–जीवन श्रेष्ठ
केहि वर्षको रोजगारीपश्चात विदेशबाट फर्किएका व्यक्तिलाई आफन्त, साथिभाई वा गाउँलेले सोध्ने प्रश्न हुन्छ अव कहिले जाने ? अर्थात वैदेशिक रोजगारमा जानु, स्वदेश फर्किनु र पुन: रोजगारीका लागि विदेशिनु चक्र जस्तै हो । सुन्दा सामान्य लागे पनि यस्ता प्रश्नहरुले आफ्नै ठाउँमा केहि गर्छु भन्ने अठोट लिएर फर्किएका व्यक्तिहरु पनि मनोवैज्ञानिक रुपमा पुन: वैदेशिक रोजगारकै विषयमा सोच्न बाध्य हुन्छन् । यसले स्वदेशमा रोजगारीका विकल्प नै छैनन् भन्ने बुझाईलाई पनि मलजल गर्ने काम गरिरहेको छ ।
आ.व. २०६५/०६६ देखि २०७८/०७९ सम्म कूल ५० लाख ८ सय ३३ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको तथ्याङ्क वैदेशिक रोजगार विभागको रहेता पनि कति जना वैदेशिक रोजगारबाट फर्किए भन्ने यकिन तथाङ्क नेपाल सरकारसँग छैन । यद्यपी विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण २०७८ भाद्र महिनासम्ममा ५ लाख ७२ हजार ५ सय ७१ नेपाली नागरिकहरु विभिन्न देशबाट नेपाल फर्किएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्क छ । नेपाल फर्किएपछि कतिपयले नेपालमा केहि गर्ने विचारका साथ स्वदेशमा नै बसे तापनि अधिकाँश व्यक्तिहरु नेपालमा केहि गर्ने उपाय नदेखेपछि पुन: वैदेशिक रोजगारमा नै फर्किने गरेका छन् । प्रदेश १ स्थित धनकुटा नगरपालिकाको आप्रवासन वस्तुस्थित विवरण, २०७९ अनुसार हाल वैदेशिक रोजगारमा रहेका १ हजार २ सय ८७ जना मध्ये पहिलो पटक वैदेशिक रोजगारमा गएकाहरु ४१ दशमलव ९६ प्रतिशत छन् भने बाँकी ५७ दशमलव शुन्य ४ प्रतिशत दुई वा सो भन्दा बढी पटक वैदेशिक रोजगारमा गएकाहरु रहेका छन् । त्यसैगरी मधेस प्रदेश स्थित कलैया उपमहानगरपालिकाको आप्रवासन वस्तुस्थित विवरण, २०७९ अनुसार हाल वैदेशिक रोजगारमा रहेका २ हजार ६३ जना मध्ये पहिलो पटक वैदेशिक रोजगारमा गएकाहरु ४१ दशमलव ७८ प्रतिशत छन् भने बाँकी ५७ दशमलव २२ प्रतिशत दुई वा सो भन्दा बढी पटक वैदेशिक रोजगारमा गएकाहरु रहेका छन् । सोही उपमहानगरपालिकाका वैदेशिक रोजागारबाट फर्किएका १ हजार ३ सय ६८ जनालाई सोधिएको “पुन: वैदेशिक रोजगारमा फर्किने सोंच छ कि छैन ?” भन्ने प्रश्नमा ६७ प्रतिशतले फर्किने सोंचमा रहेको बताएका थिए । स्थानीय तहहरुको यो तथ्याङ्कले पनि के पुष्टि गर्छ भने अधिकतम नेपालीहरु दोहोर्याएर वैदेशिक रोजगारमा जाने गरेका छन् जसले गर्दा नेपाली युवाहरुको उर्वरशील समय विदेशमा पसिना बगाउनमा नै बितेको देखिन्छ ।
आप्रवासन चक्र अनुसार रोजगारको खोजी, वैदेशिक रोजगार जानु पूर्व, वैदेशिक रोजगारमा रहँदा र फर्किएपछिको गरी चार चरणहरुमा वैदेशिक रोजगारबाट फर्किएपछिको अवस्थापछि उनीहरुलाई स्देशमा नै रोजगार वा स्वरोजगारमा संलग्न गराउन नसक्दा नेपाली आप्रवासी कामदारहरुले पुन: वैदेशिक रोजगारमा जानुको विकल्प पाउन सकेका छैनन् । यसले गर्दा उनीहरुले आर्जन गरेको ज्ञान, सीप आफ्नो देशमा उपयोग हुन सकेको छैन । यसरी दोहोर्याएर जाने र हरेक वर्ष भित्रिने नयाँ श्रम शक्तिले रोजगारीका लागि विदेशी भुमि नै ताक्ने भएकोले वैदेशिक रोजगारीमा जानेको संख्या कोरोना महामारी पछि फेरी बढ्न थालेको छ ।
नेपालको अर्थतन्त्रमा प्रवासी कामदारहरुको ठूलो योगदान छ । तेस्रो जीवनस्तर सर्भेक्षण २०११ का अनुसार नेपालका कूल घर परिवारमध्ये ५५ दशमलव ८ प्रतिशत परिवारले नियमित रुपमा विप्रेषण प्राप्त गर्ने गर्दछन् । आ.व. २०६५/०६६ देखि गत आ.व. २०७८/०७९ सम्ममा मात्रै ८,४६६ अर्ब विप्रेषण नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्क छ । देशको कूल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औषत करिव २५ प्रतिशत रहेको छ । विप्रेषणबाट प्राप्त रकम नेपालमा वैदेशिक मुद्रा आर्जनको पहिलो श्रोत हो । नेपाली अर्थतन्त्रको यति धेरै हिस्सा ओगटेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा अर्थतन्त्र परनिर्भर हुन थालेको छ ।
श्रम आप्रवासन क्षेत्रमा वार्षिक चाडको रुपमा मानिने यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, १८ डिसेम्बर २०२२ को नारा पनि “वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वभिमान” रहेको छ । यस वर्षको दिवसको नारा पनि वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्ति केन्द्रित भई वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा रहँदा प्राप्त गरेको सीप, पूँजी र ज्ञानको उपयोग गरी उद्यमशीलता र रोजगारीको सिर्जना गर्दै स्वाभिमान कायम गर्ने तर्फ उन्मुख रहेको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धि महासन्धि सन् १९९० डिसेम्वर १८ मा पारित भएको दिनलाई स्मरण गर्दै हरेक वर्षको डिसेम्वर १८ का दिन मनाउन थालिएको हो । नेपालमा भने यो दिवस सन् २००६ देखि मनाउन थालिएको हो । यस वर्ष पनि डिसेम्वर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापी रुपमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदैछ । यस दिवसीय अभियानमा नेपाल सरकार, गैरसरकारी संस्था, आप्रवासी श्रमिक तथा उनिहरुका परिवार, ट्रेड युनियन, नागरिक समाज, सञ्चार जगत, विभिन्न विकास साझेदार संस्था तथा वैदेशिक रोजगारसँग सम्बन्धित निजी व्यवसायीहरु समेतको सहभागिता एवम् समन्वय रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार रोजगार तथा बेरोजगार व्यक्तिको तथ्याङ्क व्यवस्थापन, वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरुको पुन:एकीकरण तथा वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ । वैदेशिक रोजगारबाट फर्किएर आएका व्यक्तिहरुको पुन:एकीकरण सम्बन्धि कार्यक्रम कार्यन्वयनका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारमध्ये कानुनी दायित्व स्थानीय सरकारलाई नै बढी दिएको देखिन्छ । नागरिकहरुको दु:ख तथा गुनासोहरुको सुनुवाई हुने, प्रत्यक्ष भेट्न सकिने र सरकार भएको महसुस गर्न सकिने नजिकको सरकार भनेकै स्थानीय सरकार भएको हुँदा पनि वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरुको पुन:एकीकरणमा स्थानीय तहको भूमिका उल्लेखनीय रहन्छ । नेपाल सरकारले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको पुन:एकीकरणका लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको लागि पुन:एकीरकण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी गरिसकेकोले अब यसको कार्यन्वयनका लागि स्थानीय तहहरुसँगको सहकार्य समेत अनिवार्य देखिन्छ । वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरुको पुन:एकीकरणका लागि उनीहरुको आवश्यकता र स्थानीय बजारको माग वमोजिम फर्किएर आएका व्यक्ति लक्षित र विकासका अन्य कार्यक्रमहरुमा उनीहरुलाई मुलप्रवाहीकरण गर्ने नीति तथा कार्यक्रमहरु संघ प्रदेश र स्थानीय सरकारका नीति तथा कार्यक्रमहरु तह गर्नु पर्दछ ।
यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सफल बनाउन नेपाल सरकारले तय गरेको नारा बमोजिम वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीपको उपयोग गरी रोजगार र उद्यमशीलता अभिवृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केर आएका श्रमिक, तिनका परिवार, निजि क्षेत्र, विकास साझेदार, सरोकारवाला निकाय लगायत संघीय प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकार आ–आफ्नो ठाउँबाट तत्परताका साथ लाग्न आवश्यक छ ।