युरोपेली संसदले कतारमा सञ्चालन भइरहेको विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला लगायतका भौतिक संरचना निर्माणका क्रममा शोषणमा परेका आप्रवासी श्रमिकलाई न्याय दिन, उनीहरुले पाउनु पर्ने क्षतिपूर्ति उपलव्ध गराउन माग गरेको छ । एम्नेष्टि ईन्टरनेशनल, ह्यूमन राइट्स वाच, फेयर स्क्वायर लगायतका मानवअधिकारवादी संघसंस्थाहरुले बर्षौंदेखि उठाउँदै आएको आवाजमा यसले थप बल पुगेको छ ।
संसदमा यस विषयलाई पारित गर्नु अगाडी भएको छलफलमा साँसदहरुले कतारमा वाकस्वतन्त्रतामाथिको नियन्त्रण, अन्य लिङ्गका व्यक्तिहरुलाई लगाइएको बन्देजको आलोचना गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
युरोपेली संसदले जारी गरेको विज्ञप्तीमा कतारले घुस दिएर विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अधिकार जितेको समेत उल्लेख गरेको छ । कतारमा भौतिक संरचना निर्माणका क्रममा हजारौं विदेशी श्रमिकको मृत्यु भएको तथा घाइते भएको समेत युरोपेली संसदको दावी छ ।
संसदले कतारमा भएको आप्रवासी श्रमिकको मृत्युको बारेमा पूर्ण रुपमा अनुसन्धान गर्न पनि माग गरेको छ । यसैगरी शोषणमा परेका आप्रवासी श्रमिक तथा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन पनि माग गरिएको छ ।
संसदले कतारमा हालै श्रमिकको अधिकार स्थापित गर्न गरिएका सुधारको प्रशंसा गर्दै तिनिहरुको पूर्ण कार्यान्वयन हुनु पर्ने बताएको छ । कतारले श्रमिकले काम गरेको ज्याला भुक्तानी सुनिश्चित गर्न सन् २०१८ मा कानुन निर्माण गर्दै वर्कर्स सपोर्ट एण्ड ईन्स्योरेन्स फण्ड स्थापना गरेको थियो । सो फण्डबाट ३ करोड २० लाख डलर बरावरको रकम श्रमिकलाई भुक्तानी गरिएको कतारको भनाई छ । युरोपेली संसदले फिफालाई पनि श्रमिक तथा श्रमिकका परिवारलाई सहयोग गर्ने कार्यको नेतृत्व लिन माग गरेको छ । कतारले विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अधिकार सन् २०१० मा जितेको थियो ।
एम्नेष्टि इन्टरनेशनल लगायतका संस्थाहरुले क्षतिपूर्तिको विषयलाई चर्को रुपमा उठाएपछि कतारले गत नोभेम्वर १ मा यस्तो अनुरोधलाई खारेज गरेको थियो । कतारको श्रम मन्त्रालयले यस्तो अनुरोधको कुनै आधार नरहेको बताएको थियो । कतारका श्रम मन्त्री अली विन शमिख अल मारीले यो केवल हल्ला मात्र चलाइएको तथा यस अगाडी नै कतारले करोडौं डलर रकम ज्याला पाउन नसकेका आप्रवासी श्रमिकलाई भुक्तानी गरिसकिएको बताएका थिए ।
यसअघि मंगलवार मात्रै फ्रान्सेली फुटवल संघका अध्यक्ष नोएल ली ग्राएटले पश्चिमी सञ्चार माध्यमहरुले कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ का विरुद्दमा चलाएको अभियान ज्यादा भएको बताएका थिए । उनले फ्रान्समा यस्तै गर्न प्रचलन रहेको समेत बताएको समाचार कतारको अनलाइनले प्रकाशित गरेको थियो । यसैगरी फिफा अध्यक्ष जियानी इन्फान्टीनोले पनि कतारमा मानवअधिकार हननको विषय पश्चिमा सञ्चारमाध्यमहरुले अतिरञ्जित रुपमा उठाएको भन्दै रोष पोखेका थिए ।