अनी उनी मलेसियाको जहाज चढे …….

अर्जुन काफ्ले, मलेसिया – सुरुमा लाग्थ्यो, यसैबाट नाम कमाइने छ अनी दाम पनि । युवा अवस्थामा घरायसी दायित्व पनि थिएन । खाने लाउने कुनै चिन्ता थिएन । त्यसैले भविष्यको चिन्ता पनि थिएन । तर जसै जोवन ढल्किंदै गयो न त आफुले बर्षौं लगानी गरेको क्षेत्राट पेट पाल्न सकियो, न त नामकै भोक बाँकी रह्यो । अनी मलायाको जहाज चढे उनी ।

झापा, कुमरखोदका रोहित बस्नेतलाई लागेको थियो उनको जीवन खेलमै समर्पित हुनेछ । जुडो खेलबाट उनले राष्ट्रिय चर्चा पनि कमाएका थिए । इलाम जिल्लाको जिल्ला प्रशिक्षक पनि भए । सन् २०१० मा पाकिस्तानमा भएको साफ जुडो प्रतियोगितामा नेपालका तर्फबाट प्रशिक्षक भएर पनि पुगे उनी । जुडोको अन्तराष्ट्रिय प्रथम डन साथै राष्ट्रिय ए लेभल रेफ्रिसम्म भए । तर यसले खानलाउन पुगेन । गुजारा गर्नुपर्ने दायित्व आफैंमा आइपुग्दै गयो ।

दिनदिनैको हुटहुटीले उनी पनि उहि निश्कर्षमा पुगे अर्थात विदेशिने । त्यसैले रहरले नभई करले उनी पनि चढे मलेसियाको जहाज । हाल उनी मलेसियाको शाहलम काम्पुजवामा रहेको हालिममाजविन कम्पनीको स्पेशल होमगार्डका रुपमा सेक्युरिटिमा कार्यरत छन् । बस्नेतका प्रवास भोगाइ उनकै शव्दमा : 

खेल क्षेत्रमै जीवन विताउने लक्ष्यले म खेल क्षेत्रमै लागें । घरमा वुवा आमाले पढ् भन्दा पनि खेलवाट नै केहि गर्छु भन्ने लागेर स्नातक तहको पढाइ पश्चात जुडोमै केहि गर्छु भनेर लागें । अन्तराष्ट्रिय प्रथम डन हुनु भन्दा पहिला देखिनै झापाका विभिन्न गाउँमा जुडो सिकाउँदै आएको थिए । पछि झापाका गोल्धाप, भद्रपुर, शरणामति लगायतका स्थानमा सहयोगी प्रशिक्षकका रुपमा निःशुल्क प्रशिक्षण गराएँ ।

पछि इलाम गएर पनि केहि समय स्वयंसेवक प्रशिक्षकका रुपमा काम गरें । पछि मेरा अग्रज खेल गुरुहरुले मलाई इलामको जिल्ला प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गर्नु भएछ । म त्यतिखेर वास्तवमै खुसी भएको थिएँ । पछि राजनीतिक परिर्वतनसँगै मेरो जागीर पनि खोसुवामा पर्यो । जागीरमा फकिर्न धेरै जोड बल गरेपनि म सफल हुन सकिन ।

त्यहि समय काठमाडौमा आएर एउटा कोर्ष गरें तीन महिनाको । तर खेलाडीको ठाउँ कहिं नहुँदो रहेछ । कि त ठाउँमा आफ्ना मान्छे हुनुपर्छ, कि त अरुकुरा नै जान्नु पर्छ । आफ्नो मान्छे ठाउँमा छैनन् भनें जतिसुकै क्षमता भएको मान्छेले पनि नेपालमा जागीर खान सक्दैन भन्ने लाग्यो । काठमाडौ बस्दा दैनिक गुजारा चलाउन मैले कालिमाटी र वुडानिलकण्ठमा ज्यामीको काम पनि गरें । त्यति बेला चाहिं मैले खेलाडी भएर आफ्नो जीवन बिगारेंछु भन्ने लाग्थ्यो । केहि सीप नचलेपछि म विदेश आएको हुँ ।

विदेश आउन धुम्वाराहीको एउटा मयानपावर कम्पनी मार्फत आवेदन दिएको थिएँ, अन्तर्वार्तामा एक नम्वरमा नाम निक्लिएछ । लाग्यो यो चाहिं खेलाडी भएका कारण पाएको पुरस्कार हुनुपर्छ । अव अरु केहि नभएपछि यहि भनेर पनि त चित्त बुझाउनु पर्दो रहेछ ।

मनमा अनेकौ सपना वोकेर पराइभूमी जान म तयार भइसकेको थिएँ । तर घरमा यो कुरा भनेको थिइन । घरमा पुगेर आफ्नो योजना बताउँदा मान्नुभएन । नेपालमै केहि गर्न सक्लास् भन्दै रोक्न खोज्नु भयो । तर घरपरिवारलाई सम्झाईबुझाई गरेर म १८ नोम्वेवर २०११ मा मलेसियाका लागि उडें ।

त्रिभुवन विमानस्थलवाट उडेपछि केहि बेर त अत्यास लाग्यो । तर विस्तारै सहज हुँदै गएँ । पहिलो गाँसमै डुङ्गा भनेझै सम्झौता अनुसारको तलव पाइएन । नेपालमा १६ सय रिंगिट मासीक तलव भनिएको भए पनि मलेसियामा आएपछि थाहा भयो तलव त १४ सय ५० रिंगिट मात्रै रहेछ । काम भनें सजिलो छ । राती सुरक्षाको काम गर्नुपर्छ । छुट्टी कहिल्यै पाइंदैन, यो चाहिं दिक्क लाग्दो छ ।

मलेसियामा मलाई एउटा आपत पनि आइपरेको छ । २०१२ को सेप्टेम्वर २४ का दिन कामकै दौरान घरको पर्खाल भत्किएर मलाई पुरेछ । पछि थाहा पाउँदा म क्लाङ्ग अस्पतालको वेडमा थिएँ । अस्पताल र पछि कोठामा गरेर ६ महिना सुते । कोठामा बस्दा मनमा अनेक कुरा खेल्थे । तर महिना महिनामा कम्पनीले पैसा भनें दिन्थ्यो । घरमा सुनाएको थिएन, पीर मान्नुहुन्छ भनेर । साथिहरुले सुनाई दिएछन् । धेरै चिन्ता गर्नुभयो । घरमा धेरै चिन्ता हुन्छ भनेर प्रायः विदेशिएकाहरुले आफ्ना दुःखका कुरा घरमा सुनाउन चाहदैनन् । हामी यति टाढा छौ, दुःख गरिरहेका छौं, यस्तो कुरा सुनाएर घर परिवारलाई किन तनावमा पार्नु भन्ने लाग्छ ।

खेल क्षेत्रको मान्छे म यसरी विदेशिदा निकै दुःख लागेको छ । राजनीतिक कारणले म जस्ता अरुपनि नेपाली खेलाडी विदेशिएका छन्, जुन साहै नराम्रो हो । विदेशमा श्रम वेच्न हिडनु कत्तिको दुःख लाग्दो हो यो त पक्कै पनि देशले वुझेको छ । तर यो क्रम रोक्न कसैले पहल गरेको छ भन्ने मलाई लाग्दैन ।

अवका केहि समय यतै वस्छु । अनी नेपाल फर्केर आफ्नो यौवनकाल लगानी गरेको खेल क्षेत्रमा नै केहि गर्छु भन्ने अठोट छ । गाउँबाट थुप्रै खेलाडी अगाडी बढेको हेर्ने रहर छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय