उत्तम अधिकारी, यूएई, ७ अक्टोबर– एनआरएनए यूएईको सहयोगमा मुलपानी क्रिकेट स्टेडियममा निर्माण हुने इन्डोर प्राक्टिस ग्राउण्डको सहयोगका लागि झन्डै ४० लाख रुपैया जुटेको छ । गत शुक्रवार दुबईमा सम्पन्न उक्त समितीको एक बिशेष भेलामा सो जानकारी गराउदै इन्डोर प्राक्टिस ग्राउण्ड निर्माण सहयोग अभियानका लागि गठित समितीको पुनर्गठन समेत गरिएको छ । बिशेष भेलाले २३ सदस्य रहेको समितिलाई १३ सदस्य मात्रै रहने गरी पुनर्गठन गरेको हो । समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ आईसिसिका मध्यपूर्व संयोजक चन्द्र बहादुर रोकाहाको सभापतित्वमा सम्पन्न भेलाले केहि सदस्यहरुमा हेरफेर गरेको हो । जस अनुसार रोकाहाको संयोजकत्वमा कृष्ण प्रसाद भुसाल,बिकाश अधिकारी, प्रकाश कोइराला, चन्द्र प्रसाद सापकोटा, भूपति न्यौपाने, संजिव खड्का, सन्तोष प्रसाईं, गोपाल कंडेल, हेमन्त पौडेल, प्रकाश पौडेल, हिरालाल श्रेष्ठ र सुदिप कार्की सदस्यहरु रहने गरी समितिको पुनर्गठन गरेको छ । गैर आवासीय नेपाली संघ यूएईले २ बर्ष अगाडी काठमाण्डौको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको छेउमा झन्डै ६२ लाख रुपैयाको लागतमा क्रिकेट इन्डोर प्राक्टिस ग्राउण्ड सहयोग स्वरूप निर्माण गरिदिने भन्दै नेपाल क्रिकेट संघसंग सम्झौता गरेको थियो । प्राक्टिस ग्राउण्ड निर्माणको लागि लाग्ने अर्थ संकलनका लागि गैर आवासीय संघ यूएईले संघका तत्कालिन अध्यक्ष रोकाहाको संयोजकत्वमा नेपाली रास्ट्रिय क्रिकेट टिमको जर्शी बिक्री अभियान संचालन गरेको थियो । भेलामा २ बर्षको अबधिमा संचालित अभियानका क्रममा संकलित रकम तथा सहयोगीहरुबाट प्रतिबद्धता स्वरूप व्यक्त भएका रकमको विवरण समेत सार्वजनिक गरियो । अभियानका संयोजक रोकाहाका अनुसार जर्शी बिक्री मार्फत झन्डै २५ लाख रुपैया संकलन भएकोमध्ये ११ लाख नब्बे हजार दुई सय रुपैया जर्शी उत्पादन गर्ने कम्पनीलाई बुझाएको र ५२ हजार सात सय अठ्तीस रुपैया कुरियर वापत खर्च भएको विवरण पेश गरेका थिए । चुक्ता गरी बाँकि हुन आएको १२ लाख रुपैया नेपाल क्रिकेट संघसंगको संयुक्त खातामा रहेको जानकारी गराईएको थियो । त्यसैगरी प्राप्त भएको जर्शीमध्ये झन्डै १६ लाख रुपैया संकलन हुन बाँकि रहेको जानकारी दिए । त्यसैगरी गैर आवासीय नेपाली संघ आईसिसिका अध्यक्ष शेष घलेले १० लाख रुपैया सहित यूएई र यूएई बाहिर रहेका संघका पदाधिकारी, सदस्यहरु तथा अन्य समाजसेवीहरुले हालसम्म १४ लाख रुपैया भन्दा बढी उक्त अभियानका लागि उपलब्ध गराउने प्रतिबद्धता गरेका र सो रकम समेत यथाशिघ्र संकलन गरिने योजना रहेको रोकाहाले बताए । गत बर्षको नोभेम्बरमा यूएईमा प्रतिस्पर्धा गर्न आएको नेपाली क्रिकेट टिमलाई स्तरीय ब्याट सहयोग गर्ने क्रममा संकलित रकम मध्येबाट बचेको झन्डै १ लाख तिस हजार रुपैया पनि सोहि अभियानमा थपिने उक्त भेलामा बताइएको थियो । सोहि अभियानको सहयोगार्थ दुबईमा गत ३० मईका दिन आयोजित सत्य स्वरूप लाइभ कन्सर्टका संयोजक सन्तोष प्रसाईंले १ लाख रुपैया अभियानलाई उपलब्ध गराउने घोषणा गरेका छन् । संयोजक रोकाहाले निर्माण शुरु भएमा आबश्यक रकम सहयोग गर्न केहि समाजसेवी तत्पर रहेकाले योजना सफल हुनेमा कुनै शंका नरहेको स्पष्ट परेका थिए । दुई बर्ष भित्रमा निर्माण पुरा गरिसक्ने लक्ष्य लिईएको उक्त इन्डोर प्राक्टिस ग्राउण्डको निर्माण कार्यको कार्य अझै शुरुवात हुन सकेको छैन । त्यसमाथि निर्माणाधीन मुलपानी क्रिकेट ग्राउण्डमा पनि बिगत केहि समयदेखि निर्माण कार्यको बिकाश नदेखिएकाले इन्डोर प्राक्टिस ग्राउण्डको योजना केहि पर धकेलिन गएको देखिन्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1