विद्रोही नेपाली – पत्रकारिता, त्यो पनि प्रवासमा । यसको कथा कहिनसक्नुको छ । जसले प्रवासमा बसेर कम्पनीया कामसँगै पत्रकारिता गरिरहेछन् वा पत्रकारलाई नजिकबाट देखे भोगेका छन् तिनले अझ गतिलोसँग कहनसक्छन् पत्रकारिताको राम कहानी ।
थोरै पत्रकार देखेको सत्य कुरा लेख्छन् । धेरैले या त त्यसको भेउ नै पाउँदैनन्, भेउ पाएर पनि लुकाउने पत्रकार यहि मलायामा छन् । त्यसैले प्रवासमा पत्रकार भएर व्याच लगाएर कार्यक्रममा बस्न त मज्जा छ, तर त्यसको धर्म निभाउने ल्याकत हुनेहरु बहुत कम ।
आधुनिक मलाया को हान्निन्छ ? श्रम गरेर दुईचार पैसा कमाउने एउटा निम्छरो श्रमिक । त्यो श्रमिकलाई नेपालमा हुँदा नै पत्रकारिताको रस बसेको छ भनें त्यसले मलाया टेकेपनि र यता जतिसुकै हैरानी खेपेपनि उ ‘जाडोको सिरक'(पत्रकारिता) ओढिरहन्छ । अनी कतिपय चाहिं मलाया आएपछि रहरले पत्रकार हुन्छन्, भएका छन् । तिनको उपबुज्रुग्याईको कुरा गरी साध्य हुन्न ।
तर जति स्वाद छ यो पेशामा, त्यो भन्दा कयौं धेरै बेस्वाद भोग्छ त्यो प्रवासी पत्रकार । यसको नालिबेली लेख्न थाल्ने हो भनें एउटा पूरै अध्याय तयार हुनेछ । त्यो पनि लेख्दै जाउँला । तर आज लेख्न खोजेको प्रसंग अर्कै छ ।
कतारबाट नेपाल फर्केका चर्चित ढुँगेल र युएईमैै कर्म गरीरहेका मेघराज सापकोटाले तत् तत् देशका नेपालीलाई पोल्ने तातो फलामलाई ड्वाङ् ड्वाङ पारेर घनले किच्याउन थालेपछि मलायामा पनि त्यहि तातो फलामले पोलेकाहरुका कथा लेख्ने जाँगर उर्लेर आयो । खासमा आफू पत्रकार नभएपनि त्यहि रहरले यी शव्दहरु कोर्ने धृष्टता गर्दैछु । यी हरफहरु लेखिरहँदा मलायामा त्यहि तातो फलामले झुल्स्याएर रातो मुख भएकाहरुलाई झल्झली सम्झिरहेछु ।
मलेसिया अर्थात पछिल्लो समयमा पाखुरा बजाएर घरखर्च चलाउन हान्निने ‘बहादुर’हरुको पहिलो रोजाईको मुलुक । बैदेशिक रोजगार विभागले महिनैपिच्छे निकाल्ने आँकडामा बडो गर्वका साथ यहि मलायाले हरेक महिना पहिलो स्थान ओगटिरहेछ ।
यहाँ नेपाली कामदार आउन थालेको इतिहास खोतलखातल पार्ने हो भनें लामै भेटिएला । तर कुरो इतिहास खोेतल्ने होइन । कोहि व्यापार गर्न आए होला, कोहि पढ्न भन्दै त कोहि पाखुरा बजार्न । समग्रमा नेपाली दाम कमाउन आए यहाँ ।
मलायाका कुरा गाउँघरमा त अझै हुन्छ भनें यहाँ किन कम हुन्छ र ? नेपाली मलेसिया कसरी छिर्न थाले भन्ने कुरा इतिहासका पुस्तकमा भन्दा धेरै मलेसियाका रक्सिभट्टीहरुमा सुन्न पाइन्छ । निश्कर्षमा बुझ्दा मलेसियामा पछिल्ला १५ बर्षयता नेपाली सलहसरी पसेका हुन्, अहिले त्यो सलहको बथान अझ बढ्दो छ ।
जव नेपाली थपिए मलेसियामा अनी टाठाबाठा नेपालीले पनि आफ्नो बठ्याई त देखाउनै पर्यो । जान्नेदेख्नेहरु भन्छन् दुईपैसा कमाउँला भन्दै आएका लुरेलारेलाई देखेपछि तिनको उद्धार गरीटोपल्ने ठुटे नेपाली समाजसेवी पनि बग्रेल्ती पलाए यहि मलायामा । गाउँको घर खेत साहुकोमा जाकटी राखेर आएकाहरुको संख्या बढ्दैै गएपछि तिनैलाई लक्षित गर्दै योजना बन्न थाले यताका होटल र रेष्टुराँहरुमा ।
समाजसेवीको कामै हो ‘सेवा गर्ने’ । अर्थात उ जहाँ पुगेपनि गरिव दुःखीको ‘सेवा गर्न’ र त्यसवापत प्राप्त हुने ‘स्वादिलो मेवा’ हजम गर्न पछि पर्दैन । हो त्यसै गरे मलेसियामा पनि ‘समाजसेवी’हरुले । उनीहरुले गतिलै समाजसेवा गर्ने काइदा र जुक्ति निकाले ।
प्रवासको समाजसेवी भनेपछि भनिरहनु पर्दैन कि त उ टाबे(प्रवासमा कार्यरत आम नेपालीका बीचमा नेपालबाट मान्छे ल्याएर अरु कम्पनीमा काम गर्न पठाउनेहरुलाई टाबे कम्पनी भन्ने गरिन्छ) कम्पनी चलाउँछ । या त कुनै पार्टीको चर्को राजनीति गर्छ उ । औंलामा गन्न सकिने विशुद्ध समाजसेवाको भावनाले काम गर्नेहरु भनें सहयोग गर्छन् तर उति धेरै सार्वजनिक रुपमा होहल्लामा सहभागि हुन्नन् ।
कुरो मलेसियामा नेपाली भरिन थालेपछिका ‘टाठाबाठा’हरुकै । नेपालबाट धेरै चरणमा रकम खुवाउँदै र आफुलाई लुटाउँदै मलेसिया उत्रेको त्यो निम्छरो नेपाली श्रमिकलाई सेवा गर्न तम्तयार टाठाबाठाले उसलाई यहाँ पनि मनग्यै मुडुल्याए । दुर्भाग्य यो क्रम हिजो थियो, आज छ र भोली पनि चलिरहने स्थीति छ ।
कसरी र कहाँ बन्छन् योजनाहरु ?
मलेशियामा आफूलाई नेपाली समाजका अगुवा, समाजसेवी वा यस्तै उस्तै पगरी गुथाएकाहरु कोताराया (मलेशियाको राजधानी क्वालालम्पुरमा रहेको एउटा ठाउँ जहाँ प्रायः नेपाली, बंगाली र म्यानमारी भेला हुने गर्दछन्)को एउटा नेपाली होटलमा बस्छन र योजना बनाउँछन् ।
उनीहरुको एकमात्र उद्धेश्य हुन्छ मलेसियामा रहेका नेपालीलाई कसरी ठग्ने ? यसका लागि सवैभन्दा सजिलो भनेको संगठन बनाउने हो । हुन त संगठित हुँदा नेपालीलाई मद्धत नै पुग्नु पर्ने हो । तर कुरोको चुरो भनें त्यस्तो हुन्न ।
नेपालीलाई संगठित पनि गर्ने, उनीहरुका समस्या, पीडाका कुरा पनि सुन्ने तर त्यसैलाई सिंढि बनाएर कमाउ धन्दा चलाउने काम गर्छन् उनीहरु । त्यसका लागि संगठित गर्ने निर्णय हुन्छ र लाग्छन् विभिन्न होष्टलहरुमा ।
तपाईलाई थाहा छ ? मलेसियामा यसरी संगठन बनाउन नै पाइन्न । तर भनिन्छ नी ‘दुःख बाँडे आधा हुन्छ सुख बाँडे दोव्वर ।’ हो त्यसै भन्दै नेपाली पनि संगठित हुन्छन् तिनै अगुवाले बोकेर आएका प्रस्तावमा ।
तर संगठित गर्न आउनेको उद्धेश्य अर्कै हुन्छ । उनीहरुका लागि संगठन पेशा हो, आधुनिक व्यापार हो । हरेक श्रमिकबाट दुईचार रिंगेट जम्मा पारेर धनी हुने काइदालाई व्यवहारमा उतारिन्छ मलायामा ।
यसो भनिरहँदा एउटा भारतीय कथा सम्झनामा आयो । एउटा भारतीय पत्रिकामा विज्ञापन छापिएछ ‘करोडपति बन्ने उपाय’ शिर्षकमा । त्यहाँ करोड कमाउन चाहने व्यक्तिलाई त्यो उपाय सिक्न शुल्क स्वरुप खाममा एक रुपैंयाँ हालेर एउटा ठेगानामा पठाउन भनिएको रहेछ ।
केहि दिनपछि फेरी उहि पत्रिकामा अर्को विज्ञापन छापिएछ धन्यवाद सहित । त्यहाँ भनिएको रहेछः यहि जुक्तिबाट म करोडपति भएँ, किनकी मैले १ करोडभन्दा बढी चिठ्ठीहरु पाएँ जसमा १ रुपैंयाँ हालिएको थियो । यस्तै कुनै नयाँ उपाय अपनाउनु होला र तपाई पनि करोडपति हुनुहोला । १ रुपैंया पठाउनेलाई धन्यवाद ।
ठ्याक्कै यहि कथा दोहोर्याइरहेछन् मलेसियामा रहेका कतिपय नेपाली अगुवाहरुले । अर्थात संगठनको नाममा लुट चलिरहेछ ।
सुरुवाती प्रसंग
अव एउटा प्रश्न । मेरो उद्धेश्य कसैलाई नाङ्गेझार पार्नु किमार्थ होइन । तर धेरैले मलेसियामा सोधिरहेर पनि हालसम्म जवाफ नपाएको प्रश्न सोधिदिनु मात्र हो । आशा छ यो लेख पढे भनें सम्वन्धित व्यक्तिले उचित ठाउँबाट यसको जवाफ दिने छन् ।
कुरा सन् २००२ तिरैको हो । नेपालीहरु मनग्गे आउन थालेपछि नेपालीलाई संगठित गर्ने काम सुरु भयो । यसको सुरुवात गरेको श्रेय मलेसियामा रहेका धेरैजसो नेपाली रमेश पण्डित तुफानलाई दिन्छन् ।
उनले सन् २००२ मा मलेशियामा नेपालीलाई संगठित गर्न थालेको जानकारहरु बताउँछन् । संगठनको नाम दिइयो नेपाल श्रमिक संगठन । यहि नामले मलेशियाका बिभिन्न ठाउँमा नेपालीहरुलाई संगठित गर्ने काम भयो । त्यसका लागि उनले रातदिन भनेनन् । नेपालीहरु बस्ने होष्टल होष्टलमा पुगेर उनीहरुलाई संगठित गर्ने काम गरियो ।
धेरैथरी योेजनाहरु बने । श्रमिक सुरक्षा देखि श्रमिकको हक अधिकारका लागि आवाज उठाउने अनी बिदेशको कमाइ स्वदेशमै लगानी गर्नेसम्मका कुरा सुनेपछि सवैको सपना रंगिन नै बन्यो । त्यस क्रममा सन् २००५ सम्ममा कति रिङ्गेट उठ्यो त्यसको भेउ भनें धेरैले पाएनन् ।
भुक्तभोगिहरु भन्छन् हरेक महिना आरएम १०, हरेक दिन आरएम १ र हरेक महिना आरएम १ फरक-फरक समयमा फरक-फरक योजनाका लागि उठाइयो । यो अभियानमा तुफान एक्लै थिएनन् । ईश्वरी ढकाल र केहि समयपछि प्रेम पाण्डेको नाम पनि यहि अभियानमा जोडिन्छ । तर यो अभियानमा उठाएको रकम कहाँ प्रयोग भयो त ? यसको जवाफ कसले दिन्छ त ? कतै त्यहि भारतीय पत्रिकामा छापिएको विज्ञापन जस्तै त भएन श्रमिकको कल्याणका लागि भन्दै उठाइएको रकम ?
यो त केवल एउटा सुरुवाती उदाहरण भएका कारण प्रसंगस्वरुप अघि सारिएको हो । मलेसियामा यसरी नै विभिन्न संगठनका नाममा लाखौं रकम उठाउने काम हिजो भयो र आज पनि चलिरहेको छ ।
मलेसियामा रकम उठाउने संगठनहरुको लिष्ट लामो छ । सवैका सपना उस्तै रंगिन छन् । तर यो मलेशिया हो । यहाँ यस्ता संघसंगठनको अनुगमन कतैबाट हुन्न । किनकी यी बैधानिक संगठन नै होइनन् । त्यसैले यसमा न दुतावासले केहि गर्छ न त स्थानीय प्रशासनले नै ।
यसरी रकम उठाउने सवै फटाहा नहोलान् तर त्यो रकम गुमनाम योजनामा स्वाहा नहोला भन्ने ग्यारेन्टी के छ र ? भइरहेको पनि छ । संगठनका नाममा रकम उठाउने र त्यसका अगुवाले मात्र यसको हिसावकिताव थाहा पाउने अचम्मको गोरखधन्दा छ मलेसियामा जुन बर्षाैंदेखि चलिरहेकै छ ।
मलेसियामा लाखौं नेपाली छन् । त्यसमध्ये धेरैजसो सोझासिधा र थोरै बाँगाटेढा, टाठाबाठा छन् । तिनै बाँगाटेढाले सोझासिधाको गोजीमा हात हाले र अझै पनि हालिरहेछन् । त्यो हात पक्रिने कसले ? दुतावासले वा स्वयं श्रमिकले ? म मलायाको सडकमा उभिएर यसैको जवाफ खोजिरहेछु । के तपाईसँग छ यसको जवाफ ?
तपाईको भनाई लेख्नुहोस्
यो पनि पढ्नुहोस्
अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!