“उम्किन त पाउँ, म कतार कहिल्यै आउने छैन”

काठमाडौं, उनी नेपाली हुन् । उनी कतार उत्रिएको १७ महिना भयो । सम्झौता अनुसार अव ७ महिना काम गर्न बाँकी छ । यसबीचमा उनले दैनिक १६ घण्टा काम गर्नै पर्छ । त्यसबापत उनले १ हजार कतारी रियाल तलव पाउँछन् । उनी पेण्टरको काम गर्छन् ।

उनले कतारको आफ्नो रोजगारदाताबाट एक्जिट भिसाका लागि अनुमति पाउनुपर्छ । नत्र फर्किने टुँगो ७ महिनामा पनि हुनेछैन ।

उनले कतारमा कमाएको हरेक एक एक रियालको रिसाव गरेका छन् । उनी आफूले पाउने १ हजार मध्ये ६ देखि ७ सय रियाल घर पठाउँछन् । विरामी भएमा कुनै उपचार बिना नै ठिक हुने उपाय खोज्छन् किनकी उपचार महंगो छ ।

राजधानी दोहाबाट दुईघण्टा गाडीमा लाग्ने ठाउँमा लेवर क्याम्प छ । कामदारहरु पूरै थाकेका छन् । उनीहरु सुत्न आवश्यक छ । तर उनीहरु कस्तो सपना देखेर यो संसारको धनी देश आइपुगे भनेर हामीलाई सुनाउन चाहन्छन् ।

उनीहरु धेरै पैसा कमाएर परिवारलाई सुखका साथ पाल्ने सपना नेपालमा हुँदा देख्दथे । म्यानपावर कम्पनीले तीन महिना पछि नै तलव बढ्ने आश्वासन दिएको थियो । तर त्यसबीचमा उनीहरुले राम्रो व्यवहार र राम्रोसँग काम गर्नुपर्छ भनिएको थियो । तर दोहा उत्रिएपछिको कुरा अर्कै भयो ।

जव उनी दोहा आए उनको अर्कै सम्झौतापत्र थियो । नेपालमा १२ सय रियाल मासिक तलव हुने भनिएको थियो र त्यहि अनुसारको सम्झौता पत्रमा सही गराइएको थियो । तर दोहामा गराइएको सम्झौतापत्रमा १ हजार रियाल मात्र तलव थियो ।

दोभासेले नेपाल सरकारले त १२ सय रियाल न्यूनतम तलव हुनुपर्ने सीमा तोकेको छ नि भन्ने जानकारी उनलाई दिए पनि त्यसको खास अर्थ थिएन ।

उनी लगायत अरु केहि कामदार एउटा सानो कम्पनीका लागि काम गर्थे जसले व्यक्तिका घरहरुको मरम्मत गर्ने काम गर्छ । उनका अनुसार यो संसारकै खराव मध्येका एक काम हो ।

उनी भन्छन् ‘उनीहरु हामीलाई जनावरलाई जस्तै व्यवहार गर्छन् । शौचालयको प्रयोग गर्न नपाएका कारण हामीमध्ये थुप्रैलाई मृगौलाको समस्या भएको छ । हामीलाई मस्जिदमा जाउ भनिन्छ, तर हामी हिन्दु हौं, कसरी मस्जिदमा जाने ?’

उनले आफूहरुलाई पानी समेत पिउन नदिइने बताए । पानी नै नखाएपछि शौचालय जानै पर्दैन उनले भने । कतारमा सामान्यतया ५० डिग्रिसम्म तापक्रम पुग्छ ।

उनका ११ बर्ष र १४ बर्षका दुईजना छोरा छन् । हप्तामा एकपटक उनी फोनमा कुराकानी गर्छन् । उनले कतार आउनु अघि ६ बर्ष भारतमा पनि रोजगारी गरेका थिए । तर कतारमा जस्तो अमानविय व्यवहार कहिल्यै भोग्नु नपरेको उनी बताउँछन् ।

कतारमा कामदारले भोगिरहेको समस्या भनेर साध्य छैन । हामीले कुराकानी गरिरहेको ठाउँमा एउटा थोत्रो एयरकुलर छ जसले खासै काम गर्दैन । त्यसले केवल एउटा झर्कोलाग्दो आवाज लगातार निकालिरहन्छ । उनीहरुले आफूहरुको मेडिकल कार्ड समेत नबनाइएको बताए ।

तर नियम चर्को छ । एकदिन बिरामी भएर काममा जान नसकेमा तीन दिन बरावरको तलव काटिन्छ । कतिपयले त त्यसैले खासै तलव नै पाउँदैनन् ।

सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताको आयोजक भएपछि कतारमाथि लगातार अन्तराष्टिय दवाव परिरहेको छ । श्रमिकका लागि सुधारका योजना ल्याउनु पर्ने दवावका कारण कतारले केहि मौखिक आश्वासन दिएको छ ।

तर त्यसलाई व्यवहारमा उतार्ने काम भइसकेको छैैन । यहि अवस्था रहिरहेमा कतारमा सन् २०२२ सम्ममा ४ हजार निर्माण मजदुरले ज्यान गुमाउनु पर्ने आइटीयूसीले अनुमान गरेको छ । यो आफैंमा डरलाग्दो तथ्य हो ।

तर यसबारेमा कतारको दोहामा रहेको नेपाली दुतावासले भनें केहि बताउन चाहने । गत बर्ष १ सय ८५ जना कामदारको शव नेपाल फर्किएको थियो । सन् २०१२ यता कतारमा ३ सय ८२ जना नेपालीले ज्यान गुुमाइसकेका छन् ।

दुतावासका कर्मचारीहरुले आफूहरुले शव पठाउने र सम्भव भएसम्म बाँकी रकम उठाएर पठाइदिने काम गर्ने गर्दछ । तर धेरैजसो मृत्युका घटनालाई हार्ट अट्याक वा हार्ट फेलियर भनिन्छ जसमा क्षतीपूर्ती लिन सकिन्न ।

गत बर्ष भारतीय दुतावासले हरेक महिना २० जना भारतीय मजदुरको कतारमा मृत्यु हुने गरेको बताएको थियो । सन् २०१२ र २०१३ मा गरी ५ सय जना भारतीय कामदारको मृत्यु कतारमा भएको तथ्याँक छ । तर आफ्ना देशका कामदारको सुरक्षाका बारेमा भारतीय दुतावास पनि उदासिन नै छ ।

ति नेपालीलाई नेपालमा म्यानपावर कम्पनीमा बसेर सम्झौता गर्दा कतारमा कस्तो दुर्भाग्यले उनलाई पर्खिरहेको छ भन्ने उनले अनुमान पनि गरेका थिएनन् ।

‘तर अव जव मैले दोहा छोड्नेछु, म कहिल्यै ठो ठाउँमा फर्केर आउने छैन’ उनले अठोट गरेका छन् ।

कामदारको सुरक्षाका बारेमा कतारको श्रम मन्त्रालयका अधिकारीहरुले आफूले यसमा सक्दो सुधारको प्रयास गरिरहेको बताए । उनीहरुले समयमा तलव भुक्तानका लागि बैंक मार्फत तलव दिने व्यवस्था गर्न लागिएको, नियम विपरित काममा लगाइएका कामदारले फोन मार्फत वा लेखेर उजुरी दिन सक्ने व्यवस्था गरिएको बताए ।

धेरै आलोचना गरिएको काफला प्रणालीका बारेमा गरिएको प्रश्नमा त्यसमा पनि सुधार हुने उनीहरुले बताए । यसको साटो सम्झौता पद्धती विकास गर्न लागिएको उनीहरुले बताए । नयाँ कानून सन् २०१५ को सुरुतिरै देखि लागु हुने उनीहरुको भनाई छ ।

एक्जिट भिसा तथा रोजगारदाता परिवर्तन गर्न सक्ने कानून अव बन्ने आश्वासन श्रम मन्त्रालयका अधिकारीहरुले दिएका छन् ।

http://www.svd.se/ मा प्रकाशित सामग्री हाम्रा पाठकका लागि पठनिय ठानेर हामीले अनुवाद गरेका छौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय