विदेशमा ठग्ने को ? आफन्त र  समाजसेवी !

विनोद रोक्का- अमेरिकामा अध्यागमन सुविधा खोज्ने क्रममा नेपालीहरु समाजसेवी, नेता र आफन्तबाटै ठगिने गरेको गुनासाहरु सुन्न पाईन्छ । आफन्तहरुको फेहरिस्तमा सगोत्रीदेखि लिएर जो कोही अरु पनि पर्न सक्छन् । तर नेता र समाजसेवीमा भने को पर्दछन को पर्दैनन छुटयाऊन सकिदैन । आयोजक र पत्रपत्रिकाले सहयोग गर्ने अनि आफनो समर्थन गर्ने व्यक्तिलाई समाजसेवी र नेताको विशेषण जोडिदिने गर्दछन जस्तोसुकै चरित्रको व्यक्ति भए पनि ।

अमेरिकामा दिनको १२ घण्टा भन्दा बढी काम गरी जिविकोपार्जन गरेर बस्ने व्यक्तिहरु कस्तो किसिमका समाजसेवीमा पर्दछन् परिभाषा गर्न सकिदैन । यस्ता व्यक्तिहरु नखोजेको बेला पनि सहयोगका लागि चोक, रेष्टुरा, ट्रेन, समारोह आदि जताततै भेटिने हुँदा सोझा नेपालीहरु पहिलो जम्काभेटमै अमेरीकामा यिनीहरुको फेला पर्दछन् । अब त हुँदाहुँदा न्युर्योकको ज्याक्सनहाईट अनि रिजउडतिर मान्छेलाई हिडदा स्याँग्जा वा राजबिराजमा जाने मान्छेलाई भने झै बुढीऔला लुकाएर हिडनु है त्यहाँ जाँदा भन्नुपर्ने भयो भनि मानिसहरु गुनासो गर्दछन् ।

अमेरिकाको अरु राज्यमा पनि यस्ता गुनासाहरु पोखिने गरेको सुनिन्छ । अर्कोतर्फ अमेरीकाको व्यस्तताको समयमा पनि बचेको समयमा निस्वार्थभावले समाजलाई सहयोग गर्ने व्यक्तिहरु भने समाजसेवी, नेता वा अगुवाको संज्ञा दिदा असजिलो अनुभव गर्दछन । काली प्रसाद रिजालले कवितामा भने झै ‘मैले के नराम्रो काम गरेर मलाई नेता भनेको’ ।

ठगीने क्रममा यस्ता महानुभावबाट ठगिनेहरु प्रायः विश्वासले गर्दा ठगिने गरेको भन्छन् । यस्ता समाजसेवी, नेता र आफनैले कहिले काही अमेरिकी अध्यागमन कानुनले दिदै नदिएको सुविधा पनि दिलाई दिन्छौ भनेर पैसा लिने गर्दछन भने कहिले काही अमेरिकी अध्यागमन कानुनले दिएको सुविधाहरु आफैले लेखापढी गरेर सजिलै मिलाई दिने, नेपालबाट मान्छे झिकाइदिने जस्ता प्रलोभन दिने गर्दछन् ।

अमेरिकामा भरखरै आएका नेपालीहरु पहिले सम्पर्कमा आउने भनेका व्यक्तिहरु भनेका समाजसेवी, नेता, एजेण्ट र आफन्तहरु नै पर्दछन् । विशेष गरेर न्युर्योकको क्वीन्स जस्तो नेपालीको घनाबस्ती भएको शहरमा च्याउझै उम्रिएका कतिपय संस्थासंग प्रत्यक्ष वा परोक्ष रुपबाट संलग्न रहेका नेता अनि पैसाको चलखेल गरेर नाम कमाएका समाजसेवी छन् । यस्ता व्यक्तिहरुलाई विशेष गरेर ज्याक्सन हाइट, सनि साईड र अन्य नेपालीहरु बाक्लो बसोबास रहेको क्वीन्स र ब्रोक्लीनका सार्वजनिक ठाउमा भेटिन्छन भनिन्छ ।

अनि नयाँ आउने नेपालीले पनि नेपालीपन र आत्मीयता खोज्न त्यस्ता ठाउँहरुमा जाँदा अनधिकृत रुपबाट लेखापढीको काम गरिदिने समाजसेवी, विभिन्न पेशा चलाएर बसेका एजेण्टहरुलाई भेटने गर्दछन् । यस्ता व्यक्तिहरुले नवागन्तुकलाई अमेरिकामा बस्ने र काम गर्ने कागज भए नभएको कुरा बुझ्ने र नभएको भन्ने कुरा जानकारी पाएपछि कागज बनाइदिने प्रलोभन दिई पैसा ठग्ने गरेका घटनाहरु सुनिन्छ पीडितहरुबाट। यस्ता समाजसेवी, नेता, आफन्तहरुले वकिलको सहायता लिनुहोस भन्ने सल्लाह प्रायः दिदैनन् । दिएभने पनि आफनो मिलोमतोमा रहेको वकिलकहाँ जाउ भन्दछन आफनो अभिष्टका लागि ।

यद्यपि कतिपय नेपालीहरु वकिलबाटै पनि ठगिएको भन्ने आरोप पनि नसुनिएको होइन । वकिलले ठगेको भएमा वकिललाई कानुन बमोजिम कार्वाही गराउन सकिने धेरै बाटाहरु हुन्छन भने लाइसेन्सविना कानुनी सुविधा दिने समाजसेवी, लेखनदासले पीडितलाई ढाल बनाएर तरवार चलाउने हुँदा अप्ठ्यारोमा पारेर आफू फाइदा मात्रैमा सहभागी हुन्छन । जस्ले गर्दा त्यस्ता व्यक्तिहरु सजायको भागीदार नबन्ने र पीडित व्यक्तिले न्याय पाउन सक्दैनन् ।

यसरी ठगिएका कुराहरु मैले पनि सुन्ने गरेको छु । हुन त ठगिने भनिएका व्यक्तिहरुले सधैंभरि साँच्चै कुरा भन्छन भन्ने ग्यारेण्टी हुन्छ भन्न सकिदैन । त्यसमध्ये सुनेका र जानकारीमा आएका केही घटनाहरु उल्लेख गर्नु सान्र्दभिक ठान्दछु ।

१. एकजना व्यक्तिले फोनमा भन्नु भो– तपाई वकिल मात्र नभएर एउटा कवि हृदयको मानिस पनि भएको हुँदा मेरो कुरा सुनिदिनु हुन्छ कि भनेर फोन गरेको । मैले वकिलकहाँ नगएर ठूलो गल्ती गरे आफनो अध्यागमनको कामका लागि । उहाँले भन्नु भो मलाई फलानो एजेन्सीवाला, ढिस्कानो नेता र चिल्कानो समाजसेवीले बर्बाद पारे हजुर । म यिनीहरुलाई नेपालमा गए खुटृा भाचिदिन्छु । मलाई विर्गानेलाई म पनि छोडदिन । आदि.. ।

अनि मैले उहालाई भने तपाई अमेरीकामा हुनुहुन्छ । तपाईले भनेका मान्छे यही छन् अनि कसरी नेपालमा खुटृा भाच्नु हुन्छ त ? तपाईको कुरा मैले अलि बुझिन नि ? कुरा प्रष्याउदै उहाँले भन्नु भो मेरो अध्यागमनको सुविधा पाउने कार्वाही यिनीहरुले तथानाम लेखिदिई प्रमाण जुटाई दिएको कारणले विग्रीयो । अब म यहाँ नबसेर नेपालै फर्कन्छु र यिनीहरु उता गए भने खुट्टा भाचिदिन्छु । आखिर यिनले मलाई विर्गानु हुन्छ भने मैले यिनका खुटटा भाँच्न किन नहुने ? मैले जवाफमा भने यस्ता कानुन हातमा लिने काम गर्नु हुँदैन । बरु यहाँ नै तपाईले न्याय खोज्नु पर्दछ । सम्वन्धित निकायमा उजुर गर्नु भो भने निजहरु उपर कार्वाही हुन सक्दछ । उनले भने होइन म नेपालै फर्कन्छु । फेरी मैले उहाँलाई भने बरु फलाना फलाना पत्रिकामा फोन गरेर आफनो कुरा भन्नुहोस् । यदि तपाइको कुरा साँचो रहेछ भने उहाँहरुले आफनो पत्रिकामा छाप्नु हुन्छ भन्दै पत्रकार र पत्रिकाका जिम्वेवार व्यक्तिहरुको नाम र टेलिफोन नम्वर भन्न थाले ।

यदि यस्तो कुरा बाहिर आयो भने धेरै मान्छेहरुले त त्यस्ता व्यक्तिहरुको बारेमा थाहा पाउँछन र आइन्दा तपाईले जस्तै अरुले ठगिनु पर्दैन । मेरो जवाफ सुनेर उहाँ आवेशीत हुँदै भन्न थाल्नु भो यी पत्रकारहरु पनि उस्तै हुन, हाम्रा कुरा छापेर यिनलाई के फाइदा हुन्छ र छाप्छन् । आदि…. । अनि मैले अधिकारकर्मी संस्थाको सम्पर्कमा जानुहोस न त भन्दै फोन राखिदिए ।

२. त्यसै गरी अर्का एकजना मेरा पुराना क्लाईण्टले मलाई भेटेर गुनासो गरे । हजुर मेरै गाउँको चिनको मान्छेलाई ज्याक्सन हाईटस्मा एउटा मान्छेले कागज बनाई दिन्छु भनि १५०० डलर खाई दिएछ । अनि मैले सोधे कस्तो कागज बनाई दिन्छु भनेर त्यत्रो पैसा खाई दिएछ त ? ख्वै तिमीलाई अमेरीकामा बस्न, काम गर्न र परिवार ल्याऊनका लागि कागज बनाइदिन्छु भनेछ अनि उस्ले पनि कागज बन्ने भए हुन्छ भनेर पैसा दिएछ भन्नु भो । मैले उहाँलाई सोधे अनि एक पटक वकिलसंग सल्लाह लिनु भन्नु भएन त ? जवाफमा उहाले मलाई भन्नु भो मैले त भरखर भेटे ।

३. अर्को घटनाका एउटा पात्रको वकिल म आफै रहेको थिए । निजले पनि समाजसेवी नेताबाटै आफनो शरणार्थीको निवेदनको सुरुवात गरेका थिए राम्रै रकम दिएर । एजाईलम अफिसबाट निजको निवेदन स्वीकृत नभएपछि अध्यागमन अदालतमा मुद्दा गयो । निजलाई समाजसेवीले नेपालीभन्दा विदेशी वकिल राम्रो हुन्छ त्यहाँ जानुहोस भनेको रहेछ । तर निज संयोगले मकहा आईपुगे । मैले उनका कथा र प्रमाणहरु हेरे । त्यस्तो सत्यता र घटनाको बारेमा विस्तृत रुपबाट सोधखोज गरे । अनि त्यस्लाई मैले आफनो बुझाईको आधारमा पुर्नलेखन गरे र नेपालीमा पढेर सुनाउदा सत्य हो भनेको कुराहरु मात्र राखेर कथा तयार पारे । पेश गरिएका प्रमाणहरुको बारेमा सोधखोज गर्दा प्रमाणहरुको बारेमा आफुलाई जानकारी नभएको तर समाजसेवी, नेताले चाहिन्छ भनेको हुँदा प्रमाणमा पेश गरिएका हुन् भन्ने जवाफ पाएपछि मैले पक्षलाई भने यी प्रमाणहरुको विश्वसनियता मलाई नभएको हुँदा फिर्ता लिन्छु भन्ने व्यहोरा लेखि न्यायाधिशलाई सत्य कुरा भनियो भने राम्रो हुन्छ किनकि तपाईका प्रमाणहरु वनावटी हुन भनि शंका गर्ने प्रयाप्त आधार छन् ।

पक्षले पनि मेरो सल्लाहमा सहमती जनाऊनु भयो र त्यसै गरियो । यदि त्यसो नभनिएको भए तीनै कथित प्रमाणले निजलाई वनावटी प्रमाण राखी निवेदन दिएको ठहराई भविष्यमा कुनै सुविधा नपाऊने गरी देश निष्कासनको आदेश हुने सम्भावना थियो ।

पक्षले आफूलाई भएको घटना विश्वसनीय रुपबाट बयानको क्रममा भन्नु भो । सरकारी वकिलले प्रमाणको बिषयमा बहसको दौरानमा उप्काएको भए तापनि न्यायाधिशले उल्टै सरकारी वकिललाई भन्नुभो यो प्रमाण अरुले दिएको र त्यस्को विश्वसनीयतामा आफुलाई शंका लागेको भनि निवेदकले नै सुरुमै साँचो बोलेर ती प्रमाण फिर्ता लिन्छु भनि अनुसन्धान गर्दा लाग्ने सरकारको समय र खर्च जोगाएको अवस्थामा निवेदकलाई झुठा ठहराउन मिल्दैन । बरु घटनाको बारेमा विश्वसनिय रुपबाट आफनो कुरा भनेको हुँदा म निवेदकको निवेदन स्विकृत गर्दछु भनि मुद्दा जिताइदिनु भो । सरकारले फैसलामा चित्त बुझायो ।

अमेरीकी अद्यागमन कानुनले र समय समयमा राष्ट्र्पतीको कार्यकारी आदेशबाट दिइने सुविधाको सही रुपबाट जानकारी नपाऊदा अनि त्यस्ता सुविधाहरु पाऊने उपायहरु खोज्दा तथाकथित समाजसेवी नेता, एजेण्ट अनि निहित स्वार्थ बोकेका आफन्तहरुबाट आप्रवासीहरु अमेरीकामा ठगिने गर्दछन ।

कतिपयले अमेरीकामा पाईरहेको सुविधा पनि गुमाऊछन । अमेरीका सपना र अवसरको देश हो । यहा आफनो भाग्य खोज्न र सुखी जिवन विताऊन संसारभरीकामा मानीसहरु आऊछन । कोही भिषा लिएर अनि कोही दलाललाई पैसा ख्वाई जंगल र मालसामान राख्ने कन्ण्टेनरमा आफनो जिवनलाई धरापमा राखेर ।

अमेरीकामा आएपछि उनीहरुलाई मानविय सहाराको अन्त्यन्त आवस्यता परेको हुन्छ । सरकारले दिने सुविधाहरु पाऊने बाटा र आधारहरु उनीहरुलाई थाहा हुदैन । अनि उनीहरु आड र भरोसको खोजीमा आफनै समुदायमा पुग्छन ।

यसरी उनीहरु पुग्ने ठाऊमा भेटने गरेका मान्छेहरु प्राय भरोसायोग्य हुदैनन बोली र छापामा देखिएजस्तै । अनि ठगिन्छन । तसर्थ यस्तो अवस्थामा एनआरएन जस्ता संस्थाहरुले अमेरीकामा रहने नेपालीहरुलाई अद्यागमन कानुन र अन्य कानुनले दिएका संघिय र राज्यस्तरका सुविधाहरु के कसरी कानुन बमोजिम पाऊन सकिन्छ भन्ने बारेमा जानकारी दिने । नि:शुल्क रुपबाट सेवा प्रदान गर्ने निकायहरुको बारेमा जानकारी दिने र आफुले पनि त्यस्तो सेवा पुरयाऊने । अनि समुदायमा रहेका कथित समाजसेवी, नेता, एजेण्ट, र आफन्तहरुबाट ठगिनबाट कसरी बच्ने, पिडित भएमा कहा उजुर गर्ने भनि समाजमा जनचेतना जगाऊने कार्य गर्नु आवस्यक छ ।

(लेखक रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुन। यो लेख एनआरएनएको स्मारिका २०१५ मा प्रकाशित भएको छ ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय