
चर्चित- कुनै बेनामे विद्धानले भनेका छन्, ‘साना-साना कुरामा ठूला-ठूला खुसी लुकेका हुन्छन् ।’ म थप्न चाहन्छु, ‘तर ति सत्य र तथ्यमा आधारित हुनु जरुरी छ ।’ ‘रम’ नखाए पनि ‘गम’ खाएर सोच्ने हो भने कुरो जायजै लाग्दछ । त्यस्तै भनेको कुरा गरेर देखाउने र गरेको कुरा भनेर हिंड्ने मान्छे देख्दा खुसी लाग्दछ । तर सार्वजनिक सरोकारको बिषयमा बोलेको कुरो पूरा गर्नु त परै जाओस्, भुसुक्दै बिर्सिदिने वा बिर्सिएको जस्तो गर्नाले तिनको बिश्वसनियतामा ‘हेमानेको प्रश्न’ तेर्सिन्छ । हामीजस्ता ‘बेवकुफ सर्वसाधारण’हरु फेरि तिनै ‘उत्तरविहिन दक्षिणपन्थी’हरुलाई मालिक सम्झेर जयजयकार गरिरहन्छौं, तिनलाई बचाएर आफु पटक-पटक मरिरहन्छौं । कतार बसाइमा देखेका/भोगेका केही ‘झिनामसिना कुरा’ यहाँहरुसमक्ष बाँढ्न चाहन्छु । नेपाली कतारी श्रमिक डायस्पोराको ‘स्वघोषित मालिक’ एनआरएन कतारका अगुवाहरुको दुई बर्षअघिको बैठकले ‘पूरा होसहवासमा’ आफ्नो संस्थालाई दिने भनेर कवोलेको रकम छ महिनाभित्रमा नदिने अ/दानीहरुको नाम सार्वजनिक गर्ने निर्णय बजारमा फालेको थियो । आज गोडादुएक बर्ष बितिसक्दा पनि तिनले नाम सार्वजनिक गर्नु कुन चराको नाम हो भएको छ । सायद ति अ/अगुवाहरु यो ‘झिनामसिना कुरा’मा नअल्झिने भनेर ‘गुप्ती वास’ बसेका हुन् कि ? ए साँच्ची अधिवेशनको तयारीमा ‘बिजी’ भएर पो यो कर्म गर्न ‘इजी’ नभएको हो कि ? कमलमणि गुरागाईं जानुन् । केही बर्षअघि ‘नेपाली ब्यावसायीहरु किन आलोचित छन् ? उनीहरुको छवि सुधार्न के गर्नु पर्ला ?’ भन्ने बिषयमा जनमत लिनेक्रममा एउटा जनकपुर अञ्चलतिरको जिल्ले संस्थाका प्रमुखले आफ्नो मत राख्न नमानेर अनकनाए । सार्वजनिक चासोका बिषयमा राय दिन नसक्ने ति संस्थाका प्रमुखको ‘लिडरसिप’ गर्ने क्षमतामा प्रश्न गर्न पनि मन मरेर आएको थियो । जिल्लाको विकासमा थोरै भए पनि सेवा गर्ने उदेश्यका साथ जिल्लावासीहरुलाई एकत्रित गर्ने ति प्रमुखले श्रमिकको चासोको बिषयमा राय दिन नमानेपछि मैले तिनकै कार्यकर्तासामु तिनको अगुवाइप्रति खुलेरै जवाफ दिएको थिएँ । उनले किन राय दिन मानेनन् भनेर सोचिरहेका बेला मेरा एक सञ्चारकर्मीमित्रले रहस्य खोलिदिएका थिए । त्यहि दिन मात्रै अधिवेशनबाट अध्यक्ष भएका ति अगुवाको अधिवेशनको खर्च बेहोरिदिने पनि एक नेपाली ब्यावसायी रहेछन् र तिनले खर्च उठाइदिएवापत सम्मान पाएका रहेछन् । अनि के खाएर राय दिन्थे त यस्तो ‘झिनामसिना कुरा’मा ? अनेसास र नसामोपु दुई संस्था मिलेर कतारी भूमिमा पसिना पोखेर कविताको खेती गर्ने एकजना कवि जो ‘जूनको उज्यालोमा कविता लेख्ने कवि’, ‘छन्द कवि’ र ‘नाथुर कवि’ भनेर चिनिन्छन्– को एकलवाचन कार्यक्रम आयोजना गर्ने तरखरमा थिए । एउटा सेवा समाजको कार्यक्रममा नसामोपुलाई पनि अथितिका रुपमा बोलाइएको थियो । अध्यक्षको अनुपस्थितिमा मैले सो कार्यक्रममा सहभागी हुने मौका पाएको थिएँ । सोही अवसरमा एकलवाचनको प्रसारप्रसार गर्ने उदेश्यले मैले कविको दस बर्षे दुःख गराइ, साहित्य सेवा, नाथुर (हेरालु) दैनिकी, पानी, एसी र बिजुली विहिन बासस्थानका बारेमा उपस्थित सवैलाई जानकारी गराएको थिएँ । एकलवाचन कार्यक्रमका लागि पचासवटा मात्रै पचास रियल पर्ने टिकट बनाएको र अन्यलाई निःशुल्क प्रवेश दिने जानकारी गराएको थिएँ । प्रायः सवैले मैले गराएको जानकारी र दुई संस्थाले गर्न लागेको कार्यक्रमको स्वागत गरेका थिए । तर अर्को एउटा सेवा समाजका सचिवको हैसियत राख्ने एकजना सुनुवार मित्रले मेरो जानकारीप्रति खरो बिरोध गरे । अंग्रेजी भाषामा कविलाई टिकट काटेर सहयोग गर्नु नहुने बिचार राख्ने ति मित्रले एकलवाचन कार्यक्रमको बिरोधमा आफ्नो राय राखेका थिए । उनका ‘झिनामसिना कुरा’ र बिचारको मजस्ता धेरै साहित्य र नेपाली भाषाप्रेमीहरुले कान खोलेर सुनेका थियौं । बिचरा उनी त एकलवाचनमा आएनन् तर हामीले सो कार्यक्रममा एक लाख छपन्न हजार नेपाली रुपैयाँले कविको सम्मान गर्न सक्यौं । एकदिन सनैयातिर होटल ब्यावसाय गर्ने एकजना नेपाली ब्यावसायीसँग जमेरै कुरा गर्ने अवसर मिलेको थियो । श्रमिकहरुको काम गर्ने समयका बारेमा हामीले कुराकानी गरेका थियौं । ति ब्यावसायीले उनको होटल १६ घण्टा खुल्ने र बीचमा दुई घण्टा श्रमिकलाई छुट्टी दिने जानकारी गराएका थिए । १४ घण्टा खट्ने गरेका श्रकिमले आठ घण्टापछिको ओभरटाइम कतारी सरकारको नितिनियम अनुसार पाउँछन् कि पाउँदैनन् ?’ भनेर प्रश्न गर्दा तिनले ‘होटल लाइन यस्तै भएको र सवै होटलले श्रमिकलाई यसरी नै खटाउने तर आठ घण्टाको मात्रै सोलोडोलो तलव दिने चलन रहेको’ बताए । उनले दिएको यस्तो जवाफमा मैले ‘अन्तर्राष्ट्रिय श्रम कानुन र कतारी श्रम कानुन बमोजिम होटल लाइनमा बढि खट्नु पर्ने प्रावधान छ र ?’ भनेर सोध्दा उनले त्यस्तो नभएको तर होटल, बकाला र साना सुपरमार्केटमा यसरी नै श्रमिकले खट्नु पर्ने बताएका थिए । निम्न स्तरको निम्छो नेपाली श्रमिकलाई कानुन बिपरित काममा लाएर तलव नदिने कति होटल ब्यावसायीहरु यस्तै ‘झिनामसिना कुरा’ गरिरहेका होलान् ? दर्जनबढि होटल ब्यावसायीहरुले आफ्ना श्रमिकको पसिनाको मोल खाएर मुख वाएर हिंडेका छन् । म तिनलाई तुरुन्त नितिनियम बमोजिम श्रमिकलाई सेवा/सुविधा दिन अपिल गर्दछु र ‘ब्यावसायी हुँ’ भनेर दम्भ देखाउँदै नाक ठड्याएर हिंड्नु भन्दा श्रमिकको पाउने रकम तिरेर ‘झिनामसिना कुरा’मा नअल्झिन आग्रह गर्दछु । यि त प्रतिनिधि घटना मात्र हुन् । सार्वजनिक महत्वका यस्ता अनेक बिषय र क्षेत्रमा ‘झिनामसिना कुरा’ गर्दै हिंड्ने नेपालीहरुको कतारमा कमी छैन । कमी होस् भन्ने चाहना तपाईं हामीजस्ता सर्वसाधारण मानिसले आस राखेको सरोकारवालाहरुले थाहा पाए भने उल्टै हामीलाई ‘झिनामसिना कुरा’मा नअल्झिन हुकुम गर्लान् । होस् गरेस् बाबै । यो पनि पढ्नुहोस् अरवमा ‘गिरगिर’ खेप्नेहरुका नाममा