काठमाडौं, ईपीएस कोरिया शाखाले काम गर्न दक्षिण कोरिया जानेका लागि वैशाख १५ देखि आवेदन फारम खुला गर्ने भएको छ । श्रम तथा रोजगारमन्त्री दीपक बोहराको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिको बैठकले आगामी वैशाख १५ देखि १८ गतेसम्म फारम भराउने निर्णय गरेको हो ।
सन् २०१७ मा काम गर्न दक्षिण कोरिया जाने युवाका लागि ईपीएस कोरिया शाखाले आवेदन खुला गरेको हो । काठमाडौं उपत्यकाको पाँच र उपत्यकाबाहिर पाँच स्थानबाट फारम बुझाउन पाइने व्यवस्था मिलाइएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार उपत्यकाबाहिर डँडेलधुरा, पोखरा, धरान, बुटवल र जनकपुरबाट फारम बुझाउन पाइनेछ । काठमाडौं उपत्यकाका केन्द्र भने पछि निर्धारण गरिने ईपीएसले जानकारी दिएको छ ।
आवेदन फारम बुझाउन प्रतिव्यक्ति २५ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । यसपटकदेखि फारम बुझाउँदा नै एमआरपी राहदानी अनिवार्य गरिएको ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले जानकारी दिए । भाषा परीक्षा भने आगामी असार ४ र ५ गते हुनेछ । गत वर्षजस्तै यसपटक पनि काठमाडौं र पोखरामा भाषा परीक्षा लिइनेछ ।
अन्नपूर्ण पोष्टबाट