अरवी भएकी नेपाली महिलालाई भेट्दा

मेघराज सापकोटा, यूएई कुनै गन्तब्य थिएन । गन्तब्य बिनाको यात्रा उद्देस्यहीन नै हुन्छ । हप्ताभरीको थकानलाई मेटाउन उनी कतै  ‘लङग ड्राइभ’ मा जान चाहन्थे । कहाँ जाने थाहा थिएन । त्यस्तै बेलुकीको ८ बजेको हुँदो हो हामी यस्तै गन्तब्यबिहिन यात्राको लागि हिँडेका थियौँ ।

रस अल खेइमाको नखीलबाट हामी दुबइ तिर लाग्यौ । १५  किमी अगाडि केएफसी भन्ने सुपरिचित ठाउँ छ । पहिले यो ठाउँ रस अल खेइमाको सबै भन्दा बढी ट्राफिक जाम हुने ठाउँ थियो । अहिले आकासे पुल बनेको छ । चौरास्ताको कुनैमा एउटा मन्द मुस्कानमा केएफसी (केन्तुकी फ्राईड चिकेन) बोकेर बसेका उनले जमाएको १ सय १८ देशका १८ हजार भन्दा बढी डेरा मध्येको यो एउटा डेराले अरबलाई पनि छोडेको थिएन ।

हामी त्यही केएफसीबाट अगाडि बढ्यौ । कहाँ जान हिंडेको सर ? सहयोगी मित्र रेशमले सोधे । तपाईंको ईच्छा । मैले सहजै उत्तर दिए । मलाई थाहा छ उनीसँगको हरेक यात्रा अबिस्मरणीय हुन्छन । पेटपूजा नि,  ओहो एक ठुलो काम त बाँकी नै छ ।

मेरा अर्को एकजना नजिकका मित्र कुमार गुरुङले निमन्त्रणा गरेको धेरै भएको थियो । उनी हाम्रो बाटोमै पर्ने एक पेट्रोल पम्पमा रहेको ‘हर्दीज’फास्ट फुडमा म्यानेजेर छन । हामीले उनैलाई सरप्राइज भेट दियौ । हाम्रो आगमनले उनी अनुग्राही भए भने हामी पनि खुशी ।

इमिरेट्स राउन्ड अबाउटबाट हामी शेख मोहमद बीन जाएद रोड हुँदै दुबई तिर हान्नियौ । इमिरेट्स राउन्ड अबाउट दुबईबाट आउने बाटो र रस अल खेइमहको मुख्य बाटो मिल्ने बिन्दु हो । अगाडि  बढ्दै जाँदा १ सय १९ को एक्जिटमा रेशमजीले अचानक दाहिना तिरको इन्डिकेटर जलाए ।

बिदेशको बाटो रमाइलो के छ भने बत्ती दाहिना जलोस या देब्रे, जता बले नि जमीन मुनी वा माथिको आकासे पुलबाट आफ्नो गन्तब्य पूर्व, पश्चिम, उत्तर अथवा दक्षिण कता मोडिने हो पत्तै हुन्न । हामी भने सोही बाटोको पुल मुनी हुँदै पूर्व दक्षिण तिर मोडियौ ।

साँघुरो दुई लेनमा दुई तर्फी बाटो । दाई, अब म हजुरलाई एउटा ठाउँमा लैजादैछु । कहाँ ? मैले सोधें । सर्प्राइज , अघी हजुरले पेटपुजाको सरप्राइज दिनु भो नि अब म झन ‘बीग सरप्राइज’दिन्छु । तर हजुरलाई राम्रो न्युज बन्छ है दाई । उनको कुरा सुनेर म लामो हाँसे ।

हो, उनले मलाई धेरै पटक खुराक दिएका छन । हामी अगाडि बढ्दै गयौ । बिदेशमा प्रायः सबै बाटो झिलीमिली हुन्छन । यो बाटोमा भने बत्ती थिएन । मलाई त काठमाडौबाट झापा गए जस्तै लाग्यो । बाटो अँध्यारो सुनसान थियो र गाडी तीब्र गतिमा ।

बिशेष गरी यो बाटो औधोगिक क्षेत्रको लागि  ‘ट्रक रोड’ थियो । हामीले बिच बाटोमा अन्ध्यारोमै गाडी रोक्यौ । झ्याउकिरीको किरकिर आवाज । बेला बेलामा आउने अन्य गाडीहरुको बत्तीको उज्यालोले जङगली गधाहरु बुरुक्क उफ्रिदा रमाइलो लाग्थ्यो ।

हाम्रो देशमा त उज्यालो हुँदा रमाइलो लाग्छ । त्यसैले त हामी दिपावलीमा रमाउँछौ । यहाँ त अन्ध्यारो हुँदा रमाइलो लाग्दो रहेछ हगि । उनको कुराले म स्तब्ध थिएँ । हो, जीवनका धेरै अन्ध्याराहरुमा हामी रमाएकै छौ । हाम्रो देशको हरेक क्रान्तिमा उज्यालो होला होला झै हुन्छ तर घाम कहिल्यै लाग्न सकेन । त्यसैले त हामीले अन्ध्यारोमै रमाउन जानेका छौ ।

सबै नेपाली यस्तै अन्ध्यारोमा रमाउन सक्ने बनेका छौ । ‘एकान्तमा  ‘‘‘आईमाई मान्छे साथमा  ‘‘‘, बस्नु हुन्न एकलासमा ‘‘‘‘‘ ‘। वाह- वाह- उनले सायरीको भाकामा बाटो लाग्ने जनाउ दिदै रिफ्रेस गरे ।

हामी अगाडि बढ्दै गयौ। बेलाबेलामा खजुरका बगैचाहरुका बिचमा एकै ठाउँमा दुई तीन वटा एकतले घरहरु देखिन्थे । यी अरबीका मजरा थिए । अरबी भाषामा गोठलाई मजरा भनिन्छ ।

सुनसान बाटोमा बेलाबखत पाकिस्तानी र बङगाली बन्धुहरु पनि देखिन्थे । यिनै पाकिस्तानी र बङगाली बन्धुहरु यी मजाराको हेरचाह गर्दा रहेछन । उमेरले पाका अरबीहरु स–परिवार मजरामा हरेक सप्ताहन्त मनाउन आउँदा रहेछन । आज हरेक मजराहरु मेला झै देखिन्छन।

‘खुशीको कुरा दाई, यी प्रत्येक मजारामा म पुगेको छु तर एक जना पनि नेपाली भेटिन’ । नेपाली गोठाला छैनन भन्न पाउँदा उनी खुशीले गदगद देखिन्थे ।

मरुभुमीको झन्डै १ सय किमी बाटो यात्रा गरीसक्दा रातको १० बजेको थियो । हामी रस अल खेइमह र फुजेराको सिमानामा रहेको डिब्बा भन्ने सानो सहरमा थियौ। डिब्बाको राउन्ड अबाउटबाट २ /४ कि.मी. अगाडी के बढेका थियौ हाम्रो गाडी एउटा घर अगाडि अचानक रोकियो ।

हो, यही घर हो जहाँ एक नेपाली महिला अरबी बनेकी छिन । कति बर्ष भो रे ? मैले सोँधे । खै । उनले अघि भनेको ‘बीग सरप्राइज’यही थियो ।

सायदै रस अल खेइमाहमा यस्तो घर नहोला जहाँ रेशम नपुगेका हुन । त्यसो त रस अल खेइमह नगरपालिकाले (बल्दिया) उनलाई यस बर्षको उत्कृष्ट कामदारको प्रशंसा पत्र पनि दिएको छ ।

केही बर्ष अगाडीको कुरा हो एक दिन उनी आफ्नो ट्याँकर लिएर डिब्बा छेउको सोही घरमा पुगेका थिए । उनको ट्याँकर त्यो घरको कम्पाउण्ड बाहिर थियो । २०/२५ बर्ष उमेर देखिने एक अरबी बाहिर आए र भने ( इन्ता फिलिपिनो ? तिमी फिलिपिनो हौ ? ) उनी पनि के कम ( माफी फिलिपिनो, आना नेपाली , फिलिपिनो हैन, म नेपाली हुँ)

फिलिपिनोहरु नेपालका मङगोलियन जस्तै आँखा साना र नाक थेप्चो  देखिने हुनाले उसले फिलोपिनो होस भनेर सोध्नु स्वाभाविक हो । ‘ हेल इन्ता मोता’किदरु  मालाना मामा नेपाली ‘(तिमी पक्का नेपाली हौर ? मेरो आमा पनि नेपाली हुन)

उनले यसो भन्दा भन्दै कम्पाउण्डले घेरेको यो एकतले घरबाट कालो बुर्का ओढेकी एक अरबी महिलालाई बोलाएर ल्याए । ती अरबी महिला त नेपाली मै बोलिन ( बाबु तिमी नेपाली हौर ?  हजुर हुँ  उनले भने । ‘ल खुशी लाग्यो भेटेर’ । उनी धेरै बोलिनन । आँखा रसाए जस्तो देखिन्थ्यो । सायद उनले माइती भेटेकी अनुभव गरिन होली ।

उमेरले कति कि भईन ठ्याक्कै त भन्न सक्दिन तर ४०/५० भन्दा माथिकी चाँही होलिन । उनकी छोरा चाँही खासै नेपाली बोल्न नजान्ने रहेछन । छोरा आर्मीको जागिरे छन रे । यती नै कुरा गर्दै गर्दा उनी यहाँको कानुनले बाँधिएर होला कि खै, धेरै कुरा नगरौ है भन्दै घर भित्र पसिन ।

यसो भनिरहँदा रेशम पनि निक्कै भावुक देखिन्थे । उनले चलाउँदै गरेको गाडीलाई बाटो छेउमै रोके र निहुरेर केहीबेर गाडीको स्टेरिङ्गमा आफ्नो मुन्टो अढ्याई राखे । म भने उनलाई हेरीरहेँ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय