कतारमा विदेशी श्रमिक माथि शोषण र दुव्र्यवहार, करोडौं डलर भुक्तानी गर्नुपर्ने

कतारमा मानवअधिकार दुव्र्यवहार भोगेका लाखौं आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्न फिफाले कम्तिमा ४४ करोड अमेरिकी डलर छुट्याउनुपर्ने एम्नेस्टी इन्टरनेसनलले दावी गरेको छ । विश्वकप फुटवल प्रतियोगिता सुरू हुनु ६ महिना अगाडी सार्वजनिक गरिएको एउटा नयाँ प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनसँगै सार्वजनिक गरिएको एउटा खुल्ला पत्रमा एम्नेस्टी इन्टरनेसनल र मानवअधिकार संस्थाहरूको सञ्जाल तथा फुटबलका प्रशंसक समूहहरूले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई एउटा विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न कतारसँग सहकार्य गर्न आग्रह गरेका छन् । “कतारमा आयोजना हुने प्रतियोगितासँग सम्बन्धित सबै श्रम दुव्र्यवहारका लागि क्षतिपूर्ति प्रदान गर्ने तथा भविष्यमा आयोजना हुने प्रतियोगिताहरूमा त्यस्ता दुव्र्यवहारहरू नदोहोरिने कुरालाई कतार र फिफा दुवैले सुनिश्चित गर्नुपर्दछ” सो पत्रमा भनिएको छ ।

फिफाले सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको जिम्मेवारी दिएको हो । त्यसयता भएका श्रृङ्खलाबद्ध दुव्र्यवहारहरूमा क्षतिपूर्ति प्रदान गर्नका लागि फिफालाई कम्तिमा विश्वकप खेलमा पुरस्कार स्वरूप प्रदान गर्नका लागि छुट्ट्याइएको ४४ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्न ति संस्थाहरुले आव्हान गरेका हुन् । श्रमिकलाई दिइने सो रकम फिफाले यस प्रतियोगिताबाट कमाउने ६ अरब अमेरिकी डलरको सानो अंश मात्र भएको एम्नेष्टिको ठहर छ ।

यसैगरीे विश्वकप फुटवल प्रतियोगिताका लागि काम गरेर ज्याला नपाएका तथा मृत्यु भएका परिवारका सदस्यहरुलाई फिफा तथा कतारले क्षतिपूर्ति रकम दिनु पर्ने ह्यूमन राईट्स वाचले माग गरेको छ । ह्यूमन राईट्स वाचका एकजना निर्देशक मिंकी वोर्डेनले विश्वकप फुटवल प्रतियोगिताको तयारीका दौरान अन्यायमा परेका श्रमिकहरुलाई क्षतिपूर्ति उपलव्ध गराउन तत्काल कोषको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

विश्वकप फुटवल प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गर्दा नै श्रमिकको सुरक्षाको विषयमा फिफाले कुनै शर्त कतारसँग नराखेकोमा ति संस्थाहरुले आपत्ति जनाउँदै आएका छन् । एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले प्रतियोगिता आयोजनाको अधिकार सुम्पने क्रममा श्रमिकको मानवअधिकारका बारेमा केही पनि उल्लेख नगरिएनु र श्रम सुरक्षासँग सम्बन्धित कुनै शर्तहरू नराख्नुले फिफाले ती जोखिमहरू रोक्न वा न्यूनीकरण गर्न अत्यन्तै न्यून प्रयास गरेको बताएकी छन् । केहि समय अगाडी एम्नेष्टि ईन्टरनेशनलले नै कतारमा कसरी सुरक्षा गार्डहरुमाथि चरम शोषण भएको छ भन्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

नयाँ रिपोर्टका सन्दर्भमा एम्नेष्टि इन्टरनेशनलले जारी गरेको विज्ञप्तीमा भनिएको छ “सम्भावित मानवअधिकार दुव्र्यवहारहरूप्रति आँखा चिम्लिएर र यसलाई रोक्नमा विफल भएर फिफाले रंगशाला र आधिकारिक होटेलहरूबाहेक कतारमा विश्वकपसम्बन्धी परियोजनाहरूमा संलग्न आप्रवासी श्रमिकहरूको व्यापक दुव्र्यवहारमा निसन्देह: योगदान पुर्याएको छ ।”

एम्नेस्टी इन्टरनेसनलले श्रमिकहरुलाई क्षतिपूर्ति प्रदान गर्न र भविष्यमा श्रमिकहरूको अधिकारको संरक्षणको लागि गरिने पहलहरूका लागि कम्तिमा ४४ करोड अमेरिकी डलर आवश्यक हुन भन्दै भुक्तानी गर्न बाँकी रहेको पारिश्रमिक, लाखौं कामदारहरूले तिरेको चर्को भर्ना शुल्क र घाइते तथा मृत्यु भएकाहरूलाई दिनुपर्ने क्षतिपूर्तिको लागि चाहिने कुल रकम भने अझ बढी हुन सक्ने जनाएको छ । यसको मूल्याङ्कन युनियन, नागरिक समाज संस्थाहरू, अन्तर्राष्ट्रिय श्रम संगठन र अन्यहरूसँगको सहभागितामूलक प्रक्रियाको आधारमा गरिनुपर्ने माग एम्नेष्टिले गरेको छ ।

विगतका दुव्र्यवहारको पीडा मेट्न धेरै ढिला भएतापनि फिफा र कतारले क्षतिपूर्ति प्रदान गर्न र भविष्यमा यस्ता दुव्र्यवहार हुनबाट रोक्न सक्ने भन्दै एम्नेष्टिले प्रतियोगिताका लागि काम गरेका श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने तथा त्यस्ता दुव्र्यवहारहरू पुन: कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्नका लागि आवश्यक कदमहरू चाल्नु पर्ने जनाएको हो ।

फिफा र कतारले सहकार्य गरी श्रमिकहरूलाई केन्द्रमा राख्नेगरी र श्रमिकले झेलेका कुनै पनि हानीहरूलाई सम्बोधन हुने सुनिश्चित गर्ने गरी एउटा विस्तृत क्षतिपूर्ति कार्यक्रम ल्याउन फिफा र कतारले सहकार्य गर्ने समय आएको एम्नेष्टिकी महासचिव आग्नेस कालामार्डले भनेकी छन् । अन्तर्राष्ट्रिय कानुन र फिफाको आफ्नै नियम अनुरूप मानवअधिकार उल्लंघन रोक्ने र पीडितहरूलाई उपचार प्रदान गर्ने दायित्व र जिम्मेवारी कतार र फिफा दुवैमा रहेको एम्नेस्टी इन्टरनेसनल र अन्य संस्थाहरूले आह्वान गरेको पत्रमा भनिएको छ ।

सन् २०१३ मा बङ्गलादेशको राना प्लाजामा १ हजार ३ सय भन्दा बढी श्रमिकहरूको ज्यान जाने गरी भएको विपत्तिपछिको क्षतिपूर्ति कार्यक्रमलाई स्मरण गर्दै ति संस्थाहरुले श्रमिक, ट्रेड युनियन, अन्तर्राष्ट्रिय श्रम संगठन र नागरिक समाजको पूर्ण सहभागितामा एउटा कार्यक्रम स्थापना गर्न आग्रह गरेका छन् ।

सन् २०१० देखि विश्वकप २०२२ आयोजना गर्न आवश्यक रङ्गशाला, होटल, यातायात र अन्य पूर्वाधारहरू निर्माण कार्यमा संलग्न लाखौं आप्रवासी श्रमिकहरूले मानवअधिकार दुव्र्यवहारको सामना गर्दै आएको भन्दै एम्नेष्टि ईन्टरनेशनल, ह्युमन राइट्स वाच लगायतका संस्थाहरुले निरन्तर आवाज उठाउँदै आएका छन् । अधिकांश आप्रवासी श्रमिकहरूले कतारमा आफ्नो रोजगारी सुनिश्चत गर्नका लागि प्रति श्रमिक औसत १ हजार ३ सय अमेरिकी डलरभन्दा बढी गैरकानुनी भर्ना शुल्क तिर्ने गरेको एम्नेष्टिको दावी छ ।

सन् २०१८ देखि कतारले श्रमिकहरूको अधिकारमा सुधार ल्याउने उद्देश्यले एकपछि अर्को महत्वपूर्ण श्रम सुधारका कार्यक्रमहरू लागू गरेपनि सो सुधार कार्यक्रम कार्यान्वयन नहुनाले दुव्र्यवहारहरू कायमै रहेको तर्क गरिएको छ । सन् २०१४ मा पनि सुप्रिम कमिटीज वर्कर वेलफेयर स्ट्याण्डर्डमार्फत रंगशाला जस्ता फिफासँग सम्बन्धित आधिकारिक पूर्वाधार निर्माणस्थलहरूमा काम गर्ने श्रमिकहरूका लागि सुधार कार्यक्रम लागू गरिएपनि ति मापदण्डहरूलाई सामान्यतया सम्मान नगरिएको र विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा कार्यरत लाखौं श्रमिकहरूहरू मध्ये थोरैलाई मात्र यसमा समेटिएको एम्नेष्टि ईन्टरनेशनलको निश्कर्ष छ । कतारमा आप्रवासी श्रमिकले भोग्नु परेको मानव अधिकार दुव्र्यवहारका बारेमा जान्न यहाँ क्लीक गर्नुहोस् ।

आप्रवासी श्रमिक माथि हुने शोषण कतारमा मात्र नभई अन्य मुलुकहरुमा पनि चर्को रहेको छ । वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई कसरी राज्य संयन्त्रकै मिलेमतोमा ठगि र शोषण गरिन्छ भन्ने उदाहरण मलेसियाका पूर्व उपप्रधानमन्त्री जाहिदी हमिदी संलग्न घटनाले पनि पुष्टि गरेको छ । उनले श्रमिक माथि आर्थिक ठगि गर्ने अनुमति दिएवापत निजि कम्पनीबाट मासिक २ लाख सिंगापुर डलर असुल्ने गरेको समाचार बुधवार मात्र सार्वजनिक भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय