काठमाडौं, कात्तिक २५
रोजगारीका लागि मलेसिया र साउदी अरवमा समस्या देखिएपछि पछिल्लो समयमा कतार जाने नेपालीको संख्या पहिलो स्थानमा पुगेको छ । गत असोज महिनामा संस्थागत(मेनपावर कम्पनी मार्फत) बैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने २३ हजार ३२ नेपाली मध्ये ७ हजार ९ सय ८१ जना कतार उडेका थिए ।
गत भदौ महिनामा पनि कतार जानेको संख्या पहिलो स्थानमा थियो । भदौमा संस्थागत तर्फ अन्तिम श्रम स्वीकृति लिएका ३२ हजार ७ सय ६९ जना मध्ये १० हजार ७ सय ८३ जना कतारका लागि अनुमति लिइएको छ ।
यसैगरी असोज महिनामा साउदी अरवका लागि ६ हजार ३५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । भदौमा ९ हजार १ सय ५८ जनाले साउदीका लागि श्रम स्वीकृति लिएका छन् । गत आर्थिक बर्षमा साउदी अरव नेपालीको पहिलो गन्तव्य मुलुक थियो । तर अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपश्चात त्यहाँको रोजगारी संकटमा परेको छ । धेरै कम्पनीहरुले कामदारलाई तलव दिन सकेका छैनन भनें कतिपय कम्पनी टाट पल्टिएका छन् ।
यसैगरी दुई बर्ष अघिसम्म नेपालीको पहिलो गन्तव्य मुलुक मलेसिया जाने नेपालीको संख्या असोज महिनामा तेश्रो स्थानमा छ । गत आर्थिक बर्षमा पनि मलेसिया तेश्रो गन्तव्य मुलुकमा झरेको थियो । असोज महिनामा ५ हजार १ सय ८७ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । गत भदौमा ७ हजार २ सय ९२ नेपालीले मलेसियाका लागि श्रम स्वीकृति लिएका थिए ।
चौथोमा युएइका लागि अन्तिम श्रम स्वीकृति लिइएको छ । असोज महिनामा २ हजार ४ सय ५३ जनाले युएईका लागि अन्तिम श्रम स्वीृकृति लिएका छन् । पाँचौंमा कुवेतका लागि ७ सय ९५ जनाको अन्तिम श्रम स्वीकृति लिइएको छ ।
व्यवसायीहरु बैदेशिक रोजगारमा जाने कामदारको संख्या बृद्धि हुन नसकेको तर गन्तव्य मात्र फेरिएको बताउँछन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ साउदीमा तेलको मूल्यमा आएको गिरावटसँगै यमनसँगको बढेको तनावका कारण साउदी सरकारले हतियार खरिदमा गरेको लगानीले ठूला परियोजनाहरु रोकिंदा कामदारको माग घटेको बताउँछन् । नयाँ परियोजना आउन नसक्दा साउदीको रोजगारी घटेको उनको भनाई छ ।
कतारको नयाँ श्रम कानून सम्वन्धि जानकारीका लागि यो भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}
