काठमाडौं। मलेसियाले एजेन्सी छनोटको विवादमा नेपालबाट अदक्ष कामदार भर्ना रोकेको मौकामा बंगलादेश भने सोही बजारमा विद्यमान व्यवस्था अन्तर्गत नै श्रमिक पठाउने तयारीमा जुटेको छ। नेपाल कूटनीतिक गतिरोधमा फसेको अवस्थामा बंगलादेशले मलेसियाको श्रम बजारमा आफ्नो उपस्थिति बलियो बनाउने कसरत गरेको हो । यस्तो कसरत बंगलादेशले यस अगाडी पनि पटक पटक गर्दै आएको छ ।
मलेसियाको मानव संसाधन मन्त्रालयले अक्टोबर १ देखि नेपाली कामदार आकांक्षीको बायोमेडिकल परीक्षण रोकेको छ। यसले नयाँ कलिङ भिसा जारी हुने प्रक्रिया व्यवहारतः ठप्प बनाएको छ। विवादको जड मलेसियाले छनोट गरेका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी हुन्, जसलाई नेपालले एकाधिकार रूपमा काम गर्ने कानुनी मान्यता दिन अस्वीकार गरेको छ।
बंगलादेशको तयारी
बंगलादेशका प्रवासी कल्याणसम्बन्धी राज्यमन्त्री नुरुल हक नुरले बुधबार मलेसियामा कामदार पठाउने काम नोभेम्बरको पहिलो साताभित्र सुरु हुन सक्ने बताएका छन्। बंगलादेशी सञ्चारमाध्यमका अनुसार मेडिकल परीक्षण गर्ने केन्द्रको सूची अक्टोबर ३१ सम्म प्रकाशित हुने र परीक्षण नोभेम्बर १ बाट सुरु हुन सक्ने अपेक्षा छ।
सुरुमा सरकारी स्वामित्वको बंगलादेश ओभरसिज इम्प्लोयमेन्ट एन्ड सर्भिसेज लिमिटेड मार्फत करिब १० हजार कामदार पठाउने योजना छ। मलेसियाले बंगलादेशका ३३८ वटा एजेन्सीलाई मान्यता दिएको छ। यी एजेन्सीले मलेसियाको विद्यमान प्रणाली र बंगलादेशी दूतावासको सेवा केन्द्रमार्फत माग पत्र पेस गर्नेछन्।
बंगलादेशले अक्टोबर १५ मा मलेसियामा भर्ना पुनः सुरु गर्ने घोषणा गरेको थियो। सन् २०२४ मा अनियमितताका आरोपपछि मलेसियाले बंगलादेशबाट भर्ना निलम्बन गरेको थियो। सन् २०२२ मा मलेसियाले छानेका १०१ एजेन्सीको सिन्डिकेटमाथि उच्च भर्ना खर्च र श्रम शोषणका आरोप लागेका थिए। बंगलादेशले सबै योग्य एजेन्सीलाई सहभागी गराउन चाहेको भए पनि मलेसियाले बंगलादेश ओभरसिज इम्प्लोयमेन्ट एन्ड सर्भिसेज लिमिटेड र २५ वटा निजी एजेन्सी छनोट गरेको थियो। थप ३१२ वटा एजेन्सीले तिनलाई सहयोग गर्नेछन्। भर्ना खर्च अझै निर्धारण भएको छैन।
नेपालको अडान, मलेसियाको रवैया
नेपालले भने एकतर्फी छनोटमा आपत्ति जनाउँदै संयुक्त कार्यदलको बैठक नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा राख्न प्रस्ताव गरेको छ। नेपालको अडान आपसी सहमति नभएसम्म विद्यमान संयन्त्र नै जारी रहनुपर्ने छ। तर मलेसियाका मानव संसाधन मन्त्री रामनन रामाकृष्णनले अक्टोबर ६ को पत्र मार्फत हालको ढाँचा परिवर्तन नगर्ने स्पष्ट पारेका छन्।
गत आर्थिक वर्षमा मलेसियाले १ लाख ३२ हजार नेपाली कामदारलाई रोजगारी दिएको थियो। हाल करिब ४ लाख नेपाली त्यहाँ कार्यरत छन्, र नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा भित्रिने विप्रेषणको करिब २० प्रतिशत मलेसियाबाट आउँछ।
