सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिने भयो ८ प्रतिशत प्रतिफल

सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई आर्थिक बर्ष २०७६/७७ मा गरिएको योगदानमा ८ प्रतिशत प्रतिफल दिने भएको छ । योगदानकर्ताले वृद्दावस्था सुरक्षा योजना अन्तर्गत योगदान गरेको रकममा कोषले सो प्रतिफल दिने भएको हो । सो योजना अन्तर्गत हाल ३ करोड ८० लाख १५ हजार ६ सय ९८ रुपैंयाँ जम्मा भएको छ ।

कोषले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सो रकम कोषका योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा छिट्टै जम्मा हुने बताए । अर्को प्रसँगमा बोल्दै कार्यकारी निर्देशक ज्ञवालीले सरकारले योगदानकर्ताहरुको दायरा विस्तार गर्ने भनिसकेको अवस्थामा छिट्टै अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत योगदान गर्न पाउने प्रवन्ध मिलाइने बताए । उनले औपचारिक क्षेत्रका श्रमिकको रोजगारदाताका तर्फबाट गरिने योगदानका बारेमा स्पष्ट व्यवस्था भएपनि अनौपचारिक क्षेत्रका श्रमिकको योगदानको मोडालिटीका विषयमा स्पष्ट भइनसकेको भन्दै आगामी आर्थिक बर्षको पहिलो त्रैमासिक भित्रमा यसका बारेमा कुनै व्यवस्था मिलाइसक्ने गरी कार्य गरिरहेको जानकारी दिए ।

यो पनि पढ्नुहोस् सामाजिक सुरक्षा कोषमा सहभागि गराउन निर्माण श्रमिकको माग

कोषले योगदानकर्ताले प्राप्त गर्ने पेन्सनलाई थप आकर्षक बनाउने गरी काम गरिने भन्दै कोषको स्थायीत्वमा आशंका नगर्न आग्रह गरेको छ । कोषमा योगदान गर्नेहरुले प्राप्त गर्ने सुविधाका विषयमा ऐन मार्फत नै सरकारले जिम्मेवारी लिइसकेका कारण यसमा आशंका नगर्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक ज्ञवालीले अपेक्षा गरिएअनुसार श्रमिक सूचिकरण हुन नसकेको भन्दै समयमै कार्यविधि संशोधन लगायतका काम हुन नसक्दा त्यसको प्रभाव सूचिकरणमा परेको धारणा राखे ।

पत्रकार सम्मेलनमा कोषको सहायक प्रवक्ता रोहित रेग्मीले कोषमा आवद्द हुँदा श्रमिकले खाइपाई आएको तलव, सुविधा नघट्ने भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा न्यूनतम रुपमा गर्नुपर्ने योगदान गरेपनि थप खाइपाई आएको सुविधा प्राप्त गर्न कानुनले नरोक्ने बताए । उनले श्रम ऐन, २०७४ ले नै खाइपाइ आएको सुविधा नघट्ने विषय दफा ५२ देखि ५६ भित्रमा गरेको भन्दै ऐनको बर्खिलाप हुनेगरी कसैले पनि सुविधा कटौति गर्न नसक्ने बताए ।

सहायक प्रवक्ता रेग्मीले कतिपयले कोषमा आवद्द हुँदा सामुहिक सौदावाजीको अधिकार कटौति हुने भनेर समेत प्रचार गरिरहेको भन्दै ऐनले सामाजिक सुरक्षा कोषले दिने सुविधा, योगदान प्रतिशत लगायतमा मात्र सामुहिक सादावाजी लागु नहुने तर अन्य कुराका लागि श्रमिक स्वतन्त्र हुने बताए ।

यस अगाडी कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले हालसम्ममा कोषमा १४ हजार ५ सय ८० रोजगारदाता तथा २ लाख ५१ हजार २ सय ९२ श्रमिक सूचिकृत भइसकेको जानकारी दिए । उनले हालसम्म कोषमा ६ अर्व ३९ करोड ३५ लाख रुपैंयाँ योगदान रकम जम्मा भएको पनि बताए । यसैगरी कोषले हालसम्म विभिन्न योजना अन्तर्गत ११ करोड ६२ लाख रकम भुक्तानी पनि गरेको जनाएको छ ।

कोषले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ४१ ज्ना आश्रित परिवारलाई ४८ लाख ३ हजार सुविधा प्रदान गरेको, औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लख, दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ ह्जार रकम प्रदान गरिएको जनाएको छ । यसैगरी कोषले वृद्दावस्था सुरक्षा योजना अन्तर्गत ८ सय ७४ जना योगदानकर्तालाई ६ करोड ९७ लाख भुक्तानी गरेको छ ।

यो पनि पढ्नुहोस् ‘सामाजिक सुरक्षाका बारेमा अफवाह नफैलाउ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: