काठमाडौं, भदो २३
मलेसिया सरकारले नेपाली नागरिकका लागि भिसा शुल्कमा पुनः भारी वृद्धि गरेको छ । मलेसियाले भदौ २७ गतेदेखि लागू हुने गरेर भिसा शुल्कमा ६ हजार ७ सय पुर्याएको छ । नेपाली कामदारको आकर्षक गन्तव्य मलेसियाले साढे २ वर्षको अवधिमा दुईपटक भिसा शुल्क बढाएको हो । मलेसियाले यसअघि ०७० पुसमा ७ सय रुपैयाा रहेको भिसा शुल्क बढाएर एकैपटक ३९ सय रुपैयाँ पुर्याएको थियो । मलेसियाले त्यसवेला भिसा शुल्क वृद्धिसागै भिसा प्रक्रियाको आउटसोर्सिङको काम मलेसिया भिएलएन नेपाल प्रालिलाई दिएको थियो । त्यस्तै, दूतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा यसअघि ’फोसा’ नामक संस्थालाई दिएको थियो ।
सो वेला विवाद भएपछि फोसा पछि हटेको थियो । अहिले सोही फोसाको कार्यालय भिएलएनले खरिद गरेर काम सुरु गर्न लागेको हो । नेपाल सरकारलाई कुनै जानकारी नै नदिई एकैपटक चर्को शुल्क वृद्धि गरेको भन्दै २ वर्षअघि भिएलएन नेपालको विषयमा व्यापक विरोध भएको थियो ।
सरकारले परराष्ट्र मन्त्रालयमार्फत भिसा शुल्क वृद्धिको विषयमा मलेसियामा समेत जानकारी माग्दा आफ्नो देशको भिसा शुल्कको निर्धारण समयसमयमा परिमार्जन हुने भनेपछि सरकारले आउटसोर्सिङ कम्पनी भिएलएनमाथि छानबिन गरेको थियो । भिएलएनमाथि व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छानबिन गर्दै यसलाई खारेज गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो ।
पछिल्लोपटक मलेसिया कामको खोजीमा मात्र नभई अध्ययन र घुमफिरका लागि नेपाली जाने क्रम बढेको छ । भिसा शुल्कको वृद्धिले नेपालबाट जाने कामदारलाई मुख्य रूपमा आर्थिक भार थपिनेछ ।
काठमाडौंस्थित मलेसियाली दूतावासका उपनियोग प्रमुख अहमद फादिल इस्मेलले मलेसिया सरकारको निर्णयअनुसार नै नेपालमा भिसा शुल्क वृद्धि भएको बताएका छन् । भिसाको सबै काम एकै ठाउँमा गर्ने गरी ‘वान स्टेप सेन्टर’ सञ्चालन गर्न लागेको उनले जनाए ।
मलेसियाको नयाँ निर्णयसँगै अब भिसाका लागि पासपोर्ट संकलन, भिसा प्रक्रियाको काम भिएलएनले गर्ने मलेसियाली दूतावासले जनाएको छ । अफिसियल भिसाका लागि भने मलेसियाली दूतावासमा नै सम्पर्क गर्नुपर्ने पनि दूतावासले जनाएको छ । दूतावासले नेपालीसँगै नेपालबाट मलेसिया जाने भारतीय र चिनियाँ नागरिकका लागि पनि भिसा शुल्क वृद्धि गरेको छ । दूतावासले भारतीयका लागि ७ हजार ५ सय र चिनियाँका लागि ६ हजार ९ सय रुपैयाँ शुल्क तोकेको जनाएको छ ।
साढे २ वर्षअघि मलेसियाले भिसा शुल्क वृद्धि गर्दा नेपाल सरकारले रोजगारीका सिलसिलामा मलेसिया जान चाहने नेपालीले चर्को भिसा शुल्क तिर्नुपर्ने अवस्थाप्रति ध्यानकर्षण भएको भन्दै घटाउन कूटनीतिक प्रयत्न गरेको थियो । पुन: भिसा शुल्क वृद्धि भएको विषयमा नेपाल सरकारलाई कुनै जानकारी नभएको परराष्ट्र मन्त्रालयका एक सहसचिवले बताए ।
मलेसिया जाने नेपाली कामदारलाई दिन–प्रतिदिन आर्थिक भार थपिँदै गएको छ । नेपालस्थित मलेसियाली दूतावासदेखि अन्य विभिन्न संस्थाले अनेकन शीर्षकमा कामदारसाग शुल्क लिदै र बढाउदै लगेका छन् । तीन महिनाअघिदेखि स्वास्थ्य परीक्षणका नाममा कामदारसाग माइग्राम्स शीर्षकमा थप ३३ सय रुपैयाँ असुल्ने गरिएको छ । त्यो रकम हुन्डीमार्फत मलेसिया पठाउने गरिएको छ ।
अहिले मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणबापत ४५ सय रुपैयाँ र माइग्राम्सका नाममा थप ३३ सय तिर्दै आइरहेका छन् । त्यस्तै, भिसा प्रमाणीकरणका लागि ४२ सय, कल्याणकारी कोषका लागि १ हजार, बिमाको ४५ सय २१ देखि ६२ सय ७०, अभिमुखीकरण तालिका लागि ७ सय तिर्दै आइरहेका छन् । त्यस्तै, निशुल्क टिकट र भिसा नआएको समयमा टिकट र भिसाको शुल्क पनि कामदारले नै तिर्नुपर्ने हुन्छ ।
यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकटकुमार शिशिरले लेखका हुन्