“सायद मेरो कर्ममै दुःख लेख्या रै’छ”

आखिर दुःख भोग्नेलाई जहाँ पुगेपनि त्यसको खाँचो हुन्न । म पनि त कहाँ भाग्यमानी रै’छु र ? धन कमाउन आएको म तनाव कमाएर बाँचेको छु । सायद देउता पनि हामीजस्ताका लागि त बैरी नै हुन्छन् क्यारे ?

मेरो घर पूर्वी नेपालमा पर्ने संखुवासभा जिल्लाको मादि हो । दुई पटक गरेर मैले मलेसियामा ५ बर्ष बिताएँ । घरको आर्थिक कारण नै पहिलो हो म विदेशीनुको आर्थिक रुपमा कमजोर भएपछि र आम्दानीको श्रोत भरपर्दो नभएपछि के नै गर्न सकिंदो रहेछ र ?

आफन्त र साथी भाइ धमाधम विदेश जान थालेका थिए उनीहरुको कमाइ पनि राम्रै देखिन्थ्यो । यता विदेश नै गएर आर्थिक उन्नती गर्नेहरुको संख्या गाउँमा बढ्दै गएको थियो । हुनत मेरो गाउ संखुवासभा जिल्ला भरिको शिक्षित गाउँ भनेर चिनिन्छ । मेरो गाउँका धेरै व्यक्ति सरकारी सेवामा छन् भने व्यापार व्यवसाय गर्दै काठमाडौसम्म पुग्नेको संख्या पनि कम छैन ।

मादी भनेर नाम लिंदा जिल्लामा मात्रै होइन पूर्वका अधिकांश मान्छेले राम्रो नजरले हेर्ने गर्दछन् । तर मेरो घर अगाडि नै विद्यालय भएपनि घरको आर्थिक कारणले पढ्न सकिन । बरु त्यो वेला गाउँमै रोजगारीका लागि पसिना बगाउँथे । गाउँमा भएका वुडापाकाले पनि मलाई एक पटक विदेश जान सल्लाह दिनथाले । घरमा पनि एक पटक विदेश गए आर्थिक अवस्था सप्रिन्छ भन्ने सोच्न थाले । मेरो दोस्रो विकल्प पनि थिएन ।

खाँदवारीबाट राहदानी बनाएपछि त झन् मलाइ नै कहिले विदेश उडुँ उडुँ हुन थाल्यो । तर सोचे जस्तो कहाँ हँुदो रहेछ र ? राहदानी बनाएर वसेको म कहाँ जाने भन्ने सोच भने थिएन । के कामका लागि कुन देश जाने भन्दा पनि जुन देशमा राम्रो काम पाइन्छ त्यहि देश जाने भनेर वसेको थिएँ । त्यहि क्रममा संखुवासभाका हिमाल गुरुङ्ग जो वैदेशिक रोजगारमा जान चाहने म जस्ता युवालाई काठमाडौका म्यानपावरसम्मको सम्पर्कमा पुर्याउँथे हो तिनै गुरुङ्गसंग मेरो चिनाजान भयो ।

उनले मलेसियामा राम्रो कामको लागि कामदारको माग भइरहेको र त्यहाँ जाने भए काम छिटै हुने पनि बताए । मलाई पनि छिटै विदेश हिंडिहालौ भएको थियो । ढुङ्गा खोज्दा देउता मिले झैं भयो । केहि दिन पछि नै म सहित अरु केहि त्यहि जिल्लाका विदेश जान चाहने युवा लिएर गुरुङ्ग काठमाडौ जाने भए । म पनि उनका साथमा लागेर काठमाडौ लागें ।

पहिलो पटक लामो दुरीको यात्रा भएकाले अनि मन भरि पैसा कमाउने रहर पलाएकाले काठमाडौको यात्रापनि राम्रो बन्दै थियो । पछि तिनकुनेमा रहेको मुन लाइट ओभरसिजमा उनले हामीलाई पु¥याए । सोहि दिन हाम्रो साथमा भएको पासपोर्ट म्यानपावरलाई वुझाएपछि भोली पल्ट स्वास्थ्य परिक्षण हुने म्यानपावरका कर्मचारीले बताए ।

भोलीपल्ट मेडिकल गरेपछि हामी घर फर्कियौ । हामीले गुरुङ्गलाई नै पैसा बुझायौं । हामी विदेश जान मेडिकल पास भएको हल्ला गाउँमा हामी विदेश उड्न लाग्यौं रे भन्ने खवरका लागि पर्याप्त थियो । वाटोघाटोमा भेट हुने हरेकले त्यसपछि त कहिले हो उड्ने दिन भनेर सोध्न थालिहाले । २०६० सालको जेठ महिनामा म सहित केहि साथीको उडान भन्दै गुरुङ्गले खवर पठाए पछि पैसाको जोहोमा लागें ।

हुनत मलाइ आज पनि एउटा कुराले साहै मन पोल्छ विदेश जानका लागि जसरी हामी सहजै व्याजमा पैसा पाउँछौ नि नेपालमा केहि गर्छु भन्यौ भने पैसा पाइदैन । यो परम्पराले पनि विदेश जानेको संख्या बढ्या हो जस्तो मलाई लाग्छ ।

केही दिनमै पैसाको व्यवस्था गरेर म काठमाडौ आए । हामीलाई मलेसियाको पाहाङ्गमा रहेको एक फर्निचर कम्पनीमा काम गर्ने भनिएको थियो । जव हाम्रो उडानको दिन आयो सो दिन ति गुरुङ्गले काम राम्रो हुने राम्रो कमाइ हुने भनेर अनेकौ कुरा बताए । हामीलाइ २०६० साल जेठको अन्तिम हप्तातिर काठमाडौवाट उडाइएको थियो ।

मलेसिया उत्रिंदा अचम्म लाग्यो । यहाँका सुरक्षाकर्मी साह्रै रुखा जस्ता लागे । लाइनमा आएर हप्काउने गर्न थालेपछि साह्रै नमज्जा लाग्यो र डर पनि । केहि ढिला हामीलाई लिन आएको कम्पनीको मान्छेले लिएर पाहाङ्ग पुर्यायो । झण्डै ३ घण्टाको यात्रापछि हामी काम गर्ने ठाउँमा पुग्यौं । खानेकुरा अचम्मै नमिठो । तरकारी साह्रै गुलियो लाग्यो । स्वाद पनि अर्कै । गाँसै खान मन लागेन ।

भोलीपल्ट देखि हामी काममा गयौं । फर्निचर कम्पनीमा काम थियो हाम्रो । त्यहाँ कुर्र्सी र टेवल बन्दथे । तलव भयो ४ सय ८१ रिंगिट । ओभरटाइम नपाइने । पछि कम्पनी घाटामा गएको भन्दै बेचियो । नयाँ व्यवस्थापक आए । तर स्थीति राम्रो भएन । कमाई पनि राम्रो नभएको र कम्पनीको पनि ठेगान नभएको भन्दै एककजना चिनारुले भाग्ने सल्लाह दिए । त्यसपछि हामी केहि साथि त्यो कम्पनी छोडेर भाग्यौं ।

हामी इपो पेराकको एउटा कुखुरा फर्ममा काम गर्न गयौं । ९ सय रिंगिट तलव थियो भनें खाना पनि कम्पनी मालिकले नै दिन्थे । मैले त्यहाँ ८ महिना काम गरें । त्यसपछि त्यो काम छोडेर म क्वालालम्पुरमा सुरक्षागार्डको काम गर्न आएँ ।

म मलेसिया आएको करिव डेढबर्ष त ऋण चुक्ता गर्न नैै लाग्यो । घरबाट आउने खवरमा पनि पैसा नभएको जस्ता गन्थन नै धेरै हुन्थे । यसले मलाई तनाव थपिरहन्थ्यो ।

केहि कमाई भएपछि मलाई अवैधानिक रुपमा बसिरहन मन लागेन । दुतावासबाट कागजपत्र बनाएर नेपाल फर्के र तीन बर्ष नेपाल बसें । नेपाल फर्केपछि खेती किसानी सुरु भयो । तर त्यसबाट कुनै कमाई नभएपछि फेरी विदेश उड्ने सोच आयो । त्यसैले दोश्रो पटक फेरी एकपटक म बैदेशिक रोजगारीका लागि काठमाडौं आइपुगें ।

भाषा जानेको, ठाउँ चिनेको हिसावले मलाई फेरी मलेसिया आउने सल्लाह दिइयो । मलेसियाको क्लाङ्ग मेरुको एउटा राम्रो फर्निचर कम्पनीमा कामदार हुन फेरी म काठमाडौको सुकेधारामा रहेको क्रिस्टल म्यानपावर मार्फत मलेसिया उडें ।

तर अभागि खप्पर जहाँ पनि ठक्कर भनेजस्तै भयो । तलव नेपालमा भनेजस्तो थिएन । अर्कातिर १ हजार ५ सय कामदार बस्ने होस्टलमा नुहाएको पानीको समेत पैसा काट्ने गरिन्थ्योे । काम यति गाह्रो थियो की ५ मिनेट बस्न नमिल्ने । शौचालय जाँदा समेत गाली गर्दथे । महिनानामा एक दिन पनि छुट्टी पाइन्नथ्यो ।

मेरो एकजना जेठान ईपो पेराकमा काम गर्नुहुन्थ्यो । उहाँ मलाई भेट्न आउनुभयो । मेरो हालत देखेर उहाँले भाग्न सल्लाह दिनुभयो । तर यसअघि नै एकपटक भागेर धेरै दुःख पाइसकेको म भाग्ने आँट गर्न सकिरहेको थिईन । तर त्यहाँको थोरै कमाईको गाह्रो काम सहन नसकेपछि अन्ततः म दोश्रो पटक पनि मलेसियामा अवैधानिक हुने निश्कर्षमा भागें । भागेर इपो पेराकमा पुगेको म जेठानसँगै एउटा वालुवा कम्पनीमा काम गर्न थालें । 

मेरो काम माछा पोखरीको रुँगालुको भयो । अहिले मेरो मासिक तलव १४ सय रिंगिट छ । खाने चामल मालिकले नै दिन्छ । कमाई ठिकै छ । दुःख जति सवै कर्मका कारण नै हुदो रहेछ जस्तो लाग्न थालेको छ । आज म अवौधानिक रुपमा काम गरिरहेको छु । डर लागिरहन्छ । प्रहरी आएर पक्रिने डर छ । अव भयो घर फर्कौं जस्तो लाग्छ । विदेशमा बस्दा मैले धेरै दुःख भोगी सकें । तर नेपाल गएर के काम गर्ने भन्ने दोधारमा छु ।

(मलेसियामा नेपाली दुतावाससमा भेटिएका बाबुरामसँग देशपरदेश सहकर्मी अर्जुन काफ्लेले गरेको कुराकानीमा आधारित । उनले फोटो खिच्न मानेनन् )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय