केही साता अगाडि नक्कली बिहे गराएर बिदेश पठाउने गिरोह पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । म्यारिज व्युरोका नाममा हुने यस प्रकारको धन्दा राजधानी काठमाण्डौमा मात्र होइन, देशका अन्य शहरमा पनि फस्टाई रहेको पाईन्छ ।
यो एक प्रकारले मानब बेचबिखनकै एक रुप हो भने अर्कोतिर अलिक सभ्यभाषामा भन्दा वैदेशिक रोजगारको माध्यम ।
खासगरेर दक्षिण कोरिया, संयुक्त अधिराज्य र वेल्जीयमजस्ता केही विकसित मुलुकका युवकसंग नेपाली महिलाकोे विहे गराई दिनेकाम यस्ता स्वघोषित परामर्शदाता कार्यालयले गराउछन् ।
नेपाली महिलाहरु तिनै परामर्शदाताको लहै लहैमा कागजी बिहे गरेर वैदेशिक रोजगारमा जाने गरेका छन् । पैसा कमाउने लोभमा नक्कली विहे गरेजस्तै ती परामर्शदाता पनि नक्कली नै हुन्छन् । तिनीहरु नेपाल सरकारको कुनै पनि कानुनी दायरामा आएका हुँदैनन् ।
विवाहको नाममा मानव बेचबिखन
विवाह व्यक्तिको अत्यन्त निजात्मक आत्मनिर्णयको अधिकारको विषय हो । विवाह भन्ने वित्तिकै स्वभाविक रुपमा महिला र पुरुष दुवैको स्वीकृति आवश्यक पर्छ । नेपाली महिलालाई पनि अन्य व्यक्तिसरह जीवनसाथी छान्ने अधिकार छ, र महिलाले स्वदेशी वा विदेशी पुरुषसंग विवाह गर्न स्वतन्त्र हुन्छन् । नेपाली संस्कृति र परम्परा अनुसार विवाह विभिन्न प्रकारका हुन्छन् । जस्तो मागी विवाह, प्रेम विवाह, अदालतमा उपस्थित भएर गरिने विवाह आदि ।
तर वैदेशिक रोजगारमा जानका लागि परम्परागत विवाहको कुनै अर्थ हुँदैन । विदेशमा रहेका दलालहरुले विदेशी केटा खोज्ने गर्छन् र नेपालमा युवती खोज्ने जिम्मा यहाँका परामर्शदाताले गर्छन् । यसरी खोजिएको बर र बधुलाई कुनै कुनैले शुरुमा फोनमा वा भिडियो च्याट, स्काईपमा भेट गराईदिन्छन् । कुनै कुनैले त यसरी भेट नगराई पनि विदेशी केटासंग नेपाली केटीको कागजी विवाह गराई दिएको सुनिएको छ ।
वास्तवमा यस्ता विदेशी केटा ९९ प्रतिशत भाडामा ल्याईएको हुन्छ । नेपाली केटीहरु भने वास्तविकता बुझन छोडेर आफनै लगानीमा प्रेम जालमा फसेको पनि देखिएको छ । कुनै कुनै विदेशी केटा भाषा नजान्ने कारण देखाउदै कुरा गर्न पनि आउँदैनन् । जे भए पनि तिनीहरुको विवाह अड्डा अदालतको रोहबरमा गराईएको प्रमाण जुटाईन्छ । सरकारी अधिकारीहरुले पनि सामन्य औपचारिकता दिएर यस्तो विवाह गराउने गर्दछन् । यो विवाहको आधारमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा दर्ता भए पछि विवाहको प्रमाणपत्र दिईन्छ । जसलाई परराष्ट मन्त्रालयमा प्रमाणित गराउनु पर्छ । यो सबै प्रक्रियामा परामर्शदाता भनिेने दलालले चाजोपाँजो मिलाएको हुन्छ ।
नेपाली महिलाको हरिविजोग
वैदेशिक रोजगारका लागि भनेर पेपर विवाह गरेर गन्तव्यस्थलमा पुग्नेहरुको हरिविजोग हुने गरेको विभिन्न सञ्चारमाध्यमहरुबाट थाहा पाउन सकिन्छ । दक्षिण कोरियामा मात्र यसरी नक्कली विवाह गरेर कामका लागि पुग्ने नेपाली चेलीबेटीहरुको संख्या ठूलो छ । रेडियो नेपालबाट प्रसारित पौरखी रेडियो कार्यक्रममा बोल्दै दक्षिण कोरियाको सोलस्थित परोपकारी एक महिला संस्थाकी अध्यक्ष जुनु गुरुङका अनुसार वैवाहिक भिसामा पुगेका ९० प्रतिशत महिलाले दुःख पाएका छन् । त्यसको मुख्य कारण विवाह कै नाममा गएका अधिकाँश महिला माथि शारिरीक, मानसिक तथा श्रम शोषणमा पर्नु हो ।
सामान्यतः विवाह भनेको आफुले रोजेको व्यक्तिलाई जीवनसाथी बनाउने प्रक्रिया हो । तर केही सामान्य अपवादलाई छाडेर कागजी विवाह गर्नु भनेको प्रकृतिमाथि नै चुनौति दिनु हो । यस्तो वैवाहिक भिसामा वैदेशिक रोजगारमा जाने महिलाले यस्तो कुनै अधिकार प्राप्त गर्दैनन् ।
कामकै खोजीमा विदेश गए पनि कागजमा नै भएपनि विवाह गरेको केटासंग नेपाली केटीले केही समय विताउनु पर्छ । उनीहरुको सिफारिसमा भिसाको म्याद थप गर्ने र अन्य त्यहाँको कागजपत्र मिलाउनु पर्ने हुँदा महिलाहरु उनीहरुसंग सम्वन्ध राख्न विवश हुनु पर्छ ।
कुनै कुनै नेपाली महिलाले त त्यतै घरबार गर्ने सोचका साथ नक्कली विवाह गर्नेसंगै पनि बस्ने गरेका छन् । तर, नेपाली केटीलाई साच्चिकै पत्नी बनाउने यस्ता विदेशी केटाहरु मध्ये धेरैजना घरवार विग्रीएका हुन्छन् । उनीहरु गरीव देशका केटी विवाह गरेर बाँकी जीवन सरल र सजिलो बनाउन चाहन्छन् ।
एक अध्ययन अनुसार नेपाली, भियतनामी, फिलिपिनो तथा भारतीय केटी विवाह गर्ने विदेशी केटाहरु लागु पदार्थका दुव्र्यसनी, झगडालु तथा त्यहाँको दुर्गम क्षेत्रमा बस्ने अपाङ्ग, सुस्त मनस्थितिका हुने गरेको पाईएको छ । केही पुरुषहरु दाँत नभएका थोते, शारिरीक रुपमा अशक्त रहेको पाईएको छ । नेपाली महिलासंग विवाह गर्ने विदेशी पुरुषहरुको उमेरको पनि ठूलो भिन्नता हुने गरेको छ ।
बाध्यता पनि छ
पेपर म्यारिज गर्ने नेपाली महिलाको एक मात्र ध्येय विदेशमा रोजगारी गरेर धेरै पैसा कमाउने नै हो । यसका लागि नेपाली महिलाले नेपालमा नै दलाललाई लाखौ खर्च गरेका हुन्छन् । पेपर म्यारिज गरेपछि कुनै कुनै मुलुकमा बढीमा दुई बर्षका लागि भिसा दिईन्छ । संयुक्त अधिराज्य बेलायतमा ३३ महिनामा नविकरण गर्ने गरी ६० महिनाका लागि यस्तो भिसा दिईन्छ । कोरियामा एक बर्षका लागि र थप बर्षमा शर्त सहित भिसा दिईन्छ ।
अर्को बर्ष भिसा नविकरण गराँउदा भाषा परीक्षा लिईन्छ । त्यसै गरी थप नविकरण गराउदा कामको स्तर, स्थायी सम्पत्ति जोडेको र बाल बच्चा आदि अवस्थालाई हेरेर मात्र भिसाको म्याद थपिन्छ । निश्चित मापदण्ड र समय पछि मात्र स्थायी बसोबास वा नागरिकता दिने नीति विभिन्न मुलुकले व्यबस्था गरेको छ ।
कामको खोजीमा जाने कामदारले त्यस अवधिमा गन्तव्यस्थलमा काम खोज्नु पर्छ । काम गरेर मात्र भएन, लगानी असुल गर्न सक्नु पर्छ । कुनै पनि श्रम बजारमा नेपालीको सीप र क्षमताका आधारमा सजिलै काम पाउने संभावना अत्यन्त न्युन हुन्छ ।
फेरि पासपोर्टलगायतका कागजात दलालले साथै राख्ने हुँदा कामदार महिला नक्कली विवाहित पतिको सिफारिस माग्न जानु पर्ने हुन्छ । यसकारण त्यस अवधिमा शोषणको चंगूलमा फस्ने संभावना रहन्छ । जो त्यस शोषणबाट अलग हुन चाहन्छन् तिनिहरु अवैधानिक हुने र पक्राउ पर्ने संभावना त्यतिकै रहन्छ । काम छोडेर पैसा कमाउने हिसावले भागेर जानेले त अर्कै भुक्तमान खेप्नु पर्ने हुन्छ ।
सुरक्षित बन्ने उपाय
विश्वव्यापिकरण तथा खुला बजारतर्फ उन्मूख भएको संसारमा कुनै देशको अवसरबाट लाभान्वित हुन खोज्नु स्वभाविक हो । विश्व श्रम बजारतर्फ नेपाली कामदारको आकर्षणलाई यही रुपमा बुझनु पर्छ ।
तर त्यसो भन्दैमा कागजपत्र मिलाएर अबैधानिक रुपमा विदेश दोडन खोज्नु मूर्खतापुर्ण प्रयास हो । यसले एकछिनका लागि सरकारको कानुनी प्रक्रिया त छल्न सकिएला तर यसले आफैलाई अफ्ट्यारोमा पार्ने र अन्ततः त्यसले जीउ, धनकै असुरक्षा रहने खतरा हुन्छ ।
यसकारण सीप र योग्यतालाई गुणस्तर बनाउन सकेमा जहाँसुकैको रोजगारी पनि तपाईकै अगाडि आईपुग्छ । यस तर्फ नै लाग्नु नै सबैभन्दा सुरक्षित उपाय हो ।
कुमार यात्रु, काठमाडौं
यो पनि पढ्नुहोस् दाजु सहिद – भाउजु परदेशी