डोटी, पुष १७
जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् । खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना बिनाकाम बस्नुपर्ने र गाउँमा रोजगारी नभएका कारण धेरै युवा भारत जाने गरेका छन् । उनीहरु भारतमा बसेर तीन÷चार महिना कमाउने र पुनःखेती भित्र्याउन घर फर्कने गरेका छन् । अधिकांश युवा वैशाख महिनामा फर्किन्छन् भने कतिपय दसैँमा मात्रै फर्कने गरेका छन् ।
डोटीको चवरा चौतारा गाविसका करिब ३५ जना युवा एकै साथ भारत जान लाग्दै गर्दा दिपायल बसपार्कमा भेटिए । उक्त गाविसका गौरी गडसिलाले भने ‘हामीहरुलाई भारत जान रहर होइन, यहाँ रोजगारी पाइँदैन के गर्ने, घरमा एक्ली श्रीमती र साना दुई छोराछोरी छन्, दिपायलतिर सानो काम पाइए गर्थेँ’ उनले थपे, ‘यहाँ काम नै छैन, भए पनि छाक धान्न नसकिने तलबमा काम गर्नुपर्छ ।’
चवरा चौताराकै गगन बोहरा पहिला दीपायलमा बसेर काम गरेका तर हाल उनी भारत जाँदैछन् । नेपालमा भने अनुसारको तलब सुविधा नभएको उनको भनाइ छ । ‘महिनौँ काम गरेर घरमा खान ठिक्क हुन्छ, साहुको ऋण तिर्नै पर्यो’ गगनले भने, ‘यो बुढेसकालमा घर नजिकै सानो काम पाइए पनि गर्ने थिएँ ।’
उक्त गाविसका करिब ७५ प्रतिशत युवा अहिलेसम्म विदेश पलायन भएका छन् । त्यहाँका मात्र नभई जिल्लाभरिमै ६५ प्रतिशतभन्दा बढी युवा रोजगारीका सिलसिलामा बाहिरिएका छन् ।
जिल्लामा हुने विकास निर्माणका कार्यमा पूर्वाधार खडा गर्न छिमेकी जिल्ला कैलाली तथा भारतबाटै मिस्त्री ल्याउनुपर्ने बाध्यता छ । स्थानिय जनतामा सीप नहुनु र पढाइ छोडेर सानै उमेरमा भारत जाने गर्नाले समस्या आएको दिपायलका ठेकेदार रमेश खडायतले बताए । उनले कुनै पनि संरचना निर्माण कार्यमा डोटीमा महिला मात्रै हुने र पुरुष नपाइने गरेको बताए । रासस