बुझ्यौ, सिन्का यसरी बाँध्नु पर्छ । बँधाइ दह्रो भएन भने बाङ्गिन्छ । अनि हेर्दा राम्रो देखिदैन । राम्रो भएन भने कसले किन्छ ? आकर्षक भयो भने मात्र सबैका आँखा पर्छन ।
हिड्दा–हिड्दै अचानक यस्तो आवाज मेरो कानमा ठोकियो । टक्क रोकिएँ र बाटोको दायाँबायाँ हेरें । आकर्षक भए आँखा पर्छ । यो त स्वाभाविकै हो । तर, त्यस्तो बस्तु के होला ? कुन बिषयमा कुरा गरेको होला ? यस्तो कुरा भन्ने को होला ? मनमा खुलदुलीभयो । सुनेको कुरा फेरि सम्झीएँ । र, बिभिन्न अड्कल काट्दै दुई—चार पाइला अघि बढेको थिएँ । बाटोकोे देब्रे पट्टि, सानो घरको बाहिरै दुईजना काम र कुरा संगसंगै गर्दै गरेको देखें । पक्कैपनि आवाज उनीहरुकै हुनुपर्छ भनठानेर त्यतैतिर तेर्सिएँ ।
नजिकै गएर हेरेको त बिरलै देखिने दृष्य, निकैबेर हेरिरहें । मुढा बनाउन सिकाउने रहेछन ब्यासकुमार लिम्बु शारीरिक अपाङ्ग र सिक्ने पनि दृष्टिविहिन रुद्र दर्जी ।
सिक्नेले दोहोर्याई, तेहेर्याई सोधिरहेको । अनि सिकाउनेले झर्को नमानि बताइरहेको । छक्क परें उनीहरुको लगाव देखेर । गाउँघरमा के सीप सिक्नु ? कहाँ सिक्नु ? सिकेर के हुन्छ ? भनेर छटपटाउने तर, सिक्न नखोज्ने धेरैका लागि उद्धाहरणिय हुन् जस्तो लाग्यो ।
सोधें, ब्यस्त हुनुहुन्छ ? उर्लाबारीका ब्यासकुमारले भने ‘ हेर्नुसन भ्याइ नभ्याइ छ । यो मुडा आजै बनाएर सक्नु छ । यसैले धानेको छ चार जनाको परिवार । आजै, उर्लाबारी नगरपालिका कार्यालयमा बैठक छ । म नगस्तरीय अपाङ्गता भएका ब्यक्तिहरुको समुहको संयोजक हुँ । बैठकमा गइन भने साथीहरुले के भन्लान ? म जस्ता अपाङ्गता भएका ब्यक्तिहरुको लागि सीपमुलक तालिम र अपाङ्गता भएका ब्यक्तिहरुको साँस्कृतिक टोली बनाउने योजना बनाएका छौ । त्यहाँ गएर यो योजना राख्नु छ ।’ उनले थपे ‘ म त मुडा बनाउने तालिमको प्रशिक्षक पनि हुँ । सिक्न आउने रुद्र जस्तालाई सिकाउनै पर्यो । अहिलेसम्म अपाङ्गता भएकाहरुलाई निःशुल्क सिकाएको छु । तर, सबलाङहरुलाई भने न्यूनतम शुल्क लिन्छु ।’
मुडा बनाउन र सिकाउन सिपालु ५२ बर्षिय ब्यासले भने ‘म २०४६ सालमा जन्मथलो संखुवासभा जिल्लाबाट उर्लाबारी झरेको हुँ । सानैदेखि आफ्नै खुट्टामा उभिनु पर्छ भनेर सादा फोटो खिच्न र धुलाउन सिकेर गाउँमै फोटो स्टूडियो खोलेका थिएँ । त्यसैले उर्लाबारी आएर पनि त्यही पेशालाई निरन्तरता दिएँ । राम्ररी चलेको थियो । धेरै गा्रहकहरु नियमित आइरहन्थ्ये । यस्तै आउने जाने शिलशीलामा लक्ष्मिसंग चिनजान भयो । भेट हुँदा आ–आफ्ना दुःख सुख भन्ने गथ्र्यौ । खै किन किन मन मिल्यो, माया बस्यो । अनि संगै जीवन बिताउने निधो गरेर २०५१ सालमा विवाह गर्यौ।’
छेउमा बसेर उनको कुरा सुनिरहेकी लक्ष्मिले अलिक लजाउदै र भाबुक हुँदै भनिन् ‘अहिलेसम्म साथसाथै हाँसेका छौ, रुएका पनि । यीनको हातखुट्टा अपुर्ण भएपनि सीप र म प्रतिको माया त्यसैबेला पुर्ण थियो र अझै छ । त्यसैले मन पराएँ । छोड्नै सकिन । रुपमात्र सबै थोक होइन रहेछ ।’ बिगत कोट्याउदै दुबैले भने जेहोस फोटो खिच्ने कामले हाम्रो घरजम बसाल्यो ।’
उनले स्टुडियो चलाउँदा चलाउदै रेडियो र घडि मर्मत गर्न सिके । रंगिन फोटोको चलन सुरु भएपछि उनको स्टूडियो चल्नै छोड्यो । र, रेडियो घडि मर्मत गर्नमा ध्यान दिन थाले । यसबाट पनि घरब्यवहार जेलतेन चल्दै थियो । तर, आँखा कमजोर भएपछि बाध्य भएर २०६३ मा पेशा छोडे । त्यसपछि केहि न केही त गर्नै पर्यो भनेर २०६४ सालमा मुडा बनाउन सिके । उनी भन्छन् ‘अब सकुञ्जेलसम्म यसैमा लाग्छु होला । बनाउने सामग्रीेहरु बाँस, प्लाष्टीकको डोरी, फलामको तार, साइकलको टायर गाउँघरमै पाइन्छ । हेर्दा आकर्षक हुनुपर्छ । भनेजति मूल्य पाइदैन भन्ने मात्र हो नत्र बनाएका सवै सामान गाउँघरमै बिक्री हुन्छ । ’
छ—सात बर्षको यो अवधिमा मुडा बनाउने तालिममा प्रशिक्षक भएवापत पाएका प्रशंसापत्र, उपहार र दोसल्ला देखाउदै उनले भने ‘यो कुपि पनि उपहारै पाएको हो । सायद अपाङ्गता भएर पनि गाउँघरमा प्रकाश छरेको भनेर दिएको हुनुपर्छ । बिजुलिबत्तिको भर छैन यही बाल्छु ।’
संयोग पनि कस्तो दृष्टविहिन रुद्रलाई मुढा बनाउन सिकाउने ब्यासले यो सीप उर्लाबारीकै दृष्टविहिन राजकुमार र इन्दिरा राईसंग सिकेका रहेछन ।
राजन पौडेल, विराटनगर
यो पनि पढ्नुहोस्