
मलाई अरु बाहिरियाको भन्दा पनि हाम्रै सरकारका मान्छेहरु देखेर दया लाग्छ । उनीहरु भित्र छलफलमा एउटा कुरा गर्छन् बाहिर अर्कै भनेर हल्ला गर्छन् । आफू दह्रोेसँग कुरा राख्न सक्दैनन्, विदेशी कुनै मन्त्रीका अगाडी लज्जीत हुने कुरा गर्छन् । उदाहरण धेरै छन् । बहराइनको कुरा गरौं । त्यहाँका मन्त्री केहि समयअघि नेपाल आए र छलफल गरे । छलफलका क्रममा तलव सुविधा, लागतका बारेमा नेपाली पक्षले जिज्ञासा राखेछ । त्यसको प्रतिउत्तरमा त्यहाँ(बहराइन)का प्रतिनिधिले प्रष्ट शव्दमा यसमा सरकारले कुनै हस्तक्षेप नगर्ने कुरा राखेछन् । उनले यो जिम्मेवारी बहराइनको नीजि क्षेत्रको भएको बताए । तर उनीहरुसँगको छलफलपछि जानकारी दिने क्रममा हाम्रा सरकार र मन्त्रालयका जिम्मेवार व्यक्तिहरुले बहराइनले तलव बढाउने, लागत खर्च नभएको लगायतका कुरा गरेको हावादारी कुरा बोले । यो केवल प्रचारका लागि बोलिएको कुरा थियो । भर्खरै भएको कतारको श्रम मन्त्रीको भ्रमणको समयको तरिका पनि त्यहि थियो । त्यहाँ कतारका श्रम मन्त्रीले आफ्नो देशले कामदारसँग लागत खर्च नलिने गरेको बताएपछि हाम्रा प्रतिनिधिहरु जिल्ल परेछन् । हो कतारका रोजगारदाताले रकम लिन्नन् । तर त्यहाँका कम्पनीहरुले भिसा उपलव्ध गराए वापत लिने चर्को शुुल्कका बारेमा हाम्रा सरकारी अधिकारीहरु बेखवर थिए त ? उनीहरुले यसका बारेमा चुईंक्क बोलेनन् । हामीलाई पनि सहभागि गराउने हो भनें त्यस्ता समयमा हामी उनीहरुलाई यस्ता विषयमा प्रष्ट बताएर समस्या नेपालमा भन्दा बढी कतारमा छ र त्यसलाई रोक्नुपर्छ । यति गर्न सकेमा कामदारको हित हुन्छ भनेर बताउन सक्थ्यौं । तर त्यो अवशर न हामीले पाउँछौं न हाम्रा सरकारी अधिकारीहरुले त्यसरी बताउन नै सक्छन् । यसले उल्टै कतारका मन्त्रीले ठूलो स्वर गरेर गए । हामी जिल्ल नै पर्यौं । अर्को विषय । चाहे कतार होस् वा साउदी, युएई, बहराईन वा मलेसिया सवै देशमा कामदारबाट थाहा नपाईंदो रुपमा रकम काटिन्छ । दुई देखि तीन बर्ष बस्दा हरेक कामदारले ठूलो रकम त्यसरी सरकारी निकायलाई बुझाउनु पर्छ । उदाहरणका लागि मलेसियालाई नै लिउँ । त्यहाँ काम गर्ने क्रममा तीन बर्ष भित्रमा एउटा कामदारले विभिन्न नाममा लेवि र होष्टलकोे शुल्क बाहेक नै ३१ सय रिंगिट(नेरु८६ हजार हाराहारी) बुझाउनु पर्छ । यो रकम सरकारले लिने रकम हो विभिन्न नाममा । त्यो रोक्ने हो भनें र रोजगारदाताले एउटा कामदार झिकाउँदा लिने सरकारी दस्तुर कम गर्ने हो भनें अहिले भन्दा धेरै कम रकममा कामदार पठाउन सकिन्छ । तर ति विषय किन हाम्रो सरकारी निकायले बोल्दैन । पछिल्लो समयमा मलेसियाको कुरा आएको छ । हामीले यो कुरा चारबर्ष अघिदेखि उठाउँदा सुनेको नसुन्यै गरियो । हामीले बस्ने होष्टलहरु साह्रै खराव भए जसका कारण नेपाली विरामी पर्ने र मृत्यु हुनेसम्मका घटना भए यसका बारेमा कुरा उठाउँ भनेर सरकारलाई चार बर्ष अघि नै लिखित आग्रह गरेको थियौं । तर कुरा कहाँ रद्धीको टोकरीमा फ्यालिए ? हामीले कामदारको तलव बैंकमार्फत दिने व्यवस्था गरौं भनेर भन्दा त्यसालाई वास्तै गरिएन । हो मलेसियामा यस्ता समस्या धेरै छन् । तर तिनका बारेमा हामीले बोल्दा किन सरकार सुन्दैन ? यति मात्र होइन खाडीका देशहरुमा र मलेसियामा धेरै नेपाली अवैध कामदारका रुपमा काम गर्छन् र उनीहरुलाई प्रहरीले पक्रेर चरम यातना दिने गर्दछ । यसमा स्वयं कामदार धेरैकम मात्र दोषि हुने गर्दछन् । नेपाली पक्राउ पर्ने मध्ये ७५ प्रतिशत भन्दा बढी कारण रोजगारदाताहरुले समयमा भिसा नविकरण नगरिदिएर हो । एउटा काम भनी अर्को काममा लगाएर फसाउने गर्दछन् । यसको दोषि हाम्रा कामदार की त्यहाँका रोजगारदाता र त्यहाँको सरकार ? यसका बारेमा सरकार किन बोल्दैन ? विदेशबाट आउने सरकारी टोलीसँग यस्ता कुरा उठाउने हो भनें मात्र समस्याको समाधान खोज्न सकिन्छ । र नेपालले लाभ लिन सक्छ । हाम्रा कामदार सुरक्षित हुन सक्छन् । रह्यो मलेसियामा कामदार पठाउन रोक्ने कुरा । मलेसियामा दुव्र्यवहार, यातना दिने क्रम नरोकिने हो भनें यो रोक्नै पर्छ । तर यसमा एउटा आश्चर्य मिसिएको छ । सरकारी अधिकारीले मलेसियामा फ्रि भिसा, फ्रि टिकटमा जानेलाई नरोक्ने, अरुलाई रोक्ने कुरा गरेका छन् । के फ्रि भिसा, फ्रि टिकटमा गएका नेपाली चाहिं सुरक्षित हुन्छन् त ? पक्कै होइन । यसका पछाडी एउटा निश्चित कम्पनीले भूमिका खेलेको छ । कुनै एउटा कम्पनीले २५ सय कोटा ल्याएर कामदार पठाउन खोजेको विषयलाई श्रम तथा रोजगार मन्त्रालयले फरक रुपमा व्याख्या गरेर अहिले हल्ला मच्चाएको छ । हामी कामदारको हितको पक्षमा छौं । नेपालीको बैदेशिक रोजगारलाई सुरगित बनाउन जस्तोसुकै योगदान गर्न पनि हामी तत्पर छौं । तर विभिन्न नाममा हुने राजनीति र कामदारको हितको नाममा खेलिने खेलको हामी समर्थन गर्दैनौं । (कुमुद खनाल नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान उपाध्यक्ष हुन् । यो सामग्री खनालसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको हो ।) यो पनि पढ्नुहोस् श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग