देशपरदेश, रोजगारीका लागि साउदी अरब पुगेका ३० नेपालीले चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । साउदीको मुस्फीर जफीर जिबरन ईष्ट कम्पनीमा काम गरिहेका उनीहरुले नेपाल फर्काइदिन पहलका लागि अनुरोध समेत गरेका छन् । टेलिफोन सम्पर्कमा आएका मकवानपुरका फुर्साङ लामाले सम्झौता सकिएको एक महिना बितिसक्दा पनि आफुहरुलाई काममा लगाउने कम्पनीसँग सम्पर्क हुन नसकेको बताए । चार महिनादेखि तलब नपाउँदा पहिला काम गरेको पैसा जोगाएर खाना खाईरहेको उनले बताए । ‘अब त पैसा पनि सकिन आँटिसक्यो ।’ उनले भने, ‘दुतावास र लेबर कोर्ट धाउँदा धाउँदै हामी हैरानीमा परिसक्यौं ।’ साउदीस्थित नेपाली दुतावासले कम्पनीमा मेल गरेको छु भन्दै पन्छिएको उनले बताए । दुई बर्ष अघि जावलाखेलमा रहेको लक्कि एचआर सोलुसनबाट उनीहरु साउदी गएका हुन् । सुरु देखिनैं सम्झौता अनुसारको तलब र काम नभएपछि नेपाल फर्कन मेनपावरमा पटक–पटक फोन गर्दा मेनपावरले कम्पनीमा जानकारी गराएको छु, तपाईहरुको समस्या समाधान हुन्छ भन्ने जवाफ दिएको रामजीवन साहले बताए । उनले भने–‘मेनपावरमा फोन गर्दा–गर्दा समस्या समाधान नभएपछि हामिले फोन गर्न पनि छोड्यौं ।’ सम्झौतामा खाना, बस्ने तथा कार्यथलोसम्म आउजाउ गर्न सवारी सुविधाको व्यबस्था भएपनि सुरुदेखि नपाएको लामाले बताए । साथै, दुई बर्षको सम्झौता सकिएपछि नेपाल फर्कदा प्लेन टिकट र बोनस दिने पनि भनिएको उनले बताए । उनले भने– ‘अरु सुविधा त यस्तै हो, पाकेको पैसा पनि छैन ।’ घर फर्कन पाईने आशमा केहि नेपाली काम छोडेर क्याम्पमा बसिरहेका लामाले जानकारी दिए । तर कम्पनी सम्पर्कमा नआएपछि समस्या बल्झिने हो की भन्ने तनावमा नेपालीहरु रहेको उनले बताए ।
