महिलालाई ‘डवल ड्युटी गर’ भन्दै होच्याएपछि ……

कल्पना राई ‘खुशी’- म बैदेशिक रोजगारको सिलसिलामा ईपीएस अन्तर्गत कोरियन भाषा उत्तिर्ण गरेर सम्पूर्ण नियम पालन गर्दै सन २००९ नोभेम्बर १७ तारिख कोरियाको भूमीमा प्रवेश गरेकी हुँ । शुरुका पल एकातिर परिवार छोडेको पिडा थियो भने अर्को तिर नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छेहरु र कठांग्रिएको हिउका डल्लाहरू भित्र सपना र आवस्यकता परिपूर्तिको एउटै साधन अर्थ आर्जन गर्नु थियो । त्यसैले हामी जो कोहि पनि ईपीएसबाट आउँदा कोरियाको काम, संस्कृति, जीवन शैली, जानकारी गराउन इन्छनस्थित तालिम केन्द्रमा ३ दिन प्रशिक्षण दिईन्छ जुन अति नै लाभदायक हुन्छ । यसै सिलसिलामा एउटा घटना जोड्न मन लाग्यो । त्यो दिनको कुरा हो, जुन दिन हामी नेपालीको लागि मार्गनिर्देश गर्ने एक जना लामा सरले कक्षा लिदै थिए । त्यहिबेला कोहि केटा साथीले ‘सर तपाइको फोन नम्बर दिनुस न, यदि हामीलाई अफ्ठ्यारो परेको खण्डमा तपाईलाई कल गर्छौ’ भने । तर, सरको जवाब यस्तो आयो ‘मैले कसैलाई नम्बर दिने गरेको छैन । पहिला एक पल्ट आफ्नो नम्वर बाडेको थिएँ, र त्यसको केहि दिनमै एक जना केटिको फोन आयो । रिसिभ गरें, उताबाट अतालिदै सर मलाई गाह्रो भयो काम गर्न, काम त जे जसरी नि गर्छु तर म एक्लो नेपाली केटी छु, दिउँसो काम गर्छु राती साहु रक्सी खाएर आएर ढोका खोल कि खोल भनेर बेसरी ढोका हान्छ म के गरु सर ? मलाई मदत गर्नु पर्यो भनिन् । ‘ यस्तो बिलौनायुक्त आवाज सुनेपछि जो कोहि नेपालीको मन पग्लिन्छ नै । यदि उसको छातीभित्र नेपाली मन छ भने । तर हाम्रो सर भनाउदाले यस्तो उत्तर दिनु भयो अरे, जो निकै मुस्काउदै भन्नु भएको थियो, जुन आज पनि मेरो मानसपटलमा बिझी रहन्छ । अनि त्यो हाम्रो दोभाषे सरले भन्नु भयो रे  ‘ए उसो भए डबल डिउटी गरे भैहाल्यो नि’ धेरै पुरुष मित्रहरु गलल्ल हाँस्नु भयो तर त्यो दिन म नौलो र अपरिचीत छोरी मान्छे एक चिम्टी डर नमानी त्यो सर भनाउदोसंग प्रतिवाद गरे । त्यहि बिषयलाई लिएर, अन्तमा उहाँको सफाई थियो कि उहाँलाई आफ्नी कोरियन श्रीमतीको अगाडी अफ्ठ्यारो भएको थियो रे । कोहि समस्यामा परेको नेपाली चेलीको फोन उठाउदा अफ्ठ्यारो हुन्छ ? यो कस्तो मानसिकता ? यो कस्तो मानवता ? यो कस्तो परिबेस हो ? यही कुराहरुले सोचमग्न हुँदै त्यहि बेलादेखि आफुलाई अझ बलियो र स्वालाम्बी बनाएँ किन कि यहाँ कोरियामा कोहि आफ्नो नहुदो रहेछ । तीन दिने प्रशिक्षण पश्चात मेरो कम्पनी ईन्छन भन्दा टाढा रहेकोले भोली पल्ट आफ्नो कार्यस्थल पुगें । कामका पहिलो दिनहरु हप्काई, दप्काई, गालीबाट सुरु भयो । कारण थियो भाषा नबुझ्नु । नेपालमा जुन भाषा उत्तिर्ण गर्दा छाती फुलाउछौं त्यो व्यर्थ साबित भयो । यहाँको बोलाई र हाम्रो सिकाईमा आकाश जमिनको फरक थियो, जसलाई सहर्श स्वीकार्नुको अरु बिकल्प थिएन । जसोतसो काम सिक्ने र गर्ने क्रममा २०१० फेब्रअरी २४ तारिख नाइट काम गर्ने क्रममा एक कोरियन आजुमाको गल्तीले मेरो देब्रे हातको साइली औला भाचिन पुग्यो । सायद जिन्दगीको पहिलो दुखद र पिडादायी क्षण थियो । साहु बोलाएर औला सिलाइयो स्टिल राखियो । डाक्टरको सल्लाह बमोजिन औला ठिक नहुन्जेल काम नगर्नु तर यहाँको कोरियन भित्र माया र दया केहि नहुदो रैछ । हप्ता दिनको रेस्टपछि दिनहुँ म बस्ने कोठामा पालैपालो साहु, साहुनी मेनेजर आउदै किचकिच र गाली गर्न थाल्यो । तर मेरो स्थिती काम गर्न सक्ने थिएन्र । तिनीहरुको अपशब्द र तुच्छ व्यवहार भोग्नु र आँशुले सिरानी भिजाउनु बाहेक म केहि गर्न सक्दिन थिएँ । त्यसमा सबै भन्दा ठूलो समस्या स्थानीय भाषा नबुझ्नु थियो र परि आएको खण्डमा कहाँ र कसरी सम्पर्क गर्ने कुरा बाट अनभिज्ञ थिएँ । यसले गर्दा शारीरिक पिडा, मानसिक तनाव, बिचलित मन आफैले सम्हालेर गुम्सिनु बाहेक अरु उपाय थिएन । यो त मेरो व्यक्तिगत भोगाई । यस्ता र यो भन्दा बढी दर्दनाक कहाली लाग्दोकथा व्यथा कोरियामा महिला कामदार माथी दिन कै भै रहन्छ, जसको आवाज भित्र भित्रै दबाईएको छ । ईज्जतपूर्वक काम गर्न भनेर आउने हामीलाई त यस्तो छ भने म्यारिज व्यूरोबाट बिवाह गरेर आउनेको समस्या झन जटिल र कारुणिक छ । केहि बर्ष अघि मात्र नक्कली बिवाह गरेर भित्रिएकी एकजना चेलीले आत्महत्या गरिन् । त्यसरी नै आएकी लक्ष्मीजी आफ्नो जड्याहा कोरियन श्रीमान र उनको परिवारको अमानविय व्यवहार र कुटपिटले अपाङ्ग भएकी छिन् । यस्ता घट्ना धेरै भन्दा धेरै कृषि क्षेत्रका दिदि बहिनीले भोग्नु परेको छ । कोरियामा बिदेशीहरुले गर्नु पर्ने काम थ्री डीभित्र पर्दछ । डिफिकल्ट, डेन्जर र डर्टी । महिलाहरुको लागि प्रायः डर्टीमा पर्दछ । कम्पनी अनुसार सुरक्षाको साधनहरु पनि उपलब्ध गराईएको हुन्छ । त्यसमा पनि महिलाहरुले मन पराउने कामहरु, कपडा उद्योगमा धागो काट्ने, टंक राख्ने, प्याक गर्ने, कागज उद्योगमा कागज काट्ने, टास्ने, प्याक गर्ने, कलर गर्ने, पलास्टिक उद्योगमा, फलामको काममा पनि केहि सजिला कामहरु महिलाले गर्ने गर्छन । काम जस्तै भए पनि भौतिक शक्ति, बिबेकको सामर्थ्य र शान्त मन लिएर गाह्रो हुन्न । तर एउटा काम गर्नको लागि शारीरिक स्फुर्ति, लगनशिलता, मेहनत, स्वच्छ वातावरण, मनको शान्ति हुन अति आवश्यक हुन्छ, जसको जिम्मेवार काम गर्ने कम्पनी र आफु दुबैमा भर पर्छ । किनकी काम गर्ने वातावरण सबै ठिक छ भने पनि आफ्नो मन मष्तिस्कमा परिवारको सम्झना अत्यधिक गरेर होम सिक बनायौ भने, हामी छोरी मान्छेलाई गाह्रो हुन्छ । तथापी आफुलाई सम्हाल्नु पर्छ । घडीको सुईले हरेक कठिन समयलाई उधिनेर फालिरहेको महसुस गर्नु पर्दछ । केहिहदसम्म त हामीले नेपालबाटै मानसिक तयारी गरि सकेका हुन्छौ । मात्र याहा आएर व्यवहारमा उतार्नु पर्ने हुन्छ । अब यदि आफुले काम गरेको ठाँउमा आफुले राम्रो काम गर्दा गर्दै पनि साहुले अथवा अन्य व्यक्तिले आफु माथी अन्याय अभद्र व्यवहार, लेनदेन हरहिसाब र आफुले सम्झौता गरेको सुख सुबिधाबाट कटौती गर्दैछ भने त्यसको लागि धेरै संघ संस्था छन । त्यसमा सम्पर्क गर्ने जुन सम्पर्क नम्बरहरु नेपालको १५ दिने शिपमुलक तालिममा उपलब्ध गराएको हुन्छ । यदि त्यहाँ ति नम्बरहरु उपलब्ध नभए पनि साथीभाईहरुसंग आफ्नो समस्या सेयर गर्ने, परिआएको समस्यालाई कसरी र कुन तरिकाले सुल्झाउन सकिन्छ भनेर छलफल गर्ने गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा त फोन र सामाजिक संजालसंग एकदम नजिक हुनुपर्छ र एक्लो छु भनेर मन दुखेर पिर बोकेर कहिल्यै बस्नु हुन्न । आफ्नो सबै भन्दा नजिक को छ, उसैलाई आफ्ना समस्याका बारेमा बताउने गर्नु पर्छ । हिजोआज प्रवासीहरुको सारो गाह्रोलाई ध्यानमा राखेर हरेक देशमा बिभिन्न संघ संस्थाहरु खुलेका छन र कोरियामा पनि त्यसको कमि छैन । कुनै समस्या परेमा रोजगार केन्द्रमा जानु उपयुक्त हुन्छ । हुन त पिडित जसरी पनि पिडितै छ, पिडितको पिडामा सहयोग गर्ने संघ संस्था भनेर जति नै खुले पनि प्रभावकारी रुपमा त्यसले के कति काम गरेको छ भन्ने कुरा त आउदो समयमा पिडितको संख्या हेरेर पनि अनुमान लगाउन सकिन्छ । यसको अर्थ यो होइन कि संघ संस्थाहरुले कामै गरेको छैन भन्ने तर पनि मेरो आफ्नो व्यक्तिगत मुल्यांकन हो, किनकी यस्तो कुनै प्रकारको सहयोग चाहिएमा यो नम्बरमा सम्पर्क गरेर जुनसुकै समयमा सहयोग लिन सक्नु हुनेछ भनेर सामाजिक संजाल तिर सेयर गरेको हुन्छ तर वास्तविक समस्या परेको बेला केहि सल्लाह सुझाव लिन फोन गर्यो मरेकाटे उठ्ने होइन । यस्तो स्थिति भोग्नु परेकोले फोन नम्बर बाड्नु हुने सम्पूर्ण संघ संस्था होस या व्यक्ति बिशेष यदी तपाईहरु साच्चै नै एउटा पिडितको लागि केहि सहयोगी भावना बोकेर अघि बढ्नु भएको छ भने बोले बमोजिम कार्य गरिदिनु होस, न कि नाम कमाउन सामाजिक संजाल होस कि सस्तो अनलाईन मिडियामा अनेक आश देखाएर परेको बखत अझ बढी पिडा बढाउनु होस । फेरी कोहि यस्ता व्यक्ति पनि हुनुहुन्छ जो पिडितको सानो केसलाई पनि सहज र सरल तरिकाले सुल्झाएर शान्त्वना दिनु हुन्छ । उहाँहरु प्रति नतमस्तक छु्र । अन्त्यमा, हरेक नारी हामी सक्षम, सबल, आत्मविश्वासी, साहसी, निडर छौ । तर यो सब हामी आफु भित्रै कैद छ किन कि यी सब गुण प्रस्फुटन गर्न पाउने हाम्रो नेपाली समाज त्यो बेला थिएन । तर अब नौ डाँडा काटेर सात समुन्द्र तरेर हामी जुन ठाँउमा छौ, त्यो ठाँउमा यदि हामी सहि र सत्य छौ भने हाम्रो काम र सोचाईलाई कदर नगर्ने कुरै छैन । त्यसैले प्रवासको यो छोटो बसाइलाई उपलब्धि मुलक बनाउन, आफु स्वास्थ्य रही आर्थिक आर्जन गरौ, यहाँको कला सीप आफ्नो ठाउँमा कसरी प्रयोग गर्न सकिन्छ त्यो सोचौ र भोली आफ्नो मातृभूमीमा सुखी, खुशी, सम्पन्न र स्वतन्त्र तरिकाले बाँच्न सकौ । र हामी पछी हाम्रो छोरीले श्रम गर्न प्रवास आउनु पर्ने अवस्था नहोस्, त्यो दिन निर्माणका लागि जुटौैं । दोलखा, हालः दक्षिण कोरिया यो पनि पढ्नुृहोस् खाडीमा हराए नेपाली चेली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय