दाजु सहिद – भाउजु परदेशी

चर्चित ,

पहिलो वर्ष— यता खाडीमा दाजै पसिना बेच्छ खरिद गर्छ केहि थान जिन्सी सपना र खजुरको बोट हेरेर भोक मेट्छ ।

उता खोटाङमा भाउजु चुल्होमा उमाल्छिन् बेरंग पानीसँगै दाजैको सम्झना सत्तो सराप गर्छिन् शुन्य रातलाई नानीहरु आँखाभरि सजाउँछन् दशैंका लागि नयाँ लुगा र देख्न थाल्छन् मावली जाने सघन बाटो ।

एकवर्ष पछि— पसिना सुकेको छ दाजैको शरीरमा हवास्स गन्हाउँछ इरानी मार्केटको पचास रियाल पर्ने अत्तर कपाल जेलले ठाडो पारेको छ आँखामा नक्कली रेवन चस्मा साकेला खर्च पुग्ने रकम हालेर किनेको हातमा जुठो स्याउ छ ।

उता खोटाङमा— भाउजुको नाकमा बुलाकी झुण्डिएको छ गलामा पुतली पहेंलै तोरीबारी भएको आङ नानीहरुका नाकमा अझै सिंगानको डोब छ अभाव र गरिवीले डेरा सारेको छ ।

दाजै अहिले— खाडीमा नेता भएको छ भाषण गर्छ हरेक शुक्रबार सरकारको सात पुस्तालाई पुग्ने असभ्य गाली गर्छ कहिले गणतन्त्र र संघियताको कहिले अखण्ड नेपालको कुरा गर्छ त्यति मात्र कहाँ हो र ? अहिले त राज्यसँग सोझै देश माग्छ ।

फेरिएको छ भाउजुको पुरै हुलिया सिधा पारेकीछिन् घुङग्रीएको केश पँधेरो—घरको चुल्होछेउ आहाल खेल्छ फरीया चोली माईत हिंडेको छ हरेक रात ओछ्यानमा एउटा तारा खस्छ बिहानको शीतसँगै सिन्दुरको रातो रंगले दाजैको अस्तीत्व खोज्छ ।

दुई वर्षपछि— दाजै कोट र टाईमा राजधानी झर्छ सहर उजाड भएछ दाजै अवाक हुन्छ साँझपख बागबजारको भट्टि छिरेपछि दाजैले बिर्सन्छ अरबको गर्मी र खजुरको बोट घरकी स्वानी र नानीहरु ।

दाजै— सुसेल्दै पुग्छ घरको आँगन एलएम सिग्रेट झिकेर सल्काउँछ घर उदास भएछ मतान रुँदैछ बलेसीमा झोक्राइरहेछिन् नानी र सोध्छ सानी छोरीलाई “आमा कता गईन् ?”

भाउजु— आज बिहानमात्र चिम्सा आँखामा बैश उमारिन् छोरीको नजिक बसेर भनिन् “छोरी पापालाई भनि दिनु आमा युवराज तिम्सिनासँग परदेश गयो ।”

भाउजुले घर छोडेको थाहा पाएर दाजै सिङगो देश जित्न जंगल पस्छ केही दिनपछि रेडियोले समाचार फुक्छ साप्सु खोलाको किनारमा आतंककारी तीर्थ बहादुर राई मारियो ।

Charcheet inside the storyमाथिका यि हरफहरु अरबमा कर्म गर्ने र नेपालमा जहान पाल्ने रेगिस्तानी कवि तीर्थ संगम राईको कविताका हुन् ।

पहिले-पहिले उनको यो कविताको बिषय जनजीवनमा पुरै मिल्थ्यो वा धेरै मिल्थ्यो । तर अचेल अर्ध मिल्ने गरेको छ ।

अहिले स्वास्नी युवराज तिम्सिनाले लगे पनि दाजु जंगल पस्दैन । किन पस्दैन भने, अहिले त्यतिवेलाको जस्तो धनयुद्ध (यसलाई तपाईं जनयुद्ध भन्नुहुन्छ, म धनयुद्ध नै भन्छु । किन भन्छु भने, त्यतिवेला लडाकु जनतावाहेक सवैको उदेश्य बाहिर सत्ता परिवर्तन गर्ने भन्ने र भित्र धन सञ्चय गर्ने देखियो । त्यसै त माओवादी धनाढ्य पार्टी भएको हैन नि ब्यारे ?) । छोड्नुस् यि पार्टीका कुरा ।

परदेशमा घरदेश चलाउन रगत र पसिना बेच्ने जवानहरुका स्वास्नीले श्रीमानलाई सहिद बनाएर परदेशिएका घटना वर्णन गरी नसक्नुका छन् । (श्रीमतिलाई मास्ने श्रीमान् पनि नभएका हैनन्, तिनका बारेमा पछि लेखम्ला) । आजको आलेख तिनै जिउँदा दाजुहरुप्रति समर्पित छ ।

तिनै जिउँदा दाजुहरुको अनुमतिबाट जन्मिएको पनि हो यो अश्रुयुक्त आलेख । उनीहरुले आफुले भोगेको दर्दभरे कहानीबाट अरुको जिन्दगी दरार हुनबाट बचोस् भनेर नै मसँग आफ्ना अलिखित कथा सुनाएका हुन् । म तिनलाई हृदयी सलाम गर्न चाहन्छु । (आज चैं अलिकति पनि नढाँटी भन्छु, मित्रहरु, यो आलेखका लागि श्रोत जुटाउँदै गर्दा जिउँदो सहीद दाजुहरुका कथा पढ्दा र सुन्दा कस्सम, म रोएँ । कुन अज्ञानीले भनेछ, ‘लोग्ने मान्छे भएर रुनु हुन्न’ भनेर)

सहरको रहर मेरा एकजना साथी र भाइ छन् भर्खरै खाडी खाएर आएका । उनको नाम पूर्ण कान्छा गुरुङ हो (उनकै स्वीकृतिमा मैले नाम किटेर लेखेको हुँ) । आजभन्दा १३ बर्षअघि उनले एउटी चिरिच्याट्ट परेकी युवतीसँग गाउँमै मागी विहे गरे । विहे गरेका दिनहरु जसै लम्बिन थाले, उनीहरुबीचको विहेको बलियो धागो कच्चा हुँदै गयो । त्यो मक्किंदै गयो र कमजोर भयो ।

विहेको रमाइलो नसकिंदै सम्बन्धमा परेको पिरलोले पहाडको रुप लियो । पहाडलाई विसाउन उनले गाउँमै अंश दिएर राखे ।

बर्षौं भयो उनले यसरी राखेको । कान्छाले खाडीमा खटेको ८ बर्ष हुँदै थियो । तर पछिल्लो १ बर्षदेखि उनकी श्रीमति राजधानीमै बस्छिन् । उनीहरुकी ११ बर्षकी छोरी छिन् ।

Purna Kanchha Gurung

साथी अरबबाट आए, सम्झाए । तर उनकी ‘उनी’ले गाउँ जान मानिनन् । ‘गाउँ फर्किने र नफर्किने चानस बराबर छ, मसँग एक महिनाभित्र आउने कुरो गर्थी, सुन्दैछु आउने छाँट छैन रे,’ अस्तिका दिन मात्रै कान्छा फोनमा भन्दैथिए ।

केहीअघि बिर्तामोडदेखि काठमाडौंसम्म हामी एउटै बसमा थियौं । कान्छा केही सीप नलागे सम्वन्ध विच्छेद गर्ने सोचमा थिए । यसपटक पनि कान्छा श्रीमति मनाउन राजधानी आएका थिए । तर राजधानी रुपी नागले न कान्छालाई डस्न बाँकी राख्यो, न त उनकी ‘उनी’लाई ।

अहिले उनीहरुको सम्बन्ध भिरको चिण्डो भएको छ । न तल झर्छ, न सर्छ माथि । बिजोग छ साथी ।

म यसै आलेख मार्फत् उनीहरुको सम्बन्ध पुनः जोडिने आशा राख्दछु । सम्बन्ध गाँस्दैमा कोही आफ्नो वा पराया हुँदैन । निभाउनु पर्छ । दुवैले सकिन्छ सम्बन्ध फेरि जोड्न, सकिंदैन सधैंलाई तोड्नु तर अल्झाइ नरहनु ।

कतार एक्सप्रेस यो यस्तो रेल हो जसमा सवार भएपछि मेरा एक प्रिय मित्रकी मित्रिनीले ‘डिब्बा’ बदलिन् ।

सन् २००८ मा मेरा यि मित्र कतारको जिफोरएस कम्पनिमा कर्म गर्न गएका थिए । उनी सुल्तानको देशमा सुरक्षा गर्थे । तर उनको वैवाहिक जीवन यही ठाउँमा सुरक्षित रहन सकेन । कथानक लामो छ । म लामै लेख्नेछु ।

कतार छिर्नुअघि उनी रेडियोप्रेमी थिए । यही रेडियोले गर्दा उनीहरु नजिकिए । सम्बन्धको लहरो यसरी झांगियो कि उनीहरु एकअर्काविना बाँच्न नसक्ने भए । खप्न नसकेपछि आमा विरामी भएको कागज बनाएर उनी नेपाल हान्निए । नेपाल आउना साथ दुवैले भागेर ब्या गरे । त्यतिवेला केटीका दाजु र दिदीले कम्ता धम्की दिएनन् । त्यो पनि दुवैले सहे, झेले र सम्बन्धलाई जोगाए ।

१५ दिनको विदामा आएका उनी आफ्नो प्रेम बचाउन लड्दालड्दै विदा बढाएर ठीक उल्टो ५१ दिन बसेछन् । कतार फिर्ने बेलामा उनले आमा र श्रीमतिलाई एयरपोर्टसम्म लिएर आए । उनकी ‘उनी’ले नजानु भनेर तमासा गरिछन् । सर्टका टाँक चुँडाइछिन् । तिनैजना रोएछन् । तर आकाश ओड्न र धर्ती ओछ्याउन नमिल्ने । उनी लागे कतार । जहाजभरी रोए । लाग्थ्यो, हरेक यात्री रोइरहेछन् ।

पथरीमा बिएडमा भर्ना गरिदिए । ब्युटिपार्लर सिकाए । उता बस्न गाह्रो भो होला भनेर राजधानी ल्याए । हरेक दिन फोनमा कुरा गर्थे । यतिले मन भरिएन । उनी नेपाल आउने चाँजो मिलाउनतिर लागे । विदा मिल्यो आए । यही दौरान ससुरालीले बोलाए । टिकाटालो गर्दिए ।

तर बर्बादीको बिउ रोपिनु रहेछ । उनी कार्यरत कम्पनिमा महिला सेकुरिटी गार्डका लागि सुचना निस्कियो ।

साथीले उनका म्यानेजरलाई बिन्ति चढाएर उनकी उनीलाई उतै लाने मेसो मिलाए । मन थिएन उनलाई खाडीमा श्रीमति लाने तर श्रीमतिको एकोहोरो रोइकराइले जित्यो । आमाबुवाले पनि नलानु नै नै भनेका थिए । मन मानेन, लिएर गए ।

क्याम्प फरक थियो तर पनि पर्याप्त ट्याम दिन्थे । विदाका दिनमा घुम्थे । अरु वेला पनि ड्युटी भ्याएर भेट्न जान्थे । यसरी ८/९ महिना विते । जाँदा लागेको खर्च पनि उक्सियो ।

उनकी श्रीमतिलाई एक्कासी एपेन्डिसाइड भयो । अप्रेशन गर्नुपर्ने भयो । अप्रेशन सफल भयो । ड्युटी हापेर चार दिन अस्पताल बसे । डिस्चार्ज भएपछि बस्ने ठाउँमा लिएर गए । कर्म सकिएपछि सिधै उनका कोठामा जान्थे र हातमा समाएर पार्कमा हिंडाउथे । यसो गर्दा उनकी उनी जाती भइन् ।

उनको एउटा साथीले ड्युटी गर्दैगर्दा एउटा चिसो कुरो सुनायो । गोर्खाको खिलबहादुर नेपाली उनकी श्रीमति काम गर्ने कम्पनीमा सँगै काम गथ्र्यो । उसँग उनकी उनी निक्कै व्यस्त हुन्छिन् है भनेर छुस्स सुनायो । यो सुनेर उनी सुरिलो रुखको हाङ्गाबाट गल्र्याम् गुर्लुम्म खसे झैं भए । जीउ चिसो भयो ।

तर सत्य तथ्य नबुझी अरुले गरेका कुरामा विश्वास गरेर श्रीमतिलाई फत्तुर लाउनु उचित ठानेनन् उनले । श्रीमतिलाई नै सोधे ।

तर श्रीमतिले अस्विकार गरिन् । जसले सुनाएको थियो, उसैलाई लाउड स्पीकर खोलेर श्रीमतिकै अघि सोध्दा पनि उनकी श्रीमतिले आरोपको खण्डन गरिन् । चोरले चोरें भन्दैन रे । भयो पनि त्यस्तै ।

बुझ्दै जाँदा नेपाली भाइ विरामी हुँदा हेर्न आएको थिएछ । तर उनकी ‘उनी’ले नाम थाहा भएको तर अर्थोक केही थाहा नभएको जिकिर गरिछन् । कम्पनिका तर्फबाट स्वास्थ्य स्थिति जान्न मात्र आएको भनिछन् ।

हावा नै नचली पात हल्लिंदैन भनेर उनले उनकै नाममा लिएर श्रीमतिलाई चलाउन दिएको मोवाइलको कल डिटेल क्युटेल गएर निकाले । दिनमा १२/१३ पटक बढीमा एक घण्टासम्म एउटा मोवाइल र अर्को ल्याण्डलाईमा कुरा गरेको देखियो । उनले बुझ्दा आफ्नै कम्पनिमा काम गर्ने तिनै नेपालीसँग दोहोरी चलेको थाहा भो । म्यानेजरले अफिस बोलाएर दुवैलाई थर्कायो । कसैको परिवार नबिगार्ने भनेर नेपाली भाइ र आफ्नो रिलेसन कायम राख्ने भनेर उनकी जोइले कम्पनिलाई स्टेटमेन्टसमेत बुझाए ।

त्यत्ति भएपछि दुवैको साहस बढ्यो कि के भयो ? उनीहरुले त्यो क्रमलाई रोकेनन् । सम्झाउँदा उल्टो जवाफ दिइन् । त्यो नेपाली केटो ‘उनी’विना मर्छ अरे भन्न पो थालिन । मेरा मित्रले उनकी ‘उनी’लाई उल्टो हातले एक दनक लाइदिए । यो घटनापछि ‘उनी’ फेरि लाइनमा आउने भनेर माफी माग्न लागिन् ।

कम्पनिमा माफी मागे पनि र उनलाई उनले सरी भन्ने गरे पनि भित्रभित्रै कुरो पाकिरहेकै रहेछ । उनी वाक्क हुँदै थिए । कम्पनिमा ‘गुलगुल’लाई टर्मिनेट गर्न भनेछन् । घरमा फोन गरेर भनेछन् । उनी कतारमा एक्लो महशुस गर्न थालेछन् । उनले आफैंलाई सिध्याउने सोचेछन् ।

received_1003356859674414-1बिउँझदा हमद हस्पिटलमा । छेउमा गुलगुललाई देखेछन् । रिस मरेकै थिएनछ, पिटेछन् । पुलिस केश भएछ तर पिटेकोमा मात्र हैन । पुलिसले लिएर गएछ । कहिले सनैया, कहिले रियानको थुनुवाघरमा राखेछ । कहिले भोकै । कहिले चिसो भुईंमा राखेछ । कर्निश ल्याएछ हाइकोर्टमा । हथकडी र नेल लाएछ । उनले आफ्ना सपना तिनै हथकडी र नेलमा कैद भएको ठानेछन् । डिर्पोटेशन सेन्टर लगेछ । त्यहाँ मान्छे कोचाकोच थिएछन् । धेरै त नेपाली थिएछन् । सुत्न मिल्दैनथ्यो । एउटा कोठामा सयभन्दा बढिलाई राखेको हुन्थ्यो रे ।

डिपोर्टेशन सेन्टरबाट उनले गुलगुललाई फोनेछन् । गुलगुलले आत्मलोचना गरिछन् । उनीसँग हजारपल्ट माफी मागीछिन् तर त्यो गोहीको आँशु रहेछ । गुलगुललाई टर्मिनेट गरेछ । ‘दिलफेक आसिक’ नेपालीलाई पनि उनी नेपाल आउने दिनमा नै टर्मिनेट गरेछ ।Nawaraj

नेपाल आएर गुलगुललाई भेट्न चाहेछन् । आफ्ना डकुमेन्ट उसैसँग थिएछन् । उसका दाजुले मित्रलाई लिएर गएछन् कपन । गुलगुल पनि त्यहीं रहिछन् । दाजु र उनका आफन्तकाअघि उल्टै गुगगुलले तिनै मित्रलाई दोषी बनाइछिन् । यो सुनेपछि गुलगुलका गुलावी कर्तुत उसका दाइलाई बेलिबिस्तार लाएछन् मित्रले । दाजु खनिएछन् बहिनीतिर । मित्र डकुमेन्ट बोकेर लागेछन् आफ्नो बाटो ।

उनले भएका घटना सवै बताएछन् आफन्तलाई । घरमा अर्को विवाहको कुरो चलेछ । पार्दिएछन् मित्रले झ्याईं ।

उनीहरुको अहिले पनि डिभोर्स भएको छैन । तर मित्र पूरा प्रमाण बोकेर बसेका छन्– कठघरामा उभिन ।

उनी एक सफल गजलकार र कवि नवराज नवोदित हुन् । जो अहिले युएइमा कार्यरत छन् ।

गुलगुल चैं नि ? उनी बादल भइन् रे । जता हावाले लान्छ, उतै जान्छिन् रे उडेर ।

received_1003355096341257-1 (1)

प्रतिवादी माया मैले नजिकबाट जानेका एक मित्रलाई पापी मायाले डुवाउनु डुवाएको छ । त्यो पनि सर्वस्वसहित । यिनको नाम र ठाम उल्लेख गर्ने अनुमति छैन मित्रहरु ।

उनी अझै कतारमा छन् र रहन्छन् कामको हतारमै । उनकी एक छोरी छिन् ।

उनले उनकी स्वास्नीको सपना पूरा गरिदिनका लागि संगीत सिकाए । प्रकाश गुरुङ सरसँग । साधना कला केन्द्रमा । कतार आएको दुई सालपछि । संगीत स्कुल राखेको एक बर्षसम्म ठिकै थियो । एक सालपछि त्यहीं संगीत सिक्न आउने भुटानी शरणार्थी अम्बर सुब्बा (युवराज तिम्सिना प्रबृत्ति) नामको केटासँग हिमचिम भएछ ।

संगीत सिक्दै गर्दा एउटा गीत रेकर्ड गराउने रहर गरिछिन् चुलबुलले । उनले परदेशमा लेखेको गीत दिएछन् । जसको बोल थियो, ‘चिठ्ठी तिम्रो आउला भनी’ । त्यो गीतमा मित्रको नाम हटाएर आफ्नै नाम राखिछन् । तर पनि उनले बिरोध गरेनछन् । त्यो गीतमा पति परदेशमा हुँदा पतिलाई पत्निले पत्र नकोरेको अवस्थाको कहानी छ ।

उनी दोस्रो छुट्टी आउँदा काठमाडौंमा ४ आना जग्गा किनेका थिए । त्यो उनकै नाममा थियो । स्कुटर किन्दिएछन् ।

तर जव उनी अर्को विदामा आए, चक्कर खाए ।

हङकङ जाने भनेर उनले मित्रलाई फकाइछिन् । चुलबुलका कुरामा बिश्वास गरेर अदालतमा छोडपत्रको कागज गरिदिए । त्यो कागज गरेको महिना दिनपछि त्यो जग्गा नि गुलगुलकै नाममा पास गरिदिए । त्यसपछि मात्र उनलाई थाहा भो गुलगुलले भुटानी शरणार्थीसँग झापा शिविर पुगेर बिहे गरेको कुरो । फोटो भेटेछन् र पनि छोरीको भविश्य नबिग्रियोस भनेर त्यो कुरालाई बाहिर नल्याइ चुलबुललाई सम्झाएछन् । किनकी शरणार्थी देश खोज्दै अमेरिका गइसकेको थिएछ । त्यसपछि उनीहरुको सम्बन्ध बिग्रिएको रहेछ ।

उनी फेरि खाडी हानिए । खाडी आएको ८ महिनासम्म तिनको सम्बध राम्रै थिएछ । पैसा पनि पठाइरहेका थिएछन् । त्यसपछि त चुलबुलले अनेक बहाना गर्न थालिछन् । बाहिरै रात बिताउन थालिछन् । उनलाई आफ्नो जग्गा कतैबाट पनि फिर्ता नहुने गरी फसेको बल्ल थाहा भएछ । त्यसपछि उनले पैसा पठाउन छाडेछन् ।

केही महिनापछि स्कुटर बेचेर चुलबुल भोजपुर हो या खोटाङ कताको केटासँग छोरी छोडेर टाप कसेको थाहा पाएछन् । त्यो जग्गा नि अन्त बेचेको चाल पाएछन् । सगोलको जग्गा भनेर मुद्धा त हाले मित्रकै बा, आमाले । केश काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ ।

उनले पंक्तिकारसँग भने, ‘यो सब उ प्रतिको माया र विश्वासको फल हो । विश्वास गर्दा बिना गल्ती प्रतिवादी बन्नु परेको छ । कसैले यति धेरै माया पनि नगर्नु कि आफ्नै बा, आमा र भाइसँग प्रतिवादी भइयोस् ।’

खाडीको ९ बर्ष खोस्रिएको कमाइ तिनकी स्वास्नीले अर्को केटो टिपेर खाइदिइन् । कहाँ गइन् ? अत्तोपत्तो छैन । यिनले उजुरी हालेनन् । खोज्न पनि गएनन् । अर्को ब्या पनि आजका मितिसम्म गरेका छैनन् ।

‘युवराज तिम्सिना’ प्रबृत्ति(यस्तै नाम थर मिलेका साथिहरुसँग क्षमा) हरेक गाउँबाट राज्यले युवा खाडीलगायतका देशमा खेदिरहेको छ । गाउँमा युवा छैनन् । भएका पनि दाउ हेरेर बसेका हुन सक्दछन्, ‘युवराज तिम्सिनाहरु’ । यस्ता ‘युवराज तिम्सिनाहरु’ ब्यक्ती हैनन्, प्रबृत्ति हुन् । यो प्रबृत्तिको उन्मुलन अरु कसैले गर्न सक्दैन । कसैले गर्न सक्छ भने ‘युवराज तिम्सिना’ स्वयम्ले मात्र गर्न सक्दछ ।

‘गुगगुल’ र ‘चुलबुल’हरुले बरु धितमरुञ्जेल नाच्नु, रुलमा रहनु तर गुल नखेलाउनु । गुल खेलाउँदा अचम्मैसँग उन्यु फूल्छ । उन्युको बास्ना आम्दैन, गन्ध आउँछ ।

‘युवराज तिम्सिना’हरुले पनि आफ्नो घर बनाम्नु तर अर्काको घर नभत्काउनु । धेरै खर्चिलो छ–घर बनाम्न ।

अव कोही दाजुले ज्यूँदो वा मृत सहिद हुनु नपरोस् । कोही भाउजु ‘युवराज तिम्सिना’सँग परदेश नलागुन् । सवैको मंगल होस् ।

charcheetdhungel@gmail.com यो पनि पढ्नुहोस् कतारमा दर्शक राजनीति ! किन, कसले र कसरी ल्याइदिन्छन् दर्शक ? एनआरएन उपाध्यक्ष टिबि कार्की महात्म्य क्या बात आलमजी !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय