माल्टा पठाउने ‘मेनपावर’

भदौ १५ गते बुधवार । नयाँ बानेश्वर चोक नजिकै एक युवा रोजगारी खोज्न सघाउने एउटा संस्था खोज्दै गरेको अवस्थामा भेटिए । सो संस्थाले बाटोमा राखेको कार्यालय जाने संकेत पछ्याउँदै उनी नयाँ बानेश्वरबाट केहि भित्रि बाटोमा आइपुगेका थिए । तर उनले खोज्दै आएको संस्था भनें कोभिड काल पछि सो ठाउँबाट सरिसकेको थियो । सडकमै उभिएर उनले फोन मार्फत सम्पर्क गर्ने प्रयास गरे तर बोर्डमा लेखिएको मोवाइल नम्वर अफ थियो ।

उनले खोज्दै आइपुगेको सो संस्थाले नेपालमा रोजगारी खोज्नेहरु र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दथ्यो । सो संंस्थाले वैदेशिक रोजगारमा पठाउने विषयमा खासै डिल गरेको सुनिएको थिएन । तर सो संस्था खोज्दै आइपुगेका ति युवा माल्टा पठाउने संस्थाको खोजिमा रहेछन् ।

आफूले खोजेको संस्था फेला नपरेपछि उनले त्यहि वरिपरी कुनै ‘मेनपावर’ (कम्पनी) ले माल्टा पठाउँछ की भनेर सोधनी गरे । उनको कुराकानीबाट लाग्थ्यो उनी जुनसुकै संस्थाका जस्ता सुकै शर्त मान्न पनि तयार छन्, बस माल्टा पठाइदिनु पर्यो । वैदेशिक रोजगार अझ पछिल्लो समयमा यूरोपेली देशहरुमा जान कुन स्तरमा नेपाली यूवा लागिपरेका छन् भन्ने बुझ्न ति युवा एक उदाहरण मात्र हुन् ।

कुनै समयमा वैदेशिक रोजगार भन्नाले मलेसिया र खाडीका मुलुकहरुको रोजगारी नै चिनिन्थ्यो । तिनै मुलुकमा रोजगारीका लागि बर्षेनी लाखौं युवा पठाएर मुलुकले कमायो, कतिपय व्यवसायीले कमाए र रोजगारीमा जानेहरुको पनि गुजारा चल्यो । तर नेपाली समाजमा पछिल्लो समयमा एउटा तस्वीर भनें फेरिएको छ । रोजगारीका लागि विदेश जान चाहनेहरुले पहिले खाडी र मलेसियालाई मात्र लक्ष्य बनाइरहेकोमा पछिल्लो समयमा माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल वा चेकको सपना देख्न थालेका छन् । विना जानकारी ति मुलुकहरु जान ईच्छुकहरु गलत उद्देश्य बोकेका व्यक्ति र कतिपय व्यवसायीका लागि गतिलो शिकार हुन् ।

पछिल्लो समयमा माल्टा लगायतका मुलुकमा वैदेशिक रोजगारमा पठाउने भन्दै हुने ठगिको आकार बढेको छ । यसमा वैदेशिक रोजगार व्यवसायी भन्दा धेरै संलग्न छन् शैक्षिक परामर्श दिन खोलिएका कन्सल्टेन्सीहरु, तालिम दिने संस्थाहरु र गैरकानुनी रुपमा काम गर्ने व्यक्तिहरु । यस्तो कार्यमा एउटै कन्सल्टेन्सीले सयौं व्यक्तिहरुलाई ठगेका उदाहरणहरु पनि छन् । झण्डै तीन बर्ष अगाडी ग्रीनफील्ड एजुकेशनल कन्सल्टेन्सीले सात सय जनाभन्दा बढीलाई माल्टा पठाउने सम्झौता गरेर झन्डै तीन करोड रुपैयाँ उठाएको प्रहरीमा उजुरी परेको थियो । यस्ता थुप्रै उदाहरणहरु छन् । गत बैशाखमा आकर्षक तलव सुविधाको रोजगारीमा माल्टा पठाउने आश्वासनमा १ सय २२ जना व्यक्तिलाई १ करोड ६४ लाख भन्दा बढी ठगि गरेको अभियोगमा वैदेशिक रोजगार विभागले इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिस विरुद्द मुद्दा दायर गर्यो । सो कन्सल्टेन्सीले प्रतिव्यक्ति २ लाख २५ हजारसम्म लिएको भेटिएको विभागले जनाएको छ । जवकी सो कन्सल्टेन्सीले वैदेशिक रोजगारमा श्रमिक पठाउने इजाजत भनें लिएको छैन ।

ठगिको जालो काठमाडौंमा मात्र सिमित छैन जिल्ला जिल्लामा पुगिसकेको छ । विभिन्न जिल्लाहरुमा तालिम केन्द्र, शैक्षिक परामर्श केन्द्र वा वैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीको नाममा शाखा कार्यालयका रुपमा सञ्चालनमा रहेका वैधानिक वा अवैधानिक संस्थाहरु यसमा संलग्न देखिएका छन् । चितवनको भरतपुर १० स्थित ब्लूबर्ड ट्रेनिङ सेण्टरले चारबर्ष यता गरी झण्डै ५० जनासँगबाट माल्टा पठाउने नाममा लाखौं रकम ठगि गरेको समाचार स्थानीय चितवनखवरले एक महिना अगाडी प्रकाशित गरेको छ । टेलिभिजनमा प्रशारित विज्ञापन हेरेर रकम बुझाउन पुगेकाहरुले आफूहरुको रकम उठाईदिन आग्रह गर्दै वैदेशिक रोजगार विभागमा निवेदन पनि दर्ता गराएका छन् । प्रतिव्यक्ति ८ लाख लागत लाग्ने भन्दै सो तालिम केन्द्रले जनही एक लाख देखि चारलाखसम्म उठाएको पीडितहरुको दावी छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार बर्षमा सरदर १ हजार व्यक्तिले ठगिमा पर्ने गरेको भन्दै विभागमा उजुरी गर्ने गरेका छन् । । त्यसमा युरोपको रोजगारीको नाममा ठगिनेको संख्या बढ्दो क्रममा छ । तर उजुरी परेपनि क्षतिपूर्ति प्राप्त गर्न भनें सजिलो छैन ।

माल्टा रोजगारीका लागि जान नेपाल सरकारले खुल्ला गरेको मुलुक हो जहाँ श्रम स्वीकृति लिएर जान पाइन्छ । यसका लागि मेनपावर कम्पनी मार्फत जानु पर्दछ । वैदेशिक रोजगारमा पठाउन वैदेशिक रोजगार ऐन, २०६४ ले तोकेको शर्त तथा प्रकृयाहरु पुरा गर्नु पर्दछ । यसरी गएकाहरु कुनै समस्यामा परेमा त्यसको जिम्मेवार सम्वन्धित मेनपावर कम्पनी हुनु पर्दछ । तर यसरी वैधानिक प्रकृया मार्फत जानेहरुको संख्या भनें तुलनात्मक रुपमा थोरै छ । गत आर्थिक बर्षको ११ महिनामा रोजगारीका लागि माल्टा जान १ हजार ७ सय ४१ व्यक्तिले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाउँछ ।

माल्टामा विद्यार्थीले पनि काम गर्न अनुमति पाउने र ५ वर्षमा स्थायी बसोबास (पीआर) पाइन्छ भनेर भ्रम फैलाएर ठगी धन्दा निर्वाध रुपमा चलिरहेको छ । तर माल्टाले युरोपेली संघका नागरिक र आफ्नो मुलुकका नागरिकका आफन्त बाहेक अन्यलाई स्थायी बसोवासको अनुमति दिंदैन । यसैगरी विद्यार्थीको भिसामा सो मुलुक जाने नेपाली लगायतले आफन्तलाई पनि सो मुलुकमा लैजान पाउँदैनन् । केवल युरोपेली संघमा आवद्द मुलुकहरुका विद्यार्थीलाई मात्र सो सुविधा छ ।

युरोप र उत्तरी अफ्रिकाको वीचमा पर्ने माल्टा विश्वका १० साना मुलुक मध्ये एक हो । अफ्रिका र मध्यपूर्वबाट युरोप पस्न चाहने शरणार्थीहरुको रोजाईमा सो मुलुक पर्दछ । माल्टाको मुख्य आम्दानीको श्रोत पर्यटन हो ।

माल्टाको सपना देख्नेहरुले एकपटक सो मुलुकमा कति ठूलो संख्यामा रोजगारी उपलव्ध हुन्छ भन्ने बुझ्न, वैधानिक रुपमा श्रमिक पठाउने इजाजत कसले पाएको छ कसले पठाउन मिल्दैन भनेर बुझ्न जरुरी छ । यसैगरी माल्टा वा यस्तै अन्य युरोपेली देशको नाममा रकम ठग्नेहरुलाई निरुत्साहित गर्न अहिलेको भन्दा बढी अनुगमन र कारवाहीका लागि जिम्मेवार निकायको सकृयता अवश्यक छ ।

– सुनिल न्यौपाने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय