‘अव त पैसा पनि जम्मा हुँदै गएको छ’ (भिडियो सहित)

तुलाराम विक, कैलाली – हाम्रो परिवारको आर्थिक अवस्था निक्कै कमजोर थियो । केवल ५ कठ्ठा जग्गा थियो । दाजुको विवाह भयो । मेरो पनि भयो । विस्तारै परिवार ठूलो हुँदै गएपछि खानेमुख थपिए । त्यसैले हामीलाई साँझ विहान खान पनि धौ धौ पर्र्न थाल्यो । आर्थिक अवस्था कमजोर भएपछि दिनहुँजसो घरमा झै झगडा, कचिंगल हुन थाल्यो ।

घरको आर्थिक स्थीति राम्रो नभएकै कारण मैले पढ्न पनि पाइन । घरको आर्थिक अवस्था पनि दयनिय भएका कारण म कमाउन भारत गएँ । भाँडा माझेर खान्छु भनेर । ६/७ बर्ष बसेर काम गरें मुम्वईमा । झाडुपोछा गरें ६ महिना । त्यसपछि वेटरसम्म भएँ । जुठो प्लेट उठाउने, खाना खुवाउने काम थियो । जति राम्रोसँग बोलेर काम गरे पनि साँझ गाली खानै पथ्र्यो । मनपरी गाली गर्थे । अर्कातिर आफ्नोे पेट पाल्ने बाहेक खासै केहि प्रगति पनि भएन । त्यसैले ७ बर्षपछि नेपाल फर्के । Tularam 1 नेपाल फर्केपछि पनि काम थिएन । होटलको काम जानेको भएकाले महेन्द्रनगरमा होटलमा केहि समय काम पाइन्छ की भनेर खोजें पनि । तर दलित भनेर हेप्ने बानी छ । काम जानेको भएपनि दलित भएकै कारण कसैले पनि मलाई काम दिएनन् । जहाँ गएपनि सुरुमा जातै सोध्ने । त्यसैले पाएको दिन जनमजदुरी गरेर बसें । त्यहि क्रममा ट्रेस(नेपाल)मा तालिम खुलेको थाहा पाएँ । फर्म ६०, ७० जनाले भरेका थिए । नाम निक्लिन्छ की निक्लिन्न भन्ने डर लागिरहेको थियो । धन्न मेरो नाम निक्लियो । लिष्टमा आफ्नो नाम देखेपछि धेरै खुसी भएँ । त्यो खुसी त अहिले व्यक्त गर्न पनि सक्दिन । तर मेरो समस्या अर्कै थियो । घरमा एकातिर साँझ, विहानको खर्च टार्नु पर्नेथियो, तीन महिनासम्मको तालिम लिनु गाह्रै थियो । तर पनि मैले हार मानिन । काम सिकेपछि केहि न केहि हुन्छ भन्ने विश्वास हुँदै गयो । तालिम निक्कै राम्रो भयो । फित्ता समात्न समेत जानेको थिएन । सवै कुरा सिकियो । चौखट्टा, झ्याल, ढोका बनाउन सवै सिकियो । Tularam 2 तालिम सकेपछि म काम गर्न थालें । कमाइ राम्रै हुन थालेको छ । बालबच्चालाई खुवाउन, पढाउन अहिले कुनै समस्या छैन । विरामी हुँदा खर्च पुर्याउन गाह्रो छैन । यदि तालिम नलिएको भए त खत्तमै हुने रहेछ । त्यो तालिम नलिएको भए म कहाँ यो अवस्थामा आइपुग्थें र ? अहिले त्यो तालिमको प्रतिफल राम्रो छ । पहिले मलाई होच्याएर बोल्नेहरुले पनि अहिले त राम्रो व्यवहार गर्छन् । हिजोआज त्यस्तो छैन । पहिले ए फलाना यता आइज भन्थे, अहिले ए फलाना मिस्त्री भन्छन् । मिस्त्री जोडियो । निक्कैै खुसी लाग्छ । Tularam 3 मैले बुझेको कुरा आफ्नो हातमा कला हुनुपर्ने रहेछ । सीप सिक्यो भनें जहाँ गएर पनि गरिखान सकिन्छ । पहिले जनमजदुरी पाए राम्रै खाइन्थ्यो, नत्र त्यसै बस्नुपथ्र्यो । तर अहिले त दैनिक काम पाउँछौं, घर खर्च मज्जाले पुगेको छ । अहिले घरखर्च पुर्याएर समेत महिनामा ३०/४० हजार बचाउन थालेको छु । पैसा पनि जम्मा हुँदै गएको छ । एउटा सानो घर बनाउने, आफ्नै फर्निचर पसल खोल्ने योजनामा छु । (तुलाराम विक रोजगार कोषअन्तर्गत सन् २०१२ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था ट्रेस नेपालले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) भिडियो हेर्नुहोस्  https://www.youtube.com/watch?v=kTn2I0WnmmM&feature=youtu.be

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय