भिषा पनि आयो । म मलेसियाको सेलाङ्गर राज्यमा अवस्थित काजाङको सोनी कम्पनीमा आउने पक्का भयो । एक किसमले मेरो मन प्रफुल्ल पनि भयो । किनकि अन्तराष्ट्रिय स्तरको कम्पनीमा काम गर्ने अवशर पाएकी थिएँ । कामका लागि परदेशिनेले केहि सपना त पक्कै देखेकै हुन्छ । म पनि केहि अग्ला सपनाका महलहरु मनमनै ठड्याएर मलेसिया आउने पक्का गरे । तर जव म मलेसिया आएँ मैले नेपालमा सोचेको जस्तो र देखेको सपना जस्तो केहि पनि भएन । म साँच्चै छाँगाबाट खसेको जस्तै भएँ । अनी मनमनै धिक्कारे बिदेश त यस्तो पो हुदो रहेछ भनेर । मैले नेपालमा हुँदा देखेका सपना क्षण भरमै चकनाचुर भएका थिए । धेरै कमाउने, घर परिवारलाई सुखी राख्ने चाहाना सपना जस्तै भएको थियो । सुरुमा भाषिक ज्ञान नहुँदाको समस्या खेप्नु पर्यो । अहिले त सम्झदा पनि निक्कै टीठलाग्दो लाग्छन् ती दिनहरु । होष्टाल देखि कम्पनीसम्मको यात्रा पनि निक्कै उदेकलाग्दो हँुदो रहेछ । विभिन्न समस्याहरु आइपर्ने । नौलो पराई भूमिमा धेरै समस्या खेप्नपर्यो । आर्थिक, मनासिक र परिवारिक समस्या झन् जटिल थियो । सुरुमा म सोनी कम्पनीमा आउँदा न्यूनतम तलव ५ सय आरएम थियो । ५ सय तलबमा कति खाएर कति बचत गरेर देखिएका सपना पुरा गर्नु ? मलाई निराश बनाइदियो । सपना पुरा गर्नु त परको कुरा मलेसिया आउँदा लिएको ऋण कसरी तिर्नु भन्ने तनाव बढेर गयो । अझ कम्पनीले सुरुको बर्ष १० महिनासम्म प्रत्येक महिना २ सय आरएमका दरले भिषाको शुल्क भनेर काट्दो रहेछ । अनी अर्को दश आरएम होष्टल शुल्क भनेर काट्ने । बिभिन्न शिर्षकमा रकम काटेर महिना भरिको कमाइ जम्मा ३ सय ९० आरएम मात्र हात लाग्दा त मेरा हात गोडै कामेर आए । मैले अव केहि गर्न नसक्ने भएँ, अरु त अरु आएको ऋण समेत समयमा तिर्न नसक्ने पिरले मेरो मनमा ढ्याङग्रो ठोक्न थाल्यो । हात परेको यो पैसाले अव कति खाने अनी कति बचाउने भन्ने भयो । यसरी सस्तो मुल्यमा श्रम गर्नुको नमज्जा कसले अनुभूती गर्न सक्ला र ? भनिन्छ नि अचनोको पीडा खुकुरीलाई रत्ति पनि थाहा हुन्न । यता हरसमय रुँदै काम गर्दा पनि पैसाको बचत नहुने कम्पनीमा ओभर टाईम काम नहुनु र घरमा बुबाआमा “पैसा पठउँदैनौ छोरी कहिले पठाउने ? भन्ने वाक्यले झन कयौँ पटक म भक्कानिएकी थिएँ । समय आफ्नै गतिमा चलिरहेको थियो । आज भोली भन्दा भन्दै दिनहरु बित्दै गए । नभन्दै आएको आफ्नो तीन वर्षे कार्यअवधि सकिन लागेछ । तर यहि तीन वर्ष भित्रै मैले देखेका अनेकौ सपना ज्यूँका त्यूँ थिए । एक छेउ पनि सरेका थिएका थिएनन् । सपनाका पहल त उस्तै ठडीएकै थिए, परिवारको आर्थिक अवस्थालाई केहि सहयोग गर्न सक्छु कि भनेर परदेशिएकी म न बाबालाई सहयोग गर्न सकें न आफ्ना सपना पूरा गर्न नै सकें । अवस्था जहाँको त्यहि रह्यो । केवल बित्यो दिनहरु । अवस्था जस्ताको तस्तै भएकोले जस्तो आएको त्यस्तै अवस्थामा घर फर्कन पनि मन लागेन । आत्माले दिएन । तसर्थ मैले फेरि अर्को एक वर्षको भिसा थपेर बस्न वाध्य भएँ । तीन वर्षको कमाईले त भएन झन् अव एक वर्षको कमाईले कहाँ सकिन्छ र ? अभाव र तनावहरुका कारणले थपेको एक साल पनि खासै उपलब्धिमुलक रहेन । किनकी कम्पनीमा भने जस्तो काम नै चलिदिएन थपेको त्यो एक वर्षमा पनि । हात र मन दुवै रित्तो नै छ । फेरी घर नफर्कने अडान लिएँ र फेरी पाँचौ वर्षको भिषा लगाएँ । बिडम्बन, जति समय बितेपनि मेरो समस्या जस्ताको तस्तै रहिरह्यो । अव जति बसे पनि केहि नहुने रहेछ घर फर्किन्छु । परदेशको ठाउँमा जति दुःख गरे पनि कहिल्यै नहुँदो रहेछ । पैसाले पुगेको कोहि छैनन् र पुग्दैन पनि । अन्त्यमा यहाँका परिवेश, रहनसहन सोचेभन्दा धेरै अन्तर रहेको र बिदेशीएको छोरीचेली प्रति हेर्ने समाजिक दृष्टिकोण र यहाँ रहेको चेलिको चरित्रप्रति मलाई धेरै गुनासो छ । यहाँ आफ्नो घर परिवार त्यागेर परदेशिएका दाजुभाइ दिदिबहिनी क्षणिक रमझममा भुलेर सम्पुर्ण दुःख भुल्न खोज्दै आफ्नो अस्थित्व र पहिचान पनि गुमाउनु तत्पर छन । दिनभरि कम्पनीको पेलाइ । महिना दिनसम्म यसरी पेलिएर गरेको दुःखबाट आएको पारिश्रमिक क्षणभरमै उडाउने गरेका छन् यहाँ । आफ्नो पिडा दुःख भुलेर, आफु बिदेशीनुको उद्देश्य भुलेर अनैतिक क्रियाकलापमा निकै नै सक्रिय छन । यसमा धेरै नेपाली महिला पनि संलग्न भएको देख्दा दुःख लाग्छ । अनी पुरुष दाजुभाइको कुरा पनि उही हो । अन्त्यमा मेरो अनुरोध छ अमुल्य जीवन र समयको बर्बाद नगरौ । अनि दुनियाँको छिः छिः दुर दुर सहेर नबाँचौ । हामी सबल र सक्षम नारिको प्रतिक बनौ र बन्नु पर्छ । (चन्द्री मोक्तानसँगको कुराकानीमा आधारित । यो सामग्री मलेसियाबाट प्रकाशित हुन थालेको नेपाली पत्रिका नेपाली डाइजेष्टमा पनि प्रकाशित भएको छ ।) यो पनि पढ्नुहोस् कतारमा नेपालीको मृत्युमा कम्पनी दोषि ठहर, ५४ लाख व्लड मनी तिर्न आदेश  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय