मलेसियामा कहाँ हराए उनी ?

घरमा श्रीमति सुत्केरी थिइन् । छोरीको न्वारन गरेकै दिन उनी मलेसियाका लागि उडेका थिए । छोरी गीता ठ्याक्कै ८ बर्षकी भइन् । तर उनका बाबु टीकाराम घर फर्केका छैनन् ।

नवलपरासीको धौवादी गाविस २ जुकेपानीको एउटा एकतले घर । सानो भान्साबाट धुँवा बाहिर निस्किंदै छ । ५९ बर्षे बुद्धिसरा राना छोरो मलेसियामै अलप भएको कुरा सुनाउँदै गइन् ।

टीकारामको कमाई नेपालमै पनि नराम्रो थिएन । लुम्विनितिर विदेशीलाई घुमाउने काम गर्थे उनी । बेला बेलामा घर आउजाउ गरिरहन्थे । कमाई पनि चित्त बुझ्दै थियो । अकस्मात टीकारामले पनि विदेशको सपना देख्न थाले । अनी घरमा करकर सुरु भयो ।

‘हामीले धेरै सम्झायौं, यहिं कमाएर खाएकै छस् नजा भनेर धेरै भन्यौं । तर दुनियाँको छोरा विदेश गएको छ, म जाँदा के हुन्छ र भनेर ढिप्पी कस्यो’ बुद्धिसरा भन्दै गइन् । त्यसपछि आइपर्यो ऋण खोज्ने चटारो ।

छोराले साह्रै जिद्धि गरेपछि बुद्धिसराले भाञ्जीसँग १ लाख ८० हजार ऋण सापटी लिइन् । त्यसमध्ये १ लाख ५० हजार टीकारामलाई विदेश पठाइदिने एजेण्टले उडाए । बाँकी ३० हजार पनि टीकारामकै लागि लैजाने सामान किन्न र सुत्केरी बुहारी उकास्नमै खर्च भयो ।

बुद्धिसरालाई त्यो दिनको सम्झना अझै ताजै छ । असारको महिना थियो । घरमा छोरीको न्वारन सकेर झोला कसेर मलेसिया उडे टीकाराम । उमेर त्यस्तै २३ मा हिंड्दै थिए होला । खाइलाग्दो ज्यान, गोरो पुक्क परेका गाला । घरबाट टीका लाएर हिंडेका टीकाराम त्यसपछि कहिल्यै नेपाल फर्केनन् ।

मलेसिया पुगेको दुई बर्षसम्म उनी बेला बेला फोन गरिरहन्थे । दुर्ई पटक गरी ९० हजार पैसा पनि पठाए । त्यसमध्ये ४० हजार चाहिं नागरिकता फुत्काउन रहेछ भन्ने लाग्छ बुद्धिसरालाई ।

मलेसिया पुगेको दुई बर्षपछि एकाएक टीकारामले घरसँगको सम्पर्क टुटाए । फोन कहिल्यै आउन छोड्यो उनको । मलेसियामा उनले फोन नम्वर फेरेपछि घरमा बसेकाहरुले सम्पर्क गर्ने मेलो मिलाउनै सकेनन् । यसरी नै १ बर्ष वित्यो । तर एकदिन अकस्मात फोन गरे टीकारामले घरमा ।

नागरिकता पठाइदिनु भनेपछि आमाले नपठाउने अड्डी कसिन् । भोली तेला छोराछोरीको नागरिकता बनाउन चाहिन्छ भन्दै आमाले नमानेपछि आफु छिट्टै फर्किने भएकाले पठाइदिनु भन्दै आमालाई फकाइ फुस्ल्याई बनाए टीकारामले । त्यसपछि उनले ४० हजार रकम समेत पठाइदिए । त्यहि नागरिकता फकाउन पो पैसा पठाएको रैछ बुद्धिसरा भन्छिन् ।

एकजना आफन्त मार्फत नागरिकता मलेसिया पठाइदिएपछि फेरी उहितालमा हराए उनी । त्यसयताका ५ बर्र्ष कुनै खोजखवर विनानै उनी मलेसियामा बेपत्ता छन् । अर्थात परिवारले उनको खुटखवर पाउन सकेको छैन ।

टीकाराम कहाँ गए होला त ? ‘खै बाबु भगवान जानुन्’ ज्वरोले गलाएकी बुद्धिसरा भन्छिन् फर्केर आए घर छ, बाउआमा, जहान, छोराछोरी छन् ।’ उनलाई छोरोले मलेसियामा अर्कै घरजम गरेर बसे झैं लाग्न थालेको छ । ‘जुन देखे जुनै राम्रो घाम देखे घाम भन्नेलाई कसैको क्यै लाग्दो रै’नछ, के भनौ र ?’ विरक्त भावमा उनी भन्दै गइन् ।

छोरो त हरायो, सँगसँगै घरमैमा जोडिएको ६ कठ्ठा जग्गा पनि सकियो राना परिवारको । टीकारामलाई मलेसिया पठाउँदा लिएको ऋण तिर्ने उपाय नभएपछि त्यहि जग्गा पास गरिदिए उनीहरुले । त्यसैले कान्छो छोराको मलाया प्रवास बुद्धिसराका लागि महंगो परेको छ ।

टीकारामले घरमा छोडेर गएका १३ बर्षे छोरो र ८ बर्षे छोरी हुर्किदै छन् । उनीहरुलाई पालनपोषण गर्ने अरु उपाय नभएपछि बुद्धिसराकी बुहारी पनि विदेश हान्निइन् । ‘बुहारीले आमा कमाउन जान्छु भनेपछि ऋण गरेर पठाइदिएँ’ उनले भनिन् । २० हजार ऋण गरेर साउदी गएकी बुहारी रत्नकलाले १ लाख ८० हजार पठाइन् । २ बर्ष काम गरेर तीन महिनाको छुट्टीमा आएकी उनी फेरी अर्को एकपटकलाई भनेर विदेश नै उडेकी छिन् । त्यसैले प्यारालाइसिस्ले थलिएका श्रीमान् र नाती नातिना स्याहारेर बसेकी छिन् बुद्धिसरा ।

घरमा टीकारामले पठाइदिएको एउटा पुरानो फोटो छ । फोटोमा उनी ग्रेटप्याक कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्दै गरेको जस्तो देखिन्छ । टीकारामका बारेमा कुनै खोजखवर गर्न तपाई सक्नुहुन्छ की ?

सुनिल न्यौपाने, नवलपरासी 

तपाईको भनाई ?

यो पनि पढ्नुहोस्

https://deshparadesh.com/missing-migrant-krishna-bk-nawalparashi-in-saudi/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय