सुदीप निउरे, क्वालालम्पुर
मलेसियामा नेपाली कामदारहरुको आकस्मिक मृत्यु हुने सम्बन्धमा स्वास्थ्य मन्त्रालयको टोलीले एक अध्ययन गरेको छ । नेपाली कामदार किन आकस्मिक मृत्यको मुखमा परिरहेका छन भन्नेबारेमा टोलीले अध्ययन गरेको हो ।
पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर केदार प्रसाद बरालको नेतृत्वमा मलेसिया आएको ५ सदस्यिय टोलीले आकस्मिक मृत्युका घटना भएका स्थलहरु, कार्यस्थलहरु एवं कामदार बस्ने ठाउंहरुको स्थलगत निरीक्षण गरेको छ ।
ज्यान गुमाएका कामदारका साथीहरु, रोजगारदाताहरु, यस बिषयमा अध्ययन गरिरहेका मलेसियन चिकित्सकहरु लगाएत मलेसियास्थित नेपाली दुतावासका कर्मचारीहरु एवं संचारकर्मीहरुसंग पनि स्वास्थ्य मन्त्रालयको टोलीले छलफल गरेको छ । सबै पक्षसंग गरेका छलफल तथा त्यस छलफलको माध्यमबाट संकलन गरेका आबश्यक तथ्यांक र सुचनाबाट आकस्मिक मृत्युबारे निचोड निकाल्न सकिने अध्ययन टोलीको बिश्वास छ ।
भबिश्यमा यस समस्यालाई ब्यबस्थित र बैज्ञानिक अध्ययन अनुसन्धानको लागि मलाया युनिभर्सिटीको सम्बन्धित बिभागसंग प्रतिष्ठान तहमा समेत सहकार्य र सहयोग बढाउने बिषयमा समेत टोलीले बार्ता तथा छलफल गरेको छ । अध्ययन टोलीमा शहिद गंगालाल राष्टिय हृदयरोग केन्द्रका मुटुरोग बिशेषज्ञ डाक्टर रामेशराज कोईराला, स्वास्थ्य मन्त्रालयका सहसचिव सनत केसि, उपसचिव राजिव पोख्रेल एवं श्रम तथा रोजगार मन्त्रालयका उपसचिव अर्जुन प्रसाद खनाल सहभागी थिए ।
नेपाली दुतावासको अनुरोधमा मलेसिया आएको पांच सदस्यिय टोलीले मलेसियाका बिभिन्न स्थानमा गई नेपाली कामदारहरुको बास्तबिक स्वास्थ्य समस्याबारे छलफल तथा अन्र्तक्रिया समेत गरेको छ । छलफल तथा अनुगमनका क्रममा नेपाली कामदारहरु बस्ने अधिकांश होस्टल अत्यन्तै अव्यवस्थित भेटिएको, होस्टलहरु खुल्ला तथा अक्सिजन पर्याप्त नभएको टोलीले बतायो ।
एउटै कोठामा अत्याधिक नेपाली कामदार थुप्रिएर बस्नु पर्ने, भोजनहरु सन्तुलित नभएको, गुणस्तरहिन मादक पदार्थ सेवन गर्ने गरेको, लामो समयसम्म काम गर्नुपर्ने बध्यता, पानी कम पिउने गरेको, स्वास्थ्यमा ध्यान नदिएको, कामदारहरुको स्वास्थ्य समस्याप्रति रोजगारदाता पनि गम्भीर नभएको, उपचारमा ढिलाई गर्ने गरीएको, भाषाको समस्याले पनि कामदारले समयमा उपचार पाउन नसकेको अध्ययन टोलीको ठहर छ ।
नेपाली कामदारहरुले माछामासु प्रसस्त खाने तर सागपात तरकारी नखाने, काम गर्दा केमिकल जस्ता पदार्थहरुपनि चलाउने गरेको लगाएत कुराहरु मृत्युका सम्भावित कारकतत्वहरु हुनसक्ने अध्ययन टोलीले बताएको छ । त्यतिमात्र होईन कडा परिश्रम गरिरहेका कामदार घरयासी तथा पारिवारिक तनावका कारण पनि मृत्युको मुखमा पुग्ने गरेको टोली जनाएको छ ।
यसैबिच नेपाली कामदारहरुको स्वास्थ्य समस्याबारे मलेसियामा जनचेतना बढाउने मलेसियका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले बताएका छन् । हाल शुरु गरिएको अध्ययनलाई निचोडमा पुर्याउन अध्ययन टोलीलाई आबश्यक पर्ने थप सुचना तथा अन्य सहयोग अगाडी बढाउन आफुहरु तयार रहेको राजदुत डाक्टर बस्न्यातले प्रतिबद्धता ब्यक्त गरे । अध्ययन टोली शनिवार नेपाल फर्केको छ ।
यो पनि पढ्नुहोस्
मलेसियामा ६ महिनामा ३६ नेपालीद्धारा आत्महत्या, एक सय ६० को मृत्यु
