कतारको दावी: हामीले गरेको काम गर्व गर्न लायक

कतारले आफ्नो श्रम बजार सुधारका लागि पछिल्ला केहि बर्षमा गरिएको काम गर्व गर्न लायक रहेको र समग्र सुधारको काम जारी रहने बताएको छ । कतारको श्रम मन्त्रालयले एम्नेष्टि ईन्टरनेशनलको नयाँ रिपोर्ट सार्वजनिक भएपछि सो रिपोर्टले उठाएका प्रश्नहरुको जवाफमा यस्तो बताएको हो । विहिवार मात्र एम्नेष्टि ईन्टरनेशनलले नयाँ रिपोर्ट सार्वजनिक गर्दै कतार र फिफाले करोडौ डलर वरावरको रकम आप्रवासी श्रमिकहरुलाई भुक्तानी गर्नुपर्ने बताएको थियो ।

यसैगरीे विश्वकप फुटवल प्रतियोगिताका लागि काम गरेर ज्याला नपाएका तथा मृत्यु भएका परिवारका सदस्यहरुलाई फिफा तथा कतारले क्षतिपूर्ति रकम दिनु पर्ने ह्यूमन राईट्स वाचले माग गरेको छ । ह्यूमन राईट्स वाचका एकजना निर्देशक मिंकी वोर्डेनले विश्वकप फुटवल प्रतियोगिताको तयारीका दौरान अन्यायमा परेका श्रमिकहरुलाई क्षतिपूर्ति उपलव्ध गराउन तत्काल कोषको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

द पेनन्सुल कतारका अनुसार मन्त्रालयले भनेको छ, हामीले पछिल्ला केहि बर्षमा जे उपलव्धी हासिल गरेका छौं, त्यसका लागि विश्वका अन्य मुलुकहरुलाई दशकौं लागेको छ । कतारले श्रम क्षेत्र सुधार तिव्र रुपमा गर्ने प्रतिवद्दता दोहोर्याउँदै अन्य मुलुकका लागि पनि सो सुधारको काम उदाहरणीय रहेको र त्यसलाई अन्य मुलुकहरुले पनि अपनाउने दावी समेत गरेको छ ।

कतारले अन्तराष्ट्रिय श्रम संगठन, गैरसरकारी संस्था, ट्रेड यूनियन लगायतका संघसंस्थाहरुसँगको समन्वयमा श्रम क्षेत्र सुधारका कामहरु गरिरहेको भन्दै यो समन्वय आपसी विश्वास, कडा मेहनतले स्थापित भएको बताएको छ ।

मन्त्रालयले ट्वीटरमा एक विज्ञप्ती प्रकाशित गर्दै श्रम क्षेत्र सुधारमा निजि क्षेत्रसँगको सहकार्यको समेत उल्लेख गरेको छ । पछिल्ला केहि बर्षमा गरिएको न्यूनतम ज्याला कार्यान्वयन, रोजगारदाता परिवर्तन सम्वन्धि व्यवस्था, एक्जिट पर्मिट खारेजी, श्रमिकको न्यायमा पहुँच, उचित आवासको व्यवस्था लगायतका क्षेत्रमा गरिएको सुधारलाई मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ ।

कतारले रोजगारीका लागि श्रमिक पठाउने मुलुकहरुसँग पनि भर्ना प्रकृयामा हुने गलत काम रोक्न प्रयास गरेको जनाएको छ । कतार सरकारले स्थापना गरेको वर्कर्स सपोर्ट एण्ड ईन्स्योरेन्स फण्ड मार्फत तलव सुविधा भुक्तानी नभएका श्रमिकहरुलाई पछिल्लो दुई बर्षमा मात्र ११ करोड पाउण्ड बरावरको रकम भुक्तानी गरिएको विज्ञप्तीमा जनाइएको छ । कतारको एक कम्पनी मेन मर्करीमा काम गरेर फर्केकाहरुको रकम भुक्तानी हुन बाँकी रहेकोमा कतारले सोही फण्ड मार्फत केहि नेपालीका लागि रकम पठाएको छ । दोश्रो चरणमा केहि दिन अगाडी मात्र २१ जनाको उनीहरुले प्राप्त गर्न बाँकी रकम नेपाल आएको छ । गत बर्ष रकम आएकाहरु मध्ये दुईजना सम्पर्कमा आएका छैनन् । नेपालस्थित कतारी दूतावासले २३ जनालाई सम्पर्कमा आउन र रकम बुझ्न अनुरोध गरेको छ ।

कतारले आफ्नो देशको बारेमा निरन्तर आलोचना गर्ने गैरसरकारी संस्थाहरुसँग पनि समन्वयमा काम गरेको तर्क गरेको छ । ति संस्थाहरुका प्रतिनिधिहरुलाई कतार भ्रमण गर्न, अध्ययन गर्न, सरकारी अधिकरीहरुसँग भेटघाट गर्न र उनीहरुको कुरा सुन्ने काम गरिएको पनि श्रम मन्त्रालयले जनाएको छ ।

तर एम्नेष्टि ईन्टरनेशनलको पछिल्लो रिपोर्टले कतारले पछिल्ला केहि बर्षयता गर्दै आएको सुधारको विषयमा आँखा चिम्लिएको गुनासो गरिएको छ । कुनै आधार विना आरोप लगाएको कतार सरकारको धारणा छ । आफ्नो श्रम बजारलाई व्यवस्थित गर्न कतार सरकार प्रतिवद्द रहेको भन्दै मन्त्रालयले यसका लागि सवै पक्षबीचमा आवश्यक समन्वय र सहकार्यको खाँचोलाई औंल्याएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: