काठमाडौं -महोत्तरीको जलेश्वर । गाउँका एकजना एजेण्ट थिए बैदेशिक रोजगार सम्वन्धि काम गर्ने । तिनलाई भेट्न आउँथे तेह्रथुमका ओमभक्त मैनाली । उनी पनि एजेण्ट थिए । गाउँका युवा धेरैजसो विदेश थिए । कोहि मलेसिया, कोहि साउदी त कोहि कतार । रामवोध साह र प्रमोद साहले पनि योजना बुने विदेश उड्ने । एजेण्ट छँदैथिए गाउँमै आउजाउ गरिरहने उनै मैनाली ।
साहद्धयले पासपोर्ट बुझाए र साथमा बुझाए जनही ८५ हजार । मलेसिया उड्ने टुँगो भयो । उनीहरु मेगा रिभर नामको कम्पनीमा प्लाष्टिकको प्याकिङ कामका लागि उडे । ओभरटाइम समेत जोडेर सम्झौता थियो मासिक १४ सय ६ रिंगिटको ।
तर मलेसिया उत्रेपछि न काम न तलव मिल्यो नेपालमा भनेको । एकातिर उनीहरु वेल्डिङको काममा पुगे अर्कातिर ११ घण्टा काम गरेको तलव थियो ९ सय रिंगिट । आफूहरुलाई चुर्लुम्म डुवाएको उनीहरुले त्यसपछि बुझे । अनी सुरु भयो तारन्तार फोन गर्ने काम । उनीहरुले दिनैपिच्छे नेपालमा म्यानपावर कम्पनीमा कुरा गरे । म्यानपावर कम्पनीले मिलाउँछु भन्दै केहि दिन झुलायो ।
एक महिनासम्म उनीहरु त्यसरी नै काम गर्दै रहे । महिना मरेपछि तलव पनि दिएन कम्पनीले । काम सप्लाई कम्पनीको थियो । बल्लतल्ल उनीहरुले खान समेत पैसा नभएको बताएपछि दुवैजनालाई एकसय रिंगिट दियो जसले उनीहरुले त्यहाँ एक महिना बस्दा खाएको रकम चुक्ता गरे । म्यानपावरको मिलाउँछु भन्ने कुरा उहि थियो ।
एक महिना १० दिनपछि म्यानपावर कम्पनीले काम छोडेर बस्न सल्लाह दियो । उनीहरुले पनि त्यसै गरे । तर नेपाल झिकाउने कुनै छेकछन्द थिएन । पाँच दिनपछि भागेर नेपाल आउन र नेपाल आइसकेपछि आफूले रकम फिर्ता गर्ने जानकारी दिए म्यानपावरका मान्छेले । कुनै उपाय नदेखेपछि घरबाट १ लाख २५ हजार मगाएर साहद्धय नेपाल उत्रिए मार्च २९ तारिखमा ।
त्यसपछि सुरु भयो म्यानपावर कम्पनीको चक्कर काट्ने काम । नेपाल उत्रेको भोलीपल्ट देखि नै उनीहरु म्यानपावर कम्पनीमा दिनभरी धर्ना बसेपनि उनीहरुको कुनै सुनुवाई भएन । बल्लतल्ल तेश्रो दिन कुरा भयो । उनीहरुलाई दुईटा प्रस्ताव आयो । कि त अर्को कुनै देश जान पासपोर्ट बनाएर ल्याउने वा एक महिना पर्खेर जनही ६० हजार बुझ्ने । दोश्रो प्रस्ताव मान्न साहद्धय तयार भएपनि कुनै लिखित कागज गर्न मानेन म्यानपावर कम्पनीले ।
बैदेशिक रोजगारीका नाममा ठूलै रकम डुविसकेका साहद्धय त्यसपछि मद्धत माग्दै पुगे प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) को कार्यालय । मलेसियामा हुँदा नै पिएसनसीसीका मलेसिया प्रतिनिधि रामचन्द्र नेपालले उनीहरुलाई नेपाल फर्केपछि कुनै अप्ठ्यारो परेमा मद्धतका लागि त्यहाँ जान सुझाएका थिए । त्यहि सम्पर्कको डोरी समात्दै उनीहरु पुगे ।
त्यसपछि सुरु भयो अर्को झमेलोको काम बैदेशिक रोजगार विभागको चक्कर काट्ने । पिएनसीसीको सहयोगमा पीडितले विभागमा उजुरी हाले । तर १६ दिनसम्म उनीको कुनै सुनुवाई भएन । बल्ल तल्ल उनीहरुको उजुरीमा सुनुवाई सुरु भयो । त्यस्तो सुनुवाईमा पनि म्यानपावरकै मान्छेको हात माथि हुने गरेको अनुभव छ रामवोध साहको । उनी भन्छन् ‘त्यहाँ हामीजस्तो पीडितको कुरा सुनिंदो रहेनछ । म्यानपावरको मान्छेले जतिदिन माग्यो, उति दिन दिंदा रहेछन् । खाने बस्ने सहयोग नभएको भए हामी मुद्धा लड्नै सक्दैनथ्यौं ।’
विभिन्न चरणको छलफलपछि ५० हजार हुँदै बल्लतल्ल म्यानपावर कम्पनी जनही ८० हजार दिन तयार भयो । बाँकी रकम एजेण्टले तिर्नुपर्ने अडानमा रह्यो म्यानपावर । त्यसपछि अर्को चक्करमा परे उनीहरु । एजेण्ट मैनालीलाई समात्न पत्र काटिदेउ न भन्दा विभागले त्यसो गर्न नमिल्ने जवाफ दियो । कहिंबाट उनीहरुले नै पक्रेर ल्याउनु पर्ने भनाई थियो विभागका अधिकारीको ।
बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाइसकेका उनीहरुले अनेक उपक्रम गरेर मैनालीलाई पक्रेपछि उनले ५० हजारको चेक काटिदिए । म्यानपावर कम्पनीले पनि जनही ८० हजारको चेक दिएपछि राहतको स्वास फेरे उनीहरुले । तर समस्याले उनीहरुलाई छोड्ने सुर कसेको थिएन ।
एजेण्टले दिएको सनराइज बैंकको चेक बोकेर साट्न उनीहरु बैंकमा पुग्दा खातामा रकम थिएन । त्यो चेक बाउन्स भएको प्रमाणित गरिदिन बैंक तयार भएन । अर्थात समस्या अझै सकिएन । फेरी उनीहरु गुहार माग्दै विभाग पुगे जहाँबाट पहिले जस्तै उति सहयोग हुने अवस्था नै थिएन । बल्लतल्ल उनीहरुले कृषि विकास बैंकबाट चेक बाउन्स भएको प्रमाणित गराएपछि केस पुग्यो प्रहरीमा ।
प्रहरीले मैनालीलाई पक्रेपछि भनें केहि होलो भयो उनीहरुलाई । मैनाली पक्राउ परेपछि उनका आफन्तले केहि चरणको छलछामको प्रयत्नपछि रकम तिर्ने कवोल गरे । अन्ततः बैशाख २९ गते ५० हजार पाएपछि अव रामवोध र प्रमोद बैशाख ३० गते साँझ जलेश्वरको गाडी चढ्न तत्पर थिए ।
उनीहरुलाई न्याय दिलाउन खटेका पिएनसीसीका कोषाध्यक्ष देवी खत्री साहद्धयलाई ठूलो प्रयत्न पश्चात रकम दिलाउन सफल भएको बताउँछन् । विभाग, प्रहरीबाट समेत पीडितका पक्षमा निर्णय गराउन निक्कै प्रयत्न गर्नुपरेको उनी बताउँछन् ।
महिनौं झेलेको कष्टका बीच आफूले फिर्ता पाएको रकमले उनीहरुलाई धेरै राहत दिएको छ । झण्डै डेढ महिना पिएनसीसीको सेल्टरमा बसेर विभाग, प्रहरी, एजेण्ट, म्यानपावरको चक्कर काटेका उनीहरु अव त्यसबाट मुक्त भएका छन् । साथै उनीहरु अव बैदेशिक रोजगारमा जाने सपनाबाट पनि व्यूँझिएका छन् । अव के गर्नुहुन्छ, फेरी कुनै देश जानुहुन्छ की भन्ने प्रश्नमा तत्काल मुण्टो हल्लाउँदै आफूहरु कुनै हालतमा अव विदेश नजाने उनीहरु बताउँछन् । आफ्नै देशमा कुनै काम गर्छौ, कुनै सानोतिनो व्यापार गर्छौं, तर अव विदेश जान्नौं दुवैको एक स्वर छ ।
