
मेरो नाम हेमनारायण चौधरी हो । मेरो पसलको नाम एचएन मोेवाइल ट्रेनिङ सेण्टर । नेपालगञ्जको गोसाई गाउँ, सदरलाईनमा मेरो पसल छ । मेरो घर पशुपतिनगर गाविस ७ बर्दियामा पर्छ । हाल म ३३ बर्षको भएँ । मेरो घरको आर्थिक अवस्था ज्यादै नाजुक थियो । जग्गा जमिन थिएन । एसएलसीसम्म त जसोतसो पढें तर आर्थिक अवस्था कमजोर भएका कारण त्यसभन्दा अगाडी पढ्न सकिएन । त्यसैले म काम खोज्दै नेपालगञ्ज आएँ । त्यहि समयमा घरेलुले मोवाइल मर्मत सम्वन्धि तालिम खोलेको रहेछ । त्यसमा सहभागि भएँ । त्यसपछि जिविकोपार्जनका लागि मोवाइल बनाउने काम थालें । तर मेरोे साथमा पुँजी थिएन । त्यसैले मैले खासै ठूलो व्यावसाय गर्न सकिन । सानो व्यवसाय भएका कारण उति धेरै आम्दानी पनि थिएन । तर पनि नेपालगञ्जमा बस्नका लागि त्यसले मलाई मद्धत गरेको थियो । त्यहि क्रममा कोहलपुरको काइट(कोहलपुर इन्स्टिच्यूट अफ टेक्निोलोजी) भन्ने संस्थामा मोवाइल मर्मत सम्वन्धि लेभल टुको तालिम खुलेको थाहा पाएँ । मैले फर्म भरें र छानिएँ पनि । त्यसपछि म सोे तालिममा सहभागि भएँ । सो तालिम मेरो लागि धेरै उपलव्धीमूलक भयो । पहिले सिकेकोमा दोव्वर नै कुरा सिकियो । सो तालिमपछि बल्ल आँट आयो । अव केहि गर्न सक्छु भन्ने आत्मविश्वास भयो । सो तालिममा मोवाइल मर्मतको कुरासँगै व्यवसाय कसरी सञ्चालन गर्ने, बैंकिङ कारोवार कसरी गर्ने भन्ने कुरा पनि सिकाइयोे । तालिम सकेपछि मैले आफ्नै पसल खोलें । काममा दक्ष भएका कारण मलाई मोवाइल मर्मत गर्न समस्या भएन । काम जानेपछि ग्राहक पनि थपिए । हिजोआजको कारोवार धेरै राम्रो छ । प्रत्येक दिन १५ देखि २० वटा मोवाइल आउँछ । त्यसैले कमाई सन्तोषजनक छ । ग्राहक बढेसँगै म एक्लैले काम गर्न नभ्याउने भएँ । त्यसैले अरु काम गर्ने साथि थप्नु पर्नेभयो । हाल मसँग दुईजना युवा काम गर्छन् । एकजनालाई मासिक ८ हजार र अर्कोलाई ६ हजार तलव दिन्छु । मासिक ४० हजार माथि कमाई हुन्छ । पसलको भाडा, कर्मचारीको तलव सवैै कटाएर पनि मेरोलागि मासिक २५ देखि ३० हजार आम्दानी हुन्छ । यसले मेरो जीवन उकासिएको छ ।
यो बाहेक मैले कम्प्युटरको अर्को तालिम पनि चलाइरहेको छु । त्यसबाट छुट्टै आम्दानी हुन्छ । मैले दुवैतिर हेर्न नभ्याएका कारण त्यसलाई भाडामा दिएको छु । यसले मेरो नियमित आम्दानी बढाएको छ । तालिम नलिएको भए, मेरो अवस्था दयनिय हुनेथियो । अर्कोको पसलमा मजदुरी गरेर खानु पर्नेथियो । आफ्नो हातमा दक्षता हुनुपर्छ । धेरै नेपाली युवा अहिले पनि रोजगारीका लागि विदेश जान्छन् । खाडीको देशमा पसिना चुहाएर काम गर्छन् । नेपालमा रोजगारी नै नभएको होइन । मुख्य समस्या सीप नसिक्नु हो जस्तो लाग्छ । जानेबुझेकाहरु पनि लाज मानेर होला नेपालमा काम गर्दैनन् । विदेश गएर त्यहि काम गर्नसक्ने, नेपालमा गर्न नसक्ने । यो त लाजकै कारण त होला । मेरो आग्रह विदेश नजाउँ, नेपालमै अवशर छ । यतै काम गरौं । त्यसका लागि सीप सिकौं । आफ्नै देशमा स्वरोजगार हुनु राम्रो । आखिर मेहनत गरे जहाँ पनि कमाई हुन्छ ।
हाल नेपालगञ्जमा मेरो घर छैन । तर जुन रुपमा मेरो आम्दानी हुन थालेको छ, यसले मलाई धेरै आत्मविश्वास बढाएको छ । मलाई आशा छ म अर्को बर्षसम्ममा नेपालगञ्जमा आफ्नै घर बनाउन सक्षम हुनेछु । (हेमनारायण चौधरी रोजगार कोष अन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था कोहलपुर इन्स्टिच्यूट अफ टेक्निोलोजी, बाँकेले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) यो पनि पढ्नुहोस् सीपले बढाएको शान : गृहिणीबाट सफल व्यवसायी(भिडियोसहित) दुई बर्षमा झण्डै ४० लाख स्वदेशमै कमाई(भिडियो सहित) ‘अव मेरो श्रीमान् कतारबाट आउनुहुन्छ’ (भिडियो सहित) भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=KtnEHn7442E&feature=youtu.be