काठमाडौं, मंसीर ६–
नेपालका ट्रेड यूनियनहरुको साझा संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) ले नेपालमा सरकारले ट्रेड यूनियन विरोधी कानून पास गरेको भन्दै त्यसविरुद्ध आइएलओमा उजुरी हालेको छ । संसदले हालै औद्योगिक व्यवसाय ऐन तथा विशेष क्षेत्र सम्वन्धि ऐन पारित गरेको थियो जसमा श्रमिकको हड्ताल गर्न पाउने अधिकार खोसिएको छ ।
उजुरीमा नेपाल सरकारले श्रमिक विरोधी कानून बनाउन लागेको भन्दै त्यसलाई रोक्न आवश्यक कदम चाल्न अनुरोध गरिएको छ । नेपालले संगठन स्वतन्त्रता लगायत आइएलओका विभिन्न अभिसन्धि, महासन्धिहरुमा हस्ताक्षर गरेका कारण नेपालका लागि आइएलओको सो सम्वन्धि निर्देशनले विशेष महत्व राख्छ ।
उजुरीमा हालै संसदले पारित गरी राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पुगेको औद्योगिक व्यवसाय ऐनलाई फिर्ता लिने वातावरण बनाउन माग गरिएको छ । यसैगरी विशेष आर्थिक क्षेत्रका लागि निर्माण भएको ऐनमा हड्ताल गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै त्यसको खारेजीको पनि माग गरिएको छ ।
यसैगरी अत्यावश्यक सेवा ऐनलाई अगाडी सार्दै सरकारले गर्ने गरेको जवर्जस्ती रोक्न पनि नेपालका ट्रेड यूनियनहरुले माग गरेका छन् । हाल नेपालले आईएलओद्धारा सुरक्षित गरिएका अधिकारहरुको सम्मान नगरेको उजुरीमा उल्लेख छ । आइएलओले व्यवस्था गरेको आधारभूत अधिकारको रक्षा गर्न पनि ट्रेड यूनियनहरुले माग गरेका छन् ।
सो उजुरीमा नेपाल सरकारलाई ट्रेड यूनियन विरोधी हुन नदिन तथा श्रमिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयका कानूनहरु बनाउँदा ट्रेड युनियनहरुसँग समन्वय र छलफल गर्ने वातावरण बनाइदिन पनि आग्रह गरिएको छ ।
जेटीयूसीसी नेपालका ट्रेड यूनियनहरुको साझा संस्था हो । यसले नेपालमा कार्यरत २० लाख श्रमिकको प्रतिनिधित्व गर्ने यसले जनाएको छ ।
यो पनि पढ्नुहोस्
एकदिन त पक्कै मेरो मायाले श्रीमानलाई मलेसियाबाट फर्काउँछ (भिडियो)