दक्षिण एसियाली श्रमिकको युरोप सपनाः स्थायी आवासको आशमा चर्को लागत

– रञ्जना लम्साल/नवलपुर
– सन् २०२२ मा रोमानियाले विदेशी श्रमिकको कोटा दोव्वर बनायो । सन् २०२१ मा इयू बाहेकका मुलुकबाट आउने श्रमिकका लागि ५० हजार कोटा रहेकोमा सन् २०२२ मा त्यसलाई दोव्वरले बृद्धि गरी १ लाख बनाइयो । यसले रोमानिया जाने दक्षिण एसियाली श्रमिकको संख्या पनि ह्वत्तै बढेको छ ।

– सन् २०२२ मा बंगलादेशबाट रोजगारीका लागि विदेशिनेको संख्या इतिहासमै सबैभन्दा बढी रह्यो । सो वर्ष ११ लाख ३५ हजार भन्दा बढी बंगलादेशी श्रमिक रोजगारीका लागि विदेश गए । व्यूरो अफ मेनपावर एम्प्लोयमेण्ट एण्ड ट्रेनिङ (बिएमइटी), बंगलादेशका अनुसार सन् २०२१ मा ६ लाख १७ हजार बंगलादेशी श्रमिक वैदेशिक रोजगारका लागि गएका थिए । यद्यपी बंगलादेशबाट रोजगारीका लागि खाडीका मुलुकहरुमा जाने श्रमिकको संख्या ठूलो छ, तर युरोपका मुलुकहरुमा रोजगारीका लागि जाने बंगलादेशी श्रमिकको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

– नेपालबाट रोजगारीका लागि विदेश जानेहरुको गन्तव्य खाडीका मुलुकहरु र मलेसिया रहँदै आएकोमा पछिल्लो चार पाँच बर्षयता युरोपका मुलुकहरु गन्तव्य मुलुकका रुपमा विकसित भएका छन् ।

– १७ लाख श्रीलंकाली नागरिकहरु विदेशमा कार्यरत छन् । श्रीलंकाबाट सरदर बर्षमा २ लाख व्यक्ति रोजगारीका लागि विदेश जाने गरेकोमा सन् २०२२ मा ३ लाख ११ हजार विदेश गएका थिए ।

खाडीका मुलुकहरु र मलेसियाको श्रमिकको अधिकाँश माग धान्ने दक्षिण एसियाली मुलुकबाट पछिल्ला केहि बर्षयता रोजगारीका लागि युरोप जानेहरुको संख्यामा बृद्धि भएको छ । यसले दक्षिण एसियाली मुलुकका श्रमिकको रोजगारी गन्तव्यको चित्र फेरिन थालेको छ । नेपाल, बंगलादेश लगायतका मुलुकका सरकारले युरोपका कतिपय मुलुकलाई सम्भावित रोजगारी गन्तव्यका रुपमा पहिचान गरेका छन् र ति खाडी मुलुकहरु र मलेसियाको विकल्पको रुपमा विकास गर्न प्रयास गरेका छन् ।

भौगोलिक रुपमा सानो दक्षिण एसियाली मुलुक नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण श्रोत वैदेशिक रोजगार हो । न्यून ज्याला प्राप्त हुने न्यून दक्ष रोजगारीका लागि हरेक बर्ष नेपालबाट ६ लाखको हाराहारीमा श्रमिकहरु विदेश जाने गरेका छन् । त्यसमध्ये बहुसंख्यकको गन्तव्य खाडीका मुलुकहरु र मलेसिया हुने गरेको छ । नेपालबाट रोजगारीका लागि विदेश जानेहरुलाई श्रम स्वीकृति दिने सरकारी निकाय वैदेशिक रोजगार विभाग हो । विभागको तथ्याँक अनुसार सन् २०१६-१७ सम्म नेपालबाट रोजगारीका लागि युरोपका मुलुकहरुमा जाने संख्या नगन्य नै रहेकोमा अहिले त्यो बढेको छ । माल्टा, रोमानिया, पोर्चुगल, पोल्याण्ड, क्रोएसिया, चेक रिपव्लिक पछिल्लो समयमा नेपालीका लागि पछिल्लो चार पाँच बर्षयता विकसित भएका युरोपेली मुलुकहरु हुन् ।

नेपालबाट सन् २०१८-१९ मा क्रोएसियामा रोजगारीका लागि ८ जनाले श्रम स्वीकृति लिएकोमा सन् २०२१-२२ मा ५ हजार १ सय ५० ले श्रम स्वीकृति लिए । पछिल्लो समयमा युरोपेली मुलुक रोमानिया नेपालीका लागि सबैभन्दा ठूलो गन्तव्य मुलुक हो । सन् २०२१-२२ मा सो मुलुकमा रोजगारीका लागि जान ७४७५ जनाले श्रम स्वीकृति लिएका थिए । जवकी सन् २०१८-१९ मा सो मुलुकका लागि ११७८ जनाले श्रम स्वीकृति लिएका थिए । यसबाहेक माल्टा, पोर्चुगल, पोल्याण्ड, अस्ट्रिया लगायतका मुलुकहरुमा पनि रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दो छ ।

बंगलादेश

खाडीका मुलुकहरुको श्रमिक आवश्यकता पूरा गर्ने मुख्य मुलुक मध्येको एक हो बंगलादेश । बंगलादेशको सरकारी निकाय विएमईटीको तथ्याङ्क अनुसार सन् २०२२ मा बंगलादेशबाट मात्र ६ लाख भन्दा बढी श्रमिक रोजगारीका लागि साउदी अरव गएका छन् । तर बढी आम्दानी, स्थायी बसोवासको सम्भावना लगायतका कारण युरोपका मुलुकहरुमा रोजगारीका लागि जाने बंगलादेशी नागरिकको संख्यामा पनि पछिल्ला केहि वर्षयता वृद्धि देखिएको छ । बंगलादेशी नागरिकहरुका लागि युरोपका मुलुकहरु मध्ये इटाली सबैभन्दा महत्वपूर्ण श्रम गन्तव्य हो । त्यसपछि बेलायत पर्दछ । स्पेन, जर्मनी, फ्रान्स लगायतका मुलुकहरुमा पनि बंगलादेशी नागरिकहरु रोजगारीको उद्धेश्यले पुग्ने गरेका छन् । युएनडेसाले सन् २०२० मा प्रकाशित गरेको तथ्याङ्क अनुसार ४ लाख ५६ हजार ५१६ बंगलादेशीहरु युरोपका विभिन्न मुलुकहरुमा रहेको देखाएको छ । यो संख्या २०२२ सम्ममा आइपुग्दा अझ वृद्धि भएको छ ।

बंगलादेश सरकारले पोल्याण्ड, रोमानिया, क्रोएसिया, हंगेरी, बोस्निया हर्जगोभिनालाई सम्भावित रोजगार गन्तव्यका रुपमा पहिचान गरेको छ । डिसेम्वर, २०२२ मा बंगलादेशको वैदेशिक रोजगार सम्वन्धि विषय हेर्ने मन्त्री इमरान अहमदले रोमानिया, पोल्याण्ड, पोर्चुगल लगायतका युरोपेली मुलुकहरुमा आप्रवासी श्रमिकका लागि ठूलो सम्भावना रहेको र त्यहाँ बंगलादेशी श्रमिक पठाउन सरकार प्रयत्नशिल रहेको बताएका थिए । गत फेब्रुअरी १२ मा पोल्याण्ड र बंगलादेशबीच ढाकामा भएको द्धिपक्षिय वार्ता पनि पोल्याण्डमा कसरी बंगलादेशी श्रमिकका लागि रोजगारी उपलव्ध हुन सक्दछ भन्ने चासोमा केन्द्रीत थियो ।

श्रीलंका
सन् १९४८ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि विदेश जाने प्रचलन श्रीलंकामा सुरु भयो । सन् १९७० को दशकदेखि खाडीका मुलुकहरुमा बढेको श्रीलंकाली श्रमिकको रोजगारीको गन्तव्य पछिल्लो समयमा युरोपका मुलुकहरुमा पनि बढेको छ । श्रीलंकाली र नेपाली श्रमिकको युरोपका गन्तव्य मुलुकहरु समान देखिएका छन् । श्रीलंकाबाट माल्टा, पोल्याण्ड, रोमानिया, चेक रिपव्लिक जानेहरुको संख्या बढी छ । २६ वर्षसम्म चलेको गृहयुद्धका कारण शरणार्थीका रुपमा इटाली लगायतका मुलुकमा अनियमित बाटो भएर जाने गरेकोमा पछिल्लो समयमा ईटालीसँगै युरोपका अन्य मुलुकहरुमा श्रीलंकाली नागरिकहरु जाने क्रममा बृद्धि देखिएको छ ।

यद्यपी दक्षिण एसियाली मुलुकहरुबाट रोजगारीका लागि युरोपका मुलुकहरुमा रोजगारीका लागि जाने श्रमिकको संख्या अझै पनि त्यति ठूलो छैन, तर त्यो बढ्दो क्रममा छ । त्यसरी जानेहरु मध्ये धेरैजसो सिजनल वर्कमा जाने गरेका छन् । खाडीका मुलुकहरुमा केहि बर्ष रोजगारी गरेर केहि कमाएका व्यक्तिहरु सोही रकम लगानी गरेर युरोप प्रवेश गर्ने क्रम पनि बढेको छ ।

युरोपको रोजगारीको नाममा ठगि
रोजगारीका लागि माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल रोज्नुको मुख्य कारण धेरैजसोलाई ति मुलुकमा स्थायी आवास सहज रुपमा पाइने, स्थायी आवास पाएपछि युरोपका अन्य मुलुकमा गएर रोजगारी गर्न सकिने, परिवारका सदस्यलाई पनि लैजान सकिने आश्वासन दिने गरिएको छ । यस्तो आश्वासन श्रमिकलाई उनीहरुको आफ्नै मुलुकबाट रोजगारीमा पठाउने दलालहरुले दिने गर्दछन् र त्यसको बदलामा धेरै रकम लिने गर्दछन् । यसरी आश्वासनमा परेकाहरु लाखौं रकम बुझाएर युरोपको सुन्दर सपना देखेर गएपनि गन्तव्य मुलुकमा पुगेपछि रोजगारी नपाएर अलपत्र पर्ने, एउटा मुलुकबाट अर्को मुलुकमा रोजगारीका लागि भौतारिने गरेका घटनामा वृद्धि भएको छ । भाषा समेत नसिकी गएकाहरुले अझ बढी समस्या झेल्नु परिरहेको छ ।

युरोपमा रोजगारीको खोजिमा रहेकाहरु मध्ये अधिकाँशले चर्को भर्ना शुल्क तिर्ने गरेका छन् । त्यस्तो शुल्क सरकारले तोकेको भन्दा कयौं गुणा बढी हुने गरेको छ । उदाहरणका लागि नेपालबाट पोर्चुगल, पोल्याण्ड वा रोमानिया जान चाहने श्रमिकसँग रोजगारदातासँग सम्वन्ध स्थापित गरिदिने मेनपावर कम्पनीले लिन पाउने रकम अधिकतम नेपाली ८० हजार हो । तर यो लेख लेख्ने क्रममा कुराकानी गरेका माल्टा जाने प्रकृयामा रहेका दुईजना नेपाली युवाले प्रतिव्यक्ति ८ लाख तिर्ने शर्तमा रोजगारीको प्रकृया सुरु गरेको बताए । जवकी नेपाल सरकारले माल्टामा रोजगारीका लागि जानेहरुसँग मेनपावर कम्पनीले अधिकतम ८० हजार सेवा शुल्क लिन पाउने कानुनी व्यवस्था गरेको छ । उनीहरु अन्य प्रकृया पुरा गरी भिसा पर्खेर बसेका छन् । यसैगरी रोमानिया जाने तयारीमा रहेका एक व्यक्तिले आफूले ७ लाख तिर्ने शर्तमा रोजगारीको प्रकृया सुरु गरेको र एडभान्स वापत कन्सल्टेन्सीलाई २ लाख बुझाईसकेको बताए । उनी काठमाडौंको शैक्षिक परामर्श दिने एउटा संस्था मार्फत प्रकृया गरिरहेका छन् । सो संस्थाले रोमानिया पुगेपछि मासिक दुई लाख कमाई हुने, ओभरटाइम काम वापत छुट्टै कमाई हुने र युरोपमा स्थायी आवासको ग्यारेण्टी गरेको छ । तर शैक्षिक परामर्श दिने संस्थाले रोजगारीका लागि विदेश पठाउने वा सो प्रकृयामा संलग्न हुन पाउने कानुन भनें छैन ।

खाडी मुलुकहरु र मलेसियामा रोजगारीका लागि जानेहरुसँग चर्को भर्ना शुल्क असुलिंदै आएको विषयमा विगत लामो समययता बहस हुँदै आएको छ । तर युरोपको रोजगारीमा जानेहरुलाई त्यो भन्दा कयौं गुणा चर्को भर्ना शुल्क असुलिएको भन्दै यसमा विस्तारै आवाज उठ्न थालेको छ । अध्ययनहरुले खाडीका मुलुक जान लाग्ने लागत भन्दा यूरोप जान चाहनेहरुले १३ गुणसम्म बढी रकम भुक्तानी गरेको देखाएका छन् ।
स्थायी आवास अनुमति प्राप्त भएपछि हुने कमाईले हाल गरिएको लगानी उठ्ने अपेक्षामा नेपाल लगायतका दक्षिण एसियाली मुलुकका नागरिक चर्को भर्ना शुल्क तिरेर पनि युरोपको रोजगारीमा जान लालायित छन् । रोजगारीका लागि युरोप जान चाहनेहरुले चर्को भर्ना शुल्क बुझाउन पैत्रिक सम्पत्ती विक्रि गर्ने, आफन्त वा ऋण लगानी गर्ने व्यक्तिहरुसँग चर्को व्याजमा ऋण लिने वा सुन, चाँदि जस्ता मूल्यवान वस्तुहरु विक्रि गर्ने गरेको नेदरल्याण्डको एक गैरसरकारी संस्था, एफएनभीले गरेको अध्ययनले देखाएको छ ।  तर दक्षिण एसियाली मुलुकहरुको श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धा, दोषि माथि कडा कानुनी कारवाहीको अभावका कारण पनि युरोपको रोजगारीका नाममा मानव तस्करी मौलाएको छ । पछिल्लो समयमा रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । तर पोर्चुगल, ग्रिस लगायतका युरोपका मुलुकहरुमा प्रवेश गर्न सहज हुने नाममा द्धन्दग्रस्त मुलुक युक्रेनमा समेत दलालहरुले दक्षिण एसियाली श्रमिकलाई पठाउने गरेको घटनाहरु सार्वजनिक भएका छन् ।

बढ्दो उजुरी
नेपालमा वैदेशिक रोजगारको विषयमा हुने ठगिको उजुरी लिने निकाय वैदेशिक रोजगार विभाग हो । पछिल्लो दुईबर्षमा वैदेशिक रोजगारको नाममा ठगिमा परेको भनेर उजुरी गर्नेहरु मध्ये ठूलो हिस्सा युरोपको रोजगारीको नाममा ठगिएकाहरु रहेका छन् । विभागमा हरेक महिना झण्डै एकसय व्यक्तिले आफूलाई युरोपको रोजगारीमा पठाउने भनेर ठगि गरेको भनेर उजुरी पर्ने गरेको छ ।

काठमाडौंबाट प्रकाशित हुने शिलापत्र अनलाइनका अनुसार पोल्याण्डमा रोजगारीमा पठाईदिने नाममा २ हजार श्रमिकलाई ५० हजार देखि १२ लाखसम्म ठगि गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । यसैगरी माल्टा पठाइदिने नाममा ४ सय श्रमिकसँग झण्डै ७ करोड ठगिएको उजुरी छ । ति श्रमिकसँग पनि २ लाख देखि ११ लाखसम्म दलालले लिएका थिए । यसैगरी चेकरिपव्लिकमा पठाउने नाममा आफूहरुलाई ठगिएको भन्दै ३ सय व्यक्तिले विभागमा उजुरी हालेका छन् । ति सबैले ठगिमा परेको दावी गरेको रकम झण्डै ५ करोड पुग्छ । पोर्चुगलको रोजगारीको नाममा ठगिएका २ सय श्रमिकले दलाललाई बुझाएको रकम १ करोड भन्दा बढी हुन्छ ।

रोमानिया, पोल्याण्ड, पोर्चुगल, माल्टा लगायतका मुलुकहरुमा नेपालबाट श्रमिक पठाउने इजाजत मेनपावर कम्पनीहरुले पनि प्राप्त गरेका छन् । रोजगारीका लागि पठाइएका व्यक्तिलाई गन्तव्य मुलुकमा भविष्यमा कुनै समस्या आइपरेमा त्यसको जिम्मेवारी सम्वन्धित मेनपावर कम्पनीले लिनुपर्ने नेपालको कानुनले व्यवस्था गरेको छ । त्यसैले यो दायित्वबाट मुक्त हुन र सहज रुपमा मनलाग्दी रकम असुल्न पाइने भएपछि मेनपावर कम्पनी सञ्चालकहरुले रोजगारीमा जान चाहनेहरुलाई संस्था मार्फत नभई व्यक्तिगत रुपमा पठाउने गरेका छन् । यसले एकातिर नेपाल सरकारले तोकेको सेवाशुल्क भन्दा चर्को शुल्क रोजगारीका लागि युरोप जानेहरुले तिर्न बाध्य भएका छन् भनें अर्कातर्फ त्यस्ता श्रमिक ठगिमा परेमा न्याय प्राप्ती कठिन हुन्छ ।

जसरी श्रमिक पठाउने मुलुकहरुमा शैक्षिक परामर्श दिने संस्था, मेनपावर कम्पनी वा व्यक्तिहरु सो व्यवसायमा संलग्न छन्, गन्तव्य मुलुकमा पनि सोही रुपमा यो व्यवसाय फष्टाएको छ । उदाहरणका रुपमा दक्षिण एसियाली मुलुकहरुबाट धेरै श्रमिक जाने मध्येको एक मुलुक पोल्याण्डमा पनि श्रमिक आपूर्तिकर्ता संस्थाहरुको संख्यामा पछिल्लो एक दशकमा तिव्र वृद्धि भएको छ । पोल्याण्डमा श्रमिक आपूर्ति गर्ने संस्थाहरु सन् २०१० मा एक सय रहेकोमा सन् २०१९ मा आइपुग्दा त्यो बढेर ३५ सय पुगेको छ । यसले पनि युरोपका मुलुकहरुमा श्रमिकको प्रवेश कति बढेको छ भन्ने स्पष्ट हुन्छ ।

रोजगारीका लागि जानेहरुको संख्या बढेपनि युरोपका थोरैजसो मुलुकहरुमा दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, श्रीलंका लगायतको दूतावासहरु छैननन् । एउटा मुलुकमा रहेको दूतावासले नै धेरै मुलुकहरुको विषय हेर्नुपर्दछ । उदाहरणका लागि जर्मनीस्थित नेपाली दूतावासलाई चेक रिपब्लिक, हंगेरी, पोल्यान्ड, सर्विया, सोल्भाक, बुल्गेरिया, रोमानिया, युक्रेनलगायतका मुलुक हेर्ने जिम्मेवारी छ । यसैगरी बेलायतस्थित नेपाली दूतावासले माल्टा र आयरल्यान्ड हेर्दछ भनें फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले पोर्चुगल, मोनाको र एन्डोरा हेर्ने जिम्मेवारी छ ।

तुलनात्मक रुपमा बंगलादेशका दूतावासहरु भनें केहि बढी युरोपेली मुलुकहरुमा रहेका छन् । धेरै बंगलादेशी श्रमिक जाने मुलुकहरु इटाली, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्पेन, बेलायतमा बंगलादेशका दूतावास छन् ।

यति धेरै ठगि हुँदा पनि सरकारी निकायहरुले त्यसलाई नियन्त्रण गर्न अपनाउनु पर्ने सजगता, गर्नुपर्ने अनुगमन गरिएको छैन । शैक्षिक परामर्श दिन भनेर खोलिएका संस्थाहरु हुन् वा व्यक्तिगत रुपमा युरोपमा रोजगारीमा पठाउने भनेर खोलिएका पसलहरुमा युरोपको सपना देख्नेहरुलाई सकेसम्म लुट्ने क्रम जारी नै छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय