मोहन बस्याल, युएई, मंसीर ४
गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईले शुक्रबार आफ्नो बार्षिक भेला सम्पन्न गरेको छ । भेलामा बार्षिक रुपमा गरिएका कार्यक्रम र भएको आम्दानी खर्चको विवरण प्रस्तुत गरिएको थियो । भेलामा सहभागी केही प्रतिनिधिले बार्षिक कार्यक्रम र आयब्यय विवरणमा बिषयमा राम्ररी छलफल हुन नदिइएको गुनासो गरे ।
बार्षिक भेलाका अवसरमा एनआरएनए, युएईले मुलुकको सम्बृद्धि तथा बैदेशिक रोजगारीलाई मर्यादित बनाउने बिषयमा अन्तरक्रिया समेत आयोजना गरेको थियो । अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरे तथा बैदेशिक रोजगार विभागका निर्देशक गोविन्दमणि भुर्तेलको समेत सहभागिता भएको कार्यक्रममा विमानस्थलमा हुने सेटिङबाट घिमिरे अनविज्ञता प्रकट गरेपछि केहीबेर कार्यक्रम अवरुद्ध बनेको थियो ।
कार्यक्रम गैर आवासीय नेपाली संघ युएइएका अध्यक्ष सुदिप कार्कीको अध्यक्षता तथा युएईका लागि नेपाली कार्यबाहक राजदुत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समितिका उपाध्यक्ष भवन भटट, सल्लाहकारद्धय टिबी कार्की, आर के शर्मा, एनआरएनएका मध्यपूर्व संयोजक डिबि क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा घरेलु कामदारको अवस्था र समस्या, भिजिट भिसामा देखिएको समस्या लगायतका बिषयमा पनि छलफल भएको थियो । कार्यक्रममा मुलुकको सम्बृद्धिका बिषयमा पनि कार्यपत्र प्रस्तुत भएको थियो । कार्यक्रममा पत्रकार लक्ष्मण खनाल, उमाकान्त पाण्डे लगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटा, नेपाली बिजनेश काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, संघका सल्लाहकार निमेश गिरी लगायतले आफ्ना मन्तब्य राखेका थिए ।
यो पनि पढ्नुहोस्
कामदारको उद्धार गर्ने निर्देशन आउँछ तर बजेट आउँदैनः कार्यवाहक राजदुत टण्डन
